दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारले लिए शपथ
काठमाडौं । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रालयमा बुधबार (आज) आयोजित कार्यक्रममा मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रारलाई डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा. चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो । सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिएका हुन् । मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए । उनले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।
अर्थमन्त्री वाग्लेले भने- सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन् । नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औं वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिए । ‘गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ । यहाँहरूलाई धेरै धेरै धन्यवाद,’ अर्थमन्त्री वाग्लेले भने, ‘आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।’ संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उनले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए। नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्याएको योगदानका लागि उनले युएनडीपीलाई धन्यवाद दिए । आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उनले स्मरण गरे । सो अवसरमा उनले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब ‘६० वर्षको सहयात्रा सार्वजनिक पनि गरेका थिए ।
पदक विजेता खेलाडीलाई सरकारले १० करोडभन्दा बढी नगद पुरस्कार दिने
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो । सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यसअघि पनि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दै आइए पनि यो हालसम्मकै सबैभन्दा ठुलो नगद पुरस्कार राशि हो । सरकारले खेलाडी तथा खेलाडी टोलीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यति ठुलो रकम पुरस्कार स्वरूप प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ । प्रस्तावित पुरस्कार सूचीमा मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी समावेश छन् । त्यसैगरी, भारतमा सम्पन्न प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ । यस्तै, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४मा स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
जेनजी आन्दोलनमा फरार २२ वर्ष कैद सजाय पाएका कैदी पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागारबाट फरार भएका २२ वर्ष कैद सजाय भोगिरहेका एक कैदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लागुऔषध मुद्दामा २२ वर्ष कैद सजाय भोगिरहेका धादिङको गजुरी गाउँपालिका–८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बस्दै आएका ४२ वर्षीय दर्जबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ । तामाङ २०७४ असोज २३ गते पक्राउ परेका थिए । त्यसपछि २०७४ मंसिर २८ गतेदेखि जगन्नाथदेवल कारागारमा कैद सजाय भोगिरहेका उनी २०८२ भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । सीआईबीका अनुसार फरार भएपछि उनी काठमाडौं उपत्यकामा लुकीछिपी बस्दै आएका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार गोकर्णेश्वर–३ सुन्ताखानबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ ।
रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गर्ने तामाङ पक्राउ
काठमाडौं । रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । आइतबार काठमाडौंको बागेश्वरीस्थित रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गरी फरार रहेका २१ वर्षीय आकाश तामाङ पक्राउ परेका हुन् । प्रहरीले वृत्त गौशालामा प्राप्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार तिलगंगाबाट तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्र०३-०२-०११ प २८४६ नम्बरको एप्रिला कम्पनीको स्कुटर र बा प्र-०२-०४३५ ८५४२ नम्बरको होन्डा कम्पनीको डियो स्कुटर सहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, चौतर्फी दबाबपछि हिरासतबाट रिहा
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका क्रममा घाइते भएका माजिद अन्सारी उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)बाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएसँगै उनी प्रहरी हिरासतबाट पनि रिहा भएका छन् । काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टर, सत्सङ्गबाट पक्राउ परेका अन्सारीलाई राष्ट्रिय मानव अधिकार आयोगको प्रत्यक्ष रोहबरमा अस्पतालबाट डिस्चार्ज गरिएको हो । त्यसपछि आयोगकै उपस्थितिमा उनी प्रहरी हिरासतबाट मुक्त भएका हुन् । अन्सारीको रिहाइ चौतर्फी दबाबपछि भएको बताइएको छ । उनीमाथि भएको भनिएको कुटपिट र पक्राउको विषय सार्वजनिक भएपछि मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, जेन–जी अभियन्ता तथा विभिन्न क्षेत्रबाट सडकदेखि संसदसम्म आवाज उठाइएको थियो । बढ्दो सार्वजनिक दबाबपछि प्रहरीले अन्सारीलाई कुनै सर्तबिना हिरासतबाट रिहा गरेको परिवारले जनाएको छ । यद्यपि, उपचारका क्रममा लागेको सम्पूर्ण खर्च भने सरकारले नबेहोरेको परिवारको भनाइ छ। उपचार खर्च परिवारले नै व्यहोरेको जनाइएको छ । हाल अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको संरक्षणमा रहेका छन् । उनीमाथि प्रहरी हिरासतमा भएको भनिएको कुटपिट तथा यातनासम्बन्धी घटनाको अनुसन्धान, न्यायिक प्रक्रिया र कानुनी उपचारका बाँकी विषय आयोगले तयार गर्ने प्रतिवेदनका आधारमा अगाडि बढाइने बताइएको छ । अन्सारीको जीवनरक्षा, उपचार र सुरक्षाका लागि निरन्तर आवाज उठाउने मानव अधिकारकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, जेन–जी अभियन्ता तथा सबै सहयोगीप्रति उनका परिवारले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।
३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ । डिम्याट खाता सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४ दशमलव १३ प्रतिशतले खोलेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ९८ प्रतिशतले खोलेका छन् । कोशी प्रदेशमा १८ दशमलव ९३ प्रतिशत, गण्डकी प्रदेशमा १२ दशमलव ४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२ दशमलव १४ प्रतिशत, मधेस प्रदेशमा १२ दशमलव ६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा छ दशमलव ६७ प्रतिशतले डिम्याट खाता खालेका छन् । नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार मेरो सेयर खाता खोल्ने लगानीकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेको छ । आव २०७७/७८ सम्म मेरो सेयर खाता खोल्ने सङ्ख्या सात लाख रहेको थियो । तर, चालु आवको जेठ मसान्तसम्मको अवधिमा भने ६७ लाख ३७ हजार दुई सय ५४ लगानीकर्ताले मेरो सेयर खाता खोलेका छन् । कूल जनसङ्ख्याको २३ प्रतिशतले मेरो सेयरको खाता खोलेका छन् । विगत पाँच वर्षको अवधिमा शेयर कारोबार गर्ने (टिएमएस) खाता खोल्नेको सङ्ख्या पनि उल्लेखनीय रुपमा वृद्धि भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि प्रत्येक लगानीकर्ताहरुले टिएमएस खाता खोल्नुपर्ने हुन्छ । आव २०७७/७८ मा टिएमएस खाता खोल्ने लगानीकर्ताको सङ्ख्या करिब ३५ हजार मात्रै रहेको थियो । आव २०८२/८३ को जेठ मसान्तसम्म टिएमएस खाता खोल्ने लगानीकर्ताको सङ्ख्या भने ३४ लाख ६६ हजार चार सय ९९ जना पुगेको छ । प्रतिवेदनअनुसार सेयर पुँजीबजारमार्फत सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरबापत प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । आव २०७७/७८ मा सरकारले पुँजीबजारबाट लाभकरबापत रु १५ अर्ब ५४ करोड राजस्व प्राप्त गरेको थियो । चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकर वापत रु १० अर्ब ७० करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा सेयर बजार ओरालो लागेकाले पनि अपेक्षाकृत पुँजीगत लाभकर उठाउन सकेको छैन । नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालको पुँजी बजारले पछिल्लो तीन दशकमा उल्लेखनीय विस्तार गरेको जनाएको छ । सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दुई सय ९७ कम्पनी सूचीकृत रहेका छन् । बजार पुँजीकरण करिब रु ४६ खर्च ५६ अर्ब पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ७० दशमलव ५२ प्रतिशत बराबर हो ।
चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ
काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्दै दुःख–हैरानी दिएको भन्ने उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको हो । अख्तियारले घुस रकमसहित उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।