विकासन्युज

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्‍यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

टीसीएलको दशैँ–तिहार अफर : लाखौंको छुट र उपहार

काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘ग्रेटनेस इन एभरी मुभमेन्ट, इन्स्पाएर एभरी सेलिब्रेशन’ नामक दशैँ–तिहार अभियान सुरु गरेको छ । नेपालभरिका ग्राहकलाई उत्सवको रौनक थप गर्ने उद्देश्यले ल्याइएको यो योजनामार्फत टीसीएलले चाडपर्वमा उपभोक्तालाई आकर्षक नगद छुट र पक्का उपहार उपलब्ध गराउने जनाएको छ । अभियान अन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहार पाउनेछन् । योजनाअनुसार टीसीएल साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, कुनै पनि वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटरजेन्स, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टेलिभिजन खरिदमा ९ महिनाको नेट टिभी सदस्यता निःशुल्क उपलब्ध हुनेछ । भाद्र १९ देखि सीमित अवधिसम्म लागू हुने यो योजना नेपालभरका सम्पूर्ण आधिकारिक शोरूम र विक्रेतामार्फत कार्यान्वयन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अभियानमार्फत दशैँ–तिहारलाई अझ उत्सवमय बनाउने र ग्राहकलाई उत्कृष्ट प्रविधि तथा विशेष अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ।

एमाले विधान महाधिवेशन विभिन्न प्रस्ताव पारित गर्दै आज समापन हुने

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार समापन हुँदैछ । भदौ २० मा सुरु भएको महाधिवेशनको आज तेस्रो दिन हो ।  आज विभिन्न प्रतिवेदनहरू पारित गर्दै महाधिवेशन समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । ती समूहले शनिबार छलफल सकाएको प्रवक्ता गौतमले बताए । आइतवार बिहान ८ बजेबाट सुरु भएको बन्दसत्रमा छलफलका निष्कर्षहरू सुनाउने कार्य सकिएका उनले जानकारी दिए । यसक्रममा उठेका जिज्ञासाहरूको जवाफ अध्यक्ष ओलीले दिने तयारी भएको छ ।  आजै विविध समसामयिक प्रस्ताव पारित गरिने गौतमले जानकारी गराए । आजै केन्द्रीय निर्वाचन आयोगको निर्वाचनसमेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुनेछ ।

ललितपुर महानगरले भत्कायो न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना

काठमाडौं । ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु भत्काएको हो ।  महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले सो क्षेत्रमा रहेको संरचना भत्काएको हो । न्हुः पोखरीको उत्तरपूर्व भागमा मिचेर बनाईएको अनाधिकृत संचरनालाई वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए । महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको छ ।  महानगरपालिकाले पोखरीको जग्गाको अतिक्रमण बढेपछि सार्वजानिक जग्गा तथा ऐतिहासिक सार्वजानिक पोखरीको संरक्षण गर्ने निति बमोजिम न्हुः पोखरीको जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको हो । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरि बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ ।  वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महागरपालिकासँग पटकपटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाए । आफूहरु पोखरीको विरोधी नभएको भन्दै उनले आफूहरुलाई विकल्प दिन आग्रह गरे । २०१० सालमा स्थापना भएको वुद्धि विकास मण्डलले पनि समाज सेवा गरिएको उनको भनाई छ । उनले वुद्धि विकास मण्डलको भवन भत्काउन रोक्न आन्तरिम आदेशको माग गर्दै साउन १८ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको समेत जानकारी दिए । उच्च अदालतले अन्तरिम आदेश नदिएपनि कारण देखाउ आदेश जारि गरेको बताए । उक्त आदेशको पनि पालना नगरी संरचना भत्काइएको उनको आरोप छ ।  महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानिय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हुः पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैँले हटाएको हो ।   

चाडपर्वलक्षित बजार अनुगमनमा कडाइ गरिने

काठमाडौं । नेपालको संविधान २०७२ को धारा ४४ अनुसार उपभोक्ताको हकलाई सुनिश्चित गर्दै आएको सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमार्फत गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संवैधानिक अधिकारलाई थप मजबुत बनाउने निर्णयहरू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको उपभोक्ता संरक्षण परिषदको पाँचौं बैठकले मूल्य मापदण्ड निर्धारणदेखि बजार अनुगमनलाई तीव्रता दिने गरी विभिन्न निर्णयहरू गरेको छ ।  वस्तु तथा सेवाको मूल्य मापदण्ड तय गर्न निजी क्षेत्रसमेत सहभागी हुने गरी समिति गठन गर्ने, चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिने, प्रदेश र स्थानीय बजार अनुगमन समितिलाई प्रभावकारी बनाउन निर्देशन पठाउने, शैक्षिक संस्थान र परामर्श केन्द्रको नियमन सुधारका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।   त्यसैगरी, बिक्री काउण्टरमा अनलाइन प्रणालीमा आधारित डिजिटल क्यास रजिस्टर राख्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, गुणस्तर र नापतौल सम्बन्धी अनियमितता नियन्त्रण गरी आवश्यक मापदण्ड तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने, खाद्य पदार्थ, दुग्ध, मासु, तरकारी, फलफूल आदिमा हुने विषादी तथा मिसावट नियन्त्रण गर्न सम्बन्धित विभागलाई आदेश दिने, सार्वजनिक यातायात चाडपर्वमा सहज र सुरक्षित बनाउन नियामक निकायलाई अनुरोध गर्ने रहेको छ । सरकारले साउन र भदौमा गरी ६५० वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये १२६ उद्योग/फर्मलाई ८० लाख ६५ हजार एक सय रुपैयाँ जरिवाना तिराएको थियो । त्यसैगरी २२० उद्योग तथा फर्मलाई कागजातसहित उपस्थित हुन निर्देशन दिइएको थियो भने ३०४ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिइएको थियो ।  सरकारले खाद्यान्न, किराना तथा आवश्यक वस्तुको आपूर्तिमा समस्या नरहेको जनाएको छ । त्यसैगरी मूल्यवृद्धि नभएको र चाडपर्वमा पनि आपूर्ति सहज हुने विश्वास सरकारको छ ।  उपभोक्ता संरक्षण परिषदले अण्डा तथा पानी उद्योगसँग छलफल गरी एमआरपी र उपभोग्य अवधि अनिवार्य गर्ने पनि निर्णय गरेको छ ।  भदौ १८ मा बसेको केन्द्रीय बजार अनुगमन समितिले चाडपर्वलक्षित बजार अनुगमनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा म्याग्दीबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।      केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ रुपैयाँका दरले बिक्री हुँदा ६० करोड रुपैयाँको कारोबार भएको जानकारी दिए ।  उनका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिकटन सुन्तला प्रतिकिलो ८० रुपैयाँका दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।    म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौं र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए । आव २०८०र८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिकटन आलु र २४ करोड रुपैयाँ बराबरको तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।  सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।  गत आर्थिक वर्षमा केन्द्रको ४७ लाख १४ हजार रुपैयाँ सहयोगमा ४२ वटा फार्म तथा समूहमा आवद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए ।  खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि  ८७ लाख ६४ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि रु १९ लाख ८० हजार बजेट प्राप्त भएको छ ।  जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसवर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए । रासस

शोरुम उद्घाटन अघि नै बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण

बुटवल । प्रोटोन नेपालले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ को लोकप्रियता नयाँ स्तरमा पुर्‍याएको छ । कम्पनीले बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नुअघि नै १० युनिट इमास ७ ग्राहकलाई हस्तान्तरण गरेको हो । यो शोरुम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालनमा आउनेछ ।यसअघि पोखरामा सामूहिक हस्तान्तरण सम्पन्न गरेको प्रोटोनले बुटवलमा गरेको हस्तान्तरणले पनि नेपालभर आफ्ना ग्राहकबीच इमास ७ को विश्वास र लोकप्रियता बढ्दो अवस्थामा रहेको स्पष्ट देखाएको छ । नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले शोरुम उद्घाटनअघि नै १० परिवारले आफ्नो इमास ७ घर लैजानु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा र सुविधासहितको सवारी साधनलाई प्राथमिकता दिइरहेको प्रष्ट भएको उल्लेख गरे । ग्राहकलाई आकर्षित गर्न प्रोटोनले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता अफरहरू उपलब्ध गराएको छ । चीनको अग्रणी ईभी निर्माता जिलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, स्मार्ट सुविधा र उच्चस्तरीय सुरक्षा संयोजन गर्दै नेपालका ईभी पारखीहरूबीच उत्तम विकल्प बनेको कम्पनीले जनाएको छ ।

२५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।  बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।   यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।