वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह
काठमाडौैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको बताए । प्रतिनिधिसभाबाट छोटो अवधिमा उक्त विधेयक पारित भएको स्मरण गर्दै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाको विषयगत समितिमा नपठाइ सभाबाटै पारित गरिदिन आग्रह गरे । सो प्रस्तावमाथिको छलफलमा सांसदहरु गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले भाग लिए । बैठकले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदले विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने व्यहोरा जानकारी गराए । बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । उनले संसदीय सुनुवाई समितिमा राष्ट्रियसभाबाट सासद अञ्जान शाक्यलाई मनोयन गरिएको जानकारी गराए । उक्त मनोनयनलाई सभाले सहमति जनाएको थियो । अध्यक्ष दाहालले विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने विषय कार्यसूचीबाट हटाइएको जानकारी गराए । बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक यही भदौ १६ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्नेछ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) २५ औं वर्षमा प्रवेश
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भएको नेपालको बीमा कम्पनी हो । कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा यस कम्पनीका सञ्चालक श्रीमती कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिलाई दोसल्ला लगाइ सम्मान गरे । कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्णबहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिममलाई न्यूनीकरण गरी आमनागरिकको विश्वास जित्न सफल भएको बताए । त्यसैगरी उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याउन सहयोग गर्ने नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले एलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्यालय भएको र यहाँबाट सिँगै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमाबारे सिक्ने अवसर पाएको भनी गर्व गरे ।
नेप्सेले अप्पर स्याङ्गे हाइड्रोको सेयर कारोबार रोक्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्‍गे हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लामो समयदेखि वार्षिक साधारण सभा सम्बन्धी निर्णय नगरेको भन्दै कारोबार रोक्का गरेको हो । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो । तर सो निर्णय कम्पनीले नेप्सेमा भदौ १६ गते मात्र पठाएको थियो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ‘१’ क मा भएको व्यवस्था बमोजिम कम्पनीले वार्षिक साधारण सभा सम्बन्धी विवरण पेस नगरेकोले सेयर कारोबार रोक्का गरेको जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली विनिमय १६ ‘१’ घ मा भएको व्यवस्था बमोजिम भदौ १६ गतेदेखि कम्पनीको कारोबार रोक्का गरिएको हो । साथै नेप्सेले ३ दिनभित्र के कारणबाट समयमा नै जानकारी दिन किन नसकेको हो भनी सञ्चालक समितिको वार्षिक साधारण सभा सम्बन्धी गरेका निर्णयहरूको छायाँ कपीसहित स्पष्टिकरण पेश गर्न नेप्सेले अनुरोध गरेको छ ।
१२ अंकले बढ्यो नेप्से, ५ अर्ब १० करोड रुपैयाँको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १२.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से १२.९१ अंकले बढेर २७ सय ६१ दशमलव ८६ विन्दुमा पुगेको छ । सोमबार ३२६ स्टकको ६८ हजार ७७५ पटकमा १ करोड १४ लाख ४० हजार ८४४ कित्ता खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । एभरेष्ट इन्स्योरेन्सले २४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दुई उपसमूहबाहेक सबै परिसूचक बढेका छन् । अन्यकोृ ०.०३ र व्यापार ०.८५ प्रतिशतले घटेका छन् । बढेका उपसमूहरुमा सबैभन्दा धेरै बैंकिङको १.५० प्रतिशतले बढेकको छ । विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, जीवन बीमा ०.००, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, म्युचल फण्ड ०.१६, निर्जीवन बीमा ०.३० प्रतिशतले घटेका छन् ।
शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की
काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा आश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको वैठकले सञ्चालकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
नास आईटीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, गौरवराज पाण्डे अध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंको होटल सोल्टीमा आयोजित यस सभामा सदस्य कम्पनीका प्रतिनिधि, बोर्ड सदस्य र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो । सभाले गत वर्षका उपलब्धिहरूको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । साधारण सभाले ईके सोलुसन्सका सीईओ गौरवराज पाण्डेलाई यस वर्षको अध्यक्षमा नियुक्त गरेको छ । नवगठित कार्यसमितिमा लोगपोइन्टका राष्ट्र निर्देशक दीपेन चापागाईं उपाध्यक्ष, अम्निल टेक्नोलोजिजकी सीओओ आलिशा श्रेष्ठ महासचिव र गोक्यो ल्याब्सका सह-संस्थापक अभया पौडेल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् । कार्यसमितिका अन्य कार्यकारी सदस्यहरूमा लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज बिजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, बीआईसी टेक्नोलोजिजकी सह(संस्थापक प्रार्थना साखा, क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ र तत्कालीन अध्यक्ष सन्तोष कोइराला रहेका छन् । गत वर्ष नास आईटीले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण नीतिगत वकालत गर्दै सरकारसँग विभिन्न छलफलहरू सञ्चालन गरेको थियो । यसको परिणाम स्वरूप, संघले आईटी सम्बन्धी ऐन, निर्देशिका र नियमावलीमा भएका परिवर्तनहरूलाई नजिकबाट नियाल्दै उद्योगको पक्षमा आवाज उठाएको थियो । संघले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व बढाउँदै महाकुम्भ आईटी कार्यक्रम, वर्ल्ड आईटी शो र एपीआईसीटीए अवार्ड्स २०२४, ब्रुनाई जस्ता प्रतिष्ठित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएको थियो । यसबाहेक नेपाल र यूकेबीचको प्राविधिक सम्बन्ध सुदृढ पार्ने पहलहरूमा पनि नास आईटीको महत्त्वपूर्ण भूमिका रहेको थियो । संस्थाको अर्को प्रमुख प्राथमिकता कौशल र दक्षता विकास रहेको छ। यस अन्तर्गत, नास आईटीले युवा पेशेवरहरूलाई प्रविधि क्षेत्रमा तयार पार्न ‘करिअर कम्पास’ कार्यक्रम, ‘आईटी करियर कार्यशाला’, र विभिन्न तालिम तथा कोर्सहरू सञ्चालन गरेको छ । यसले उद्योग पहिचान र सहकार्यलाई प्रवर्द्धन गर्दै साइबर सुरक्षा समिति गठन गरेर उद्योगको क्षमता र सुरक्षा अभ्यासलाई मजबुत बनाउन पनि योगदान पुर्याएको छ। अन्त्यमा, संघले नेपालको आईटी उद्योगलाई विश्वस्तरीय अवसरहरू सिर्जना गर्ने र नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) नेपालमा आईटी उद्योगको विकास र प्रवर्धनमा समर्पित गैर-नाफामूलक संस्था हो । यसले आईटी व्यवसायहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्न र आईटी पेशेवरहरूको क्षमता विकास गर्न काम गर्दै आइरहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सव मनाउँदै
काठमाडौं । हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ । आफ्नो डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत क्रेटाले नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा छुट्टै पहिचान बनाएको छ । वर्षौंदेखि विभिन्न मोडल तथा अपग्रेड सार्वजनिक हुँदै आएका क्रेटाले हरेक पटक प्रदर्शन र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ । क्रेटा ईभीको आगमनसँगै यसले नवीन प्रविधि, दिगोपन र वातावरणमैत्री यात्रालाई एकैसाथ अघि बढाएको छ । यस अवसरमा, हुन्डाई नेपालले सम्पूर्ण ग्राहक, डिलर र साझेदारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आधुनिक प्रविधि र प्रतिबद्धतासँग नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको जनाएको छ ।
सिटी एक्सप्रेसको दशैं–तिहार अफर सार्वजनिक, हरेक हप्ता १ जनालाई १ लाख
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 'यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' नामक यो योजना लगातार ९ हप्ता सञ्चालन हुनेछ । योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले रु १ लाख प्राप्त गर्नेछन् भने हरेक दिन सबै ग्राहकले सिटी पेबाट क्याशब्याक पाउने व्यवस्था गरिएको छ । भाद्र १६ देखि कात्तिक १५ गतेसम्म लागू हुने यस अफरमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुनेछन् । उपहार विजेता चयन विद्युतीय प्रणालीमार्फत हुने र यसमा कम्पनीका कर्मचारी सहभागी नहुने सिटी एक्सप्रेसले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो । रेमिट्यान्स क्षेत्रमा १९ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यसबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।