विकासन्युज

पढाइसँगै कमाइ : इम्बार्क कलेजको सुरु गर्यो दुई नयाँ कार्यक्रम

काठमाडौं । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै रोजगारी र उद्यमशीलतामा अगाडि बढाउने उद्देश्यले दुई नयाँ कार्यक्रम सुरु गरेको छ । कलेजले बिहीबार ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सार्वजनिक गर्दै उच्च शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने घोषणा गरेको हो । कलेजका सीइओ आशिष ठाकुरले भने, ‘यो कार्यक्रमले स्नातकपछि हुने अनिश्चिततालाई अन्त्य गर्दै करियर–रेडी शिक्षाको नयाँ मापदण्ड नेपालमै ल्याएको छ ।’ उद्योगसँग साझेदारीमार्फत विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्ने, संरचित तालिम, सीप मूल्याङ्कन र व्यावसायिक परामर्श दिइने, उद्योगलाई दक्ष जनशक्ति प्रदान गर्ने र विद्यार्थीलाई स्थायी करियर मार्गदर्शन दिने कलेजले जनाएको छ । स्टार्टअप क्षमता विकास कार्यक्रम कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका स्टार्टअप व्यवसायहरूलाई लक्षित गरिएको हो । कार्यक्रम नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी तयार गरिएको हो । इम्बार्क कलेज हाल बीएस्सी बिजनेस म्यानेजमेन्ट, एमबीए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले यी नयाँ पहलमार्फत विद्यार्थीलाई पढाइसँगै कमाउने अवसर र उद्यमशीलताको नयाँ बाटो खोल्ने दाबी गरेको छ ।

निजी विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् । निजी सञ्चालकहरूले भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।  विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसान र अपेनले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।  निजी विद्यालय सञ्चालकहरूले निजी विद्यालयल गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।  विधेयकमा निजी विद्यालयहरूले दिने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको कार्यान्वयन स्थानीय तहहरूले गर्ने र उनीहरूले आफ्नो क्षेत्र भित्रको निजी विद्यालयमा छात्रवृत्तिको कोटामा विद्यार्थीहरूको परीक्षा लिएर छनोट गरी विद्यार्थीलाई पठाउनुपर्ने प्रावधान राखिएको छ । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार (भोलि )को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।  बिहीवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गरेको छलफलपछि यसबारे जानकारी गराइएको हो ।  प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउनु हुने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।  साथै संसदको आगामी बैठक र कार्यसूचीबारे छलफल भएको छ । १३ गतेपछि १८ गते र २५, २६ र २७ भदौमा बैठक हुने सहमति भएको उनले बताए । सदनमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउने कार्यसूची रहेको पनि उनले बताए ।  

सुरतका हीरामा ट्रम्पको ट्यारिफ संकट, २५ लाखभन्दा बढी कामदार प्रभावित

काठमाडौं । भारतको गुजरात स्टेटको सुरतस्थित हीरा उद्योगका व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण चिन्तित छन् । सुरत संसारभर हीरा काट्ने र पोलिस गर्ने केन्द्रको रूपमा परिचित छ, तर अहिले यसै उद्योगमा भर पर्नेहरू जोखिममा छन् । अमेरिकाले लगाएको ५० प्रतिशत ट्यारिफले यस क्षेत्रका व्यापारीसँगै श्रमिकहरूलाई समेत चिन्तित बनाएको छ । हिरा उद्योगसँग जोडिएका २५ लाखभन्दा बढी कामदार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाउँदा यसको सबैभन्दा ठूलो असर सुरतको हीरा उद्योगमा परेको छ किनकि यो उद्योग अमेरिकामा हुने निर्यातमै धेरै भर पर्छ । कसैकसैको धारणा छ– यदि ट्यारिफ घटाइएन भने धेरै व्यापारी उद्योगबाट बाहिरिनेछन्, कामदारले रोजगारी गुमाउनेछन् र गहिरो मन्दी आउनेछ । तर अर्कोतर्फ सुरत डायमन्ड एसोसिएसन र साउथ गुजरात चेम्बर अफ कमर्सजस्ता संस्थाहरू भने अमेरिकी ट्यारिफले केही मन्दी ल्याउने भए पनि समयसँगै अवस्था स्थिर हुने बताउँछन् । उनीहरूको भनाइमा भारतलाई जति हीरा उद्योग चाहिन्छ, अमेरिकामा पनि त्यत्तिकै माग छ । त्यसैले त्यहाँका व्यापारीहरू समेत समाधान खोजिरहेका छन् । सुरतका कारखानामा ट्रम्पको ट्यारिफको असर सुरतका सडकमा बिहान बेलुकी ट्राफिक जाम हुनु सामान्य कुरा हो, किनकि त्यही बेला कालिगढहरू काममा जाने वा फर्किने गर्दछन् । सहरका सयौं साना फ्याक्ट्रीहरूमा २० देखि २०० सम्म श्रमिकहरू काम गर्छन् । कतिपयमा यो संख्या ५०० सम्म पुग्छ । सुरतमा हजारौं यस्ता कारखाना छन् । कतारगामस्थित एक हीरा पालिस गर्ने क्षेत्रमा धुलो जमेको छ, पोलिस गर्ने चक्की धेरै दिनदेखि बन्द छ । केवल छ जना मात्र काम गरिरहेका छन् । त्यहाँका एक कालिगढ भन्छन्, ‘पहिले यहाँ कालिगढहरूको भीड लाग्थ्यो । भर्खरै धेरैलाई कामबाट निकालियो । अब हाम्रो भविष्य के हुन्छ भन्ने थाहा छैन ।’ यो अवस्था सुरतका धेरै साना–ठूला कारखानामा देखिएको छ । २० वर्षअघि शैलेश मंगुकियाले एउटा पोलिसिङ चक्कीबाट व्यवसाय सुरुवात गरेका थिए । विस्तारै व्यापार बढ्दै गयो, श्रमिक संख्या ३ बाट ३०० पुग्यो । तर अहिले उनको कारखानामा केवल ७० मात्र बाँकी छन् । बीबीसी गुजरातीसँग उनले भने, ‘सबै अर्डर रद्द भएका छन् । मजदुरलाई काम छैन भन्नुपरेको छ । यो धेरै पीडादायी अवस्था हो, किनकि कसलाई राख्ने, कसलाई निकाल्ने भन्ने नै थाहा छैन । सबै परिवारका सदस्यजस्तै छन् । तर अर्डर नभएकाले काम छैन, काम नभएकाले तलब दिनसक्ने स्थिति छैन ।’ गत वर्ष अगस्टमा महिनामा करिब २ हजार हीरा प्रोसेस हुन्थे, यो वर्ष मात्र ३०० मा झरेको छ । यदि यस्तो नै रह्यो भने कारखाना बन्द गर्नुपर्ने डर उनी व्यक्त गर्छन् । सुरेश राठौरजस्ता श्रमिकहरू भन्छन्, ‘साधारणतया जन्माष्टमीमा हामीलाई दुई दिन बिदा मिल्थ्यो । यसपालि भने १० दिन तलबबिनाको बिदा दिइयो । मालिक के गर्ने ? अर्डर नै छैन ।’ सुरत डायमन्ड पालिसर्स युनियनका उपाध्यक्ष भावेश टांक भन्छन्, ‘धेरै कालिगढहरूले तलब कटौती वा रोजगारी गुम्ने गुनासो गरिरहेका छन् ।’ उनका अनुसार धेरै फ्याक्ट्रीले अगस्ट १ अघि नै माल पठाइसकेका थिए । त्यसैले नयाँ अर्डर पाइएन र हजारौं मजदुरको आम्दानी घट्यो । निर्यातकर्ताहरू समेत अनिश्चिततामा छन् । उद्योग जगतले एउटा विशेष ‘डायमन्ड टास्क फोर्स’ बनाएर समाधान खोज्ने कोसिस गरिरहेको छ । दक्षिण गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष निखिल मद्रासी भन्छन्, ‘अमेरिकी बजारमा अत्यधिक निर्भरता भएकाले दीर्घकालीन असर ठूलो हुनेछ । पुराना अर्डर त पुरा भए, तर नयाँ अर्डरको भविष्य अनिश्चित छ । सरकारले तत्काल सहयोग गर्नुपर्छ ।’ कतिपय व्यापारी मध्यपूर्व र युरोपतिर ढोका खोजिरहेका छन्, कोही बाइपास मार्ग प्रयोग गरेर अमेरिकासम्म सामान पुर्याउने प्रयासमा छन् । जेम एण्ड ज्युवलरी एक्सपोर्ट प्रमोशन काउन्सिल (जीजेईपीसी) का गुजरात अध्यक्ष जयन्तीभाइ सावलिया भन्छन्, ‘अब अमेरिकामाथिको निर्भरता घटाएर दुबई, अस्ट्रेलिया, युरोपजस्ता बजारमा ध्यान दिनुपर्ने बेला आएको छ । यदि अर्डर पाइएन भने मजदुरको तलब र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।’ ‘हाल अमेरिकालाई हुने कुल निर्यात करिब १२ अर्ब डलर छ । यसमध्ये आधा मात्र अरू मुलुकमा सार्न सकियो भने सुरतको हिरा उद्योग जोगिन सक्छ,’ उनले थपे । सुरत डायमन्ड एसोसिएसनका अध्यक्ष जगदीश खुंट भन्छन्, ‘अमेरिका भारतीय हीराबिनाको कल्पना गर्न सक्दैन । विश्वका १५ मध्ये १४ वटा हीरा गुजरातमै कलात्मक बनाइन्छ । त्यसैले त्यहाँका व्यापारी पनि समाधान खोजिरहेका छन् ।’ गत वर्षमात्र अमेरिकाले भारतबाट करिब ११.५८ अर्ब डलर मूल्यका हीरा आभूषण आयात गरेको थियो । यसमध्ये ५.६ अर्ब डलर पालिस गरिएका हीरा थिए । गत वर्षसम्म पालिस गरिएका हीरामा कुनै कर थिएन, तर अहिले बढेको करले सम्पूर्ण व्यापार हल्लाएको छ । सुरतका कारखानामा अहिले डर र असमञ्जसको वातावरण छ । दैनिक ज्याला मजदुरी गर्नेका लागि तलब कटौती वा बिनातलबको बिदा सहन कठिन भइरहेको छ। व्यापारी नयाँ बजार खोज्दैछन् भने मजदुरहरू रोजगारी गुम्ने त्रासमा छन् । शैलेश मंगुकिया आँखाभरि आँसु पारेर भन्छन्, ‘यहाँको चमक बिस्तारै मन्द हुँदै गइरहेको छ... र यो फेरी फर्केर आउला कि आउँदैन, थाहा छैन।’ बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित सामग्री अमेरिकी करको मारले कोरियाली अर्थतन्त्र संकटमा एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?  

नेपाल–इजरायल व्यापार विस्तारबारे उद्योग संगठन मोरङ र राजदूतबीच छलफल

काठमाडौं । नेपाल र इजरायलबीचको द्विपक्षीय व्यापार विस्तार, प्रविधि हस्तान्तरण र निजी क्षेत्रीय सहकार्यका सम्भावनाबारे बिहीबार उद्योग संगठन मोरङ र नेपालका लागि इजरायली राजदूत श्मूलिक एरिक वासबीच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दुई देशबीच आपसी सहकार्यलाई गहिरो बनाउँदै नयाँ सम्भावना पहिल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले नेपाल कृषि प्रधान देश भएकाले इजरायलको हरितगृह प्रविधि, बाली व्यवस्थापन र प्रशोधन प्रणालीबाट लाभ लिन सकिने भन्दै ज्ञान आदानप्रदान, तालिम तथा लगानीमार्फत सहकार्य गर्नुपर्नेमा जोड दिए । राजदूत वासले नेपाल–इजरायलबीचको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउन इजरायल सकारात्मक रहेको बताउँदै, प्रविधि हस्तान्तरण तथा सम्भावित आयात–निर्यातका विषयमा अध्ययन गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता सहकार्यले दीर्घकालीन लगानी, रोजगारी सिर्जना र सीप आदानप्रदानमार्फत दुवै देशको हितमा टेवा पुग्ने विश्वास व्यक्त गरे । संगठनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका संयोजक पारस लुनियाले नेपाल–इजरायलबीच वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भए पनि व्यापार सन्तुलन इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गरे । उनले नेपालबाट गलैचा, हस्तकला र छालाजन्य वस्तु निर्यात हुने र इजरायलबाट औषधि, प्रसारण उपकरण, दूरसञ्चार तथा कृषि उपकरण आयात हुने जानकारी दिए । त्यस्तै, उनले कृषि प्रविधि, ड्रिप सिँचाइ, सूचना प्रविधि तथा अन्य उत्पादन क्षेत्रहरूमा सहकार्य सम्भावना रहेको उल्लेख गर्दै कोशी प्रदेशमा संयुक्त पाइलट परियोजना सञ्चालन गर्न सकिने बताए । कार्यक्रममा संगठनका उपाध्यक्ष विपिन कावरा, निवर्तमान अध्यक्ष राकेश सुराना लगायतले इजरायलसँग सिधा हवाई कार्गो सञ्चालन, प्रविधि हस्तान्तरण र कृषिको आधुनिकीकरणमा सहकार्य आवश्यक रहेको धारणा राखे । साथै, इजरायलमा कार्यरत नेपाली केयरगिभरहरूको योगदान र शिक्षा, पर्यटन तथा प्रविधि क्षेत्रमा छात्रवृत्ति तथा तालिमका अवसरलाई अझ सशक्त बनाउनुपर्नेमा पनि जोड दिइयो ।

१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाले भदौ महिनामा महत्वपूर्ण विधेयकहरू पारित गर्ने तयारी गरेको छ । शुक्रबार (भदौ १३ गते) बस्ने बैठकमा भूमि सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरूसँग बैठक कार्यसूचीबारे छलफल गरेका थिए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार भूमि सम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ । भदौ १८ र १९ गते बस्ने बैठकमा नागरिकता सम्बन्धी विधेयक तथा राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी विधेयक पारित गर्ने तयारी भएको छ । यस्तै, १७ गते राष्ट्रिय सभाबाट संघीय निजामति सेवा विधेयक सन्देशसहित फिर्ता आएमा १८ गते टेबुल र १९ गते पारित गरिने योजना छ । यसबाहेक, प्रतिनिधि सभाको अर्को बैठक भदौ २५, २६ र २७ गते बस्नेछ । यस अवधिमा विशेष गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ । शिक्षा विधेयकलाई भदौ २६ गते पारित गर्नेगरी कार्यतालिका तय भएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ महिनाभर प्रतिनिधि सभाले संघीयता र सुशासनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्नेछ ।

स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकरबीच सम्पन्न भएको हो । सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा स्काईलाईन ईन्फ्राको तर्फबाट अध्यक्ष प्रतीक अग्रवालसहित सञ्चालक, संस्थापक तथा प्रमुख वित्त अधिकृतको सहभागिता थियो भने हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गरेका छन् ।  

बर्सातमा जहिल्यै हिलाम्मे पृथ्वीराजमार्ग, आवतजावतमा सकस

मलेखु । कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् ।    विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ ।  काठमाडौंदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, 'हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पुर्याउनुपर्छ ।' बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स–साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ । सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, 'पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।' पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी प¥यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ । 'कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ', जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने । नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिएका छैनन् । कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ । नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ । निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुबैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिए ।   नागढुङ्गाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ । रासस