विकासन्युज

अब लघुवित्त संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने, यस्ता छन् नयाँ शर्तहरु

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांशमा गरिएको कडाइलाई खुकुलो गर्दै २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको हो ।  यसअघि लघुवित्त संस्थाहरुले १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था थियो । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा लाभांशमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । सोही बमोजिम आज आइतबार सर्कुलर जारी गर्दै खराब कर्जा र पुँजी कोष अनुपातको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ५ प्रतिशत भन्दा कम निष्कृय कर्जा अनुपात भएका लघुवित्तको लाभांश वितरपछि पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा २५ प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशत पुँजी कोषसम्म भएमा २० प्रतिशत, ८ प्रतिशतदेखि १० प्रतिशतसम्म पुँजी कोष अनुपात भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने छन् । यस्तै, ५ प्रतिशतदेखि १० प्रतिशतसम्म खराब कर्जा भएको लघुवित्तको लाभांश वितरण पछिको पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा बढी भएमा २० प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशतसम्म १५ प्रतिशत र ८ प्रतिशतदेखि १० प्रतिशत हुने लघुवित्तको हकमा १० प्रतिशत लाभँंश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्म खराब कर्जा भएको लघुवित्तको लाभांश वितरण पछिको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा बढी भएमा १५ प्रतिशत, पुँजीकोष अनुपात १० प्रतिशतदेखि १२ प्रतिशतसम्म हुने लघुवित्तलाई १० प्रतिशत र ८ प्रतिशतदेखि १० प्रतिशत हुने लघुवित्तको हकमा ५ प्रतिशत लाभँंश वितरण गर्न पाउने छन् । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न सक्ने छैनन् ।

नाडा अटो शो डेढ लाख जनाले गरे अवलोकन, उड्ने ट्याक्सी र रोबोटले जित्यो मन

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हलमा ६ दिनसम्म चलेको सवारीसाधनको महाकुम्भ १७ औं संस्करणको नाडा अटो शो आइतबार सम्पन्न भएको छ । भदौ ३ गतेदेखि सुरु भएको यो मेला केवल गाडीहरूको प्रदर्शनी मात्र नभई भविष्यको यातायात प्रविधिको एक उत्सव पनि बन्यो ।  डेढ लाखभन्दा बढी अवलोकनकर्ताले नाडा अटो शोमा अवलाेकन गरेकाे नाडाले जनाएको छ । विगतमा गाडी र पार्टपुर्जाको प्रदर्शनीमा सीमित नाडाले यसपटक प्रविधिको फड्को मार्दै ‘उड्ने ट्याक्सी’ र ‘रोबोट’ लाई प्रदर्शनीको केन्द्रमा राख्यो । यही नवीनताले नै अवलोकनकर्ताको मन जित्यो र अटो शोलाई चर्चाको शिखरमा पुर्‍यायो । यसपटकको अटो शोको आकर्षणको केन्द्रबिन्दु थियो, ‘उड्ने कार’ । सहरको आकाशमा गुड्ने गाडीको कल्पनालाई साकार पार्ने यो प्रविधि हेर्न सर्वसाधारण मात्र होइन, देशका शीर्ष नेतृत्वको पनि बाक्लो उपस्थिति देखियो ।  प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालजस्ता राजनीतिज्ञहरूले चासोका साथ यसको अवलोकन गरेका थिए । अध्यक्ष चौधरीले यस पटकको अटो शोमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै यसलाई सम्पूर्ण अटोमोबाइल क्षेत्रको सफलताको रूपमा रहेको दाबी गरे ।  ‘यो सफलता सम्पूर्ण व्यवसायी र अवलोकनकर्ताहरूको हो । प्रदर्शनकर्ताहरूको मुहारमा देखिएको सन्तुष्टि र खुसी नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने, ‘यसले मलाई राम्रो काम गर्न थप ऊर्जा मिलेको छ । ’ यस संस्करण विगतका संस्करणभन्दा फरक र विशेष रहेको बताउँदै अध्यक्ष चौधरीले विगतमा गाडी मात्र प्रदर्शन हुने गरेकोमा यस पटक ‘उड्ने ट्याक्सी’ र ‘मेकानिकल रोबोट’ जस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शन गरेर नयाँ सम्भावनाको ढोका खोलिएको बताए ।  उनले भने, ‘हामीले ‘स्काई इज द लिमिट’ भन्ने सोचेर काम गर्नुपर्छ । १७ औं संस्करण सकिएलगत्तै भोलिबाटै १८ औं संस्करणलाई अझै भव्य र नयाँ बनाउन हामी योजना सुरु गर्नेछौं ।’ अध्यक्ष चौधरीले अब नेपाल आयातमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा पनि विशेष जोड दिए ।  करण चाैधरी  ‘अब हाम्रो देशमा उड्ने कार आयात गर्ने होइन, उड्ने ट्याक्सी उत्पादन गर्न सक्नुपर्छ । जुन दिन हामी उत्पादनलाई प्राथमिकता दिन्छौं । त्यो दिनबाटै समृद्ध नेपालको निर्माण सुरु हुन्छ,’उनले भने । उनले यसका लागि नीतिगत तहबाट सरकारले विशेष पहल गर्नुपर्ने सरकारलाई झकझकाए । शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने समापन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरे ।  यो अटो शोमा सवारीप्रेमीहरू मात्र नभई देशका नीति निर्माण र कार्यान्वयन तहका व्यक्तित्वहरूको पनि उपस्थिति थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलदेखि बागमती प्रदेशका मन्त्री जयराम थापासम्म अनि प्रतिनिधिसभा सदस्यहरू योगेश भट्टराई, हरि ढकाल र शिशिर खनालसम्मको उपस्थिति थियो ।  यसैगरी पूर्वअर्थमन्त्री युवराज खतिवडाकाे पनि उपस्थिति रहेकाे थियो । त्यस्तै, प्रशासन, सुरक्षा र आर्थिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति पनि उत्तिकै उल्लेखनीय थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङदेखि राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसम्मले प्रदर्शनी अवलोकन गरे।  नाडा अटो शोले यसपटक अन्तर्राष्ट्रिय ध्यान पनि खिच्न सफल भयो । भारतीय अटोमोबाइल जगतका दुई प्रतिष्ठित संस्थाहरू सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेण्ट म्यानुफ्याक्चर्स एशोसिएशन (एक्मा) का उच्चस्तरीय प्रतिनिधि मण्डलले शोको अवलोकन गरे ।  यसले नाडा अटो शोलाई क्षेत्रीय स्तरमा समेत एक महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित गर्न मद्दत पुगेको छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टमा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट उक्त छुटहरू प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

१७.२३ खर्ब भित्रियो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २६.७७ खर्ब, अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक

काठमाडौं । गत वर्ष देशको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशको अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरू सकारात्मकसहित वृद्धि भएका छन् । गत वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि दर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कलाई आधार मान्दै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष कृषि क्षेत्रको वृद्धि ३.२८ प्रतिशत, उद्योग क्षेत्रको ४.५३ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको अनुमान छ ।  गत वर्ष कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.१६ प्रतिशत, १२.८३ प्रतिशत र ६२.०१ प्रतिशत रहेको छ । कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको ६.५५ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ उत्पादनसँगको अनुपात क्रमशः २४.०७ प्रतिशत र ३६.२४ प्रतिशत रहेको तथ्याङ्क छ । आर्थिक वर्ष २०८१/८२ मा कुल विद्युत्को जडित क्षमता वृद्धि भई ३ हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् ३ हजार ३९० मेगावाट रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल पर्यटक आगमन १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ पुगेको छ । मूल्य वृद्धि ४.०६ प्रतिशत राष्ट्र अनुसार गत वर्ष औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो ।  अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।  गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ । गत वर्ष वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ५.०३ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.६३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएको थियो ।  प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धि १.२३ प्रतिशत, मधेश प्रदेशको २.१४ प्रतिशत, बागमती प्रदेशको १.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७४ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७२ प्रतिशत, कर्णाली प्रदेशको ३.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.४४ प्रतिशत रहेको छ । १७.२३ खर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स  राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।  चालु खाता ४.०९ खर्ब रुपैयाँ र शोधनान्तर स्थिति ५.९४ रुपैयाँले बचतमा  आर्थिक वर्ष २०८१/८२ मा चालु खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँ ले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ ।  समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा वर्षमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ । २६.७७ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति  समीक्षा वर्षमा कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए । निक्षेप १२.६ प्रतिशत बढ्यो गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत अर्थात् ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको थियो ।  २०८२ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.१ प्रतिशत, ३६.८ प्रतिशत र ४८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको थियो ।  २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.२ प्रतिशत रहेको थियो ।  ८.४ प्रतिशत बढ्यो कर्जा  समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो ।  समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

१६ लाख भ्रष्टाचार मुद्दामा सुनिल पौडेल धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।  उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । यद्यपि यसअघि दर्ता भएका अन्य भ्रष्टाचारसम्बन्धी मुद्दामा भने पौडेललाई थुनामा पठाउन अदालतले आदेश गरिसकेको छ। यसरी विभिन्न प्रकरणमा पटक–पटक अदालत धाउनुपरेको पौडेलको मुद्दा पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रकै ठूलो विवाद बनेको छ।

चालु खाता ४ खर्ब ९ अर्ब र शोधनान्तर ५ खर्ब ९४ अर्ब बचतमा

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो । प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०र८१ मा चालु खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।  गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०र८१ मा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब अर्ब ४९ करोडले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आवमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ । कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ । गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्धि भई तीन हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कूल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ ।

खाद्यवस्तुमा उच्च मूल्यवृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ ।  मरमसला उपसमूहको मूल्य सूचकाङ्क दुई दशमलव ६२ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव ३४ प्रतिशतले घटेको देखिएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि नौ दशमलव ३९, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव शून्य नौ, मदिराजन्य पेय पदार्थको पाँच दशमलव ६५, फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ७८ र सुर्तीजन्य पदार्थको चार दशमलव ३७ प्रतिशत रहेको छ । त्यस्तै, गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति छ दशमलव ४७ प्रतिशत रहेको थियो ।  गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७१ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति चार दशमलव ६४ प्रतिशत थियो । गत आवमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७७, तराईको चार दशमलव १४, पहाडको तीन दशमलव ८६ र हिमालको चार दशमलव ८९ प्रतिशत रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।  ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ४० प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव ९४ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशीको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४६, मधेशको चार दशमलव १४, बागमतीको तीन दशमलव ५७, गण्डकीको तीन दशमलव ३२, लुम्बिनीको तीन दशमलव ७०, कर्णालीको तीन दशमलव ३१ र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

बीमालेखको सुरक्षणमा दिइएका कर्जाका बारेमा स्पष्ट जानकारी दिन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बीमित तथा हिताधिकारीरूलाई मर्का परेको भनी गुनासाहरू आएको सन्दर्भमा प्राधिकरणले बीमा कम्पनीहरूलाई त्यस्तो निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ, ‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न/गराउन परिपत्र गरिएको छ ।’ प्राधिकरणले बीमा कम्पनीहरूले ऋण तथा व्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई वीमितको ध्यानाकर्षण गर्नु उनीहरूको कर्तव्य भएको समेत स्मरण गराएको छ ।