नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए । नमोबुद्ध-२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौंतर्फ जाँदा उनी दुर्घटनामा परेका थिए । गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।
सार्वजनिक जग्गा व्यवस्थित गरिँदै
रामपुर । सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ । उद्यान, चौतारी, सडक, धार्मिकस्थल, ताल, पर्यटन विकासलगायतका विकास नागरिक हितका हुन् । यस्ता कार्यमा चासो र चिन्तन भने कमै हुने गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाले नागरिक हित र नगरको विकासका लागि व्यक्तिले वर्षौँदेखि भोगचलन गर्दै आएका सार्वजनिक जग्गा छुट्याएर विभिन्न संरचना निर्माणमा जोड दिएको छ । सार्वजनिक जग्गा संरक्षणका लागि नगर सरकार तदारुकताका साथ लागेको छ । नगरपालिकाले १० वटै वडामा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य गरिरहेको छ । हाललाई सबैभन्दा ठूलो मानव बस्ती रहेको वडा नं ५ मा मिचिएका सार्वजनिक जग्गा नाप नक्साङ्कन गरेर छुट्याइएको छ । वडा नं ५ भित्र पर्ने मटेरी ठूलोटार, इलाका प्रहरी कार्यालय, सानीअमराई क्षेत्र, बहखोला, भम्बक आर्मिक्याम्प, सिमलघारी बसपार्क, नहरअफिस, आयुर्वेद अस्पताल क्षेत्रमा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य भएको छ । यी क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको छ । व्यक्तिले सार्वजनिक जग्गा मिचेर भोगचलन गर्दै आएका जग्गा छुट्टयाएर पिल्लर गाड्ने, वृक्षरोपण, सडक, उद्यान निर्माण, सौन्दर्यकरणजस्ता काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । 'वर्षौँदेखि व्यक्तिले भोगचलन गरेको जग्गा छुट्याएर काम गर्न निकै चुनौती झेल्नुपर्यो, सार्वजनिक जग्गा अधिकरण गरेर व्यक्तिले लाभ लिएको जग्गा अहिले नाप नक्साङ्कन गरेर राखिएको छ', वडाध्यक्ष पोखरेलले भने, 'नक्साअनुसार काम गरिएको छ, यस कार्यमा स्थानीयसँग धेरै विवाद सामना गर्नुपर्यो, अहिले हाम्रो वडामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या समाधान भएको छ ।' मटेरी ठूलोटार क्षेत्रमा चारैतिर ३८ वटा पिलर गाडेर सार्वजनिक जग्गा छुट्याइएको छ । इलाका प्रहरी कार्यालय, रामतुलसी नमूना माविको खेलमैदान र व्यक्तिको विवादित बनेको जग्गा छुट्याएर वर्षौँदेखि समस्या समाधानका लागि पिलर गाडेर राखिएको छ । इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रहेको भान्साघर परिसरसम्म सार्वजनिक जग्गा रहेको पाइएपछि अब सो क्षेत्रमा नयाँ स्थायी संरचना बनाउन नपाउनेगरी पिलर गाडेर जग्गा छुट्याउने काम सकिएको वडाध्यक्ष पोखरेल बताउँछन् । व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरेका सार्वजनिक जग्गालाई नाप नक्साङ्कन गरेर सो क्षेत्रमा अहिले मनोरञ्जन उद्यान, व्यायामशाला, सडक निर्माण तथा विस्तार, वृक्षरोपणजस्ता कार्य हुन थालेपछि रामपुरको स्वरुप फेरिँदै गएको छ । रामपुर नगरपालिकाले २०८० देखि सार्वजनिक जग्गा संरक्षण अभियान थालेको हो । नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्य गरिरहेको छ । नगरपालिकाले पहिलो र दोस्रो वर्ष रु पाँच-पाँच लाख, वडा नं ५ कार्यालयले वडाभित्रका सार्वजनिक जग्गा छुट्याउनका लागि पहिलो वर्ष रु एक लाख रकम विनियोजन गरेर काम गरेको वडाध्यक्ष पोखरेलले जनाए । नगरले राष्ट्रिय गौरवका योजनाबाट सार्वजनिक जग्गा छुट्याउने कार्य थालनी गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर पर्यटन विकास, बालउद्यान, खेलमैदान स्तरोन्नति गर्दै सौन्दर्यकरण गर्दै लैजाने नगरप्रमुख थापा बताउँछन् । “कोही व्यक्तिले पनि व्यक्तिगत रूपमा आफूलाई लाभ लिने उद्देश्यले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, त्यस्ता जग्गा पहिचान गरेर नगरपालिकाको हित हुने र सर्वसाधारण, समुदायले प्रत्यक्ष लाभ लिने खालका पूर्वाधार विकास गर्दै जानेछौँ, सार्वजनिक जग्गा छुट्याउने कार्यलाई नगरले जोड दिएको छ”, नगरप्रमुख थापाले भने । रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने नगरवासीको मागअनुसार काम भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा नगरवासीले साथ दिएका छन् । पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको छ । रामपुरमा तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले जग्गा बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो । रामपुर नगर सरकारले भने थालनी यस कार्यले समाजमा राम्रो प्रभाव पारिरहेको छ । रासस
एसवाई प्यानलको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एसवाई प्यानल नेपालले आज असोज ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि भदौ २९ गतेदेखि बिक्री गर्ने भनिएको आईपीओ देशमा उत्पन्न विषम परिस्थितिका कारण आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
स्काईपिक एड्भेन्चरस पार्कले २१ प्रतिशत आईपीओ जारी गर्ने
काठमाडौं । स्काईपिक एड्भेन्चरस पार्क लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले जारी पुँजीको २१ प्रतिशत सेयर सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १ गते बिहान ९ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यू रेटिङ गर्ने, सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्नेछ । यस्तै, सभाले स्थिर सम्पत्तिको भोगचलन एवं लिज सम्झौता व्यवस्थापन गर्ने र जग्गा खरिद गर्ने एंव खरिद कार्यको अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वार्षिक २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।
आजसम्म सेयरधनी बने कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश पाउने
काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको आज सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कारोबार भइ कायम सेयरधनीहरूले यी दुई कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ ।
स्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न मन्त्री कुलमानको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग अन्तर्गत दुई सडक खण्डको आज अवलोकन गरेका छन् । विस्तारित दुई खण्ड सूर्यविनायक-धुलिखेल तथा धुलिखेल-खावा सडक खण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिए । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिए । ‘सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । हामी सोहीअनुसार तयारी गर्दैछौँ,’ मन्त्री घिसिङको भनाइ उद्धृत गर्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने । उनका अनुसार विस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको छ । घिसिङले चालु आर्थिक वर्षभित्र सडक बिस्तार कार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रालयले पहल गर्ने बताए । यसैबीच वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडक खण्डमा स्तरोन्नतिको काम भदौदेखि पुनः सुरु गरिएको छ । बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा कालोपत्रे गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि ‘सिटिबी’को काम भइरहेको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको हो । जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । यसअघि असार र साउन महिनामा मनसुनका कारण बिस्तार कार्य रोकिएको उनको भनाइ छ । बनेपाको पुलबजार क्षेत्रमा भने करिब ६ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि बिस्तार कार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गरिरहेका छन् । अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन । हाल बनेपाको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माणकार्य भइरहेको छ । पुल बजारबाहेक सूर्यविनायकदेखि धुलिखेलसम्मका अन्य स्थानमा भने छोटो खण्ड-खण्डमा काम भइरहेको खनालले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा पर्खाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमै सडक कालोपत्रका लागि तयारी भइरहेको छ । धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युतको हाइटेन्सन लाइनका पोल सार्न बाँकी रहेको जनाइएको छ । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई विस्तारको काम भइरहेको छ । हाल दुई खण्डमध्ये सूर्यविनायक-साँगा खण्डको ३७ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए । साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समय सीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने उनले बताए । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्ड बिस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ४ लेनमा सडक बिस्तार थालिएको हो ।
विद्युत् लाइन काटेर १ करोड २७ लाख रुपैयाँ बक्यौता सङ्कलन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर १ करोड २७ लाख १५ हजार ७८६ रुपैयाँ सङ्कलन गरेको हो । उक्त अवधिमा १ हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये ७०८ जनाले बक्यौता भुक्तानी गरेपछि पुनः जोडिएको छ । सो अवधिभरिको ६६ लाख २७ हजार ३३१ रुपैयाँ बक्यौता बापतको रकम उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए । आव २०८०/८१ मा १ हजार ४३६ जना सेवाग्राहीको लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७ सय रुपैयाँ सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रेग्मीका अनुसार सो अवधिमा १ हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने ३ करोड ५० लाख ५६ हजार ६७४ रुपैयाँ बक्यौता उठ्न बाँकी थियो । केन्द्रले आव २०८१/८२ मा ५ करोड ३६ लाख ५१४ विद्युत् युनिट बिक्री गरेको छ । आव २०८०/८१ मा ५ करोड ४० लाख ५९ हजार २१२ विद्युत् युनिट बिक्री भएको थियो । गत आवमा ०.८४ प्रतिशतले कमी आएको हो । केन्द्रले विद्युत् बिक्री गरी आव २०८१/८२ मा ५९ करोड ५८ लाख ६९ हजार ४७९ रुपैयाँ सङ्कलन गरेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा ५३ करोड ९४ लाख ३३ हजार ९३६ रुपैयाँ सङ्कलन भएको थियो । चार्जिङ स्टेसनतर्फ १४ ग्राहक सङ्ख्या रहेकामा ७ लाख १ हजार २८६ युनिट विद्युत् बिक्री भएको रेग्मीले बताए । सोबापत ५३ लाख ३३ हजार ९२९ रुपैयाँ बिक्री भई ५४ करोड ११ लाख ९२५ रुपैयाँ सङ्कलन भएको थियो । केन्द्रमा एक वर्षको अवधिमा २ हजार ५०३ ग्राहक थपिएका छन् । थपिएकासहित जिल्लाभर कूल ५३ हजार भन्दा बढी सेवाग्राही पुगेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार घरेलुग्राहक २ हजार २५६, व्यापारिक ३१, गैरव्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ गरी दुई हजार ५०३ सेवाग्राही सङ्ख्या थपिएको छ । थपिएका सहित केन्द्रको कार्यक्षेत्रभित्र घरेलुग्राहक ५१ हजार ७५, व्यापारिक ३५५, गैरव्यापारिक ५६७, औद्योगिक ७८१, यातायात (इभी) ११, खानेपानी २३२, सिँचाइ ३८२, धार्मिक तथा सांस्कृतिक २१९, अस्थायी बत्ती १६, सडक बत्ती २०८, सामुदायिक १ र आन्तरिक १३ ग्राहक पुगेका केन्द्रले जनाएको छ ।
धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए, ५० लाख ७१ हजार सलामी दस्तुर
काठमाडौं । सन् २०२५ को चालु शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं (८ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरद याममा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही ९ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (८ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन् । शरद यामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथ प्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पद मार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् । गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका ५ जनाको हिउँ पहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।