विकासन्युज

खाद्यवस्तुमा उच्च मूल्यवृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ ।  मरमसला उपसमूहको मूल्य सूचकाङ्क दुई दशमलव ६२ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव ३४ प्रतिशतले घटेको देखिएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि नौ दशमलव ३९, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव शून्य नौ, मदिराजन्य पेय पदार्थको पाँच दशमलव ६५, फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ७८ र सुर्तीजन्य पदार्थको चार दशमलव ३७ प्रतिशत रहेको छ । त्यस्तै, गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति छ दशमलव ४७ प्रतिशत रहेको थियो ।  गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७१ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति चार दशमलव ६४ प्रतिशत थियो । गत आवमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७७, तराईको चार दशमलव १४, पहाडको तीन दशमलव ८६ र हिमालको चार दशमलव ८९ प्रतिशत रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।  ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ४० प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव ९४ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशीको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४६, मधेशको चार दशमलव १४, बागमतीको तीन दशमलव ५७, गण्डकीको तीन दशमलव ३२, लुम्बिनीको तीन दशमलव ७०, कर्णालीको तीन दशमलव ३१ र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

बीमालेखको सुरक्षणमा दिइएका कर्जाका बारेमा स्पष्ट जानकारी दिन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बीमित तथा हिताधिकारीरूलाई मर्का परेको भनी गुनासाहरू आएको सन्दर्भमा प्राधिकरणले बीमा कम्पनीहरूलाई त्यस्तो निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ, ‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न/गराउन परिपत्र गरिएको छ ।’ प्राधिकरणले बीमा कम्पनीहरूले ऋण तथा व्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई वीमितको ध्यानाकर्षण गर्नु उनीहरूको कर्तव्य भएको समेत स्मरण गराएको छ ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिश

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर तीन दशमलव ६७ प्रतिशत रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति चार दशमलव ०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।  त्यस्तै, आयात १३ दशमलव तीन प्रतिशतले र निर्यात ८१ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षमा कुल १७ खर्ब २३ अर्ब २७ करोड बराबर विप्रेषण भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो । गत असार महिनाको विप्रेषण आप्रवाह मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । त्यसैगरी, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव दुई प्रतिशतले वृद्धि भई २०८२ असार मसान्त सम्मा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर हो ।  उक्त सञ्चितिले १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचकहरु सुधार हुँदै जाँदा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेको छ । त्यसैगरी गत आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो आव यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२ दशमलव ६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव चार प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ ।  

लचिलो नीतिमा बैंकहरू उत्साहित, दोब्बरले बढाए सेयर कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा खुकुलो नीति अघि सारेपछि बैंकहरूले लगानी ह्वात्तै बढाएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा मार्जिन प्रकृतिको कर्जा (सेयर कर्जा)को सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएसँगै बैंकहरूले पनि सेयरमा लगानी बढाएका हुन् ।  साथै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । जसले गर्दा पुँजी बजारमा बैंकहरूले खुलेरै लगानी गरेको लगानीकर्ताहरू बताउँछन् । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष ६६.०५ प्रतिशत अर्थात् ४६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए ।  समीक्षा वर्षमा अधिकांश बैंकले सेयरमा लगानी बढाएका छन् भने विभिन्न ८ वटा बैंकको दोब्बरभन्दा बढाएका छन् । गत वर्ष माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै सेयर कर्जा बढाएको छ । गत असारसम्ममा माछापुच्छ्रे बैंकको ४४२.०९ प्रतिशत अर्थात् २ अर्ब ६ करोड रुपैयाँ बढेर २ अर्ब ५३ अर्ब १९ लाख रुपैयाँ लगानी गरेको हो । अघिल्लो वर्ष बैंकले ४६ करोड ७० लाख रुपैयाँ मात्रै सेयर प्रवाह गरेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै सेयर कर्जा दिने बैंकमा नबिल अग्रस्थानमा छ । नबिल बैंकको ४६.६८ प्रतिशत अर्थात् ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ बढाएर १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयरमा लगानी गरेको हो । जुन वाणिज्य बैंकमा सबैभन्दा धेरै सेयर कर्जा हो । अघिल्लो वर्ष बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, नेपाल एसबिआई बैंकको २०७.१५ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बढाएर ६१ करोड ९१ लाख रुपैयाँ, कृषि विकास बैंकको १९२.६६ प्रतिशत अर्थात् ३ अर्ब ६ करोड ६४ लाख रुपैयाँ बढाएर ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एनएमबि बैंकको १४४ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बढाएर २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।  यस्तै, लक्ष्मी सनराइज बैंकको १४३.५३ प्रतिशत अर्थात् ४ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ बढाएर ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकको १३८.४० प्रतिशत अर्थात् ६ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढाएर १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकको १०४.२९ प्रतिशत अर्थात् ४ अर्ब २२ करोड ७७ लाख रुपैयाँ बढाएर ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको १००.५१ प्रतिशत अर्थात् १ अर्ब ६६ करोड रुपैयाँ बढाएर ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि)को ८१.३० प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढाएर ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६९.७२ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढाएर ३ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ६८.०६ प्रतिशत अर्थात् २ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बढाएर ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६३.७४ प्रतिशत अर्थात् ४ अर्ब ७९ करोड २० लाख रुपैयाँ बढाएर १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  सिद्धार्थ बैंकको ६०.२९ प्रतिशत अर्थात् ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ बढाएर ९ अर्ब २८ करोठ ७ लाख रुपैयाँ, सिटिजन्स बैंकको ४६.१७ प्रतिशत अर्थात् २ अर्ब २१ करोड ९६ लाख रुपैयाँ बढाएर ७०२६.६२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४४.४९ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बढाएर ६ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, हिमालयन बैंकको ३४.८८ प्रतिशत अर्थात् ७० करोड १७ लाख रुपैयाँ बढाएर २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र नेपाल बैंकको १५.९५ प्रतिशत अर्थात् १ अर्ब ८ करोड १५ लाख रुपैयाँ बढाएर ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । तर, समीक्षा वर्षमा एनआईसी एशिया बैंकले भने सेयरमा कर्जा घटाएको छ । एनआईसी एशियाको ४८.२१ प्रतिशत अर्थात् १ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ घटाएर २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको छ ।

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताएका छन् ।      आइतबार आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले द्वन्द्वसँगै समाधान पनि हुने गरेको धारणा राखे । 'द्वन्द्वरहित समाज कसैले भन्छ भने त्यो काल्पनिक हो, यथार्थ होइन', उनले भने, 'जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ, हामीले द्वन्द्वलाई ठीक ढङ्गले बुझिदिनुपर्छ, द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।'      पछिल्लो समय संविधानले गरेको अधिकारको बाँडफाँटले मुलुकमा द्वन्द्व उत्पन्न गराइरहेको सङ्केत पाइरहेको उनको भनाइ थियो । 'पालिकाहरुबीच अहिले प्राकृतिक स्रोतसाधनको वितरण र सीमाको द्वन्द्व भएको देखिन्छ', उनले भने, 'उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गरिनुपर्छ ।'       विस्तृत सम्झौताताका वार्ता समितिमा रहँदाका अनुभव सुनाउँदै उनले २०६३ मङ्सिर ५ गते सशस्त्र द्वन्द्वको समाप्त भएको बताए । 'हिंसाको समाजलाई शान्तिको रुपान्तरण गरिएको छ', उनले भने, 'द्वन्द्वका प्रकृति संसारभर फरकफरक छन्, द्वन्द्वको प्रकृति फरक छ, सर्वव्यापी छ, समाज रहुञ्जेल द्वन्द्व रहन्छ ।'      उनले धेरै विश्वविद्यालय, स्कूल, कलेज, सडक र पुल बनाउने विषय ठीक भए पनि धेरै संविधान बनाउने कुरो खराब रहेको बताए ।      'विसं २०७२ को सातौँ संविधान हो, देश कति ज्यादा अस्थिरतामा गयो, कति अनिश्चितता र कति ज्यादा द्वन्द्वबाट गुज्रियो भन्ने आवस्थाको मापन गर्ने कुरा संविधान हो', उनले भने, 'नेपाल संसारका विरलैमध्येको त्यस्तो देश हो, जसले सात दशकमा सात संविधान बनायो, संविधान निर्माणको यात्रा २००४ सालदेखि सुरु भएको थियो ।'  

नाडा अटो शोको अन्तिम दिन आज, दीपलको आकर्षक अफरले झुम्मिए ग्राहक

काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सवारीसाधन र विशेष अफरहरूले अवलोकनकर्ताहरूको ध्यान खिच्न सफल भएको छ । विशेषगरी विद्युतीय गाडी ब्रान्ड दीपलले भर्खरै सार्वजनिक गरेको एस-०५ एसयुभी र दुई पाङ्ग्रे सवारीको लोकप्रिय ब्रान्ड हिरोले ल्याएको नयाँ जुम १२५ स्कुटर तथा सुपर स्प्लेन्डर १२५ बाइकले ग्राहकहरूको ध्यान केन्द्रित गरेका छन् । कम्पनीहरूले नाडालाई लक्षित गरी सीमित अवधिका लागि विशेष छुट र योजनाहरू घोषणा गरेका छन् । जसकारण स्टलहरूमा ग्राहकहरूको भीड उल्लेख्य देखिएको छ ।  दीपलको स्टलमा नयाँ विद्युतीय एसयुभी एस-०५ हेर्न र बुझ्न आउनेहरूको बाक्लो उपस्थिति छ । दीपलका मार्केटिङ म्यानेजर रमेश दनेखूका अनुसारका नाडा अगाडि लन्च गरिएको एस ०५ ले छोटो समयमै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । एस-०५ को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँदेखि हाइ भेरियन्टको ५७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।  यसैगरी, कम्पनीकी सेल्स रितु भट्टराईका अनुसार यो गाडीमा ९९ किलोवाटको मोटर र ५६.१ किलोवाटको ब्याट्री छ । जसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिन्छ । नेपाली सडकका लागि उपयुक्त १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १६० लिटरको फ्रंक स्पेस (अगाडिको बुट) र ४९२ लिटरको विशाल बुट स्पेस यसका थप विशेषता हुन् । यसमा पार्क असिस्ट, १४ वटा स्पिकर, कुलिङ बक्स, र दुवै अगाडिका सिटमा हिटिङ तथा कुलिङजस्ता प्रिमियम फिचरहरू छन् । नाडाको अवसरमा एस-०५ खरिद गर्ने ग्राहकले एक वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर, फ्लोर म्याट र आकर्षक छुट पाउनेछन् ।  दीपलको चर्चित मोडल एस-०७ (२०२५ मोडल) मा कम्पनीले ‘जेरो ओनरसिप’ र ‘बाई ब्याक’ नामक विशेष अफर ल्याएको छ । भट्टराईका अनुसार ‘जेरो ओनरसिप’ अफर अन्तर्गत ग्राहकले ५ वर्षसम्मको इन्स्योरेन्स, रोड ट्याक्स, सर्भिसिङ र चार्जिङ खर्चसमेत कम्पनीले व्यहोर्नेछ । ‘बाई ब्याक’ योजनामा ग्राहकले निश्चित समयपछि आफ्नो गाडी कम्पनीलाई नै फिर्ता बेच्न सक्नेछन् । नाडामा दीपपलका गाडीहरूको १५० भन्दा बढी युनिट बुक भइसकेको कम्पनीले जनाएको छ ।  दुई पाङ्ग्रे सवारीको सेगमेन्टमा सिजी मोटर्सद्वारा वितरित हिरो मोटोकर्पले पनि आफ्ना नयाँ उत्पादनहरूसहित ग्राहकलाई आकर्षित गरिरहेको छ । सिजी मोटर्सका सहायक सेल्स म्यानेजर सोहन शाहीका अनुसार नाडामा ४वटा मोडल प्रदर्शनमा राखिएको छ । जसमध्ये दुईवटा नयाँ मोडल सुपर स्प्लेन्डर १२५ र जुम १२५ को बुकिङ खुला गरिएको छ ।  ‘सुपर स्प्लेन्डर हिरोको एक लेजेन्ड बाइक हो, जसलाई अहिले बीएस ६ इन्जिन र एफआई  सिस्टमसहित अपग्रेड गरिएको छ,’ शाहीले भने, ‘यसको मुख्य विशेषता भनेकै यसको उत्कृष्ट माइलेज हो, जसले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिन्छ ।’ नाडा अवधिभरका लागि यसको परिचयात्मक मूल्य २ लाख ६६ हजार ९ सय  रुपैयाँ तोकिएको छ ।  त्यस्तै, हिरोले भर्खरै नेपाली बजारमा ल्याएको जुम १२५ स्कुटर पनि आकर्षणको केन्द्र बनेको छ । ११० सीसीको पुरानो मोडलमा ग्राहकबाट आएको पावर र अफरोड क्षमताको सुझावलाई ध्यानमा राखेर यसलाई १२५ सीसी इन्जिन र १४ इन्चको ठूलो टायरसहित अपग्रेड गरिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसनसहितको डिजिटल मिटर जडान गरिएको छ, जुन यो सेग्मेन्टमा नयाँ हो। यसको परिचयात्मक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ राखिएको छ र नाडामा बुकिङ गर्ने ग्राहकले उपहारस्वरूप ‘अल्तिमा’ को एयरबड्स पाउनेछन् ।  हिरोका सबै मोटरसाइकल तथा स्कुटरहरू नेपालमै एसेम्बल हुने र सबैमा ५ वर्षको इन्जिन वारेन्टी, ४ पटक निःशुल्क सर्भिसिङ र एउटा हेल्मेट उपलब्ध गराइने शाहीले जानकारी दिए । यी बाहेक १६० सीसीको स्कुटर र २१० सीसीको बाइक पनि प्रदर्शनमा छन्, जुन परीक्षणपछि जनवरी-फेब्रुअरीतिर लन्च गर्ने कम्पनीको योजना छ । अब नेपाली सडकमा दीपलका गाडीहरुको बाक्लो उपस्थिति रहेको कम्पनीले दाबी गरेको छ ।  नाडा अटो शो नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर बनेको छ, जहाँ एकै ठाउँमा विभिन्न ब्रान्डका नयाँ उत्पादनहरू हेर्न, तुलना गर्न र विशेष छुटमा खरिद गर्न सकिन्छ । यी परिचयात्मक मूल्य र विशेष अफरहरू नाडा अवधिभरका लागि मात्र सीमित भएकाले खरिदकर्ताका लागि यो सुनौलो मौका हो । नाडा अटो शो आज अर्थात् आइतबार सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले यसपटको नाडा अटो शो सोचेको भन्दा उत्कृष्ट भएको भन्दै गरिरहेको छ ।  चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको छ । यो पटक प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । आज अन्तिम दिन भएकाले प्रर्दशनी स्थलमा ग्राहक तथा अवलोकनकर्ताको घुइँचो लागेको छ ।  

बाढीले मेडिसिटीलाई ३२ करोड घाटा, राष्ट्र बैंकको राहत र साढे २ अर्बको व्यापार हुँदा पनि ५ अर्ब ऋणको दबाब

काठमाडौं । गत वर्षको बाढीले ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पताललाई साढे ३२ करोड रुपैयाँको नोक्सानी गरेको देखिएको छ । बाढीले अस्पताल परिसरमा क्षति पुर्‍याउँदा ३२ करोड ४० लाख रुपैयाँको क्षति भएको देखिएको हो ।  बाढीले ठूलो क्षति गरेपछि कम्पनीले बैंक तथा वित्तीय संस्थाको तिर्नुपर्ने सावाँ ब्याजमा पनि दबाब परेको बताइएको छ । कम्पनीको आग्रहमा राष्ट्र बैंकले पनि नेपाल राष्ट्र बैंकले पुन: संरचनामार्फत विशेष राहत दिएको विषय रेटिङ एजेन्सी केयर रेटिङले उल्लेख गरेको छ ।  सार्वजनिक विज्ञप्तिमा उल्लेख भएअनुसार २०८० माघ र २०८१ बैशाखमा तिर्नुपर्ने ब्याजको ९० प्रतिशत स्थगित गरिएको छ । स्थगित ब्याजलाई २०८१ साउनदेखि सुरु हुने गरी आठ त्रैमासिक किस्तामा तिर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सावाँ फिर्ता गर्ने समायवधि पनि थप गरेर सन् २०३८ पुर्‍याइएको छ ।  ललितपुरको भैंसेपाटीमा रहेकाे मेडिसिटी अस्पताललाई आश्विन्स मेडिकल कलेजले सञ्चालन गर्दै आएको छ । सार्वजनिक तथ्यांक अनुसार सो मेडिकल कलेजले सन् २०२५ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यो कलेजले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ८२ करोड ६० लाख र सन् २०२२ मा २ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । विगतका वर्षहरूका तुलनामा यस मेडिकल कलेजको व्यापार घटेको उल्लेख छ । बाढीकै कारणले कम्पनीको व्यापार घटेको हो ।  कम्पनीको नाफा मार्जिन पनि विगतका वर्षहरूका तुलनामा घटेको छ । सन् २०२४ मा २७.७८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा २१.५३ प्रतिशत कायम भएको छ ।  २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ७५० शैयाको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । अस्पतालमा १७ वटा अत्याधुनिक अपरेशन थिएटरहरू, ६० भन्दा बढी विशेषज्ञ डाक्टर, बहिरंग बिरामी विभाग, ७५ भन्दा बढी सघन उपचार शैयाहरू रहेको उल्लेख छ ।  नेपाल मेडिसिटी अस्पतालले कार्डियोलोजी, क्यान्सर उपचार, न्यूरोसर्जरी, मिर्गौला प्रत्यारोपण, स्त्रीरोग, बालरोग, ग्यास्ट्रोएन्टेरोलोजी, फिजियोथेरापी, पुनःस्थापना सेवा र आपतकालीन चिकित्सा सेवा लगायत सुविधा प्रदान गर्दै आएको छ ।  कम्पनीको कुल ४ अर्ब ९४ करोड १० लाख रुपैयाँ ऋण रहेको छ । कम्पनीले डबल बी को रेटिङ पाएको छ । 

५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार (भोलि) सोमबार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिएको हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका रहेको छ भने त्यसरी जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत नै तय हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेका छन् । ऋण व्यवस्थापन कार्यालयका अनुसार यसअघि बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४८ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको थियो । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । ट्रेजरी बिलहरू बोलकबोलमार्फत निष्कासन हुने गरेका छन् । यसमा बहु–बोलमूल्य विधि प्रयोग हुन्छ । विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रस्ताव गर्छन् र औसत मूल्यमा वितरण गरिन्छ । यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ । प्रतिष्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिष्पर्धी बोलवालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । तर एउटै बोलकबोलमा प्रतिष्पर्धी र अप्रतिष्पर्धी दुवैतर्फबाट बोल गर्न पाइँदैन । सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ ।