गण्डकीमा आज सार्वजनिक बिदा
पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएकाे छ । साेही अनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
आज सेयर बजार नखुल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय आजदेखि खुल्ने भएको छ । शेयर कारोबार भने आज पनि नखुल्ने नेप्सेले जनाएको छ । नेप्सेले एक सूचना जारी गर्दै सेयर बजार भने आज असोज २० गतेबाट खुल्ने जानकारी गराएको हो । सरकारले निरन्तर वर्षालाई ध्यानमा राखेर असोज १९ र २० गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो राति १० बजे सूचना जारी गर्दै हाल मौसममा सुधार हुँदै भएको र जोखिमको अवस्था कम हुँदै गएकाले आजबाट सार्वजनिक कार्यालय, संस्थान र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुलाउन निर्देशन दिइसकेको छ । सार्वजनिक विदा खारेज भएसँगै आजबाट धेरैजसो सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।
अलपत्र पर्यटकलाई होटल सङ्घको पहलमा निःशुल्क खाना र बस्ने व्यवस्था
काठमाडौं । बाढी पहिरो र सडक अवरुद्ध हुँदा पोखरामा अलपत्र परेका पर्यटकलाई व्यवसायीले निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने भएका छन् । होटल सङ्घ पोखराले पोखरा र वरपरका क्षेत्रमा समस्यामा परेका पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनले विपत्तिमा केही पर्यटक अलपत्र परेको भन्ने खबर पाएसँगै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । ‘असहज परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै होटल सङ्घले यस्तो निर्णय गरेको हो । यसले पर्यटकको सुरक्षा र सहजतामा सहयोग पुग्ने विश्वास छ,’ सुवेदीले भने । हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकलाई पनि होटलको प्रचलित दरमा २५ प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरिएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उद्धार र निःशुल्क उपचारमा सरकारको ध्यानाकर्षणसमेत गराइएको छ ।
भोजपुर-लेगुवा र देउराली-चखेवा सडक अवरुद्ध हुँदा समस्या
काठमाडौं । भोजपुर जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरोध भएका थिए । भोजपुर-लेगुवा सडक र देउराली-चखेवा सडकका केही स्थानका पहिरो हटाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको जोखिम देखिएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यातायात अवरुद्ध हुँदा लामो दूरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्, भने आवश्यक सामान आपूर्ति र जनजीवनमा समेत असर परेको छ । विशेषगरी जिल्ला बाहिर जाने, दसैँ मान्न हिँडेका यात्रु, कामकाजका सिलसिलामा यात्रा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् । यातायात व्यवसायी समितिका प्रतिनिधिले सडक अवस्था सामान्य हुनासाथ पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । हाल वर्षाका कारण जिल्लाभित्रका कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीय बासिन्दा थप समस्यामा परेको जनाइएको छ ।
सडक अवरुद्ध हुँदा आपतकालीन स्वास्थ्य सेवामा चुनौती
काठमाडौं । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेको छ । मोरङ जिल्लामा मात्रै २५/३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ । निर्देशक बस्नेत भने, ‘मौसम विज्ञान विभागको पूर्व जानकारी पाएपछि दसैँ सुरु हुनुअघि नै हामीले सबै अस्पताल र स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएका थियौँ । कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रिम तयारी गरिएको छ ।’ इलाममा सडक अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको उल्लेख गर्दै उनले भने, ‘इलामतर्फ सडक सम्पर्क अवरुद्ध छ । त्यसैले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन् । तर जटिल उपचारलाई हेलिकप्टर मार्फत इटहरी ल्याएर उपचार गरिएको छ । आइतबार मात्रै प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टर मार्फत ल्याएर सुरक्षित रूपमा प्रसूति गराइएको छ ।’ निर्देशक बस्नेतका अनुसार आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेश भरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन् । सङ्घीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ । उनले भने, ‘सोमबार बिहान ८ बजे प्रदेशस्तरीय बैठक बोलाइएको छ । त्यसमा १४ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशालाका प्रमुखसहित बृहत छलफल हुनेछ । बैठकमा मन्त्री र सचिवसमेत सहभागी हुनुहुनेछ ।’ स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उनले स्पष्ट पारे । ‘बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न गाह्रो भइरहेको छ । तर कर्मचारीलाई सम्भव भएसम्म खटाइएको छ,’ उनले भने । प्रदेश विपद् व्यवस्थापन समितिसँगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरणदेखि रोग रोकथामसम्मका विषय प्राथमिकताका साथ छलफल भइरहेको निर्देशक बस्नेतले जानकारी दिए । यसै बीच, कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बाढीपछि सङ्क्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए । उनका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिनसक्ने सम्भावना बढी छ । डा. खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र सेवन गर्न आग्रह गरे । यो समयमा पानीजन्य रोग मात्र होइन, लामखुट्टे र भुसुनाबाट सरुवा हुने रोग देखिन सक्ने खतरा पनि उत्तिकै उच्च छ, डा. खड्का भन्छन्, ‘हिजोदेखि नै पानीमा भिजेका कारण रुघाखोकी र ज्वरोका बिरामी अस्पताल आउन थालेका छन् । त्यसैले आवश्यक कामबाहेक घरबाहिर ननिस्कनु बुद्धिमानी हुन्छ, ।’ स्वास्थ्य समस्या देखिए आफैंले औषधि सेवन नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान आग्रह गर्दै उनले भने, ‘आफूखुसी औषधि सेवनले जटिलता बढाउन सक्छ, त्यसैले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य सेवा लिन ढिला गर्नुहुँदैन ।’
नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग खुल्यो, होल्डिङमा रहेका सवारी गन्तव्य तर्फ जाँदै
काठमाडौं । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुन सक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।
आज आश्विन शुक्ल पूर्णिमा: महालक्ष्मीको पूजा गरि रातभर जाग्राम बसेर बडादसैँ समापन गरिँदै
काठमाडौं । बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मी पूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मङ्गलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मङ्गलबार साँझदेखि नै सुरु गरिँदै छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।