विकासन्युज

निजी विद्यालय सञ्चालकले चक्रपथमा बससहित निकाले र्‍याली (तस्बिरहरू)

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा विद्यालय बससहित र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र गैरनाफामूलक भन्ने शब्द हटाउनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । हालै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयक सच्याउन दबाब दिन उनीहरूले सडकमा उत्रिएका हुन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायतका निजी विद्यालय सञ्चालक संघ–संस्थाले संयुक्त रूपमा उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् । र्‍यालीमा सहभागी विद्यालयका पहेँला बसहरू चक्रपथको एक लेनमा लस्कर लागेका थिए । र्‍यालीका कारण केही स्थानमा अन्य सवारीसाधनको आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चाडबाड नजिकिँदै गर्दा तरकारीको मूल्य आकासियो, उपभोक्ता मारमा

महोत्तरी । एकपछि अर्को चाडवाड नजिकिँदै गर्दा महोत्तरीका बजारमा तरकारीको मूल्य आकासिँदै गएको छ । साउनको नागपञ्चमीयता बजारमा हरिया सागसब्जीको मूल्य आकासिएको उपभोक्ताले बताएका छन् । साउन मध्यसम्म रु ३५ प्रतिकिलो पाइएको पुरानो स्थानीय आलु ५० पुगेको छ । पहाडबाट झारिएको आलु त ७० प्रतिकिलो पुगेको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्य बताउँछन् । यसैगरी भन्टा प्रतिकिलो ८० सम्म पुगेको छ । नागपञ्चमीयता राखी, कृष्णअष्टमी, तीज, चौरचन र भदैया रैब पर्व मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा मनाइएको छ । अब पितृपक्ष, जितिया र दशहरा (दसैँ) मुखमै छन् । चाडबाडमा स्वाभाविक रूपमा सागसब्जी तरकारीको खपत बढ्ने हुँदा उपभोक्ता महँगीको मारमा परेका बर्दिबास–२ कै बासिन्दा अटोचालक भोला महतो बताउँछन् । अधिक वर्षा तरकारीखेतीका लागि उपयुक्त हुँदैन । तर यसपालि असारयता पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने आकासिँदै गएको हो । असारसम्म बढीमा रु ४० प्रतिकिलो पाइने गरेको परवल अहिले १०० को हाराहारी पुगेको छ । यसैगरी, गोलभेँडा ९०, पहाडबाट झारिएको काउली त रु २०० प्रतिकिलो पुगेको आइतबार भदैयारैब पर्वका लागि तरकारी किन्न बजार जानुभएकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारूले बताए । यसैगरी, हरियो फर्सी ६०, अरुवा (पिँडालु) ७०, करेला ९०, घिरौँला, झिमनी र भिन्डी (रामझिमनी) ५० र ओल १५० प्रतिकिलो पुगेको छ । चाडवाड बाक्लिदै गर्दा हरियो सागसब्जी र विभिन्न तरकारीको मूल्य चर्किएको उपभोक्ताको आम गुनासो छ । यसपालि लामो खडेरीले यहाँ स्थानीय तरकारीको उत्पादन घट्दा अहिले बजारमा तरकारीको धेरैजसो माग पहाडबाट झारिएको तरकारीले लिएको छ । यी तरकारी किसानको हातमा नभई व्यापारीको तजबिजमा हुँदा मूल्य आकासिएको आम उपभोक्ता लख काट्छन् । अहिले पहाडबाट झरेको तरकारी यहाँका बजार मात्र नभई सीमापारिका भारतीय बजारसम्म पुग्ने गरेको छ । यसले पनि यहाँ तरकारीको मूल्य निकै बढाएको व्यापारी स्वीकार गर्छन् । 'लगालगी चाडबाड परेका छन्, माग बढ्दो छ, यसले गर्दा तरकारीको मूल्य अझै केही बढ्नसक्छ,' बर्दिबास–१ का तरकारी व्यापारी दिलीप कुशवाहा भन्छन्, 'हामीकहाँ आइपुग्दासम्म यो तरकारी तीन ठाउँ बेचिन्छ, सबैले केही न केही नाफा राखेरै बेच्नुपर्दा मूल्य अलि बढेको हो ।' यहाँ उत्पादन घटेको, भारतबाट तरकारी आउन छाडेको र पहाडबाट झारिने तरकारीको ढुवानी भाडा बढ्दा बजारमा मूल्यमा प्रभाव परेको व्यापारीको भनाइ छ । यो क्रम यहाँ हिउँदे तरकारी ननिस्किउञ्जेल रहनसक्ने सीतापुर बजारका अर्का व्यापारी रामप्रताप साह बताए । यता यहाँका किसान भने गत हिउँदमा आफ्नो उत्पादन कौडीको मूल्यमा बेच्नु परेको सम्झँदै अहिले किनेर खानपर्दा परेको मूल्यले विरक्तिएका छन् । अहिलेको तरकारी बजार किसानको नभई व्यापारीको कब्जामा रहेको किसान बताउँछन् । 'प्रतिकूल मौसमले यसपालि हाम्रो तरकारीखेती फस्टाएन, कुनै बजारमा तरकारी बेच्न बसेका किसान हम्मेसी देखिन्नन्,' तरकारी खेतीका अब्बल किसान मानिने बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो भन्छन्, 'अहिले त आफ्नो भान्सा पनि बजार गइने झोलाले धान्नु परेको छ ।' साउनयता भारतबाट यता आउने तरकारी पूरै रोकिएको छ । बरु सीमावर्ती भारतीय बजारमा पनि काभ्रेको मङ्गलटार, भकुण्डेबसी, मकवानपुरको टिस्टुङ्पालुङ, रामेछाप, सिन्धुली र पूर्व धनकुटादेखि आउने तरकारी पुगिरहेको हुँदा यहाँका बजारमा मागअनुसार अपुग हुँदा मूल्य बढेको जलेश्वर भन्सार नाका मलिबारास्थित प्लान्ट क्वारेन्टिइन कार्यालयका प्रमुख किशोर यादवको आकलन छ । 'हेर्नोस् न, हाम्रै नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब २० थरीका तरकारी दुई हजार ६८३ मेट्रिक टन भित्रिएको थियो, यसपालि नयाँ आर्थिक वर्ष (२०८२/८३) सुरु भएयता यो क्रम लगभग ठप्प छ,' यादव भन्छन्, 'यसको प्रभाव त हाम्रो बजारमा परिहाल्छ ।' अहिले त भारतको तरकारी यता आउनुसट्टा हाम्रै पहाडका तरकारी उताको बजारमा पुग्दा यहाँ मागअनुसार तरकारी नहुँदा मूल्य बढेको प्लान्ट क्वारेन्टिइन कार्यालयका अधिकारीको ठम्याइ छ । अहिले तरकारीको मूल्यवृद्धिले होटल सञ्चालक पनि सकसमा परेका छन् । आम उपभोक्ताको क्रयशक्ति घटेका बेला खानामा मूल्यवृद्धि गर्दा व्यवसाय नै धराशयी हुने अवस्था बनेको उपभोक्ता हक संरक्षण मञ्चका अध्यक्षसमेत रहनुभएका बर्दिबास–३ स्थित होटल शिशमहलका सञ्चालक दीपेन्द्र पराजुली बताउँछन् । महोत्तरीका मटिहानी, भङ्गाहा, बलवा, गौशाला, लोहारपट्टि र बर्दिबाससहितका स्थानीय तहका बस्तीहरू तरकारीखेतीका पकेटक्षेत्र मानिन्छन् । यस जिल्लामा २२ हजार ६८० हेक्टर क्षेत्रफलमा विभिन्न थरीका तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका कृषिविज्ञसमेत रहेका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिए । अहिले यताको प्रतिकूल मौसमले बर्खे तरकारी राम्रो उत्पादन हुन नसकेको र अब हिउँदे तरकारी लगाउने बेला परेको हुँदा तयार तरकारी कम भएको महतोको भनाइ छ । यता आम उपभोक्ता भने चाडबाडको मुखमा बढ्दै गएको मूल्यले आहत भएका छन् । महँगीकै कारण चाडबाडमा मन फुकाएर सागसब्जी खान नपाइने उपभोक्ताको चिन्ता छ । चाडबाडका बेला तरकारी मात्र नभएर अधिकांश दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने र भीडभाडको बेला पारेर कमसल सामग्री उपभोक्तालाई दिने गरेका यहाँको विगत छ । यसलाई दृष्टिगत गरी स्थानीय प्रशासन, स्थानीय तह र सम्बद्ध निकायले चाडबाडका बेला सघन अनुगमन गरी दिनुपर्ने आम उपभोक्ता बताउँछन् । रासस

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियन पर्साले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।  'लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,' उनले भने, 'यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।'   गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पारे । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।    

काठमाडौंमा ‘रोड टु आइपीओ : फ्रम कन्भर्सन टु लिस्टिङ’ कार्यशाला सम्पन्न

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र आईसीआरए नेपाल लिमिटेडको सहकार्यमा शुक्रबार ‘रोड टु आइपिओ : फ्रम कन्भर्सन टु लिस्टिङ’ शीर्षकको कार्यशाला सम्पन्न गरेको छ । विशेषगरी विभिन्न कर्पोरेट संस्थाका प्रतिनिधिहरूलाई कम्पनीलाई सार्वजनिक बनाउन प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत अघि बढ्दा आवश्यक हुने ज्ञान, रणनीतिक मार्गदर्शन र प्रक्रियागत जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सुरुवात एनआईएमबी इस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्तबहादुर पाण्डेले गरेका थिए । उनले कम्पनीको दीर्घकालीन दृष्टि निर्माण, पुँजी गठनलाई सहज बनाउन र समग्र आर्थिक विकासमा योगदान पुर्‍याउन आईपीओको महत्त्वबारे जोड दिएका थिए । पायोनियर ल एशोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेतीले आईपीओसम्बन्धी कानुनी पक्ष तथा त्यसलाई नियमन गर्ने वर्तमान कानुनी ढाँचा बारे महत्त्वपूर्ण जानकारी प्रस्तुत गरे ।  सोही क्रममा एनआईएमबी एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सचिन्द्र ढुंगानाले कर्पोरेट सुशासन, आईपीओ गर्ने उपयुक्त समय, विधि, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता विषयमा विस्तृत प्रस्तुति दिए। त्यस्तै, इक्रा नेपालका रेटिङ डिभिजन प्रमुख राजीव महर्जनले कम्पनीको वित्तीय विवरणले क्रेडिट रेटिङ र लगानीकर्ताको धारणा निर्धारणमा खेल्ने महत्त्वपूर्ण भूमिकाबारे जानकारी प्रस्तुत गरे ।

गोरखामा यामाहाको नयाँ थ्रीएस शोरुम उद्घाटन, नयाँ एफजेट र एमटी भेरियन्ट सार्वजनिक

काठमाडौं । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्सको औपचारिक शुभारम्भ गरेको छ । नयाँ शो–रुमको उद्घाटन प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा विशेष अतिथिका रूपमा एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक कुमार अग्रवाल पनि उपस्थित थिए । अत्याधुनिक पूर्वाधार र अनुभवी टोलीसहित चन्दा सप्लायर्सले एकै छानामुनि बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउने सुविधा प्रदान गरेको छ । उद्घाटन समारोहकै अवसरमा यामाहा नेपालले आफ्ना लोकप्रिय एफजेट र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्‍यो । यी मोडलहरूले ताजा डिजाइन र आधुनिक फिचरमार्फत नेपाली राइडरहरूलाई लक्षित गर्दै यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले गोरखामा नयाँ शो–रुम सुरु हुनु यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई ग्राहकसम्म अझ नजिक ल्याउने महत्त्वपूर्ण कदम भएको बताए । उनले नयाँ मोडलहरूले गोरखा तथा आसपासका ग्राहकलाई स्टाइल, प्रदर्शन र भरोसाको संयोजनसहित थप विकल्प उपलब्ध गराउने उल्लेख गरे । त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले यामाहा दुईपांग्रे सवारीसाधन बिक्री मात्र नभई दीर्घकालीन विश्वास कायम गर्ने उद्देश्यसहित भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । यस नयाँ शोरुम र नयाँ एफजेट तथा एमटी भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदो डिलर सञ्जाललाई अझ सबल बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस र स्पेयर पार्ट्स सहजै पाउनेछन् । एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुईपांग्रे ब्रान्डको रुपमा अग्रस्थान कायम राख्दै आएको जनाएको छ ।

नेचुरल स्प्रिट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं ।  नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।  नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो ।  कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको थियो।  २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्यूट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् ।  कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ । 

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।  यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।  

एनआरएन इन्फ्रास्ट्रक्चरका सीईओ हेमन्त बस्यालले दिए राजीनामा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी (सीईओ) हेमन्त बस्यालले राजीनामा दिएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बस्यालको राजीनामा स्वीकृत गरेको छ । साथै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा कम्पनी सचिव प्रताप अधिकारीलाई नियुक्त गरेको छ ।