विकासन्युज

शनिबारको बाढीले १० करोडको क्षति, यस्तो छ क्षतिको विवरण

काठमाडौं । शनिबार परेको भारी वर्षाले विभिन्न ठाउँमा करोडौंको क्षति भएको छ । सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा १० करोड क्षति पुर्याएको अनुमान गरिएकाे हाे । यस्तो छ क्षतिको विवरण - कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको । अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ। - मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरूमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत ५० लाख रुपैयाँ ।  - केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएको । - कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरूवाको तटबन्धमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ । - लाल बकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका १ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई  करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको । अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ । - महोत्तरीको रातो नदीले बलवा नगरपालिका २, १० र ११ को  बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मिटर तटबन्ध बगाएको, साथै लोहरपट्टी नगरपालिका ६ लोहारपट्टीका ४०० मिटर, महोत्तरी गाउँपालिका ६ रतबारामा २० मिटर,  जलेश्वर नगरपालिका १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै  सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको । अनुमानित क्षतिको लागत ८ करोड रुपैयाँ ।  सिँचाई तर्फ - सिँचाई प्रणालीहरूको बाँध क्षेत्रमा नदीहरूमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, अन्डरस्लुइस,  मूल नहर र शाखा नहरहरूका गेटहरूलाई समयमा नै गेट अप्रेसन गरेको हुँदा सिँचाई प्रणालीहरूमा उल्लेख्य क्षति नभएको ।  - झाँज सिँचाई प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटिय क्षेत्रको दायाँ गाइड बण्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको । -  सुनसरी मोरङ, बागमती र नारायणी सिँचाई आयोजनाहरूको सिञ्चित क्षेत्र भित्र रहेका खोला खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको ।  - सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधीन संरचनाहरूको अवस्था एकिन हुन नसकेको । पहिरो तर्फ - इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू भएको र सो को विवरण प्राप्त हुन बाँकी । 

ट्रम्पको बजेट ‘गम्भीर संकट’ मा : सटडाउनबीच ठूलो कटौतीको तयारी

काठमाडौं । अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुन् । अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) का प्रमुख तथा दक्षिणपन्थी विचारक रसेल भोटले अमेरिकी सरकारको सटडाउनलाई आफ्नो कठोर आर्थिक नीति कार्यान्वयनको उपकरणका रूपमा प्रयोग गरिरहेका छन् । सरकार बन्द हुँदा सामान्यतया लाखौँ सङ्घीय कर्मचारीहरू अस्थायी रूपमा बेतलबी बिदामा पठाइन्छन् । तर यस पटक ह्वाइट हाउसले स्थिति ‘सामूहिक राजनीतिक विस्फोटको नजिक’ रहेको बताएको छ । ट्रम्पले भोटलाई निर्देशन दिएका छन् । 'कुन–कुन डेमोक्रेटिक एजेन्सीहरूमा कटौती गर्न सिफारिस गर्ने भनेर सोच्नुहोस् ।' राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एआईले तयार गरेको एउटा भिडियो पनि पोस्ट गरे, जसमा बजेट प्रमुख भोटलाई वासिङ्टनका गल्लीमा हिँडिरहेको ‘डरलाग्दो काँटा’ अर्थात् काट्ने व्यक्तिको रूपमा चित्रण गरिएको छ । भोट अहिले प्रोजेक्ट २०२५ नामक योजनाको पालना गर्दैछन् । जसका लेखकहरू मध्ये उनी स्वयं पनि एक हुन् । ट्रम्पले आफ्नो पुनः निर्वाचन अभियानका बेला तीव्र रूपमा घटाइएको सङ्घीय सरकारमाथि व्यापक रूपमा विस्तारित कार्यकारी नियन्त्रणको परिकल्पना गर्ने अति–रूढीवादी योजनाबाट दूरी बनाइराख्न खोजेका थिए । तर अहिले उनले ४९ वर्षीय भोटलाई ‘प्रोजेक्ट २०२५ फेम’ भनेर गौरवपूर्वक उल्लेख गरेका छन् । सङ्घीय बजेटका लागि जिम्मेवार समितिकी वरिष्ठ डेमोक्रेट सांसद रोजा डेलोरोले भोटमाथि ‘सटडाउन इन्जिनियर’ को आरोप लगाउँदै भने, 'उहाँले लामो समयदेखि मजदुर वर्ग, मध्यम वर्ग र उनीहरूमाथि निर्भर कमजोर अमेरिकीहरूलाई बेवास्ता गर्दै आवश्यक सरकारी सेवाहरू ध्वस्त पार्ने नियतले यो षड्यन्त्रको योजना बनाइरहनुभएको छ ।'  अमेरिकी सरकारको वार्षिक बजेट विधेयक पारित गर्न असफल हुँदा यस्ता बन्द हुने गरेका छन् । नोकरशाहीलाई ध्वस्त पार्ने लक्ष्य  कनेक्टिकटमा जन्मेका भोटले एउटा सानो इभान्जेलिकल क्रिश्चियन कलेजबाट स्नातक गरी कानूनमा डिग्री हासिल गरे । त्यसपछि उनी रिपब्लिकन सांसदहरूको कर्मचारी र हेरिटेज फाउन्डेसन का लागि लोबिस्ट बने । ट्रम्पको पहिलो कार्यकालमा भोट ओएमबीका निर्देशक बने र अहिले दोस्रो कार्यकालमा पुनः नियुक्त भएका छन् । बाइडेनको कार्यकालमा उनले आफ्नै थिङ्क ट्याङ्क सेन्टर फर रिन्युइङ अमेरिका मार्फत ‘नयाँ रूढीवादी अधिग्रहण’ को तयारी गर्नुभएको थियो, जसको उद्देश्य उनका शब्दमा ‘फुटेको सरकारलाई पुनः दक्ष बनाउने’ थियो । ट्रम्प पुनः निर्वाचित भएपछि भोटले टकर कार्लसनसँगको अन्तर्वार्तामा भनेका थिए, 'हामीले त्यो विशाल नोकरशाहीलाई ध्वस्त पार्न कट्टरपन्थी संवैधानिक दृष्टिकोणका साथ छिटो र आक्रामक रूपमा अघि बढ्नुपर्छ ।' गत सेप्टेम्बरमा उनले अमेरिकी सरकारलाई ‘जागृत र हतियारबद्ध प्रशासनिक राज्य’ भन्दै आलोचना गरेका थिए, जसले निर्वाचित राष्ट्रपतिका आदेशहरूको अवज्ञा गर्छ भन्ने आरोप लगाए । राजनीतिक ट्रमा र शक्ति प्रदर्शन  भोटलाई सन् २०२५ फेब्रुअरीमा पुनः ओएमबी निर्देशकका रूपमा सिनेटले तत्काल पुष्टि गर्‍यो । तर सरकारभित्रको लागत कटौतीमा पहिलो पहल भने टेक टाइकुन एलन मस्कले गरेका थिए । मस्कले प्रशासनको प्रारम्भिक महिनाहरूमा ‘काट्ने चेनसो नीति’ अघि सारेका थिए । यो कदमले भोटलाई असन्तुष्ट तुल्याएको बताइन्छ, यद्यपि उनी पनि सरकारी निकायहरूको ‘आकस्मिक पुनर्संरचना’ को पक्षमा छन् । 'हो, मैले नोकरशाहीभित्र आघात ल्याउने आह्वान गरेको हुँ', उनले नोभेम्बरमा भने, 'यी ब्युरोक्रेसीहरूले अमेरिकी जनतालाई बेवास्ता गर्छन् ।' भोटका अनुसार सबै कार्यकारी शक्ति कार्यकारी शाखामै निहित हुनुपर्छ । उनले विदेशी सहायता घटाउने, सार्वजनिक प्रसारणका लागि सङ्घीय कोष अन्त्य गर्ने र दर्जनौँ नियमहरू फिर्ता लिने योजना अगाडि सारेका छन् । भोटले हालै भनेका छन्, 'यस काममा संलग्न हुनु रोमाञ्चक छ ।' रासस  

वर्षाका कारण २ दर्जन सडकमा क्षति, खुलाउन ३ दिन लाग्ने, कुन-कुन सडक हुन् ?

काठमाडौं । अविरल वर्षाका कारण दुई दर्जन सडकमा क्षति पुर्याएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका अनुसार वर्षाका कारण पूर्वका दुई दर्जन बढी सडकमा क्षति पुर्याएको जनाएको छ ।  कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सामान्य पहिरो गएका ठाउँमा तत्काल पच्छ्याएर सवारी साधन सुचारु गरिएको छ । साथै, केही स्थानमा पहिरो पच्छ्याउन ३ दिनसम्म समय लाग्न सक्ने कार्यालयले जनाएको छ ।  कुन-कुन सडक भए अवरुद्ध ? सडक डिभिजन कार्यालय हर्कपुर अन्तर्गत रहेकाे हर्कपुर-ओखलढुंगा-सोलु, हलेसी-दिक्तेल-चखेवा सडक खण्डमा सामान्य पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खण्डमा सवारी आवागमन सुरू भएकाे जनाएकाे छ । आयोजना कार्यालय कटारी अन्तर्गत मिर्चिया-कटारी-घुर्मी सडक खण्डकाे ६४ किलोमिटर नजिकै पहिरो जाँदा अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी रहेको र एक दिन समय लाग्ने जनाएको छ । आयोजना कार्यालय गाईघाट अन्तर्गत रहेकाे गाईघाट-दिक्तेल सडक खण्डको ३७ किलोमिटरदेखि ४५ किलोमिटरसम्मको क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक खुलाउन १ दिन लाग्ने जनाएको छ ।    सडक डिभिजन लहान अन्तर्गत बसाहा-चतारा सडक खण्ड जलमग्न भएको छ । जलमग्न सडकमा पानी व्यवस्थापनको काम भइरहेको छ ।  यस्तै, कदमाहा-गाईघाट सडक खण्डमा सामान्य पहिरो झरेको छ । पहिरो पच्छ्याएपछि सवारी आवतजावत सुचारु भइरहेको छ ।  सडक डिभिजन विराटनगर अन्तर्गत कान्छी बजार-चतारा सडक खण्डमा रुखहरू ढलेका छन् । रुख हटाएपछि उक्त सडक सुचारु भएको छ ।  यस्तै, चतारा बराहा क्षेत्र सडक खण्डको बराह नजिक र धरान-भेडेटार सडक खण्डको निशाने खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी छ । चतारा बराहा क्षेत्र सडक खुल्न ३ घण्टा र धरान-भेडेटार सडक खण्ड खुल्न २ घण्टाको समय लाग्नेछ ।  सडक डिभिजन धनकुटा अन्तर्गत भेडेटार-मूलघाट सडक खण्डमा ४ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि सवारी आवागमन सुचारु भएको छ । यस्तै, पाख्रिबास-लेगुवा सडक खण्डमा ६ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएर एकतर्फी सवारी आवतजावत भइरहेको छ ।  सडक डिभिजन तुम्लिङटार अन्तर्गत लेगुवा-खाँदबारी सडक खण्डमा खेवा खोला र लेगुवा-भोजपुर सडक खण्डमा चखेवा खोलामा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खुलेको छ ।  सडक डिभिजन इलाम अन्तर्गत जोर कलश फिक्कल सडक खण्डमा पहिलो झरेको छ । पहिरो पच्छ्याएर एकतर्फी सडक सञ्चालन गरिएको छ ।  यस्तै, फिक्कल-गोदाक सडक खण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्नेछ । यस्तै, माइखोला पुल र माइखोला-राजद्वाली सडक खण्ड बन्द भएको छ । सडक खुलाउन ३ दिन समय लाग्नेछ । यस्तै, इलाम-धोवीधारा सडक खण्ड भासिएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्ने जनाएको छ । यस्तै, धोवीधारा-नेपालटार सडक खण्डमा पुवा खोला नजिकै सडक भासिएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।  यस्तै, नेपालटार-राके सडक खण्ड, राके-फिदिम सडक खण्डमा पहिरो झरेको छ । सडक सुचारु गर्न २ दिन समय लाग्नेछ । यस्तै, मेची करिडोरमा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । उक्त सडक सुचारु गर्नका लागि कति समय लाग्ने भन्ने एकिन हुन सकेको छैन ।  तमोर कोरिडोर मूलघाट अन्तर्गत मूलघाट-सुभङ खोला सडक खण्डमा मेवा र चोरुवा खोलामा बाढी आएका कारण अवरुद्ध भएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ । 

पुसमा महाधिवेशन गर्न जुट्यो एमाले, अध्यक्ष पद छाड्दै ओली

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन पुस अन्तिम साता गर्ने तयारी भएको छ । पार्टी भित्र नेतृत्व पुर्नगठनको माग उठिरहेको बेला एमालेले महाधिवेशनको तयारी सुरु गरेको हो । एमालेका एक पदाधिकारीका अनुसार आगामी महाधिवेशनको सम्पूर्ण कार्यक्रम असोज अन्तिम साता आयोजित केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गर्ने तयारीमा पार्टी शीर्ष नेतृत्व रहेको छ । नेतृत्व हस्तान्तरणको माग उठिरहे पनि महाधिवेशनसम्म केपी शर्मा ओली नै अध्यक्ष रहने छन् । पार्टी उच्च स्रोतका अनुसार एघारौं  महाधिवेशनसम्म एमालेको नेतृत्व  वर्तमान अध्यक्ष केपी शर्मा ओलिले नै गर्नेछन्  ।  महाधिवेशनमा पनि अध्यक्ष ओलीले चाहाँदा उनलाई नेतृत्वबाट बेदखल गर्न सक्ने अवस्था नरहे पनि एघारौं महाधिवेशनमा ओलीले नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेको पार्टीका एक जना पदाधिकारीले जानकारी दिए ।  ‘नेतृत्वमा को आउनुहुन्छ त्यो त भन्न सकिएन । तर आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ,’ ती पदाधिकारीले भने ।  मङ्सिरमै महाधिवेशन गरियो भने फागुनमा हुने आम निर्वाचनको तयारी  गर्न समय पुग्ने भएकोले अहिले महाधिवेशनको सबैभन्दा उपयुक्त समय मङ्सिर हुने ती पदाधिकारीले बताए । दोस्रो विधान महाधिवेशनले ओलीलाई नेतृत्वमा आउने सबै बाटा खुल्ला गरे पनि  पछिल्लो राजनीतिक परिस्थिति असहज भएकोले ओलीले नेतृत्व हस्तान्तरणको तयारी गरेको बुझ्न सकिने ती पदाधिकारीको धारणा छ । ‘बरु विधान महाधिवेशनले पारित गरेको विधानलाई एघारौं महाधिवेशनले केही संसोधन गर्न सक्छ,’ उनले भने ।  ती पदाधिकारीका अनुसार महाधिवेशनले विधान परिमार्जन गरेर ओली कमरेडको लागि सम्मानित स्थान सिर्जना गर्नेछ । यस सम्बन्धि प्रस्ताव आगामी २४ गते बस्ने सचिवालय बैठकमा लग्ने तयारी भएको ती पदाधिकारीले जानकारी दिए । एमालेका महाधिवेशनहरु पहिलो महाधिवेशन २०१० माघ १० – २० दोश्रो महाधिवेशन  २०१५ जेठ १५ – २५ तेश्रो महाधिवेशन  २०१९ बैशाख ४ – १५ चौथो महाधिवेशन  २०४६  भदौ ९ – १४ पाँचौ महाधिवेशन २०४९ माघ १४ – २० छैठौ महाधिवेशन २०५४ माघ १२ – १८ सातौ महाधिवेशन  २०५९ माघ १८ – २२ आठौं महाधिवेशन २०६५ फागुन ५ – १४ नवौं महाधिवेशन  २०७१ असार १९ –  ३१ दशौ महाधिवेशन २०७८ मङ्सिर १० – १३  

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

चितवन । हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो ।  शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंं जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएका हुन् । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए । उनले भने, 'यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौँ ।' अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उनले बताए ।  बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला रहेको छ । धादिङमा खसेको पहिरो पन्छ्यएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उनले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए । प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो । रासस  

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।   विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।  इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।   यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौंमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।

काठमाडौंका नदीहरुमा पानीको बहाव घट्दै, जोखिम अझै कायम

काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको छ । नदीहरुमा पानीको बहाव केही कम भएपनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती, विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले बताएको छ ।  काठमाडौंको वागमती नदीमा अझै बाढी आइरहेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगाहरु पुलमा अड्किँदा पानी थुनिएको छ ।  नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीले नदीहरुबाट गेग्रान र बगाएर ल्याएका रुखहरु झिक्ने थुनिएको पानी खोल्ने काम गरिरहेको छ ।   

झापामा ४५० घर डुबानमा, सयौं विस्थापित

बनियानी । यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 'नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ', उनले भने, 'करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौंँ ।' मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको उनले बताए । त्यस्त, शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । झापा गाउँपालिका–२ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरुको उद्धार गरी स्थानीय कुवाडी माविमा स्थान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । झापा–१, ६ र ७ मा माइखोलाको बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए । यस्तै भद्रपुर नगरपालिका–५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तकामा शरण लिएर बसिरहेका छन् । मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ । रासस