टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा
धनगढी । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ । सिपद्री ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गरेको हो । उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल, जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् । नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभी खरिद गर्न सक्नेछन् । त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन् । सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आजै टाटाको गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको थियो ।
स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेण्ट
काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्यनारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिषनारायण जोशीले हस्ताक्षर गरे । दुग्ध तथा दुग्ध जन्य पदार्थजस्तै दही, घ्यू, चकलेट र पनिर लगायतका अन्य उत्पादन र प्याकेजिङ गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो । स्वदेशी उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भर बनाउने र उपभोक्ताहरूका लागि ुगोठदेखि भान्सासम्मु भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो कम्पनी स्थापित भएको हो ।
सिटीपे फोनेपे नेटवर्कमा आबद्ध, १.७ मिलियनभन्दा बढी आउटलेटमा भुक्तानी गर्न सक्ने
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो प्रणालीमा आबद्ध गराएको छ । १०औँ डिजिटल वालेटको रूपमा सिटीपे फोनपेमा आबद्ध भएको हो । सिटीपेको आबद्धताले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानीको वातावरण निर्माणमा बलियो भूमिका निर्वाह गर्ने फोनपेले जनाएको छ । फोनपेमा आबद्ध भएसँगै अब सिटीपे वालेट प्रयोगकर्ताहरूले अन्तर सञ्चालित क्यूआर नेटवर्क प्रयोग गरी कारोबार गर्न सक्ने छन् । कम्पनीका अनुसार देशभर १.७ मिलियनभन्दा बढी व्यापारिक आउटलेटहरूमा भुक्तानी गर्न सक्ने फोनपेले जनाएको छ । हाल फोनेपे नेटवर्कमा ६० भन्दा बढी बैंक र वित्तीय संस्था र वालेट कम्पनीहरूलाई आबद्ध गराएको छ । जसले लाखौं प्रयोगकर्तालाई सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा दिइरहेको छ । सिटीपेलाई स्वागत गर्दै फोनेपेले वित्तीय समावेशीकरण बढाउने र नेपालभर नगद रहित कारोबार प्रवद्र्धन गर्ने आफ्नो भूमिकालाई अझ सुदृढ बनाउने फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारले जानकारी दिए । ‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु एक महत्वपूर्ण कदम हो । प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ । हाम्रो उद्देश्य केवल वालेट र बैंकलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउन हो,’ उनले भने । सिटीपेका सीईओ बिनय रेग्मी फोनपेसँगको साझेदारीले प्रविधिबारे मात्रै नभई लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने बताउँछन् । सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउने उनको भनाइ छ । फोनपेसँगको आबद्धताले देशभर ग्राहकलाई सहज, भर पर्दो भुक्तानी सुनिश्चित गर्ने उनले बताए । सिटीपेले आफ्ना ग्राहकहरूका लागि फोनेपे नेटवर्कमार्फत गरिने क्यूआर कारोबारमा आधारित विशेष पर्व अभियान घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ तारिखदेखि नोभेम्बर २ तारिखसम्म सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन् । अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुइवटा सामसुङ ब्रान्ड टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन् । यससँगै, सिटीपेले ५ सय रुपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनेपे एक भुक्तानी प्रणाली सञ्चालक हो, जसले आफ्नो अन्तर सञ्चालित नेटवर्क र मोबाइल प्लेटफर्ममार्फत बैंक बीचको व्यक्ति-देखि-व्यक्ति र व्यक्ति-देखि-व्यापारी लेनदेनलाई सहज बनाउँदै आएको छ । फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो मोबाइल भुक्तानी नेटवर्क कम्पनी हो । सिटीपे नेपालमा एक नवीन डिजिटल वालेट एप हो, जसले व्यक्तिहरू र एजेन्टहरूका लागि वित्तीय सेवाहरूको व्यापक श्रृंखला प्रदान गर्दछ । नेपालमा सिटीपेको मूल्य प्रस्ताव डिजिटल लेनदेनलाई सरल, छिटो र सुरक्षित बनाउनु हो भने रेमिट्यान्सलाई स्थानीय डिजिटल व्यापारसँग जोड्नु हो । नेपालमा ठूलो आप्रवासी कामदार जनसंख्या भएकाले यस क्षेत्रको उच्च माग छ । कम्पनी पूर्ण रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको स्वामित्वमा छ, जुन नेपालको अग्रणी रेमिट्यान्स कम्पनी हो ।
औषधीमा २०० प्रतिशतसम्म कर लगाउने ट्रम्पको तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को विभिन्न वस्तुमा ट्यारिफ लगाइरहेका छन् । यसपटक उनले सबैका लागि आवश्यक पर्ने वस्तु औषधीमा भारी कर लगाउने सोच बनाएका छन् । एपीको रिपोर्टअनुसार केही औषधीमा २०० प्रतिशतसम्म कर लगाउने तयारी भइरहेको छ । ट्रम्प चाहन्छन् कि अटो र स्टिलजस्तै औषधीमा पनि कर लगाइयोस् । यदि यस्तो भयो भने यो दशकौंदेखि चलिरहेको नीतिविपरीत हुनेछ, जसअनुसार धेरै औषधी बिना कर अमेरिकामा भित्रिन्थे । विज्ञहरूका अनुसार यसले औषधीको मूल्य बढाउने मात्र होइन, आपूर्ति प्रणालीमै समस्या ल्याउन सक्छ । साथै औषधी अभाव हुने खतरा पनि बढ्नेछ । ट्रम्पले औषधीमा २०० प्रतिशत कर लगाउन सन् १९६२ को ट्रेड एक्सपान्सन एक्टको धारा २३२ को उल्लेख गरेका छन् । उनको भनाइमा कोरोना महामारीका बेला औषधी कमी र भण्डारणको समस्या देखिएको थियो। त्यसैले अब घरेलु उत्पादन बढाउनु जरुरी छ । हालै अमेरिका–युरोप व्यापार सम्झौतामा केही युरोपेली सामानमा १५ प्रतिशत कर लगाइएको छ, जसमा औषधी पनि पर्छ । प्रशासनले अन्य मुलुकबाट आउने औषधीमा अझ बढी कर लगाउने धम्की दिएको छ । यदि ट्रम्पले औषधीमा २०० प्रतिशत कर लगाए भने यसको प्रत्यक्ष असर अमेरिकामा औषधी खरिद गर्ने उपभोक्तामाथि पर्छ । आईएनजीका डिडरिक स्टाडिगले गत महिना भनेका थिए—सबैभन्दा ठूलो भार उपभोक्तामै पर्छ । उनीहरूले फार्मेसीबाट औषधी किन्दा प्रत्यक्ष र बीमा प्रिमियममार्फत अप्रत्यक्ष महँगो भुक्तान गर्नुपर्ने हुन्छ । विज्ञहरूका अनुसार कम आम्दानी भएका र वृद्ध बिरामीहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । स्टाडिगको भनाइमा यदि २५ प्रतिशतमात्र कर लागे पनि अमेरिकामा औषधीको मूल्य १० देखि १४ प्रतिशतसम्म बढ्न सक्छ, किनभने स्टक सकिन जान्छ । यो निश्चित आम्दानीमा निर्भर हुने मानिसका लागि ठूलो रकम हुनेछ । अमेरिकामा प्रायः जेनेरिक औषधी बढी बिक्छन् । खुद्रा ९रिटेल० र मेल–अर्डर फार्मेसीमा बिक्री हुने करिब ९२ प्रतिशत औषधी जेनेरिक हुन्छन् । जेनेरिक औषधी उत्पादन गर्ने कम्पनीहरूले थोरै नाफामा काम गर्ने भएकाले उनीहरूले बढी कर तिर्न सक्दैनन् । विश्लेषकहरूको भनाइमा कतिपय कम्पनीहरूले कर तिर्नुभन्दा अमेरिकी बजारै छोड्न सक्छन् । भारत जेनेरिक औषधीको ठूलो आपूर्तिकर्ता हो। अमेरिकी सरकारले भारतका औषधी कम्पनीलाई कर छुट दिएको छ किनभने भारतबाट आउने औषधी सस्तो हुन्छ । बसाव क्यापिटलका सह–संस्थापक सन्दीप पाण्डेका अनुसार अमेरिकामा आयात हुने औषधीमा भारतको हिस्सा करिब ६ प्रतिशत छ । अमेरिकी नीतिनिर्माताहरूलाई थाहा छ कि उनीहरूको प्रणाली भारतीय आपूर्तिमा निर्भर छ । केही वर्षअघि भारतको एउटा कारखानामा उत्पादन रोकिँदा अमेरिकामा किमोथेरापी औषधीको अभाव भएको थियो । अमेरिकाले विगत केही दशकदेखि औषधि आयातमा न्यून वा शून्य कर राख्दै आएको थियो । कारण स्पष्ट थियो—औषधि जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिने संवेदनशील विषय भएकाले यसको विश्वव्यापी आपूर्ति सहज बनाउनुपर्छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुसार अब त्यो नीतिमा ठूलो परिवर्तन देखिँदैछ । ट्रम्प बारम्बार भन्छन्— अमेरिका विदेशी आपूर्तिमा अत्यधिक निर्भर हुन हुँदैन । विदेशी उत्पादनले घरेलु उद्योगलाई कमजोर बनाउँछ । चीन, युरोप वा भारतजस्ता मुलुकका सस्ता सामानले अमेरिकी रोजगारलाई क्षति पुर्याइरहेका छन् । यही तर्कमा उनले स्टिल, एल्युमिनियम र अटोमोबाइलमा २५ देखि १०० प्रतिशतसम्म ट्यारिफ लगाइसकेका छन् । अब भने औषधीलाई पनि त्यसै सूचीमा राख्ने तयारी गरिएको छ ।
लक्षित वर्गका २०४ विपन्नलाई निःशुल्क उपचार, महानगरको खर्च करिब ७४ लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममार्फत हालसम्म २०४ जना विपन्न, असहाय र बेबारिसेले स्वास्थ्य सेवा लिएका छन् । सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया गराएका छन् । हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नसा, पित्तथैलीको पत्थरी, मिर्गौलामा पत्थरी, हाडजोर्नी तथा कान-नाक-घाँटीसम्बन्धी समस्या भएका बिरामीले शल्यक्रिया गराएका हुन् । त्यसपछि जटिल मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम र दीर्घ कलेजोसम्बन्धी रोगको उपचार गराएका छन् । यस्तै, ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नसा तथा स्नायु, १३ जनाले श्वासप्रश्वास सम्बन्धी, १२ जनाले मुत्र प्रणाली तथा पिसाबसम्बन्धी सेवाहरू लिएका छन्। निःशुल्क उपचार सेवा दिने अस्पतालमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले उपचार पाएका छन् । त्यस्तै, काठमाडौं मेडिकल कलेजबाट १९ जना, काठमाडौं मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना र पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा लिएका छन्। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले उपचार सेवा पाएका छन् । त्यस्तै, गण्डकी प्रदेशका ३२ जना, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जनाले निःशुल्क उपचार सुविधा लिएका छन् । यो उपचार सेवाको लागत करिब ७४ लाख १६ हजार रुपैयाँ बराबर पुगेको छ । उक्त कार्यक्रम २०८० फागुन १ गतेदेखि सुरु गरिएको हो । लक्षित वर्गलाई निःशुल्क उपचार गर्नुपर्ने कानुनी व्यवस्था पहिले कार्यान्वयनमा थिएन । काठमाडौं महानगरले २०८० सालमा ‘लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि’ जारी गरी अनलाइन प्रणालीमार्फत सेवा प्रारम्भ गरेको हो । सेवाको सहजीकरणका लागि महानगरको स्वास्थ्य विभागमा फोकल पर्सन तोकिएको छ । हाल निजी क्षेत्रका ५३ वटा अस्पतालका ३८० शय्या महानगरको प्रणालीमा आवद्ध भई निःशुल्क उपचार सुविधा उपलब्ध गराइरहेका छन् ।
एनएमबि बैंकले श्री अमर जैन विद्यालयमा दियो स्कुल ब्याग र वाटर डिस्पेन्सर
काठमाडौं । एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्ने प्रतिबद्धता व्यक्त गर्यो । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले एनएमबि बैंकको पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । सोही अवसरमा बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति थियो । उनीहरूले बैंकले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा सहभागी सबैले बैंकको सामाजिक उत्तरदायित्वप्रति सराहना व्यक्त गरेका थिए । हाल एनएमबि बैंकले २०२ शाखा, १८७ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने
काठमाडौं । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्दै मङ्गलबार यसबारे घोषणा गरेका हुन् । नयाँदिल्लीमा आयोजित वार्षिक ‘सेमिकन इन्डिया सम्मेलन’ को उद्घाटन समारोहमा बोल्दै मोदीले माइक्रोन र टाटाको परीक्षण चिप उत्पादन भइसकेको जानकारी दिए । 'व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुनेछ', उनले भने, 'यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ ।' भारतको सेमिकन्डक्टर बजार सन् २०२३ मा ३८ अर्ब डलर थियो । यो २०२४–२०२५ मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको छ । सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको छ । देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजनाहरू विकास गरिरहेको छ, जसमा नोएडा र बेङ्गलुरुस्थित दुईवटा नयाँ ३–न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन् । 'हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन', मोदीले जोड दिए । भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको छ । सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन र खनिज जस्ता महत्त्वपूर्ण सामग्री आपूर्ति र अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा र क्लाउड कम्प्युटिङसम्मका सेवा प्रदान गरेको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रले ‘मानव पूँजी’ लाई आफ्नो ठूला शक्तिमध्ये एक भएको दाबी गरेको छ । मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै छ । गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर र एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८ अर्ब डलर) पुर्याउने वाचा गरेपछि मोदीले यो घोषणा गरेका हुन् । विश्वको पाँचौँ ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाट प्रभावित भएको छ र विकासका नयाँ बाटो खोजिरहेको छ । अन्तर्राष्ट्रिय चिपको माग बढ्दो क्रममा भए पनि आपूर्ति मुट्ठीभर क्षेत्रमा केन्द्रित हुँदा भारतले ‘आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी’ बन्ने उद्देश्यसहित डिजाइन, निर्माण र प्याकेजिङलाई समेट्ने ‘पूर्ण इकोसिस्टम’ निर्माण गरिरहेको बताएको छ । 'आजको भारतले संसारमा विश्वास जगाउँछ', मोदीले यस हप्ताको सरकारी ब्रीफिङ नोटमा भने, 'जब चिपहरूको कुरा आउँछ, तपाईं आत्मविश्वासका साथ भारतलाई रोज्न सक्नुहुन्छ ।' रासस
एसवाई प्यानल नेपालले पायो आईपीओ निष्काशनको अनुमति
काठमाडौं । एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडको रहेको छ ।