शुक्रबारबाट इटहरीमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने
काठमाडौं । दिपलले प्रदेश नं. १ को प्रमुख सहर इटहरीमा नयाँ सोरुम उद्घाटन गर्दै विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ। एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर आयोजना गर्न लागेको कार्यक्रममा भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभीहरूको टेस्ट ड्राइभ गर्ने मौका मिल्नेछ । सो अवसरमा ग्राहकले दिपलका मानव रोबोट र रोबोट कुकुरको अनुभव पनि प्रत्यक्ष पाउनेछन् । कम्पनीका अनुसार विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् । भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । कार्यक्रममा सहभागीले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा चारवटा रिकन्डिसन हाउसबाट सर्वोत्तम मूल्यांकन पाउनुका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर पनि पाउनेछन् । यसका साथै प्रदर्शनीमा राखिने दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुरले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष झल्को दिनेछन् ।
एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन अनुमोदन गरेको छ। सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी र ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जानकारी दिए । उनका अनुसार आषाढ मसान्तसम्म ८ लाख डिम्याट खाता खोलिएको छ भने म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी गरी ५ योजना सञ्चालन गर्दै ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ । लगानी व्यवस्थापन सेवामा ७२० ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ कम्पनीलाई सेवा दिइरहेको क्यापिटलले हालसम्म १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले यसअघि सम्म सेयरधनीलाई कुल २९० प्रतिशत बराबरको लाभांश वितरण गरिसकेको छ ।
बागलुङमा सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी
बागलुङ । जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा बढी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग बागलुङका अनुसार जिल्लामा प्राप्त निवेदन र मूल्याङ्कनका आधारमा ‘सफ्टवेयर’मा प्रविष्टि गरिएका तथ्याङ्कमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवार ९७/९७ रहेकामा अव्यवस्थित बसोबासी दुई हजार ५५४ परिवार रहेको पाइएको छ । जिल्लाका १० पालिकामा सबैभन्दा बढी अव्यवस्थित बसोबासी ढोरपाटन नगरपालिकामा रहेको पाइएको छ भने जैमिनी नगरपालिकाको तथ्याङ्क प्रविष्टि भइसकेको छैन । आयोगका विज्ञ सदस्य उमेश गौतमले अन्य पालिकाको तथ्याङ्क प्रविष्टिको काम अन्तिम चरणमा पुगेको र जैमिनीको अझै प्रक्रियामा रहेको बताए । उनका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा चारजना भूमिहीन दलित, १० भूमिहीन सुकुम्वासी र ३७ जना अव्यवस्थित बसोबासी गरी ५१ परिवारलाई निस्सा वितरण भइसकेको छ । ढोरपाटनमा भूमिहीन दलित ३०, भूमिहीन सुकुम्वासी १९ र अव्यवस्थित बसोबासी एक हजार ६०० गरी एक हजार ६४९ परिवारको तथ्याङ्क प्रविष्ट गरिएको छ । यस्तै, तमानखोला गाउँपालिकामा ५४४ अव्यवस्थित बसोबासी रहेका छन्भने भूमिहीन तथा सुकुम्वासी भने छैनन् । बागलुङ नगरपालिकामा २७ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्वासी र १६९ अव्यवस्थित बसोबासी गरी २५१ परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ । यस्तै, गलकोट नगरपालिकामा १८ भूमिहीन दलित, नौ भूमिहीन सुकुम्वासी र ६३ अव्यवस्थित बसोबासी गरी ९० जनाको तथ्याङ्क सङ्कलन गरिएको हो । यसैगरी बरेङ गाउँपालिकामा छ परिवार भूमिहीन दलित, दुई परिवार भूमिहीन सुकुम्वासी र ३७ जना अव्यवस्थित बसोबासी रहेका छन्भने काठेखोला गाउँपालिकामा एक परिवार भूमिहीन दलित र नौ परिवार अव्यवस्थित बसोबासी रहेको पाइएको छ । यस्तै बडिगाड गाउँपालिकामा ११ परिवार भूमिहीन दलित, दुई परिवार भूमिहीन सुकुम्वासी र ३३ परिवार अव्यवस्थित बसोबासी रहेको विज्ञ सदस्य गौतमले जानकारी दिए। तथ्याङ्क सङ्कलनको काम सकिएसँगै अब नापजाँचको काम सुरु गरिने उनले बताए । 'सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी धेरै भएकाले समस्या भएको हो । सुकुम्वासीको हकमा अन्यत्रसमेत जग्गा दिन सकिन्छ, तर अव्यवस्थित बसोबासीको भने बसेकै ठाउँ उपयुक्त भएमा लालपुर्जा दिनुपर्ने हुन्छ', गौतमले भने, 'प्रविष्टि गरेको तथ्याङ्कका आधारमा निस्सा वितरण भएपछि नाप जाँच हुन्छ । जग्गा छुट्टिन्छ, दिन मिल्ने स्थानबाट लालपुर्जा दिन सुरु गर्ने छौँ । अबको छ महिनामा लालपुर्जा दिने गरी काम भइरहेको छ ।' रासस
बुङ्गल हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । बझाङको बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ । भदौ १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा
काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ । कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
जोशी हाइड्रोका सेयरधनीले हकप्रद सेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ । साउन १५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०।६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
इसेभेन भिसामा दक्षिण कोरिया पठाउन पूर्वस्वीकृति दिइएको छैन: वैदेशिक रोजगार विभाग
काठमाडौं । सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इसेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्व स्वीकृति नदिएको स्पष्ट पारेको छ । विभागद्वारा आज जारी विज्ञप्तिमा इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचार गरी रकम असुली भइरहेको तर्फ विभागको ध्यानाकर्षण भएको जनाइएको छ । विभागका अनुसार मन्त्रालयबाट गणतन्त्र कोरियामा सीप युक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ । तर विभागबाट हालसम्म आधिकारिक रुपमा इसेभेन भिसामा पठाउने प्रतिक्रियास्वरुप कुनै संस्थालाई पूर्व स्वीकृति दिन सुरु भएको छैन । कोरियास्थित नेपाली राजदूतावासबाट यस प्रकारको भिसाका लागि कार्यविधिअनुसार प्रक्रिया पूरा गरी माग पत्र प्रमाणीकरणका लागि कुनै आवेदन नआएको बताइएको छ । ‘कुनै पनि व्यक्ति तथा संस्थाले सामाजिक सञ्जाललगायत अनधिकृत तवरले इसेभेन भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमा वा आश्वासन दिएमा त्यस प्रकारको प्रलोभनमा परी अनधिकृत व्यक्ति तथा संस्थालाई रकम बुझाउने काम नगर्न/नगराउन हुन अनुरोध छ,’ विभागका उप-महानिर्देशक चन्द्र बहादुर सिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
पोसाक उद्योगले हजारौँलाई रोजगारी दिएको छ: उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली पोसाक उद्योगले हजारौँलाई रोजगारी दिएको बताएका छन् । बुधबार नेपाल तयारी पोसाक उद्योग सङ्घको ३०औँ वार्षिक साधारण तथा उद्घाटन कार्यक्रममा उनले नेपालको पोसाक उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको बताए । मन्त्री भण्डारीले यस कार्यमा सङ्घले तीन दशकदेखि तयारी पोसाक उद्योग क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले राष्ट्र विकासका लागि स्वदेशी उत्पादन, स्थानीय सीप विकास, उत्पादन वृद्धिबाट रोजगारी सिर्जना अपरिहार्य रहेको बताए । मन्त्री भण्डारीले गुणस्तरीय उत्पादन, ब्रान्ड निर्माण, प्रविधि अनुकूलन र निर्यात विस्तारका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विदेशी ब्रान्डलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रवर्द्धन गर्दा देशको अर्थतन्त्र बलियो, रोजगारी वृद्धि र राष्ट्रिय पहिचान मजबुत हुने विश्वास व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले विदेशी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र रोजगारी वृद्धिका लागि सरकारले सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।