विकासन्युज

वर्षायाम र सडक अवरोधले पर्वतका होमस्टे सुनसान

पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् । मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका छन् । वर्षायाम सुरु भएसँगै गत असारदेखिनै पर्यटकहरुको आगमनमा कमी भएपछि त्यहाँ सञ्चालित होमस्टे सुनसान बनेका हुन् । त्यहाँका सातवटै पालिकामा गरी ६२ घरबास सञ्चालनमा छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा छ, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होमस्टे समेत सञ्चालनमा छन् । जिल्लाको कुश्मा नगरपालि–३ दुर्लुङ्ग, वडा नं १४ आर्थर, फलेवास –२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुङ्खु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित घरबास वर्षायामका कारण ठप्पजस्तै रहेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको मोदी –८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा विभिन्न जिल्लाबाट पाहुनाहरु आउने क्रम अब सुरु हुने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । अहिले वर्षायाम भएकाले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या सुन्यजस्तै रहेको छ । अब विस्तारै हिउँदयाम सुरु भएपछि पर्यटकहरु आउने क्रम सुरु हुने बताए। चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ । होमस्टे पुग्ना साथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसोपानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए। अहिले सडक समेत अवरुद्ध भएकाले पर्यटकहरु आउन सकेका छैनन् । यस्तै, मोदी–१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमूना सामुदायिक होमस्टे पनि सुनसान छन् । गाउँ जोड्ने पातीचौर–देउपुर–लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटकहरु आउन नसकेको वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । वर्षायाममा न्यून पर्यटक आउने भए पनि सडक समेत अवरुद्ध हुँदा झनै ठप्प बनेको उनले जानकारी दिए । नियमित वर्षा भइरहँदा जिल्लाका अन्य होमस्टेहरुमा पनि पर्यटकको चहलपहल बढ्न नसकिरहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार वर्षा रोकिएपछि चाडबाड सुरु हुने र पर्यटनको मौसमसमेत सुरु हुने भएकाले चहलपहल बढ्ने कार्यालय प्रमुख अशोक नेपालीले बताए । रासस

चीनद्वारा पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण

काठमाडौं । अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यस योजनाअन्तर्गत साङ्घाईको नजिक समुद्रभित्र विशेष क्याप्सुल डुबाइनेछ, जसले प्रविधिगत दृष्टिले नवीन भए पनि यसको पारिस्थितिक प्रभाव र व्यावसायिक उपयोगिताबारे प्रश्न उठाइरहेको छ । सहर नजिकैको घाटमा ठूलो पहेँलो रङको क्याप्सुल तयारीको अन्तिम चरणमा पुगेको देखिन्छ । यसलाई पानीमुनि राखेर वैकल्पिक प्रविधि परीक्षण गर्ने तयारी भइरहेको हो । विश्वभरका वेबसाइट र एपहरू सञ्चालनका लागि डाटा सेन्टरहरू अपरिहार्य भइसकेका छन् र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले तिनीहरूको माग झनै बढाइरहेको छ । ‘पानीमुनि सञ्चालनका आफ्नै फाइदा हुन्छन्,’ समुद्री उपकरण निर्माण गर्ने कम्पनी हाइल्यान्डरका उपाध्यक्ष याङ येले भने । उनको कम्पनीले राज्य–स्वामित्वमा रहेका अन्य संस्थाहरूसँग मिलेर साङ्घाई परियोजनालाई अघि बढाइरहेको छ । भूमिगत सर्भरहरूलाई समुद्रको प्राकृतिक चिसो प्रवाहले स्वाभाविक रूपमा चिस्याउन सक्छ, जसका लागि सामान्य डाटा सेन्टरहरूले ऊर्जा–गहन वायु शीतलन वा पानी वाष्पीकरण प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ । यसअघि सन् २०१८ मा माइक्रोसफ्टले स्कटल्यान्डको तटमा यस्तै प्रविधि परीक्षण गरेको थियो । तर चीनमा अक्टोबरको मध्यतिर डुबाइने यो परियोजना विश्वकै पहिलो व्यावसायिक स्तरको सेवा मानिनेछ । यसमार्फत चीन टेलिकम र राज्य–स्वामित्वमा रहेको एआई कम्प्युटिङ कम्पनीजस्ता संस्थाहरूलाई सेवा पु¥याइनेछ । यसैसँगै, डाटा सेन्टरहरूको कार्बन उत्सर्जन घटाउन सरकारको बढ्दो दबाबलाई सम्बोधन गर्ने प्रयास पनि गरिएको छ । हाइल्यान्डरका उपाध्यक्ष याङका अनुसार पानीमुनि सञ्चालन हुने सुविधाले चिसो गर्न चाहिने ऊर्जाको झन्डै ९० प्रतिशत बचत गर्न सक्छ । तर विज्ञहरूले भने अहिले यस्ता योजनाहरू मुख्यतः प्राविधिक सम्भाव्यता देखाउन केन्द्रित रहेको बताउँछन् । क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका अनुसन्धानकर्ता साओलेई रेनका अनुसार यस्ता परियोजनाहरूले ठूलो स्तरमा व्यावसायिक प्रयोगमा आउनुअघि अझै धेरै चुनौती पार गर्नुपर्नेछ । माइक्रोसफ्टले आफ्नो पोड सन् २०२० मा पुनः प्राप्त गरेपछि परीक्षणलाई सफल भने पनि, त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गरेको थिएन । समुद्रको पिँधमा डाटा सेन्टर सञ्चालन गर्नुअघि निर्माण–सम्बन्धी गम्भीर चुनौती र वातावरणीय प्रभावका प्रश्न समाधान गर्नुपर्ने आवश्यकता अझै छ । चीनमा भने सरकारी सहयोगले यसलाई प्रोत्साहन दिइरहेको छ । उदाहरणका लागि, हाइल्यान्डरले सन् २०२२ मा हाइनान प्रान्तमा गरिएको समान परियोजनाका लागि ४ करोड युआन (करिब ५६ लाख २० हजार अमेरिकी डलर) अनुदान प्राप्त गरेको थियो, जुन अझै सञ्चालनमा रहेको छ । साङ्घाई परियोजनामा संलग्न इन्जिनियर झो जुनका अनुसार पानीमुनिको डाटा सेन्टर निर्माण सुरुमा अपेक्षाभन्दा निकै जटिल रहेछ । समुद्रमा राख्नुअघि यसको कम्पोनेन्टहरू तटमा नै अलग–अलग बनाएर संयोजन गरिन्छ । यस संरचनाले नजिकैका अपतटीय पवन फार्मबाट लगभग सम्पूर्ण ऊर्जा प्राप्त गर्ने योजना छ, जसमा ९५ प्रतिशतभन्दा बढी ऊर्जा नवीकरणीय स्रोतबाट आउनेछ । तर समुद्री संरचनाको सबैभन्दा ठूलो चुनौती भनेको यसको सामग्रीलाई नुनिलो पानीले क्षय हुनबाट जोगाउनु हो । यसलाई समाधान गर्न हाइल्यान्डरले स्टिलको क्याप्सुललाई गिलास फाइबर भएको विशेष सुरक्षात्मक तहले ढाकेको छ । साथै, मर्मतका लागि पोडलाई पानीमाथि उठाउन सकिने लिफ्ट प्रणाली पनि जोडिनेछ । विज्ञ रेनका अनुसार समुद्रमुनिको डाटा सेन्टरलाई मुख्य भूमि इन्टरनेटसँग जडान गर्नु परम्परागत सर्भरहरूभन्दा बढी जटिल हुन्छ । थप रूपमा, अमेरिकाको फ्लोरिडा विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ इलेक्ट्रो–कम्युनिकेसनका अनुसन्धानकर्ताहरूले पानीमुनि सञ्चालित यस्ता केन्द्रहरू ध्वनि तरङ्गद्वारा आक्रमणको जोखिममा पर्न सक्ने निष्कर्ष निकालेका छन् । प्राविधिक अवरोध मात्र नभई पारिस्थितिक प्रभाव पनि महत्त्वपूर्ण प्रश्न बनेको छ । समुद्रमुनि स्थायी रूपमा डाटा सेन्टर राख्दा वरपरको पानीको तापक्रम परिवर्तन हुनसक्ने र त्यसले समुद्री जीवहरूको व्यवहारमा असर पार्नसक्ने अनुमान गरिएको छ । हल विश्वविद्यालयका समुद्री पारिस्थितिकीविद् एन्ड्र्यु वान्टका अनुसार उत्सर्जित गर्मीले कतिपय प्रजातिलाई आकर्षित गर्न सक्छ भने कतिपयलाई टाढा भगाउन सक्छ । हाइल्यान्डरले भने सन् २०२० मा झुहाई नजिक गरिएको परीक्षण परियोजनाको स्वतन्त्र मूल्याङ्कनले पानीको तापक्रम स्वीकार्य सीमाभन्दा तल नै रहेको देखाएको बताएको छ । तर रेनले भने ठूलो स्तरमा यसलाई विस्तार गर्दा उत्सर्जित गर्मी झनै बढ्नसक्ने चेतावनी दिए । उनका शब्दमा, ‘मेगावाट–स्तरका पानीमुनि डाटा सेन्टरहरूको हकमा थर्मल प्रदूषणबारे अझ गहिरो अध्ययन अनिवार्य छ ।’ विज्ञहरूको धारणा अनुसार यस्तो किसिमको अपतटीय सुविधा पारम्परिक डाटा सेन्टरलाई पूर्णतः प्रतिस्थापन गर्न नसके पनि पूरक स्वरूपमा उपयोगी हुन सक्छ । विशेष क्षेत्रमा अतिरिक्त सेवा आवश्यक परेमा पानीमुनिका डाटा सेन्टरहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।

अनधिकृत भण्डारण नगरौं, बजारमा सामानको अभाव हुन नदिऔँ: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव हुन नदिन महासंघले आग्रह गरेको हो । २ दिनदेखि निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै २ दिन निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तो समयमा अनधिकृत भण्डारण पनि नगर्न महासंघले आग्रह गरेको छ ।  अविरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको हो । ‘यस घडीमा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न र नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्दछ । यसैगरी जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन हुन पनि आग्रह गर्दछ,’ महासंघले जारी गरेको अपिलमा भनिएको छ ।  

कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिए

काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए ।  उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गर्दा २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो  । शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो ।  शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए ।  कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । 

बिहानैदेखि त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द गरिएको थियो ।  तर, आइतबार भने मौसम अनुकूल भएपछि आन्तरिक उडान सुरु भएको गरिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

अत्यावश्यक हलुका सवारीलाई गन्तव्यतर्फ जान अनुमति, होल्डिङमा रहेकालाई यथास्थानमा रहन आग्रह

काठमाडौं । अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ ।  शनिबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको  सडकमा सवारी साधन आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ ।  ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारी साधन गन्तव्यतर्फ पठाइएको हो । शुक्रबार साँझदेखि परेको वर्षाले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् ।  उनका अनुसार काठमाडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ । धादिङ, तनहुँलगायतका जिल्लाहरूमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’ मा रहेका सवारी साधनलाई यथास्थानमा रहन समेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनको भनाइ छ । 

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ३९ ढोका खोलिए

काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ३९ गेट (ढोका)  खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गरिएको थियो ।शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

वीरगञ्ज महानगरका अधिकांश क्षेत्र​​​​​​​ डुबानमा, छैन पानीको उचित निकास

काठमाडौं । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो ।  वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए ।  ‘लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन,’ उनले भने, ‘महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।’ प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए ।  ‘सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ । महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन,’ उनले भने ।  प्रमुख सिंहका अनुसार वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको छ । वर्षाको पानीले हुनसक्ने डुबानलाई लक्षित गरेर टोल-टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ती ठाउँहरु खुला रुपमा राखिएको उनको भनाइ छ ।  सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेको उनले बताए । प्रमुख सिंहले केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठूलो प्रकृतिको क्षति हुन नपाएको दाबी गरे ।  ‘विगतमा भेडाहा खोलाको कारणले वडा नम्बर ३१ र अन्य वडामा ठूलो क्षति भएको थियो । अहिलेसम्म भेडाहाखोलाको बाँधले थेगिरहेको छ । अब कति समयसम्म थेग्छ भन्ने हो,’ उनले भने ।  स्थानीय प्रशासनले थाल्यो सतर्कता पर्सामा अत्यधिक वषा वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यहाँ अत्यधिक वर्षा हुन थालेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए ।  ‘वर्षापछि हुनसक्ने डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकायले उद्धारका लागि तयारी अवस्थामा जुटेका छन्,’ उनले भने, ‘अहिलेसम्म वर्षाको कारणले कुनै पनि मानवीय क्षति भएको छैन ।’ प्रजिअ सुवेदीले वर्षा भइरहेकाले पनि कुनै पनि डुबान र अन्य प्रकृतिको समस्या भएको खण्डमा तुरुन्तै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्नका लागि अनुरोध गरे ।  ‘अहिले वीरगञ्जसहित पर्सामा वर्षा भइरहेको छ । जुनसुकै समयमा पनि जोखिम हुनसक्ने भएकाले पनि सर्वसाधारणले पनि आवश्यक सावधानी र अत्यावश्यक परेको खण्डमा मात्रै निस्कन अनुरोध गर्दछु,’ उनले भने ।  भेडाहा खोलाको कारणले विगतमा वडा नम्बर ३१ र ३० मा क्षति पुर्याउने गर्थ्यो । वीरगञ्ज महानगर ३१ नम्बरका वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवले डुबानको कारणले वडामा त्यति धेरै क्षति हुन नपाएको बताए ।  ‘भेडाहा खोलामा आएको बाढीले बालुवाको बोरा राखेर लगाइएको बाँधलाई केही क्षति पुर्याएको छ । लगातार पानी परेपछि बस्तीलाई अलर्ट गराउनेदेखि सतर्कता अपनाउनको लागि आह्वान गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म ३१ नम्बर वडामा मानवीय क्षति र जग्गा कटान हुन पाइरहेको छैन ।’ वेल्वागाउँको उत्तरतर्फ रहेको छठघाट र वेल्वाको पश्चिम पुलतर्फ बाधिँएको बाँध पनि आधाजसो क्षतिग्रस्त भएको छ । वीरगञ्ज महानगर वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावेपुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए ।  ‘हाम्रो वडामा रहेको अलौँको कोनिया टोल डुबानमा पर्नसक्ने उच्च जोखिममा रहेको छ । सो बस्तीमा करिब १०० घरधुरी रहेका छन्,’ उनले भने, ‘जेसिबी स्क्काभेटर लगाएर पानी कटाउने काम भइरहेको छ । यद्यपि डुबान भइहालेमा कोनिया बस्तीका सर्वसाधारणलाई धर्मशालामा राख्नको लागि आवश्यक प्रबन्ध मिलाइसकेका छौँ ।’ वडाध्यक्ष छत्कुलीले एकीकृत जाँचचौकीको पछाडि भागमा रहेका दुई/चार वटा फुसका घर भने प्रभावित भएका छन् । अहिले डुबानको समस्या देखिएको ठाउँमा खटिएर जनतासँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ ।  तिलावे पुलको पानी अलौँतर्फ आएको खण्डमा भने थप जोखिम हुने सम्भावना पनि कायमै रहेको छ ।  त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाको कारणले श्रीपुरको नयाँबस्तीमा धेरै समस्या पारेको बताए ।  ‘अहिले बिहानीपख पानी रोकिएर केही राहत भएको छ । डुबानको कारणले कृषि सामग्री लिमिटेडको पछाडि भागमा बसोबास गर्ने दलित बस्तीका १५० भन्दा धेरै जनालाई श्रीपुरको धर्मशालामा लगेर राखेका छौँ,’ उनले भने ।  त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले वडा नम्बर २४ मा अहिले बिहानीपख ४ बजेदेखि नयाँबस्तीमा डुबानको समस्या देखिएको बताए ।  ‘सबैठादेखि ठाकुरराम क्याम्पससम्मका भुभाग वडामा पर्ने गर्छ । जुन एरिया सिर्सिया नदीको किनारा भएकाले पनि डुबानको उच्च जोखिममा रहेको छ । सिर्सिया नदीको कारणले नदी आसपासको बस्तीमा करिब बह्मटोल, मनमोहन नगर, ज्योत्ति कोलनी, बज्रङटोललगायतमा डुबानको समस्या देखिएको छ,’ उनले भने, ‘वडामा डुबानबाट भएका प्रभावितलाई उद्धार गरेर कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखेका छौँ ।’ वीरगञ्ज महानगर २६ का वडाध्यक्ष शम्भु मिश्रले वर्षाको पानीले उचित निकास नहुँदा पानी जम्ने समस्या रहेको बताए ।  वीरगञ्ज महानगर वडा नम्बर ११ मा बसोबास गर्ने ठाउँमा भने पानीको डुबानको समस्या पारिरहेको छ । यो विपद्को घडीमा संयम भएर एकापसमा सहयोग गर्नका लागि अनुरोध गर्दछु,’ उनले भने ।