भारी वर्षाका कारण रौतहटको महेशपुर डुबानमा
काठमाडौं । भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका-२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ । पानीले धानबालीमा पनि क्षति पुगेको उनले बताए । विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५ मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ । रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उनको भनाइ छ । उनका अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् । अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् । झाझ नदीमा आएको बाढीका कारण गौर गङ्गापिपरा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उनको भनाइ छ । राजपुर नगरपालिका-३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । गुजरा नगररपालिका-८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताए । वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । वृन्दावन नगरपालिका-१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
बाढीपहिरोका कारण पाँचथरमा २ जनाको मृत्यु, ३ घाइते
काठमाडौं । बाढीपहिरोका कारण पाँचथरमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका-४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिका-३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएका छन् । फाल्गुनन्द गाउँपालिका-१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन् भने फाल्गुनन्द-५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । वर्षाका कारण अधिकांश सडकहरु क्षतिग्रस्त हुँदा घाइतेहरु सुविधासम्पन्न अस्पताल जान पाएका छैनन । सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम-फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन् ।
जोखिम नरहेका जिल्लामा सेवा सुचारु गर्न पत्राचार
काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका जिल्लामा सरकारी सेवा सुचारु गर्न पत्राचार गरेको छ । गृहले पत्राचार गर्दै जोखिम नरहेका जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सेवा सञ्चालन गर्न भनेको हो । मन्त्रालयले आइतबार ७७ वटै जिल्लामा पत्राचार गर्दै सेवा सुचारु गर्न निर्देशन दिएको हो । विपदको जोखि तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूको हकमा सार्वजनिक सेवा सञ्चालन गर्न मन्त्रालयले पत्राचार गरेकाे हाे । यसअघि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो ।
वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार भैरहवा उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ। दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको हो । निगमको न्यारोबडीले सोमबार दिउँसो १ बजे काठमाडौं विमानस्थलबाट भैरहवाका लागि उडान गर्ने तालिका छ। साथै, भैरहवाबाट दिउँसो २ः४५ मा काठमाडौंका लागि उडान हुने जनाएको छ।
कोसी ब्यारेजमा रातो झण्डा समेत फहराइयो, ५६ वटै ढोका खोलिए
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङ्केत स्वरूप रातो बत्ति बाली रातो झण्डा समेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ । यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ ।
इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत
काठमाडौं । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए । पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका-६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, ३ वर्षीया मुनुसा थेवे, माईजोगमाई-–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् । यस्तै, फाकफोकथुम गाउँपालिका-३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका-१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका-६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् । यस्तै, देउमाई नगरपालिका-५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई-३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका-५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ । पहिरोमा परी माङसेबुङ गाउँपालिका-१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका-१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ । पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका-६ की ३२ वर्षीया अनु तामाङ र ३ वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका ९ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका-६ की १७ वर्षीया नेहा राई रहेका छन् । यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ । यस्तै, इलाम नगरपालिका-६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए । ‘सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ । सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ,’ उनले भने ।
बाढीले २०२.९६ मेगावाट क्षमताका १८ हाइड्रोमा क्षति, १०५.४ मेगावाट बिजुली उत्पादन बन्द
काठमाडौं । निरन्तरको वर्षाले आएको बाढीका कारण २ सय मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । शुक्रबारदेखि अविरल वर्षा हुँदा आएको बाढी पहिरोका कारण २०२.९६ मेगावाट क्षमताका १८ वटा हाइड्रोपावर कम्पनीहरूमा क्षति पुर्याएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले १३ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्याउँदा १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । साथै, ९३ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन हाइड्रोमा क्षति पुर्याएको इप्पानले जनाएको छ । इप्पानका अनुसार ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रो, ८ मेगावाटको हिमाल दोलखा हाइड्रो, २२ मेगावाट क्षमताको सानिमा माइ हाइड्रो, ७ मेगावाटको सानिमा माइ, ७.८ मेगावाटको सुपरमाइ हाइड्रो, ९.६ मेगावाटको सगरमाथा जलविद्युत कम्पनी, ३ मेगावाटको माइखोला हाइड्रो, ७.६ मेगावाटको सानभी इनर्जी, ५.२ मेगावाटको सानभी इनर्जी, ६.२ मेगावाटको एसिएन हाइड्रोपावर, ९.५ मेगावाटको सामलिङ पावर, ९.९ मेगावाटको पञ्चकन्या माइ हाइड्रो, ५.१ मेगावाटको माइ भ्याली हाइड्रोमा बाढीले क्षति पुर्याउँदा उत्पादन बन्द भएको छ । ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोको इन्टेक, पावरहाउस, सवस्टेसनमा, ८ मेगावाटको हिमाल दोलखाको पावरहाउस र सवस्टेसनमा, २२ मेगावाटको सानिमा माइ हाइड्रोको कलभर्टमा क्षति पुर्याएको इप्पानले जनाएको छ । यस्तै, सुपरमाइ हाइड्रोको हेडबक्र्स, एरियल गेटमा, सगरमाथा जलविद्युतको प्रोटेक्सन वाल, टेलरेस र प्रसारणलाइनमा, माइखोला हाइड्रोको पावर हाउस र प्रसारण लाइन, ७.६ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स, पावर हाउसमा र ५.२ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स र डिसेन्डरमा क्षति पुर्याएको छ । यस्तै, एसिएन हाइड्रोको हेडबक्र्स, सामलिङ पावरको हेडबक्र्स, इन्टेक, पाइपलाइन, टेलरेस र पावर हाउसमा, पञ्चकन्या माइ हाइड्रोको हेडबक्र्स र माइ भ्याली हाइड्रोको पावर हाउसमा पानी छिरेर उत्पादन बन्द भएको छ । इप्पानका अनुसार निर्माणाधीन अवस्थामा रहेको २१.५ मेगावाटको अर्बिट इनर्जीको पहुँचमार्ग, निर्माण सामाग्री बगाएको छ । यस्तै, ९.९ मेगावाटको ह्याबिटाट पावरको हेडबक्र्स र पहुँचमार्गमा क्षति पुर्याउँदा विद्युत उत्पादनमा ढिलाइ हुने जनाएको छ । यस्तै, १० मेगावाटको सिद्धि हाइड्रोपावरको हडे वक्सट, पावर हाउस, क्याम्प, अलाइगमेन्ट र रोडमा क्षति पुर्याउँदा १० दिनमा हुने सिओडी अनिश्चित बनेको इप्पानले जनाएको छ । इप्पानका अनुसार ३६.५१ मेगावाटको ब्रम्हायणी हाइड्रो र १५.१५ मेगावाटको इन्टिक्रेटेड हाइड्रो फण्डको एक्सेस रोड र निर्माण सामाग्रीमा क्षति पुर्याएको हुँदा विद्युत उत्पादनमा ढिलाई हुनेछ ।
पाँच जलमापन केन्द्रमा खतरा र चारमा सतर्कता तह पार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । विभागको तथ्याङ्कमा आज मध्याह्न १२ः३० बजेसम्म धनकुटास्थित अरुण नदी जलमापन केन्द्रले दिएको जानकारीअनुसार जलसतहले खतराको तह पार गरेर ११ दशमलव २३ मिटर पुगेको छ । उक्त केन्द्रमा ११ मिटर जलसतहलाई खतराको तह मानिन्छ । यसैगरी, धनकुटास्थित त्रिवेणीको तामोर नदी मापन केन्द्रमा १० मिटर खतराको तह रहेकामा ११ दशमलव ४७ मिटर जलसतह पुगेको छ । सुनसरीस्थित सप्तकोसी चतराको जलसतह सात दशमलव १३ मिटर पुगेको छ । उक्त स्टेशनको खतरा तह भने सात मिटर रहेको छ । त्यस्तै, सुनसरी खोलाको जलमापन केन्द्रमा जलसतह ८१ दशमलव ८८ मिटर पुगेको छ । उक्त केन्द्रमा ८१ दशमलव आठ मिटर जलसतहलाई खतराको तह मानिन्छ । इलामको मैनाचुलीस्थित कन्काई नदी जलमापन केन्द्रमा जलसतह पाँच दशमलव ६१ मिटर पुगेको छ । उक्त केन्द्रको जलसतहको खतरा तह भने चार दशमलव तीन मिटर रहेको छ । सिन्धुलीको खुर्कोटस्थित सुनकोसी जलमापन केन्द्र, धनकुटाको मुलघाटस्थित तमोर नदी, इलामको पुवाखोला र इलामकै चिसापानीस्थित माइखोला जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका जलविद् विनोद पराजुलीले पूर्वका नदीहरूमा बाढीको खतरा बाँकी रहेको र मुलुकका अन्य नदीमा जलसतह सामान्य रहेको जानकारी दिए । बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्नका लागि मोबाइल एसएमएसमार्फत जनमानसलाई सचेत गराइएको उनको भनाइ छ । रासस