विकासन्युज

निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल

काठमाडौं । जर्मन अटोमेकर मर्सिडिज-बेन्जको पेन्सन ट्रस्टले जापानी अटोमेकर निसान मोटरमा रहेको आफ्नो सम्पूर्ण सेयर ४७.८३ अर्ब येन (३२४.६५ मिलियन डलर) मा बिक्री गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ । सोमबार मर्सिडिज–बेन्जले निसानमा रहेको आफ्नो ३.८ प्रतिशत सेयर बिक्री गर्ने घोषणा गरेपछि जापानी अटोमेकरको सेयरमूल्य एकैदिनमा ६ प्रतिशतभन्दा बढी घट्यो । जुलाईको सुरुयता आएको यो सबैभन्दा ठूलो एकदिने गिरावट हो । निसानको सेयर घट्नुको कारण लगानीकर्ताहरूको कम्पनीको सुधार योजनाप्रति रहेको शंका हो । अमेरिकी र चिनियाँ बजारमा शुल्क तथा बिक्री घट्दै गएको अवस्थामा निसानले जुनमा अन्त्य भएको तीन महिनामा ५३५ मिलियन डलर घाटा व्यहोरेको थियो । यसअघि निसान र दीर्घकालीन साझेदार रेनोबीच साझेदारीमा संशोधन गर्ने सहमति भएको थियो, जसअनुसार रेनोको न्यूनतम सेयर हिस्सेदारी १५  प्रतिशतबाट १० प्रतिशतमा झार्न सकिने व्यवस्था गरिएको थियो । स्रोतका अनुसार मर्सिडीज–बेन्जले निसानको सेयर प्रतिसेयर ३४१.३ येनमा बेचेको हो, जुन सोमबारको बन्द मूल्य ३६३ येन भन्दा ५.९८ प्रतिशत कम हो । रोयटर्सले देखेको कागजातअनुसार बिक्री मूल्य ३३७.५ येनदेखि ३४१ येनको दायरा तोकिएको थियो । बिक्री गरिएका भन्दा बढी माग आएपछि शीर्ष १० लगानीकर्ताले करिब ७० प्रतिशत सेयर पाएका थिए । निसानले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने मर्सिडिज–बेन्जले पनि आफ्नो अघिल्लो वक्तव्यबाहेक थप केही टिप्पणी नगर्ने जनाएको छ । मर्सिडिज-बेन्जका प्रवक्ताले सोमबार बताएका छन् कि २०१६ मा कम्पनीको पेन्सन कोषमा स्थानान्तरण गरिएको निसानको सेयर रणनीतिक हिसाबले त्यति महत्त्वपूर्ण नभएकाले यसलाई बेच्नु कम्पनीको लगानी पोर्टफोलियोलाई व्यवस्थित गर्ने नियमित प्रक्रियाको हिस्सा मात्रै हो । रेनोसँग निसानको ३५.७ प्रतिशत सेयर छ, जसमा १७.०५ प्रतिशत प्रत्यक्ष र बाँकी ट्रस्टमार्फत राखिएको छ । फ्रान्सेली अटोमेकर रेनोले गत महिनामात्रै निसानमा रहेको सेयरका कारण ११ अर्ब डलर घाटा देखाएको थियो । विश्लेषक क्रिस्टोफर रिच्टरका अनुसार रेनोले निसानमा रहेको हिस्सेदारी क्रमशः घटाउँदै जाने सम्भावना छ, तर बजारमा सिधै बेच्न मिल्ने सीमितता सम्झौतामा भएकोले तत्काल ठूलो बिक्री सम्भव छैन । ‘पहिले निसानको वित्तीय स्थिति राम्रो हुँदा कम्पनी आफैले ती सेयर खरिद गर्ने चाहना राख्थ्यो,’ उनले भने, ‘तर अहिले निसानको नगद स्थिति कमजोर भएकाले रेनोबाट सेयर खरिद गर्ने सम्भावना कम देखिन्छ ।’ निसानका नयाँ सीईओ इभान एस्पिनोसाले नाफा फर्काउने उद्देश्यसहितको सुधार योजना सार्वजनिक गरेका छन् । यसमा २०२७ सम्ममा उत्पादन क्षमता ३.५ मिलियनबाट २.५ मिलियन सवारीसाधनमा झार्ने र उत्पादन केन्द्र १७ बाट १० मा सीमित गर्नेजस्ता कदम समावेश छन् । गत महिना एस्पिनोसाले निसान अझै पुनरुत्थानको प्रारम्भिक चरणमा रहेको बताए तर लागत कटौतीमा प्रगति भइरहेको स्पष्ट गरे । टोकाइ टोकियो इन्टेलिजेन्स ल्याबोरेटरीका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले भने, ‘साझेदारी कमजोर हुँदै गएकाले रेनोले निसानमा रहेको हिस्सेदारी क्रमशः घटाउँदै जाने अपेक्षा गरिएको छ ।’ निसानलाई अघिल्लो प्रमुख कार्लोस घोसन हटाइएपछि लगातार समस्या आइरहेको छ । रेनो–निसान गठबन्धनका अभियन्ता मानिने घोसनलाई टोकियो अभियोजनकर्ताले वित्तीय कदाचारको आरोप लगाएका थिए तर उनले यी आरोप अस्वीकार गर्दै आएका छन् । अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

काठमाडौं । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा तीन सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा क्रयविक्रय भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका उनलाई बुधबार बसेको समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहु राष्ट्रिय कम्पनीमा नेतृत्व गरेको अनुभव छ ।  त्यस्तै उनले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाको सफल नेतृत्व गरिसकेका छन् । उनी बैंकको अध्यक्षमा नियुक्त भइसकेपनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट सपथ लिन भने बाँकी रहेको छ ।

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । गए राति  सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।  

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबीच सम्झौता

बनेपा । नेपाल बैंक लिमिटेड र माउन्टेन भिस्टा रिट्रिटबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले रिसोर्टका विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ मा अवस्थित माउन्टेन भिस्टा रिट्रिटले आफ्ना सेवा प्रयोग गर्ने नेपाल बैंकसँग सम्बन्धित व्यक्तिहरूलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटका निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए । पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, रु २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

दमौली । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए । कार्यालयका लागि आव २०८१/८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।

झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुक लागि बिक्री खुला गर्ने भएको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।