परिवारमैत्री र बजेटअनुकूल एमजी साइबर एक्स इलेक्ट्रिक एसयुभी आउँदै
काठमाडौं । एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्स लई आगामी दुई वर्षभित्र बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार यो मोडल परिवारमैत्री इलेक्ट्रिक एसयुभीको रूपमा प्रस्तुत हुनेछ । यो मोडल पहिलो पटक शाङ्घाई अटो शोमा बोल्ड कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो । एमजीको यूके प्रडक्टका डेविड एलिसनले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ को संज्ञा दिएका छन् । साइबर एक्सले कन्सेप्टमा देखाइएको बक्सी र एङ्गुलर डिजाइन कायम राख्नेछ । पप(अप हेडलाइटको सट्टा परम्परागत हेडलाइट प्रयोग हुनेछ भने प्यानोरामिक रूफ हटाएर आधुनिक इन्टिरियर राखिनेछ । ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, पर्याप्त हेडरूम र लेगरूमले यसलाई परिवारमैत्री बनाउनेछ । साइबर एक्समा एमजीको नयाँ सेमी(सोलिड(स्टेट ब्याट्री प्रविधि प्रयोग हुने अपेक्षा गरिएको छ । यसले करिब ४८२ किमीसम्मको रेन्ज दिने अनुमान गरिएको छ । अधिकांश मोडलमा सिंगल-मोटर फ्रन्ट-ह्वील-ड्राइभ रहनेछ भने उच्च भर्सनमा अल-ह्वील-ड्राइभ पनि उपलब्ध हुने सम्भावना छ । विश्व बजारमा यसको प्रारम्भिक मूल्य ३० हजार यूरोभन्दा कम हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार आधुनिक प्रविधि, पहुँचयोग्य मूल्य र व्यवहारिक डिजाइनका कारण यो सानो इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा निकै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। एमजी मोटर एसएआईसी मोटर कर्पोरेसनको स्वामित्वमा रहेको ब्रिटिश ब्रान्ड हो । पेट्रोल, हाइब्रिडदेखि फुल्ली इलेक्ट्रिक मोडलसम्मका सवारी साधन उत्पादन गर्दै आएको एमजीले विश्वव्यापी रूपमा स्टाइलिश, प्रविधिमैत्री र बजेटअनुकूल गाडीमार्फत आफ्नो उपस्थिति मजबुत पारेको छ ।
टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम भदौ २० र २१ मा सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ । यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक र आईसीई मोडलका गाडीहरू एकैसाथ अवलोकन गर्ने, टेस्ट ड्राइभ गर्ने र आकर्षक अफरसहित बुकिङ गर्ने सुविधा पाउनेछन् । प्रदर्शनीमा टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी, कर्भ ईभी लगायत लोकप्रिय ईभी मोडलहरू प्रस्तुत गरिएका छन् । त्यस्तै, टियागो, पञ्च, नेक्सन र टाटा सफारी जस्ता आईसिई मोडलहरू पनि राखिएको छ । ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्सले विशेष सुविधाहरूसमेत घोषणा गरेको छ। तीमध्ये लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्री कम्प्रहेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर तथा फ्रि होम चार्जिङ इन्स्टलेसन प्रमुख रहेका छन् । कम्पनीले यो कार्यक्रमलाई केवल अफर र आर्थिक सुविधा उपलब्ध गराउने माध्यम मात्र नभई, ग्राहकलाई चाडपर्वको उत्साहसँग जोड्ने प्रयासको रूपमा लिएको छ । कार्यक्रम टाटाको नेपालभरिका शो–रुममार्फत सञ्चालन भइरहेको हो ।
युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक कारहरूको आक्रामक प्रवेश
काठमाडौं । चिनियाँ र युरोपेली कार निर्माताहरू आगामी हप्ताको म्युनिख कार शोमा आमनेसामने हुने तयारीमा छन् । यसले युरोपमा तीव्र बन्दै गएको प्रतिस्पर्धालाई झल्काउँछ, जहाँ फक्सवागनजस्ता पुराना कम्पनीहरू ईभी दिग्गज बीवाईडी तथा नयाँ प्रवेशकर्ता जीएसी र चाङ्गानसँग भिडिरहेका छन् । आईएए मोबिलिटी, जुन महादेशकै सबैभन्दा ठूलो कार शो हो । यो यस्तो समयमा आउँदैछ जब युरोपेली कार निर्माताहरू चीन जुन विश्वकै सबैभन्दा ठूलो बजारमा आफ्नो स्थान गुमाइरहेका छन् । केही कार्यकारीहरूले यसलाई ‘डार्विनियन मूल्ययुद्ध भनेका छन् । मोबिलिटी दुई वर्षमा एकपटक हुने गर्छ । त्यसैबेला घरेलु दबाबबाट पन्छिन चिनियाँ कार निर्माता युरोपतर्फ लाभको खोजीमा विस्तार गर्दैछन् । विशेषगरी ईभी निर्माता बीवाईडी जसको विश्वव्यापी बिक्री २०२४ मा ४२ लाख कारमा पुगेको छ, जुन २०१९ को तुलनामा दशगुणा बढी हो । गार्टनरका अनुसन्धान उपाध्यक्ष पेड्रो पाचेकोले भने, ‘चिनियाँ ब्रान्डहरू युरोपमा बढ्न खोजिरहेका छन् भने युरोपेलीहरू ईभी र सफ्टवेयरमा प्रतिकार गर्न खोजिरहेका छन्।’ बीवाईडीसँगै म्युनिखमा चाङ्गान, जीएसी र एफएडब्ल्यूको हङ्गक्वी ब्रान्डसहितका चिनियाँ कम्पनीहरू पनि सहभागी हुनेछन् । जर्मन अटो लबी भीडीएका विभागीय प्रमुख जान हेकम्यानले यस वर्षको मोबिलिटीमा २०२३ को तुलनामा ४० प्रतिशत बढी चिनियाँ प्रदर्शक रहने बताए । जाटो डाइनामिक्सअनुसार चिनियाँ ब्रान्डहरूले जनवरीदेखि जुलाई २०२५ सम्म युरोपेली बजार हिस्सेदारी लगभग दोब्बर पारेर ४.८ प्रतिशत पुर्याएका छन् । म्याककिन्सेले अनुमान गरेको छ कि भविष्यमा उनीहरूले जापानी र कोरियन कार निर्माताहरूको स्तर (१४ प्रतिशत र ९ प्रतिशत क्रमशः) सम्म पुग्न सक्छन् । व्यापार युद्ध र युरोपमा केन्द्रित रणनीति यो वृद्धि यूरोपियन संघ (ईयू) ले चिनियाँ ईभीमा हालै लगाएको शुल्कको बाबजुद आएको हो । ‘शुल्कले चिनियाँ विस्तार रोक्दैन,’ अलिक्सपार्टनर्सका साझेदार जिङ झाउले भने, ‘अमेरिका राजनीतिक कारणले पहुँचबाहिर भएकाले अब युरोप नै प्रमुख गन्तव्य हो ।’ एक समय अध्यक्ष माओ त्सेतुङले प्रयोग गर्ने गरेको हङ्गक्वीले आफ्ना इएचएस ५, इएचएस ७ र इएचएस ९ मोडेल सार्वजनिक गर्दै युरोपेली रणनीति प्रस्तुत गर्नेछ । चीनको सबैभन्दा ठूलो निर्यातकर्ता चेरीले जर्मनीमा आफ्ना ओमोडा र जेको ब्रान्ड ल्याउनेछ भने बीवाईडीले आफ्नो प्रिमियम डेन्जा ब्रान्ड र सिल ६ डीएम–आई टुरिङ प्लग–इन हाइब्रिड सेडान प्रदर्शन गर्नेछ । जुलाईसम्म बीवाईडीको युरोपेली बिक्री २९० प्रतिशत बढेर ८४ हजार कार नाघेको छ । चीनमा हालै कमजोर बिक्री र उत्पादन घटेसँगै युरोपमा अझै तीव्र विस्तार गर्ने दबाब बढेको छ । युरोपेली कार निर्माता मर्सिडिज बेन्ज, बीएमडब्ल्यू, रिनल्टलगायत प्रतिकारका लागि तयारी गरिरहेका छन् । बीएमडब्ल्यूले आफ्नो आईएक्स ३ एसयूभी प्रदर्शन गर्नेछ । रिनल्टले क्लिओ ६ ल्याउनेछ भने मर्सिडिजले नयाँ पुस्ताको ईभी जीएलसी प्रस्तुत गर्नेछ । फक्सवागनले आफ्नो आईडी पोलो ईभी कम्प्याक्ट ह्याचब्याक सार्वजनिक गर्नेछ, जसको मूल्य २०२६ मा २५ हजार युरो (२९ हजार २६७ डलर) भन्दा कम हुने अनुमान छ । कन्सल्टेन्सी स्ट्याक्सका प्रबन्ध निर्देशक फिल डनले भने, ‘युरोपेली कार निर्माताहरूले चिनियाँ चुनौतीप्रति ढिलो प्रतिक्रिया जनाए ।’ ‘पश्चिमी निर्माता केही हदसम्म ढुक्क भएका थिए । अब उनीहरूले सानो बजार हिस्सासँगै बाँच्न सिक्नुपर्ने हुन्छ, किनभने चिनियाँ कम्पनीहरू यहाँ स्थायी रूपमा आउँदैछन्,’ उनले थपे । विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत
निफ्रा बैंकको ६.३१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भर्दा १९ गते बसेको बैठकले ६.३१ प्रतिशत प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ ।
डेढ करोड बढीको लागतमा नयाँ वडा कार्यालय भवन निर्माण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा सुरु हुने उनले बताए।
नबिकेको २ लाख कित्ता नेपाल इन्स्योरेन्सले भदौ २७ गतेदेखि लिलामीमा राख्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।
आज देशभर बदली हुने, लुम्बिनी, सुदूरपश्चिम र तराईमा मध्यम वर्षा
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारण तथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
झापा इनर्जीको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । झापा इनर्जीले आज भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।