विकासन्युज

आज देशभर बदली हुने, लुम्बिनी, सुदूरपश्चिम र तराईमा मध्यम वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  त्यसैगरी, आज राति देशभर साधारण तथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

झापा इनर्जीको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । झापा इनर्जीले आज भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

दशैं अगाडि नै माछापुच्छ्रे बैंकका सेयरधनीलाई लाभांश, असोज १० गते डाक्यो २७औं भेला

काठमाडौं । माछापुच्छ्रे बैंकले दशैं अगाडि नै सेयरधनीहरूलाई लाभांश खुवाउने भएको छ । यस वर्ष दशैं असोज १६ गते दशैं परेको छ । बैंकले दशैं अगाडि नै सेयरधनीहरूको खल्तीमा लाभांश पुग्ने गरी प्रक्रिया अघि बढाएको हो ।  लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७औं वार्षिक साधारण सभा बिहान ११ बज बोलाएको हो ।  सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रतिसेयर १ सय रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई २० अर्ब रुपैयाँउने, बोनस सेयर माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयरको हदसम्म जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।  यस्तै, बैंक सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा वृद्धि गर्ने र सोही बमोजिम बैंकको नियमावलीको सम्बन्धित दफाहरु संशोधन गर्नेछ ।  बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २७औ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल र माछापुच्छे सेक्युरिटिजको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।  आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक गर्न जी.पी. राजवाहक एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त गर्ने र सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले साबिक सञ्चालकलाई बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

तयारी पोशाक उद्योग संघको अध्यक्षमा पाण्डे पुनः निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए । संघको निवर्तमान अध्यक्षमा चण्डिप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्त राज अधिकारी (हिमालयन कटन फेसन एण्ड इन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ्ग ई.प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।  साथै, कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेश मान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हीराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।

नाडाको विशेष साधारण सभा स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को विशेष साधारण सभा स्थगित भएको छ । अर्काे सूचना जारी नभएसम्मको लागि विशेष साधारण सभा हाललाई स्थगित गरिएको महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिए ।  उनका अनुसार भदौ १९ गते बसेको नाडाको २२औँ केन्द्रीय कार्यसमिति बैठकले भदौ २४ गते ललितपुरमा विशेष साधारण सभा डाकिएको थियो । उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने उनले बताए ।

मनाङमा कात्तिक १७ मा उपनिर्वाचन हुने, सुरक्षामा ध्यान दिन निर्देशन

काठमाडौं । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ-२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । उक्त कार्यतालिका अनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि उपनिर्वाचन हुने भएको उनले बताए । उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ । प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर  १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ ।  गत निर्वाचनमा जिल्लामा ६ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये ४ हजार ८४५ अर्थात् ७१.४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को ४ हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए । गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो ।  निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारी (सिडिओ ) नवराज पौडेलले निर्देशन दिए । उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वार्टरको निरीक्षणका क्रममा सिडिओ अधिकारीले आसन्न निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।  निरीक्षणमा नव निर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीको अवस्थाबारे जानकारी लिएका छन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिनुका साथै निर्वाचनको तयारीका बारेमा जानकारी गराए । सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रशासनिक तथा अपरेशनल गतिविधि, विपद् व्यवस्थापन रणनीति, सीमा सुरक्षासम्बन्धी चुनौती, भावी योजना तथा निर्वाचन विशेष सुरक्षा योजनाबारे विस्तृत जानकारी प्रस्तुत गराए ।   

२ करोड रुपैयाँले बढ्यो हनुमानढोका दरबारको आम्दानी

काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब २ करोड रुपैयाँले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्र गोपाल प्रधानले जानकारी दिए । प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा १७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेकोमा गत आव २०८१/८२ मा १९ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या सार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या १ लाख ५३ हजार २६२ जना रहेका थिए ।  त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकोमा अन्य देशका १ लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ । सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ । उक्त स्थान अवलोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ बजेदेखि १२ः३० सम्म र साँझ ५ बजेदेखि ८ बजेको समय तोकिएको छ ।  हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७ सयसम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ । यस वर्ष पनि ऐतिहासिक इन्द्र जात्रा नजिकिदै गर्दा आशाअनुरुप पर्यटक आउने विश्वास रहेको बताइएको छ । उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । इन्द्र जात्रा अवलोकन गर्न काठमाडौं महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्र जात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने एनटीसी र एनसेलको घोषणा

काठमाडौं । सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी) र एनसेलले आफ्नो डाटा प्रणालीबाट ती सामाजिक सञ्जालहरू नेपालमा नचल्ने घोषणा गरेका छन् ।  एनटीसी र एनसेलले विज्ञप्ति जारी गर्दै सरकारको निर्णय अनुसार तोकिएका सामाजिक सञ्जालहरू बन्द हुने घोषणा गरेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ९ को निर्णय, सञ्चार मन्त्रालयको भदौ १९ को निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गर्नका लागि कम्पनीलाई निर्देशन दिए बमाेजिम बन्द गरिएकाे विज्ञप्तिमा जनाइएको छ । यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने डाटा सेवामार्फत चलाउन सकिने कम्पनीहरूले जनाएका छन् ।