विकासन्युज

सेयर बजारमा ८ अर्बको कारोबार, २४ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २७८१ बिन्दुमा झरेको छ ।  आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ६० करोड, हिमालयन डिस्टीलरीको ३५ करोड, शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै सेक्टरका सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

आईसिएफसी फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र '८ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९' निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । यस सम्बन्धमा बिहीबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसिएफसी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका सीईओ पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र निष्कासन गरिनेछ । हाल आईसिएफसी फाइनान्सले २१ शाखा कार्यालय र १८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयमा गणित शिक्षामा परिवर्तन ल्याउँदै

काठमाडौं । एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिएको छ । यही मिशनअनुसार, अनम्याथ टिमले अगस्त ३ देखि ८ गतेसम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा २५ भन्दा बढी विद्यालयमा गणित शिक्षासम्बन्धी पहुँच कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमका क्रममा प्रधानाध्यापक, शैक्षिक संयोजक र शिक्षकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गणितलाई कसरी व्यावहारिक, सजिलो र आकर्षक बनाउन सकिन्छ भन्नेबारे छलफल गरियो । यस अवसरमा ‘अनम्याथ जिल्ला योजना’, ‘गणितको कथा भन्ने’, ‘उद्यमशील गणित’ र ‘म्याथ म्युजियम’ जस्ता अनुभवमूलक सिकाइ कार्यक्रमहरूको परिचय गराइयो । अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने, 'हामीलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जसबाट विद्यार्थीहरू नडराउँन् । विद्यालय भ्रमणले हामीलाई विशेष आवश्यकताहरू बुझ्न र त्यसअनुसार समाधान तयार गर्न मद्दत गरेको छ ।' कार्यक्रममा सहभागी भएका शिक्षकहरूले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्या समाधान गर्ने र विद्यार्थीहरूको जिज्ञासा बढाउने गतिविधिमूलक सिकाइ प्रभावकारी हुने विश्वास व्यक्त गरे । लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने, 'गणितलाई व्यावहारिक र वास्तविक जीवनसँग जोड्ने यो तरिका विद्यार्थीहरूका लागि निकै उपयुक्त छ ।' विद्यालयहरूको मागअनुसार अनम्याथले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने, निरन्तर सम्पर्कमा रहने र आवश्यकता अनुसार विशेष योजना बनाउने लक्ष्य राखेको छ । यस पहलमार्फत रुपन्देहीका कक्षाकोठामा दीर्घकालीन रूपमा नयाँ र गुणस्तरीय गणित शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

युरोपेली कार बिक्री जुलाईमा बढ्यो : टेस्लाको हिस्सा झर्दा बीवाईडीले मार्यो बाजी

काठमाडौं । युरोपमा नयाँ कार बिक्री जुलाईमा ५.९ प्रतिशतले बढेको युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीईए) को तथ्यांकले बिहीबार देखाएको छ । तथ्यांकअनुसार जर्मनीमा भएको वृद्धिले ब्रिटेन, फ्रान्स र इटालीमा भएको गिरावटलाई मात दिएको छ । टेस्लाले लगातार सातौं महिनासम्म बजार हिस्सा गुमायो, यद्यपि विद्युत कारको कुल बिक्री बढेको थियो । यस अवधिमा टेस्लाको प्रतिस्पर्धी बीवाईडीभन्दा पछि पर्‍यो, जसको बिक्री पहिलोपटक मासिक तथ्यांकमा समावेश गरिएको थियो । फक्सवागनजस्ता घरेलु निर्माताहरू युरोपको बढ्दो ईभी बजारमा चिनियाँ प्रतिस्पर्धीलाई रोक्न र लाभदायक तरिकाले सवारीसाधनलाई प्रोत्साहन दिने नियमनसँग तालमेल मिलाउन नयाँ मोडेलहरू ल्याउने तयारीमा छन् । एसीईएका सीईओ ओला केल्लेनियसले बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनलाई पठाएको पत्रमा सह(हस्ताक्षर गर्दै भनेका छन्— २०३५ सम्म कारहरूमा १०० प्रतिशत सीओटू कटौती गर्ने युरोपेली संघका लक्ष्य अब सम्भव छैनन्। युरोपेली अटो निर्माताहरूले अर्बौं घाटा बेहोरेका छन् र नाफा घट्ने चेतावनी दिएका छन्, जसमा अमेरिकी आयात शुल्कको असर पनि देखिएको छ । तथ्यांकअनुसार युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघमा जुलाईमा बिक्री बढेर १०।९ लाख कार पुगेको एसीईएले जनाएको छ । फक्सवागन र रेनोको दर्ता क्रमशः ११.६ प्रतिशत र ८.८ प्रतिशतले बढ्यो, तर स्टेलान्टिसको दर्ता १.१ प्रतिशतले घट्यो । टेस्लाको बिक्री ४०.२ प्रतिशतले घटेर बजार हिस्सा गत वर्षको १.४ प्रतिशतबाट ०.८ प्रतिशतमा झर्‍यो । बीवाईडीको बिक्री भने २२५.३ प्रतिशतले बढ्दै बजार हिस्सामा १.२ प्रतिशत पुगेको छ । कुल ईयू कार बिक्री ७.४ प्रतिशतले बढ्यो । ब्याट्री इलेक्ट्रिक, हाइब्रिड इलेक्ट्रिक र प्लग(इन हाइब्रिड कार दर्ता क्रमशः ३९.१ प्रतिशत, ५६.९ प्रतिशत र १४.३ प्रतिशतले बढ्दै समग्रमा ५९.८ प्रतिशत पुग्यो, जुन गत जुलाई ९२०२४० को ५१.१ प्रतिशतभन्दा बढी हो । जर्मनीमा कुल बिक्री ११.१ प्रतिशतले बढ्यो भने बेलायतमा ५ प्रतिशत, फ्रान्समा ७.७ प्रतिशत र इटालीमा ५.१ प्रतिशतले घट्यो । स्पेन, पोल्याण्ड र अष्ट्रियामा भने क्रमशः १७.१ प्रतिशत, १६.५ प्रतिशत र ३१.६ प्रतिशत वृद्धि भयो । पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् ।  काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् ।  उनकाअनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमितामा देखिएको विकृतिलाई निर्मम रुपमा सुधारेको छ । मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताए । उनकाअनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन ।  योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उनको भनाइ छ । उहाँले अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताए । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको उनको भनाई छ ।  मन्त्री पौडेलले भने–'काँग्रेस–एमाले दुई वटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । २०८४ सम्म यो सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । स्थिर शक्तिशाली सरकार यही हो । यतिबेला के काम गर्नुपर्ने भन्ने हिसावले काम गरिएको छ ।'   चालु आवको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उनले दाबी गरे । 

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ग्राण्डि हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । साथै, वेलनेस प्याकेजमा पनि विशेष सहुलियत प्राप्त गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस सुविधाको सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ । बीमितहरूले छुट सुविधा पाउनका लागि कम्पनीको मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी सो सुविधा लिन सक्नेछन् ।

भरतपुर अस्पतालले बिमाको एक अर्ब प्राप्त गर्न बाँकी

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम एक अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड रुपैयाँ भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै १० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।   गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका हुने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको ५५ करोड ५१ लाख ४४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए । उनले भने, 'साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।' अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उहाँले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए ।   

एक वर्षभित्र एक खर्ब लगानी भित्र्याउन सीईओ ज्ञवालीलाई कार्यादेश

काठमाडौं । सरकारले लगानी बोर्डलाई चालु आर्थिक वर्षभित्र एक खर्ब रुपैयाँको लगानी प्रतिवद्धतासहित सम्झौता गर्न कार्यादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई चालु आर्थिक वर्ष २०८२/८३ भित्र एक खर्ब रुपैयाँको लगानी सम्झौता गर्न कार्यादेश दिएका हुन् ।  बोर्डका सीईओ ज्ञवालीले आफूलाई सरकारले एक सय अर्बको लगानी सम्झौता गर्न निर्देशन दिएको जानकारी गराए । सुदू/पश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आफूलाई दिएको जिम्मेवारीको विषयमा जानकारी गराएका हुन् । ‘यस वर्ष सरकारले मलाई एक सय अर्बको लगानीको सम्झौता गर्न कार्यादेश दिएको छ, जसरी पनि त्यो लक्ष्य पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘सो लक्ष्यमा सफल हुनका लागि पनि विभिन्न प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्नुपर्नेछ।’ उनले विभिन्न प्रदेशमा हुने लगानी सम्मेलनमा आफ्नो पूर्ण साथ र सहयोग रहने पनि जानकारी दिए । आगामी मंसिर १ र २ गते सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन गर्दैछ । सो सम्मेलनमा सहभागी सुदूरपश्चिममा लगानी गर्न प्रदेश सरकारले सबै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेको छ ।  सोही लगानी सम्मेलनलाई केन्द्रित गरेर आयोजना गरेको बिहीबारको अन्तरक्रिया कार्यक्रममा  बोल्दै सीईओ ज्ञवालीले सुदूरपश्चिम प्रदेश सरकारलाई विभिन्न सुझाव पनि दिएका छन् ।  उनले लगानीकर्तालाई आकर्षित गर्न नीतिगत र कानुनी स्पष्टता हुनु पर्ने धारणा राखे । नीतिगत स्पष्टताबिना लगानीकर्ता लगानी गर्न नरुचाउने उनको भनाइ छ ।  यस्तै, उनले सार्वजनिक निजी साझेदारी मोडेल पनि बुझ्न आवश्यक रहेको बताउँदै तीनवटै सरकारले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।  उनले लगानीकर्तालाई लगानीका लागि आकर्षित गर्न संस्थागत संरचना  र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै लगानीकर्तालाई दिइने प्रोत्साहन, सेवा सुविधा तथा सहुलियतका विषयमा पनि सुरुमै प्रष्ट पार्नुपर्ने बताए । ‘सेकसम्म एकद्वार प्रणाली र एकल बिन्दु सेवा केन्द्रको विकास गरेर  संस्थागत समन्वय गर्नुपर्छ, अहिले लगानी गर्न चाहे पनि जग्गा तथा वनको लगायतको समस्याले लगानीकर्तालाई निरुत्साहित बनाइरहेको छ,’ उनले भने ।  कार्यक्रममा व्यवसायीहरूले पनि सुदूरपश्चिममा किन लगानी गर्ने, प्रदेशमा रहेका सम्भावना लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।