विकासन्युज

३.७२ करोड लिटर क्षमताको धोबीघाट ढल प्रशोधन केन्द्र सञ्चालन, थप ४ वटा बन्दै

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक ३ करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ । पिआइडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सिजिसिओसी-अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । बागमती नदीका दुवै किनारामा मुख्य ढल बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो । प्रमुख श्रेष्ठका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीमा मिसिने ढलको मात्रा उल्लेखनीय रूपमा घट्ने, नदी सफा हुने र उपत्यकाको वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्नेछ । पिआइडीले धोबीघाटमै दैनिक ३ करोड ७२ लाख लिटर क्षमताकै अर्को ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । त्यसैगरी, कोडकुमा दैनिक १ करोड ४२ लाख लिटर, सल्लाघारीमा १ करोड ७० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र गोकर्णमा ३० लाख लिटर क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणाधीन छन् । निर्देशनालयका अनुसार पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुन्छ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक करिब २० करोड लिटर पानी वितरण गरिरहेकाले भविष्यमा थप ढल प्रशोधन केन्द्र आवश्यक पर्ने देखिएको प्रमुख श्रेष्ठले बताए ।  उनले नदी किनारका सुकुम्वासी बस्ती हटाइएका क्षेत्रमा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार उपत्यकाका अन्य स्थानमा पनि विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली स्थापना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलिए

काठमाडौं । बर्सात सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ । असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ । सप्तकोसीमा पनि बहाव बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ । सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ । वर्षायाममा पानीले भरिने सप्तकोसी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ । 

इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा

काठमाडौं । अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै इङ्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । यससँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको सेमिफाइनलमा इङ्ल्यान्डले ५५औं मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन ग‍र्यो । ८५औं मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिएको थियो । तर इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए । इङ्ल्यान्डले अधिकांश समय बलमा राम्रो नियन्त्रण राखे पनि अन्तिम समयमा रक्षापंक्तिमा गरेको कमजोरी महँगो सावित भयो । अर्कोतर्फ अर्जेन्टिनाले अवसरको उत्कृष्ट सदुपयोग गर्दै लगातार अर्को विश्वकप फाइनलमा स्थान सुरक्षित ग‍र्यो । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना अब अर्को विश्व उपाधि जित्ने लक्ष्यसहित फाइनलमा उत्रिनेछ । उसले अब फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको हो । यता १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि अधुरै रह्यो । 

विद्यालयमा आइतबारे बिदा हटाउन माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासंघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।  सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको थियो । महासंघ अध्यक्ष काशीनाथ दङ्गालले सिकाइ उपब्धि घट्ने भएकाले हप्तामा छ दिन नै पूर्ववत्रुपमा विद्यालय सञ्चालन गनुपर्नेमा आफूहरुको हालैको राष्ट्रिय सम्मेलनबाट पनि प्रस्ताव पारित भएको जानकारी दिए ।  उनले सरकारले हालै शिक्षा नियमामवलीको दसौं संशोधनमा आफूहरुसँग परामर्श नगरेको र विद्यालय व्यवस्थापन समितिका अधिकार क्षेत्र संकुचन गर्न खोजिएको आरोप लगाए । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष गुणराज मुक्तानले विद्यालयमा समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गरिनु उचित नहुने बताए ।  

स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौं महानगरपालिका-९ तिलगङ्गाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी बुधबार (आज) सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ तामाङको साथबाट प्रदेश ३-०२-०११ प २८४६ नम्बरको अप्रिला कम्पनीको स्कुटर र बा.प्र-०२-०४३ प ८५४२ नम्बरको होण्डा डिओ स्कुटर बरामद गरेको जानकारी दिए । पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ । विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेका हुन् ।  मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए । छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक परे घटनामा कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।  साथै, विद्यार्थीमा थप मनोवैज्ञानिक असर नपर्ने गरी घटनामा संलग्न शिक्षिकालाई आवश्यक परामर्श तथा सचेत गराउन विद्यालयलाई ध्यानाकर्षण गराए ।  भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकका लागि आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पनि उनले विद्यालयलाई आग्रह गरे । मन्त्रालयका अनुसार घटना एक वर्षअघि भएको भए पनि यस्ता प्रकृतिका घटना पुनः नदोहोरिउन् भन्ने उद्देश्यले विद्यालय र पीडित पक्षसँग छलफल गरी आवश्यक पहल गरिएको हो ।  घटना विसं २०८२ सालको पुस महिनाको हो । बाग्लुङ घर भएका १३ वर्षीय विद्यार्थीलाई सोही विद्यालयकी शिक्षिका रानाले कुटपिट गरेको दृश्य भिडियोमा देखिएको छ । यसैबीच, विद्यार्थी कुटपिटको घटनामा शिक्षिका रानाले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो कार्य नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक सुनिल राना का अनुसार काठमाडौैंको थली निवासी शिक्षिका रानालाई उक्त घटनाको विषयमा आवश्यक छानबिनपछि गत जेठमै विद्यालयबाट निष्कासन गरिएको थियो ।  प्रधानाध्यापक रानाले उक्त भिडियो विद्यालयकै एक शिक्षकले खिचेको र हाल सामाजिक सञ्जालमा सार्वजनिक गरेको जानकारी दिए । प्रधानाध्यापकका अनुसार भिडियो सार्वजनिक गर्ने ती शिक्षकलाई पनि अध्यापन कार्य सन्तोषजनक नभएको कारण अघिल्लो वर्ष वैशाखमै विद्यालयबाट निष्कासन गरिएको थियो ।  विद्यालयले निष्कासनप्रतिको असन्तुष्टिका कारण उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको दाबी गरेको छ ।

नेपाल-भारत ऊर्जा वार्ता: विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्‍याउने सहमति

काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा व्यापार तथा अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तारमा महत्त्वपूर्ण ब्रेकथ्रु भएको छ । पोखरामा बुधबार सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औं बैठकले ढल्केवर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता उल्लेखनीयरूपमा बढाउने निर्णय गरेको हो ।  नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बसेको बैठकले सीमापार विद्युत् आयात-निर्यात र पूर्वाधार विकासका थुप्रै महत्त्वपूर्ण एजेन्डाहरूमा सहमति जुटाएको छ । बैठकले गरेको निर्णयअनुसार संयुक्त प्राविधिक टोलीको अध्ययनका आधारमा ढल्केवर-मुजफ्फरपुर र प्रस्तावित ढल्केवर-सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता आयाततर्फ हालको १ हजार मेगावाटबाट बढाएर १ हजार ४ सय मेगावाट पु¥याइनेछ ।  त्यस्तै, निर्याततर्फको क्षमतालाई पनि हालको १ हजार १०० मेगावाटबाट वृद्धि गरी १ हजार ६५० मेगावाट कायम गरिने ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिए । यसका साथै, मुजफ्फरपुर-ढल्केवर लाइनमा उच्च क्षमताको कन्डक्टर प्रयोग गरी क्षमता विस्तार गर्ने प्रस्तावलाई समेत बैठकले अनुमोदन गरेको छ । बैठकले दीर्घकालीन विद्युत् व्यापार र नयाँ प्रसारण लाइन निर्माणलाई अघि बढाउने सम्बन्धमा थुप्रै रणनीतिक निर्णयहरू गरेको छ । जसअन्तर्गत सन् २०२८ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको चमेलिया-जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ ।  त्यस्तै, इनरुवा-न्यू पूर्णिया र दोधोधरा (न्यू लम्की)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलाई गति दिन नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डियाबीच संयुक्त उपक्रम (जेभी) कम्पनी स्थापनाको प्रक्रियालाई तीव्र बनाउने सहमति बनेको छ ।  सन् २०३४/३५ सम्म नेपालबाट भारततर्फ थप विद्युत् निर्यात गर्ने लक्ष्यलाई सघाउन मोतिहारी/निजगढ ४०० केभी डबल सर्किट लाइनको डीपीआर स्वीकृत गरिएको छ भने लखनउ-कोहलपुर/लम्ही ४०० केभी प्रसारण लाइनको विषयमा थप प्राविधिक अध्ययन गरिने भएको छ । यसैगरी, निर्माणाधीन नयाँ बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनका सम्बन्धमा पनि बैठकमा महत्त्वपूर्ण प्राविधिक सहमति जुटेको छ । नेपालतर्फको प्रसारण लाइन अगस्ट २०२६ सम्म र नयाँ बुटवल ४०० केभी सबस्टेसन डिसेम्बर २०२७ सम्ममा सम्पन्न हुने अनुमान गरिएकाले, सो अवधिभर उक्त लाइनलाई अस्थाई रूपमा २२० केभीमा सञ्चालन गरिनेछ ।  यो व्यवस्थाबाट तत्कालै १३० मेगावाटसम्म आयात र २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ । सन् २०१४ को द्विपक्षीय विद्युत् व्यापार सम्झौताको जगमा आयोजित यस सचिवस्तरीय बैठकलाई दुवै देशको ऊर्जा सुरक्षा र आर्थिक समृद्धिका लागि कोशेढुङ्गाका रूपमा हेरिएको छ ।

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

काठमाडौं । विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग जोड्ने तथा युवापुस्तालाई यस क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा सरोकारवाला संस्थासँगको सहकार्यमा प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग अन्तरक्रिया गरेको छ । इन्फर्मेसन टेक्नोलोजी सोसाइटी (आईटीएस) नेपाल तथा नेपाल चेम्बरअन्तर्गतको आईसीटी समितिको सहकार्यमा ‘नवप्रवर्तन, प्रविधि हस्तान्तरण, प्रतिभा विकास तथा विश्वव्यापी सहकार्यमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई तीव्रता दिने’ विषयमा राष्ट्रिय गोलमेच छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय र विश्वविद्यालयमा सूचना प्रविधिको प्रयोग र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले डिजिटाइजेसन, समावेशिता र डिजिटल सीप विकासलाई शिक्षा प्रणालीसँग जोड्ने गरी मन्त्रालयले आवश्यक नीति तथा कार्यक्रम अघि बढाइरहेको जानकारी दिए । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालमा सूचना प्रविधि क्षेत्रको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमार्फत युवाका लागि रोजगारी सिर्जना गर्ने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।  उनले तुलनात्मक रूपमा कम लगानीमा सीप र दक्षताका आधारमा उच्च आम्दानी गर्न सकिने क्षेत्र सूचना प्रविधि भएकाले यसबाट व्यक्तिको समृद्धिसँगै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गररे । शिक्षा मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यालय र विश्वविद्यालयमा सूचना प्रविधिको प्रयोग विस्तार, युवापुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने तथा त्यसअनुसार नीतिगत सुधारका लागि सरोकारवालासँग छलफल गरिएको बताए । उनले सरकारको प्राथमिकताअनुसार सुरु भएको यो पहल चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिए । कार्यक्रममा सहभागीहरूले नेपालमा सूचना प्रविधि क्षेत्रको व्यापक सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा सरकारी प्राथमिकता र निजी क्षेत्रको सहकार्यबाट गुणस्तरीय, जीवनोपयोगी शिक्षा, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे । उनीहरूले सरकारको पहलमा आफ्नो सक्रिय सहभागिता र सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे । विश्वविद्यालय नेतृत्व, नीति-निर्माता तथा सूचना प्रविधि क्षेत्रका प्रतिनिधिबीच संस्थागत सहकार्य विकास गर्दै देशभित्रै रोजगारीका अवसर सुदृढ बनाउने, विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहित गर्ने तथा दक्ष जनशक्तिको विदेश पलायन (ब्रेन ड्रेन) न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ । सोही रणनीतिअन्तर्गत मन्त्रालयले नवनियुक्त उपकुलपतिलाई चालु शैक्षिक सत्रदेखि सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा वार्षिक रोजगार तथा करियर मेला सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै, सूचना प्रविधि क्षेत्रका संस्थासँगको सहकार्यलाई संस्थागत गर्दै अध्ययन पूरा हुनुअघि नै योग्य विद्यार्थीलाई सशर्त रोजगारी प्रस्ताव उपलब्ध गराउने संयन्त्र विकासका लागि निजी क्षेत्रसँग समन्वय अघि बढाइएको छ ।  यसबाट विद्यार्थीले अध्ययन पूरा गर्नुअघि नै आफ्नो सम्भावित करियरको स्पष्ट मार्गचित्र प्राप्त गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले शैक्षिक संस्था र उद्योगबीच रहेको सीप अन्तर न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेको छ ।  यसका लागि स्नातक तहबाट उत्पादन हुने जनशक्तिमा आवश्यक प्राविधिक तथा व्यावसायिक सीपको अवस्था मूल्याङ्कन गरी उद्योगको आवश्यकताअनुसार पाठ्यक्रमलाई थप व्यावहारिक, अद्यावधिक र समयानुकूल बनाइनेछ ।  साथै, विश्वविद्यालय र सूचना प्रविधि उद्योगको सहकार्यमा वैकल्पिक विषय विकास, उद्योग विशेषज्ञद्वारा अतिथि व्याख्यान तथा अन्तिम वर्षका परियोजनाको संयुक्त मूल्याङ्कन गरिनेछ, जसले विद्यार्थीलाई उद्योगमैत्री दक्षता विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यस पहललाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्रेडिटमा आधारित इन्टर्नसिप तथा आवासीय व्यावसायिक संलग्नताको मापदण्ड विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।  यस व्यवस्थाअन्तर्गत इन्टर्नसिपलाई अध्ययनको अभिन्न अङ्गका रूपमा मान्यता दिई शैक्षिक क्रेडिटसँग आबद्ध गरिनेछ ।  साथै, अर्न ह्वाईल यु लर्न अवधारणालाई प्रवद्र्धन गर्दै निजी क्षेत्रसँगको सहकार्यमा इन्टर्न विद्यार्थीलाई आधारभूत पारिश्रमिक उपलब्ध गराउने वातावरण निर्माण गरिने मन्त्रालयले जनाएको छ । विद्यार्थी र उद्योगबीचको समन्वयलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयले प्रमाणित इन्टर्नसिप तथा रोजगारीका अवसर एकीकृत रूपमा उपलब्ध गराउने केन्द्रीय डिजिटल पोर्टल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  मन्त्रालयका अनुसार यस पहलले विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै नेपालको डिजिटल अर्थतन्त्रको विकास तथा नवप्रवर्तनमुखी मानव संसाधन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।