विकासन्युज

प्रमुख ८ नदीले पार गरे खतराको तह, १२ नदी सतर्कताको तहमाथि

काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न ८ नदीले खतराको तह पार गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढी खोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरूमा बाढीले खतराको तह पार गरेका हुन् ।  विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरूमा जल सतह सतर्कता तहभन्दा माथि रहेको छ । उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ । यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।  बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पहिरोले हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् । स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मङ्गला गाउँपालिका-२ बाबियाचौरका चक्रलाल पाण्डे (राजुं)ले बताए ।  ‘साँघुरो सडकमा गुडिरहेका सवारी साधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ,’ उनले भने ।  म्याग्दी नदीमा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनामा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका-३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । ‘फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, 'संघीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्न पहल गरिरहेका छौँ ।’ तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण दुई वर्षसम्म पनि कार्यान्वयन भएको छैन । 

विज्ञ भन्छन्- विपद्मा मनोबल उच्च बनाउनुहोस्

काठमाडौं । तेता के के हुँदै छ, यता बाढी पसेर फेरि हामी दुखिकै खायो मुटु कलेजा हामी भयौं बेघरबार, हामी भयौं बेघरबार चरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो । निरन्तरको भारी वर्षासँगै देशका विभिन्न स्थानमा कतै पानीको बहाव बढेर बाढी बस्ती छिर्छ र बस्ती डुबाउँछ । कतै पहिरोले बस्ती बगाउँछ । अनि यो गीतका शब्द, स्वर र पीडा-फेरि पनि नेपालीहरूको मनमा गुञ्जिन्छ । अहिले जसरी मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ, कति नदीमा पानीको बहाव बढेर बाढीको जोखिम देखिएको छ । गीतको भावले भनेझैँ कोही पनि घरबारविहीन नहोउन्, कोही कसैले ज्यान नगुमाओस्, अनि कोही कसैले प्रियजन गुमाउन नपरोस्, भन्ने कामना नेपालीहरूले गरिरहेका छन् । शुक्रबार साँझदेखि नै मुलुकका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । नदीको बहाव बढ्न थालेको छ, पहिरोको खतरा पनि उस्तै छ । मनसुनी विपद्को चपेटामा पर्ने पो हो कि भन्ने डर जनमानसमा देखिन्छ । सरकारले केही दिनयतादेखि नै मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । कतिपय स्थानमा राहत टोली परिचालनमा छन् । बाढी-पहिरोजस्ता मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति कम गर्न मुख्य राजमार्गमा आवागमन बन्द गरिएको छ । कतिपय स्थानमा विद्यालय अस्थायी बास बनेका छन् । तर सर्वसाधारणको मनभित्रको भय पनि उस्तै देखिन्छ । गत वर्षको असोजमा आएको बाढीले ललितपुर महानगरपालिका-२५ की सविता माझीको घरमै पसेर भागाभाग गराएको थियो । अहिले पनि निरन्तर भइरहेको वर्षाले उहाँलाई अझै झस्काएको छ । कतै बाढीले फेरि उठिबास लगाउने हो कि भन्ने भयले माझीलाई बिचलित बनाएको छ । ‘साना बालबच्चा छन्, गत वर्ष त स्कुलमा गएर बस्यौं, कति दिन भोकै भयौं, अहिले पनि डर छ नि, फेरि बाढी आउँछ कि भन्ने । आयो भने कता भाग्ने भन्ने पनि थाहा छैन, । पानी नरोकिएसम्म तनाब लागिरहेको छ,’ उनले भन्छिन् ।  भक्तपुरकी मनमाया खड्कालाई पनि हनुमन्ते खोलामा जलसतह बढिरहेको समाचारले त्रसित बनाएको छ । पहिले पनि घरभित्रै बाढी पसेको र यसपटक पनि बाढी पस्ने हो कि भन्ने चिन्ताले सताएको छ उनलाई । उनीहरू त केही उदाहरणका पात्र मात्रै हुनुहुन्छ । यी र यस्तै, अनि यसभन्दा पनि अझ भयानक विपद् भोग्नेहरूलाई अहिलेको निरन्तर वर्षाले तर्साइरहेको छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोजराज ओझाले प्राकृतिक विपद्को समयमा हुने धनजनको क्षतिको कारण मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने र यसले मनोवैज्ञानिक रूपमा त्रास उत्पन्न गराउन सक्ने बताउँछन् ।  ‘यस्तो अवस्थामा विपद्लाई स्वीकार गर्नुपर्छ र सावधानी अपनाएर सुरक्षित रहनुपर्छ । धनजनको क्षति हुँदा मानिस आत्तिनु स्वाभाविक हो, तर यसलाई स्वीकार गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनुपर्छ । समाज, आफन्त, परिवार र राज्यको साथले त्यस्ता व्यक्ति मानसिक रूपमा बलियो बन्न सक्छन्,’ उनले भने ।  डा. ओझाका अनुसार, विपद्पछि देखा पर्ने सामान्य लक्षणमा तनाव, डर, निन्द्राको समस्या, रक्सी वा अन्य नशाको सेवनजस्ता समस्या देखिन सक्छन् । डर र त्रास उत्पन्न भइसकेपछि सकेसम्म आफूले नियन्त्रण गर्ने, सहयोग लिन र स्वस्थ जीवनशैली अपनाउनु नै उत्तम हुने उनको भनाइ छ ।  डा ओझाका अनुसार, मनो-सामाजिक स्वास्थ्य कायम राख्न नकारात्मक समाचार कम हेर्नु, सकारात्मक जानकारीमा ध्यान दिनु, योग र हल्का व्यायाम गर्नु, आवश्यक परे परिवार वा मित्रसँग कुरा गरेर सहयोग लिनु, र अत्यधिक तनाव वा उताउलोपन भए मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । ‘विपद्पछिको मनो-सामाजिक परामर्श सार्वजनिक र व्यापक रूपमा पहुँचयोग्य हुनुपर्छ । मनोवैज्ञानिक त्रास भन्नाले यस्तो अवस्था जनाउँछ, जहाँ मानिसले अकल्पनीय पीडा वा क्षति भोगेपछि आफ्नो मानसिक सन्तुलन र भावनात्मक स्थिरता गुमाउँछ,’ उनले भने ।  विपद्पछि मानसिक स्वास्थ्यमा प्रभाव बढ्न सक्छः विशेषज्ञ ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीका अनुसार, हरेक प्रकारका विपद्को समयमा मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ । उनले योजनाअनुसार अघि बढिरहेको जीवनमा अचानक आएको विपद्ले मनमा नकारात्मक प्रभाव पार्छ र त्यसको गम्भीरता व्यक्ति अनुसार फरक पर्न सक्ने बताए ।  डा कार्की भन्छन्, ‘विगतका अनुभव, सामना गर्ने क्षमता र सहयोगी संयन्त्रको अभावले विपद्को समयमा मानसिक प्रभाव पनि फरक पर्छ । कुनै व्यक्तिमा हल्का तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुन सक्छ ।’ उनका अनुसार, विपद्पछि देखा पर्न सक्ने आम मनोवैज्ञानिक समस्यामध्ये चिन्ता (एन्जाइटी) र डिप्रेशन प्रमुख हुन् । विपद्का कारण लामो समय तनाव लिँदा निन्द्रामा समस्या आउने, लागुऔषधको प्रयोग बढ्ने, घरेलु हिंसा वृद्धि हुने र पारिवारिक सन्तुलन बिग्रने जस्ता समस्या देखिन सक्छन् ।  ‘अत्यधिक निराशाको अवस्थामा आत्महत्यासम्मको खतरा रहन्छ,’ डा कार्कीले भने ।  उनका अनुसार, यस्ता अवस्थाबाट बच्न मानसिक स्वास्थ्यसम्बन्धी सहयोग र परामर्श अत्यावश्यक हुन्छ ।  ‘कसैले पनि आफ्नो समस्या लुकाउन हुँदैन, खुल्न सक्नुपर्छ, कठिन समयमा साथ दिनु, सकारात्मक सामाजिक माहोल बनाउनु र सहानुभूतिपूर्ण व्यवहार गर्नु महत्त्वपूर्ण हुन्छ,’ उनले सुझाए । डा कार्कीले मानसिक स्वास्थ्य सहयोगका लागि निःशुल्क हटलाइन सेवा ‘११६६’ मा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो । साथै, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई सामाजिक संघ-संस्थासँग समन्वय गरी आवश्यक सहयोग पु¥याउने पहल भइरहेको पनि उनको भनाइ छ । ‘विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक समुदायका व्यक्ति तथा पहिले नै मानसिक समस्या भोगिरहेका व्यक्तिहरू विपद्पछि मनो-सामाजिक समस्यामा बढी संवेदनशील हुने गर्छन्,’ उनले भने ।  उनले सरकार, समुदाय र परिवार सबैले मिलेर विपद्पछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।  विपद्को समयमा मनोबल उच्च बनाउन आवश्यक अहिलेको जस्तो प्राकृतिक विपद्को समयमा मानिसको मानसिक स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्नका लागि सकेसम्म मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुहुन्छ मनोविद् डा करुणा कुँवर । अग्रिम सचेतना र आवश्यक तयारी गर्न सके मानसिक रूपमा हुन सक्ने समस्या कम हुने उनको भनाइ छ । डा. कुँवरका अनुसार, विपद् अघि नै मानिसलाई सुरक्षित रहन सचेत गराउने र मानसिक रूपमा तयार पार्न पनि उत्तिकै आवश्यक हुन्छ ।  ‘सरकारले विपद् पूर्वतयारी र विपद् व्यवस्थापनमा राम्रो तयारी गरेको भए पनि घरबार गुम्ने डर, परिवार वा आफन्त गुमाउने भयलगायतका कारण मानिसमा तनाव बढ्न सक्छ,’ उनले भनिन्, ‘तसर्थ मनोबल उच्च राख्दै जो जहाँ छन् त्यहीँ सुरक्षित रहनुपर्छ । यस्तो अवस्थामा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा राख्नुपर्छ ।’ कुँवरले विपद्का क्रममा मनोवैज्ञानिक त्रास बढ्ने र मानसिक समस्याका कारण परामर्श लिन आउने घटना देखिएको स्मरण गरिन् ।  ‘विगतका घटनाले पनि मानिसलाई अझै तर्साउँछ ।  यसले थप मानसिक असर पर्न सक्छ । कुनै पनि विपद्पछि मानसिक रूपमा बलियो हुन कतिपयका लागि सहज हुन सक्छ भने कसैलाई लामो समय लाग्न सक्छ,’ उनले भनिन् ।  डा कुँवरका अनुसार, समयमै परामर्श लिनु, संयमित रहनु र मानसिक तयारी अपनाउनु आवश्यक हुन्छ । समुदायस्तरमा पनि विपद्पछिको मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुग्छ । उनले सबैलाई मानसिक स्वास्थ्यको ख्याल राख्न र विपद्पछि समुदाय तथा परिवारमा सहयोग र सहकार्यको वातावरण बनाउन आग्रह गरिन् ।  गर्भवतीमा मानसिक र शारीरिक प्रभाव बाढी-पहिरोजस्ता प्राकृतिक विपद्को समयमा गर्भवतीको शारीरिक स्वास्थ्य र मानसिक अवस्थामा समेत बढी प्रभाव पर्न सक्ने विशेषज्ञको भनाइ छ । स्त्रीरोग विशेषज्ञ तथा प्रसूति चिकित्सक डा इसा श्रेष्ठ भन्छिन्, ‘विपद्को समयमा गर्भवतीमा डर, तनाव, रक्तचाप वृद्धि र मानसिक अस्थिरता देखा पर्न सक्छ । सुरक्षित रहनु, हतारमा स्वास्थ्य केन्द्रमा नजानु र मानसिक स्थिरता कायम राख्नु आवश्यक हुन्छ ।’ डा श्रेष्ठका अनुसार, विपद्को समयमा धनजनको क्षति हुने डर, विपद्को सामना कसरी गर्ने भन्ने चिन्ता, विपद्मा भइपरी स्वास्थ्य समस्या देखिएमा के गर्ने भन्ने चिन्ताका कारण पनि गर्भवतीमा मानसिक तनाव उच्च हुनसक्छ । ‘विपद्को समयमा सकेसम्म घरबाहिर ननिस्किएर सुरक्षित स्थानमा बस्नुपर्छ । चिकित्सकले फलोअपमा बोलाएको समयमा आए पनि केही दिन ढिलो गरी अस्पताल जाँदा फरक पर्दैन । तर यदि योनीबाट रगत बग्ने, दुखाइ बढ्ने वा स्वास्थ्यमा तत्काल समस्या देखिएमा मात्र स्वास्थ्य केन्द्र पुग्नुपर्छ,’ उनले भनिन् ।  आधिकारिक सूचनामा भर पर्न आग्रह जल तथा मौसम विज्ञान विभागले विपद्को समयमा अनावश्यक रूपमा सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सूचना सम्प्रेषण हुन सक्ने र यसले मानसिक रूपमा त्रास बढाउन सक्ने भन्दै आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ । विभागले आफ्ना आधिकारिक सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत पनि सूचना जारी गर्दै विशेष सजक रहन अनुरोध गरेको हो । विभागले बाढी र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरेर आधिकारिक सूचना लिन सकिने जानकारी दिएको छ । होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध विभागले होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज बिहान ८ बजेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले यी स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । ‘असोज २० गतेसम्म नै बाढीको जोखिम रहेकाले होचा स्थान तथा नदी आसपासमा रहनेहरूले सुरक्षित स्थानमा बस्नुपर्ने र रातको समयमा अझै बढी चनाखो रहन आवश्यक छ,’ विभागका बाढीविद् विनोद पराजुलीले भने ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू-भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाड तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ । रासस

लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु

काठमाडौं । लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्याकेज-३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या सम्बोधनको पहल गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा हटाउनका लागि आयोजनाले सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको भण्डारीको भनाइ छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा हटाउन स्वीकृती नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो । दमौली भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत चितवनमा प्रसारण लाइन निर्माण गर्दा प्रयोग भएको वन क्षेत्रको जग्गा सट्टाभर्ना उपलब्ध गराउने विषयमा वन नियमावलीमा भएको व्यवस्था बमोजिम हालै चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गा प्राप्ति सहजीकरण समितिको बैठक बसेको थियो । बैठकमा चितवन जिल्लामा प्रसारण लाइन निर्माण गर्दा प्रयोग गरिने जग्गा सट्टाभर्ना उपलब्ध गराउने प्रयोजनार्थ राष्ट्रिय वनसँग जोडिएको, सम्भव भएसम्म समान भौगोलिक र पारिस्थितिकीय क्षेत्र रहेको, वन विकास गर्न सकिने भूबनावट भएको तथा एकै स्थानमा रही एक आपसमा जोडिएको चक्लाबन्दी भएको निजी जग्गा नेपाल सरकारको नाममा रजिस्ट्रेसन पास गर्ने गरी जग्गा बिक्री गर्न गराउन इच्छुक जग्गाधनीलाई पुनः सार्वजनिक सूचनामार्फत आह्वान गर्ने निर्णय भएको छ । समितिको बैठकबाट सट्टा भर्नाका लागि आयोजनालाई आवश्यक पर्याप्त जग्गा प्राप्त हुन नसकेको ब्यहोरो वन तथा भू-संरक्षण विभागलाई र वन नियमावलीमा भएको व्यवस्था बमोजिम जग्गा प्रयोग गरेबापतको रकम जम्मा गर्न आयोजनालाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।  प्रसारण लाइन निर्माणतर्फ हालसम्म ७४ प्रतिशत प्रगति भएको छ । प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडान सम्पन्न भइसकेको छ । २२ वटा टावरहरूको जग संरक्षण सम्पन्न भएको र दुई स्थानमा जारी रहेको भण्डारीले बताए ।  केइसी इन्टरनेशनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृती वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद थप गरिएको थियो । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी ५ आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका-६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ मा पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

वर्षाका बाबजुद दसैँका टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । शुक्रबार साँझ देखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दसैँ पर्व भव्य रुपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधि पूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ । यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढाटाढाबाट मान्यजन कहाँ आशीर्वाद लिन जानेहरूको तालिका प्रभावित भएको छ । भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।

मनसुनी वायुको प्रभाव कायमै, आज कोशी  र मधेसमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जल वाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी  र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज  कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ ।  घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए । 

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे ।  विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।