दसैंअघि नै नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने, टोल शुल्कका लागि आरएफआइडी प्रविधि प्रयोग गरिने
काठमाडौं । नेपालको पहिलो अत्याधुनिक नागढुंगा सुरुङमार्ग दसैंअघि नै सञ्चालनमा आउने भएको छ । भौतिक प्रगति ९४.५ प्रतिशत भएसँगै सडक विभागले यसको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि विशेषज्ञ सेवा प्रदायकको खोजी सुरु गरेको छ । दसैंअघि नै बोलपत्र आह्वान गरी डिसेम्बरभित्र सेवा प्रदायक छनोट गरिने विभागले जनाएको छ । त्यसपछि २ महिनाको परीक्षण अवधिपश्चात् सुरुङमार्ग सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिनेछ । सुरुङमार्गको दिगो मर्मतसम्भार र सञ्चालनका लागि सवारीसाधनबाट उपभोग दस्तुर (टोल शुल्क) लिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले यसलाई २०८२ साउन २६ गते नै स्वीकृति दिइसकेको छ । टोल शुल्क संकलनका लागि आरएफआइडी (रेडियो फ्रिक्वोन्सी आइडेन्टीफिकेसन) मा आधारित अत्याधुनिक इलेक्ट्रोनिक प्रणाली प्रयोग गरिनेछ । यस प्रणालीमार्फत सवारीसाधनको विन्डशिल्डमा टाँसिएको आरएफआइडी ट्यागबाट सिधै बैंक खाताबाट टोल भुक्तानी गर्न सकिनेछ । यसले भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी बनाउने विभागको विश्वास छ । सुरुङमार्गको २४सैं घण्टा सञ्चालन, आपत्कालीन उद्धार, आगलागी नियन्त्रण, पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, इमर्जेन्सी फ्यासिलिटी, फायरफाइटिङ लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित मर्मतसम्भारका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक पर्नेछ । यसका लागि जापानी परामर्शदाताद्वारा तयार पारिएको निर्देशिका र मापदण्ड विभागबाट स्वीकृत भइसकेका छन् । अर्थ मन्त्रालयबाट स्रोतको सहमति र मन्त्रिपरिषद्बाट आवश्यक खरिद निर्देशिका पनि स्वीकृत भइसकेको छ । हाल लागत अनुमान र नमूना बोलपत्र तयारीको काम तीव्र गतिमा भइरहेको छ ।
सहकारीलाई व्यवस्थित गर्न सहकारी ऐन परिवर्तन गर्न तयार छौँ : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारी ऐन परिवर्तन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सहकारीको संख्या, उद्देश्य र अवस्था सम्बन्धी यकिन तथ्यांक अभाव रहेको उल्लेख गरे । 'दर्ता भएका कतिपय सहकारीको नाम निशान नै छैन, तर हाम्रो गणनामा छन्,' मन्त्री अधिकारीले भने । उनका अनुसार सहकारीमा वचत र ऋणको सीमा तोकिएको छ । हाल देखिएका बेथितिलाई नियन्त्रण गर्न सरकार कडाइ गर्दै गएको र आवश्यक नियमनपछि सहकारीलाई फेरि खुला गर्न सकिने बताए । मन्त्री अधिकारीले नियमन प्रणाली कमजोर भएकाले वर्तमान अवस्था आएको स्विकार गर्दै भने, 'यो केवल सहकारीको मात्र कमजोरी होइन, नियमन गर्ने पक्षको कमजोरी पनि हो । सबै मिलेर सहकारीलाई व्यवस्थित बनाउन सकिन्छ ।' उनले सहकारीलाई दीर्घकालीन रूपमा सबल बनाउन आवश्यकताअनुसार विधि तयार गरी अघि बढ्नुपर्नेमा जोड दिए । 'हामी सहकारी ऐन चेन्ज गर्न पनि तयार छौँ । तर अफ्ठ्यारा कुरालाई क्रमशः फुकाउँदै लैजानुपर्छ,' मन्त्री अधिकारीको भने ।
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ । यसअघिका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले भने राजीनामा दिएका छन् ।
शिव श्री हाइड्रोको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला, १ कित्ता हुनेले नयाँ १ कित्ता पाउने
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले आज भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रदेशस्तरीय भेलामा क्रसर व्यवसायीहरूले भने - अव्यवहारिक नीतिले उद्योग संकटमा परे
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । सो क्रममा भदौ १८ गते गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम भएको थियो । भेलामा महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीहरूको समस्या अझै पनि सरकारको तहमा नपुगेको बताउँदै कानुनी आधारमा समाधान खोज्न सबै पक्ष एकमत रहेको उल्लेख गरे । उनले आगामी दिनमा व्यवसायीहरूको समस्या समाधानका लागि सरकारका सबै निकायसँग पहल गर्ने आश्वासन दिए । उनले भने, 'हाम्रो कुरा अझै सुनिएको छैन, परिणाम पनि प्राप्त भएको छैन । महासंघ लगातार लबिङ गरिरहेको छ । यसमा प्रदेश संघले पनि सक्रिय भूमिका खेल्नुपर्छ ।' उनले क्रसर व्यवसाय लामो समयदेखि नवीकरण नहुँदा मारमा परेको बताउँदै व्यवसायीहरू कर तथा दस्तुर तिर्न तयार रहेको स्पष्ट पारे । यसै सन्दर्भमा उनले सम्बन्धित मन्त्रालयलाई नवीकरण प्रक्रिया तत्काल अघि बढाउन ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा महासंघले प्रशोधित निर्माणजन्य सामग्री विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सके देशलाई ठूलो आर्थिक लाभ हुने तर्क गर्दै सरकारसँग पहल गर्न आग्रह गरेको छ । सरकारले तोकेको अव्यवहारिक दूरीसम्बन्धी मापदण्डका कारण उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै महासंघले नीति पुनरावलोकनको माग पनि गरेको छ । अध्यक्ष न्यौपानेका अनुसार हाल क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू गम्भीर संकटमा छन् । २०७१ सालदेखि लागू मापदण्डका कारण उद्योगहरू बन्द हुन थालेका र व्यवसायी विस्थापित मात्र नभई राज्यले राजस्व गुमाइरहेको उनले बताए । हालसम्म ७८० मध्ये धेरैजसो उद्योग बन्द भइसकेका छन् भने बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नसमेत नसक्ने अवस्थामा व्यवसायी पुगेका छन् । त्यस्तै, २०७७ सालमा ल्याइएको ढुङ्गा, गिट्टी, बालुवा व्यवस्थापन मापदण्डले समस्यालाई अझ जटिल बनाएको महासंघको भनाइ छ । यसका कारण धेरै उद्योगले नवीकरण नपाएर बन्द हुनुपरेको दाबी गरिएको छ । सरकारी तथ्यांकअनुसार पछिल्ला चार वर्षमा उद्योगबाट संकलन हुने आयकर तथा भ्याट लगातार घट्दै गएको छ । २०७६/७७ मा १० अर्ब राजस्व संकलन भएकोमा २०७९/८० मा घटेर ४.७५ अर्बमा सीमित भएको छ । महासंघका अनुसार ढुङ्गा, गिट्टी र बालुवा निर्यात रोकिएपछि नेपालले वार्षिक ५ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गुमाइरहेको छ । भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र बंगलादेशमा निर्माण सामग्रीको ठूलो माग भए पनि नेपालले स्पष्ट नीति नबनाउँदा निर्यात अवरुद्ध भएको व्यवसायीहरूको गुनासो छ । भेलामा सहभागी व्यवसायीहरूले सरकारको अस्पष्ट नीति तथा कानुनका कारण उद्योग सञ्चालनमा अवरोध भएको आरोप लगाउँदै करिब १० करोड घनमिटर ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन गरेर निर्यात गर्न सक्ने सम्भावना गुमिरहेको बताएका छन् । महासंघले अहिलेको संकट समाधानका लागि सरकारलाई तत्काल छलफलमा आउन आग्रह गरेको छ । वैज्ञानिक मापदण्डअनुसार उद्योग सञ्चालन गर्ने वातावरण बनाउन, बन्द भएका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन र खानी क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नीति पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ । महासंघले प्रधानमन्त्री, मुख्यसचिव, उद्योग तथा वाणिज्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको जनाएको छ । व्यवसायीहरूले सरकारसँग सहकार्य गर्दै प्राकृतिक स्रोत साधनको दीर्घकालीन उपयोग गर्ने नीति बनाउन आग्रह गरेका छन् । समस्या समाधान नभए उद्योग थप बन्द हुने, बेरोजगारी बढ्ने र राजस्वमा थप गिरावट आउने चेतावनी व्यवसायीहरूले दिएका छन् ।
महानगरको ‘एक विद्यालय-एक सम्पदा’ कार्यक्रम : विद्यार्थीले मठमन्दिर, पाटीपौवा र धारा संरक्षण गर्ने
ललितपुर । ललितपुर महानगरपालिकाले विद्यार्थीलाई सम्पदा संरक्षणमा जोड्न नयाँ कार्यक्रम ‘एक विद्यालय–एक सम्पदा’ सुरु गरेको छ । बुधबार सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालासँग छलफल गर्दै यो कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । यस कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो विद्यालय नजिकै वा पायक पर्ने सम्पदाको सरसफाइ र संरक्षण गर्ने जिम्मेवारी लिनेछन् । ढुंगेधारा, पाटी–पौवा, बौद्ध विहार, मठमन्दिर, स्तुपा र प्रमुख पोखरी जस्ता सम्पदामा विद्यार्थी सक्रिय हुने महानगरले जनाएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले यसलाई महानगरको ‘ड्रिम प्रोजेक्ट’ भन्दै, 'विद्यार्थीले देखेर र छोएर सिकेका कुरा जीवनभर सम्झिन्छन्, यसले सम्पदा संरक्षणप्रति चासो र चेतना बढाउँछ,' भने । सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जनले कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने र सम्पदाको प्रचारप्रसारमा मद्दत गर्ने विश्वास व्यक्त गरे । शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलका अनुसार, कार्यक्रम महानगरका सबै २९ वटै वडामा सञ्चालन हुनेछ । अनुगमनका लागि पाँच सदस्यीय तीनवटा समिति गठन गरिएको छ । समितिको मूल्यांकनमा उत्कृष्ट काम गर्ने विद्यालयलाई आगामी पुस २ गते, महानगरको १०७ औं स्थापना दिवसका अवसरमा पुरस्कृत गरिनेछ । कार्यक्रमअन्तर्गत संकलित फोहोरको तत्काल व्यवस्थापन वातावरण शाखाले गर्ने व्यवस्था गरिएको छ ।
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोही अवसरमा कम्पनीले नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ सुरु गरेको छ । भायानेटका अनुसार उक्त अभियानले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल प्लेटफर्ममार्फत केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ । सुशान्त केसीको यात्रा नै इन्टरनेटबाट सुरु भएको उल्लेख गर्दै भायानेटले, उनको जस्तै सपना देख्ने अन्य युवाहरूसँगै हिँड्ने उद्देश्यले अभियान अघि सारिएको जनाएको छ । ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान अन्तर्गत डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, अनुभव आदानप्रदान गर्ने गतिविधि जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसमार्फत कन्टेन्ट क्रिएटर र डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई इन्टरनेटको सही उपयोग गर्दै आफ्ना सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।
शुक्रबारबाट इटहरीमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने
काठमाडौं । दिपलले प्रदेश नं. १ को प्रमुख सहर इटहरीमा नयाँ सोरुम उद्घाटन गर्दै विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ। एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर आयोजना गर्न लागेको कार्यक्रममा भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभीहरूको टेस्ट ड्राइभ गर्ने मौका मिल्नेछ । सो अवसरमा ग्राहकले दिपलका मानव रोबोट र रोबोट कुकुरको अनुभव पनि प्रत्यक्ष पाउनेछन् । कम्पनीका अनुसार विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् । भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । कार्यक्रममा सहभागीले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा चारवटा रिकन्डिसन हाउसबाट सर्वोत्तम मूल्यांकन पाउनुका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर पनि पाउनेछन् । यसका साथै प्रदर्शनीमा राखिने दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुरले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष झल्को दिनेछन् ।