विकासन्युज

पोसाक उद्योगले हजारौँलाई रोजगारी दिएको छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली पोसाक उद्योगले हजारौँलाई रोजगारी दिएको बताएका छन् । बुधबार नेपाल तयारी पोसाक उद्योग सङ्घको ३०औँ वार्षिक साधारण तथा उद्घाटन कार्यक्रममा उनले नेपालको पोसाक उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको बताए । मन्त्री भण्डारीले यस कार्यमा सङ्घले तीन दशकदेखि तयारी पोसाक उद्योग क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले राष्ट्र विकासका लागि स्वदेशी उत्पादन, स्थानीय सीप विकास, उत्पादन वृद्धिबाट रोजगारी सिर्जना अपरिहार्य रहेको बताए ।  मन्त्री भण्डारीले गुणस्तरीय उत्पादन, ब्रान्ड निर्माण, प्रविधि अनुकूलन र निर्यात विस्तारका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।  नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विदेशी ब्रान्डलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रवर्द्धन गर्दा देशको अर्थतन्त्र बलियो, रोजगारी वृद्धि र राष्ट्रिय पहिचान मजबुत हुने विश्वास व्यक्त गरे ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले विदेशी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र रोजगारी वृद्धिका लागि सरकारले सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

चीन भ्रमणले नेपालको प्रतिष्ठा अभिवृद्धिमा योगदान, पुटिनलाई भ्रमणका लागि निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृत बहादुर राईले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहेका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिई सो सङ्गठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नका साथै त्यसमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु रहेको थियो । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भदौ १४ गते चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ । शान्तिपूर्ण सह अस्तित्वका ५ सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्या रहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेको सचिव राईले बताए । प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेका थिए ।  बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेका थिए ।  भारत र चीनबीच भएको लिपुलेक सहमतिप्रति आपत्ति प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको सचिव राईले वाचन गरेको प्रेस नोटमा उल्लेख छ । चीनका राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति दिएका थिए । साथै उनले चीनले संयुक्त राष्ट्र सङ्घ र साङ्घाई सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने उल्लेख गरेका थिए । चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च-गुणस्तरीय बिआरआई परियोजनाको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्याएको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्री ओली भदौ १६ गते थियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन प्लस शिखर सम्मेलनमा सहभागी भएका थिए । उनले शाङ्घाई सहयोग सङ्गठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथिसमेत गरी २४ मुलुकका राष्ट्र/सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए ।  प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन तथा दिगो विकास हासिल गर्ने लगायत विषयमा विचारहरू प्रस्तुत गर्दै साङ्घाई सहयोग सङ्गठनमा नेपालको आकाङ्क्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा व्यक्त गरेका थिए । उनले नियममा आधारित बहुपक्षीयताको भविष्य विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्ने मार्गचित्र प्रस्तुत गरेको मन्त्रालयले जनाएको छ । साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल-रुस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायीक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका थिए । साथै, प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् । यसैगरी, प्रधानमन्त्री ओली र लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति, समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री, कम्बोडिया अधिराज्यका प्रधानमन्त्रीसँग भएको छुट्टा छुट्टै भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार-विमर्श भएको प्रेस नोटमा उल्लेख छ । थियानजिनमा रहँदा प्रधानमन्त्री ओलीले थियानजिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्रको भ्रमण गर्नाका साथै थियानजिनको प्रसिद्ध सियाओझान धानको ऐतिहासिक विकास र आधुनिक युगमा यसलाई कसरी पुनर्जीवित गरियो भन्नेबारे जानकारी हासिल गरेका थिए । यसैगरी, उनले चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक सङ्ग्रहालयको पनि भ्रमण गरेका थिए ।  थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनमा सहभागिता पश्चात् प्रधानमन्त्री ओलीले बेइजिङको भ्रमण गरी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्ग भदौ १७ गते द्विपक्षीय भेट गरी नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल गरेका थिए । यस्तै, प्रधानमन्त्री ओली भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजित ८०औँ विजयोत्सव तथा विशेष सैनिक परेडमा समारोहमा सहभागी भएका थिए । 

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै, ४ रात र ५ दिनको प्याकेज

वासुदेव पौडेल/कृष्ण दवाडी काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो-पोखरा-पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि ४ वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईँले जानकारी दिए । भुटान एयरलायन्स १२६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ । सो प्याकेज ४ रात र ५ दिनको रहेको प्रसाईँले बताए । उनले भने, ‘निरन्तर प्रयास भयो भने पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ । यसका लागि सरकारले एयरलाइन्सलाई उप्रेरित गर्नुपर्छ ।’ पोखराबाट पारो अन्तर्राष्ट्रिय उडान हुने भएसँगै यसबाट आगामी दिनमा नियमित उडानको ढोका खुल्ने विश्वास लिइएको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।  ‘पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ । यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गरौँ,’ उनले भने ।  प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास समेत उनले व्यक्त गरे । पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले पोखरा-पारो अन्तर्राष्ट्रिय चार्टर्ड उडानको घोषणाले आफूहरूलाई उत्साहित बनाएको बताए । तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्न आग्रह गर्दै उनले पोखराबाट पारोसहित अन्य गन्तव्यमा उडान भइरहँदा त्यसले सरकारको घोषित योजनाअनुसार भाडा दर पनि सस्तो हुनुका साथै यहाँ आएका पर्यटकले प्राकृतिक सौन्दर्यताको भरपुर अनुभूति गर्न पाउने बताए ।  पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । जसअनुसार यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रति यात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ । यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ । ‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता भएसँगै यहाँका व्यवसायी होटेल रेष्टुरेण्टलगायत पर्यटन सम्बद्ध सबै क्षेत्रमा आकर्षक छुटका प्याकेजको समेत तयारी गरेका छौँ,’ निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘पोखराबाट विश्वका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्ने उद्देश्यका साथ हाम्रो निरन्तर प्रयास जारी छ ।’ हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भुटान एयरलाइन्सले सातामा ४ वटा उडान भर्दै आएको छ । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा-सिचुवान-अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ ।  यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । ६ असार २०८० मा उक्त एयरलाइन्सको एयरबस ‘ए’ ३१९ले पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो ।  असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । हाल हिमालय एयरलाइन्सले ल्हासाको नियमित उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं जोड्ने गरी हिमालयले उडान गरिरहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान थालेको थियो । हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि सहज हुने विश्वास लिइएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो ।  कूल ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको यस विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग छ । रासस

प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोली स्वदेश फिर्ता, सी, मोदी र पुटिनसँग भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गरेका थिए ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एक नारायण अर्यालले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथ विशेष सैनिक परेड कार्यक्रममा सहभागिता जनाएका थिए ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । त्यस्तै उनले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । त्यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका थिए । 

बागमतीमा मध्यम वर्षा हुने, तराईमा हावा हुरी चल्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । 

नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन् ।  नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उनले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसङ्ख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने सामर्थ्य नेपालसँग रहेको बताएका हुन् । नेता डा कोइरालाले उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको भन्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको बताए । उनले देश विकासको आधार नै कृषि भएको धारणा राखे । एक अर्को प्रसंगमा नेता कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’बाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राखे ।  कांग्रेस सहमहामन्त्री भीष्म राज आङ्देम्बेले उपभोक्ताका आवाज सङ्कलन गरी सरकारसम्म पुर्याइने बताए । पार्टीको महाधिवेशन २०८३ मङ्सिर भित्रै हुने र त्यसका लागि समयमै क्रियाशील सदस्यता नवीकरण सक्न उनले आग्रह गरे ।  ऊर्जा मन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै त्यसैले पनि कांग्रेस एमालेको संयुक्त सरकारको आवश्यकता भएको बताए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गरे । 

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरूलाई थप सुविधा उपलब्ध गराउन बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ । साझेदारीअनुसार एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे मा खानेकुरामा, बेकरीका सबै सामानमा र स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट सुविधा पाउनेछन् । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एलएस अटोको फेस्टिभ अफर सार्वजनिक : एलईभी ०१ गाडी खरिद गर्दा ८ लाखसम्म फाइदा

काठमाडौं । एलएस अटोको आधिकारिक नेपाली आयातकर्ता ब्लू कर्पोरेशनले चाडपर्वहरूलाई लक्षित गर्दै 'फेस्टिभ अफर ' ल्याएको छ । अफरमा ग्राहकहरूले न्यूनतम डाउन पेमेन्ट, आकर्षक उपहारहरू र नगदमा भारी छुटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार यस फेस्टिभ अफरमार्फत गाडी खरिद गर्दा ग्राहकले कुल ८ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।  ‘एलईभी-०१’ गाडी अफरअन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सकिने फुयाँलले बताए । अफरअन्तर्गत गाडी किन्ने ग्राहकका जोडीले निःशुल्क ५ रात ६ दिनको सिंगापुर र मलेसिया भ्रमणको अवसर पाउने कम्पनीले जनाएकाे छ । यसैगरी, फेस्टिभ अफरमा १ लाख रुपैयाँको नगद छुट, १ लाख रुपैयाँको एक्सचेन्ज बोनस र निःशुल्क बीमा सुविधा पनि प्रदान गरिएको छ । कम्पनीका अनुसार यो अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन पनि निःशुल्क दिइनेछ ।  यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।