विकासन्युज

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था लोकतान्त्रिक होटल व्यवसायी संघले गर्ने

काठमाडौं । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो ।  संघका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि संघले व्यवस्था मिलाइएको जानकारी दिए । ‘कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौं,’ उनले भने। संघले अप्ठ्यारोमा परेका यात्रुलाई संघमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ । 

नेपालबाट खाडी मुलुकका लागि हुने उडान आइतबार पनि रद्द, १६ सय यात्रु प्रभावित

काठमाडौं । अरब मुलुकका लागि नेपालबाट हुने नियमित विमानहरुको उडान आइतबार पनि रद्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेज, एयर अरबिया सारजाह, एयर अरबिया अबुदाबी, कतार एयरवेज र फ्लाइ दुबईको उडान रद्द भएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अरब मुलुकमा भएका युद्ध तनावका कारण नियमित उडान हुन नसकेको हो । आइतबार हुने उडान पनि रद्द भएको उनले जानकारी दिए । अरब मुलुकबाट नेपाल आउने र नेपालबाट जाने दुवैतर्फको विमानहरूको उडान रद्द भएको भुलले जानकारी दिए । उनका अनुसार आउने र जाने गरेर १ हजार ६ सय यात्रु प्रभावित भएका छन् ।  युएई र कतार लगायत अन्य मुलुकमा आक्रमण भएका कारण विमानस्थल बन्द भएका छन् । अमेरिका र इसराइलको आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएका छन् । तेहरानमा गरेको हवाई हमलामा परी उनको मृत्यु भएको हो।   

टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजारसम्म सन्देश पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउने सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार र १० हजारसम्म एसएमएस पठाउन सकिन्छ । एउटै सन्देश धेरै व्यक्तिलाई पठाउनुपर्ने अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाले यस सेवा उपयोग गर्दै आएका छन् । हालको सन्दर्भमा समेत सूचनामूलक सन्देश छिटो र प्रभावकारी रूपमा प्रसारण गर्न यो सेवा उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । सेवा अन्तर्गत १ हजार २४३ रुपैयाँमा २ हजार एसएमएस, ३ हजार १०८ रुपैयाँमा ५ हजार एसएमएस र ६ हजार २१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनी सिमकार्ड आवश्यक पर्नेछ । साथै, प्रेषित सन्देशको विषयवस्तु, शब्द र भावसम्बन्धी पूर्ण जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाकै हुनेछ । यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित वेब पोर्टलमा लगइन गरी आवश्यक प्याकेज खरिद गरेर प्रयोग गर्न सकिनेछ । सामूहिक सन्देश पठाउनका लागि आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ, जसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ । कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले सेवा सम्बन्धी उक्त जानकारी सार्वजनिक गरेका हुन् ।  

७७ खर्ब नाघ्यो निक्षेप, व्यवस्थापन गर्न ११० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार ११० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ जेठ १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।   

निर्वाचनपूर्व मन्त्रिपरिषद् बैठक अनिश्चित, दीर्घकालीन निर्णय रोक्न मुख्यसचिव अर्यालको सतर्कता

काठमाडौं । सरकारका मुख्य सचिव सुमनराज अर्यालले अनिच्छा देखाएपछि सोमबार बस्ने तय गरिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ ।  निर्वाचनको पूर्वसन्ध्यामा सरकारले दीर्घकालीन महत्त्वका प्रस्तावहरू अघि बढाउने तयारी गरेको सूचना पाएपछि मुख्यसचिव अर्यालले सकेसम्म निर्वाचन परिणाम सार्वजनिक नहुँदासम्म मन्त्रिपरिषद् बैठक नराख्न सुझाव दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार केही मन्त्रालयहरूले नीतिगत तथा दीर्घकालीन असर पार्ने निर्णयका प्रस्तावहरू क्याबिनेटमा लैजाने तयारी गरेका थिए । ती प्रस्तावहरू निर्वाचन आचारसंहिताको भावना विपरीत हुन सक्ने आशंकासहित मुख्यसचिवले सतर्कता अपनाउन आग्रह गरेको बताइएको छ । मतदानको दिन आउन लागेको र मौन अवधि सुरु हुन लागेको अवस्थामा नयाँ नीति, दीर्घकालीन सम्झौता वा ठूलो आर्थिक दायित्व सिर्जना गर्ने निर्णयहरू भए भने मुख्यसचिव जिम्मेवार हुनपर्ने भएकोले अर्याल निर्वाचन पहिले मन्त्रिपरिषद बैठक नहोस् भन्ने पक्षमा रहेका छन् ।  यस्तै, संवेदनशील समयमा बैठक बसेर विवादास्पद निर्णय भए त्यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकोले निजामती प्रशासनको नेतृत्वले भोलिको मन्त्रिपरिषद बैठक नहोस् भन्ने चाहेको छ ।

सुनको मूल्य तोलामा ३ लाख २० हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला पाँच ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

निर्वाचनको मौन अवधि सुरु भएपछि के-के गर्न पाइँदैन ?

काठमाडौं । फागुन २१ गतेको निर्वाचन आउन अब चार दिनमात्र बाँकी छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यतिखेर प्रचारप्रसारलाई तीव्र बनाएका छन् । १८ गते राति बाह्र बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा रोक, निर्वाचन लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन र कार्यशाला तथा गोष्ठी आदि गर्न नपाइने जनाएको छ । त्यस्तै, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत तथा होहल्ला गर्न पाइनेछैन । त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट र सेयर गर्न वा गराउनु नहुने आयोगले उल्लेख गरको छ। ‘निर्वाचन प्रचारप्रसार तथा मत माग्न साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन,’ आयोगले भनेको छ, ‘मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति र कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।’ राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले प्रस्ट पारेको छ । त्यस्तै, आयोगले मतदान केन्द्र रहेको घर, भवन, स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी,सार्वजनिक घर, भवन, जग्गामा शान्ति भंग गर्न, भय, त्रास सिर्जना गर्न, निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नपाइने बताएको छ ।  मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने आयोगले जनाएको छ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई स्थायी रूपमा सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल फागुन २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि रहने कम्पनी सचिव खिम बहादुर कार्कीले जानकारी दिए ।