विकासन्युज

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।      उनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ । निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए ।    

नागढुङ्गाबाट ५ बजेभित्र मात्र गाडीलाई जान दिइने

काठमाडौं । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौंबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुङ्गामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ । सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ ।' यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।  आज बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।  

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौं । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो ।  बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।   

मनसुन सक्रियताका कारण मधेश, कोशी र बागमती प्रदेशमा भीषण वर्षा, नदीहरूमा जलस्तर घट्दै

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय हुँदा मधेस, बागमती र कोशी प्रदेशमा तीव्र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २४ घण्टाको अवधिमा असोज १८ गते बिहान ४:३० देखि असोज १९ गते बिहान ४:३० सम्म सबैभन्दा धेरै ३५८ मिमी वर्षा रौतहटको महेशपुरमा मापन गरिएको छ । त्यस्तै २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा मापन भएको विभागले जनाएको छ । विभागका अनुसार १०५ केन्द्रमा ५० मिमीभन्दा बढी वर्षा भएको छ । यस्तै ६८ केन्द्रमा १०० मिमीभन्दा बढी वर्षा भएको छ भने २१ केन्द्रमा २०० मिमीभन्दा बढी पानी परेको छ । जम्मा ५ केन्द्रमा मात्रै ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ। इलामको वहमाली, कन्याम, पर्साको मुडली, रौतहटको महेशपुर र गौरमा ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ । नदीमा उच्च सतर्कता अपनाउन आग्रह लगातारको वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, लालबकैया, कमला लगायतका नदीमा जलस्तरले सतर्कता तह पार गरिसकेको थियो । हाल ती नदीमा जलस्तर क्रमशः घटिरहेको महाशाखाले जनाएको छ । यद्यपि, असोज १९ गते बिहान कोशी नदीले खतराको तह पार गरिसकेको थियो भने यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा पनि खतराको तह पार भएको जनाइएको छ । त्यस्तै, कन्काई, बुढीखोला, लोहना, खेसरैया, विरिङ जस्ता चुरे तथा महाभारत क्षेत्रबाट उत्पत्ति भएका साना नदीमा पनि खतराको तह पार भएको छ। तर अहिले ती नदीमा पनि जलस्तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । मनसुन अझै विदा भइसकेको छैन महाशाखाका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएर मौसममा सुधार आउन थालेको भए पनि मनसुनको औपचारिक विदाइ भइसकेको छैन । त्यसैले अझै सतर्कता आवश्यक छ । सरोकारवालाहरूलाई विशेष गरी नदी तटीय क्षेत्र तथा डुबान प्रभावित क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो

काठमाडौं । विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ ।      बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ । यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ ।      अमेरिकी सरकारको सटडाउनबारे लगानीकर्ताहरूमा देखिएको अनिश्चितता र सतर्कताले बिटक्वाइनको मूल्यमा बलियो वृद्धि ल्याएको विश्लेषकहरूले बताएका छन् ।      ब्लुमबर्ग न्युजका अनुसार अमेरिकी सेयर बजारमा हालै देखिएको लाभले पनि बिटक्वाइनको वृद्धिलाई थप ऊर्जा दिएको छ । लगानीकर्ताहरू अहिले सङ्घीय सरकारका कोषसम्बन्धी वार्ता जारी रहँदा सुरक्षित सम्पत्तिको खोजीमा छन् र बिटक्वाइन त्यसको प्रमुख विकल्प बन्दै गएको छ ।      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार पनि क्रिप्टोकरेन्सीका ठूला समर्थकका रूपमा परिचित छन् । उनीहरू विभिन्न क्रिप्टो परियोजनाहरूमा संलग्न रहँदै आएका छन् जसले उनीहरूको सम्पत्ति वृद्धि गर्न मद्दत गरेको मानिन्छ ।      ट्रम्प प्रशासनले डिजिटल सम्पत्तिप्रतिको समर्थनका माध्यमबाट आफ्नो डेमोक्रेटिक पूर्ववर्ती जो बाइडेनको सरकारअन्तर्गत क्रिप्टो उद्योगमाथि देखिएको संदेहपूर्ण दृष्टिकोण उल्ट्याएको हो । अमेरिकी कंग्रेसले यसै वर्ष जुलाईमा तीन ऐतिहासिक क्रिप्टोकरेन्सी विधेयक पारित गरेको थियो ।      यी नियामक सुधारहरूले बिटक्वाइनको मूल्य वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विश्लेषकहरूको भनाइ छ ।    क्रिप्टो प्राइम ब्रोकरेज कम्पनी फाल्कनएक्सका बजार विभागका सह–प्रमुख जोशुआ लिमले ब्लुमबर्ग न्युजसँग कुरा गर्दै भने, 'इक्विटी, सुन र पोकेमोन कार्डजस्ता सम्पत्तिहरू सबै ऐतिहासिक उच्चस्तरमा पुगेका बेला बिटक्वाइनले डलर कमजोर भएको कथाबाट फाइदा उठाउनु कुनै आश्चर्य होइन ।' रासस

पश्चिमतर्फका सडक सुचारू भइसके, बीपी र मेची राजमार्ग छिट्टै सञ्चालनमा ल्याउँछौं : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पश्चिम तर्फका सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याइसकेको बताएका छन् । भारी वर्षा, भूस्खलन र बाढीबाट प्रभावित सडकहरूको द्रुत मर्मत गरी पश्चिमतर्फ यातायात सुचारू गरिएको उनले बताए ।  उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी राखेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।  ‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट-मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ भने अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,’ मन्त्री कुलमानले भने ।  मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग समन्वय गरी सडक विभाग मार्फत सडक खोल्ने तथा मर्मत कार्यलाई गति दिएको उनको भनाइ छ । असोज १७, १८ र १९ गतेको भारी वर्षा र जलवायु जन्य घटनाका कारण देशका विभिन्न स्थानहरूमा उत्पन्न भूस्खलन र बाढीका घटनाबाट सडकमा कटान हुने, पहिरो जाने एवं पुल बग्ने जस्ता घटना हुन गई सडक सञ्जाल र यातायात प्रभावित भएका छन् ।

दुई दिनको वर्षाले हिलाम्मे काठमाडौंका सडक

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो ।  शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् ।  अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त देख्न सकिन्छ । हिलाम्मे सडकमा सवारी गुडिरहेका छन् ।