दाताले पत्याएपछि ८० प्रतिशत रकम आयो, ६०० अर्बका लागि ब्रिफिङ
काठमाडौं । भूकम्प पछिको पुननिर्माणका लागि दाताहरुले कबोल गरेको ८० प्रतिशत रकम उपलब्ध गराएका छन् । दाता सम्मेलनमा कुल ४१० अर्बको सहयोग प्रतिवद्धता आएको थियो । सोमध्ये हालसम्म ३२९ अर्ब रुपैंयाँ आईसकेको छ । भूकम्प लगत्तै उद्धार तथा राहतमा खटिएका दातृ निकायका प्रतिनिधीहरुले ६७ अर्ब खर्च गरेका थिए । सो बाहेक २६२ अर्ब रुपैंयाँ सहयोगको सम्झौता भैसकेको छ । दाताहरुले कबोल गरेको ८१ अर्ब रुपैंयाँ मात्रै अब प्राप्त हुन बाँकी रहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणका लागि ९३८ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । सोमध्ये अझै ६०० अर्ब रकम अपुग रहेको छ । सो रकमको जोहो गर्ने उदेश्यसहित प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास सहायता समन्वय तथा सहजीकरण समितिको ८ औं बैठक मार्फत दाताहरुसँग आग्रह गरेका हुन् । बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए । जसमा भूकम्पबाट प्रभावित ८ लाख भन्दा बढी घर परिवारमध्ये निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र ३२ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् । भूकम्पबाट क्षति भएका घर मध्ये ३६ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ५ लाख ५१ हजार घर निर्माणाधीन छन् । ७५ सय विद्यालय मध्ये ३८ सय विद्यालयको निर्माण सम्पन्न भएको छ भने २७ सय निर्माणको क्रममा छन् । १२ सय स्वास्थ्य संस्था मध्ये ६ सय ५० को निर्माण पूरा भएको छ र १ सय ५० निर्माणाधिन छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदाहरु मध्ये १ सय ८५ वटा सम्पदाको निर्माण सकिएको भने ३ सय १० वटा निर्माणको क्रममा छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणलाई व्यवस्थित र छिटो गर्न स्थानीय तहलाई जिम्मेवारी प्रदान गरिएको, विपद पश्चातको पुनर्लाभ कार्यढाँचा पुनरावलोकनको चरणमा रहेको, मन्त्रिपरिषदबाट निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँ सहुलियत व्याजदरमा उपलब्ध गराउने निर्णय भएको, परम्परागत बस्तीका घरका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको, बस्ती स्थानान्तरण र एकीकृत बस्ती विकासका क्षेत्रमा पनि काम भइरहेको, पञ्चबर्षीय पुनर्निर्माण योजनालाई समय सान्दर्भिक बनाउन परिमार्जन गर्ने तयारी भएको लगायतबारे जानकारी पपनि गराए । बैठकमा विकास साझेदारका संस्थाका प्रतिनिधिहरुले प्रबलीकरण, निजी आवासको निरीक्षण, त्यसको गुणस्तर, इन्जिनियरको उपलब्धता, जोखिममा परेका परिवार, तेस्रो पक्षको अनुगमन, स्थानीय तहलाई जिम्मेवारी प्रदान, समुदायको परिचालन, आर्थिक परिचालन लगायतबारे जिज्ञासा व्यक्त गरेका थिए । विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठकमा भारत सरकार, विश्व बैंक, संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, जाइका, युएसएड, डिएफआइडी, युनडिपी, एसडिसी लगायतका विभिन्न अन्तर्रा्ष्ट्रिय विकास साझेदारका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय मन्त्रालय, परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय योजना आयोग लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।
सानिमा जनरल इन्स्योरेन्स नारायणगढमा, यसै वर्ष २० वटा शाखा खोल्ने
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गरेका छन् । कार्यक्रममा कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिति थियो । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको पहुँच पुर्याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक बर्ष भित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पुँजी १ अर्ब पुर्याउने कम्पनीको लक्ष्य छ ।
७६५ केभी क्षमताको प्रसारणलाइन निर्माणको तयारी, प्रतिव्यत्ति बिजुली खपत १५०० युनिट पुर्याइने
काठमाडौँ । सरकारले ७६५ केभी क्षमताको ठूलो प्रसारणलाइन निर्माण गर्ने भएको छ । ३३, १३२, २२० र ४०० केभी क्षमताको प्रसारणलाइनमार्फत बिजुली प्रवाह भइरहेकोमो आगामी दिनमा बढ्दो आपूर्तिलाई दृष्टिगत गरी ७६५ केभी क्षमताका प्रसारणलाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वपश्चिम राजमार्ग र रसुवागढी– काठमाडौँ –वीरगन्ज करिडोरमा हालसम्मकै उच्च क्षमताको प्रसारणलाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । आन्तरिक माग व्यवस्थापन तथा अन्तरदेशिय विद्युत् प्रणालीमा नेपालको प्रसारण प्रणाली जोड्नका लागि समेत ठूला क्षमताका प्रसारण लाइन जरुरी परेको मन्त्रालयले जनाएको छ । यस्तै कर्णाली, गण्डकी, कोशी करिडोरमा समेत उच्च क्षमताका प्रसारण लाइन विस्तार गर्ने योजना अगाडि सारिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन योजनामा ठूला आयोजनाको निर्माणलगायत प्रसारण प्रणालीको विकासमा विशेष जोड दिएको छ । निर्माण सम्पन्न हुने विद्युत् आयोजनाको प्रसारणलाइनमार्फत राष्ट्रिय ग्रीड प्रणालीमा आवद्ध गर्ने, निजी लगानीकर्तालाई प्रसारण लाइनको विकासमा सहभागी गराउन निर्माण तथा हस्तान्तरण अवधारणा लागू गर्ने समेत मन्त्रालयको कार्ययोजना छ । यस्तै नेपाल र चीन जोड्ने गल्छी– रसुवागढी– केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको आवश्यक प्रक्रिया शुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणको क्रममा सो प्रसारणलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरेको छ । कुन ढाँचामा आयोजना निर्माण गर्ने भन्ने विषयमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य जारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उच्च क्षमताका ७६५ केभी क्षमताका प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माणको प्रक्रिया शुरु गर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए । यस्तै ४०० केभी क्षमताका प्रसारणलाइन निर्माण प्रक्रियालाई समेत गति दिने भएको छ । आर्थिक वर्ष २०७४/७५मा ७८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । चालु आवमा थप ५० किलोमिटर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आव २०७९/०८० सम्म थप ८१८ सर्किट किलोमिटर उक्त क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । यस्तै २२० केभी क्षमताका प्रसारण लाइन नदी बेसिनका आधारमा निर्माण हुनेछ भने बुटवल गोरखपुर प्रसारण लाइनलाई पनि निर्माणको प्रक्रियामा लगिएको छ । आव २०७४/०७५ मा ७५ किलोमिटर उक्त क्षमताको प्रसारणलाइन निर्माण भएको थियो । चालु आवमा थप १५० किलोमिटर निर्माण सम्पन्न गरिनेछ । यस्तै आव २०७९/०८० सम्म १ हजार २७४ किलोमिटर लामो प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मन्त्री पुनकाअनुसार १३२ केभी क्षमताका दुई हजार ८७१ सर्किट किलोमिटर प्रसारण लाइन आव २०७४/०७५ मा निर्माण सम्पन्न भएको छ । चालु आवमा थप २२२ सर्किट किलोमिटर र आव २०७९/०८० सम्म ४ हजार ३४८ सर्किट किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै आगामी ३ वर्षभित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र पाँच वर्षभित्र सबै घर परिवारलाई माग बमोजिमको विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ । १० वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत हालतको ११० किलोवाट घण्टाबाट १ हजार ५०० किलोवाट घण्टा पु¥याउने लक्ष्य राखिएको छ । पाँच वर्षभित्र उत्पादनका सबै क्षेत्र, सार्वजनिक यातायात सेवा र अन्य पूर्वाधारका क्षेत्रमा चौबिसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गर्ने लक्ष्य राखिएको छ । सरकारको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ४० लाख पाँच हजार घरधुरीमा विद्युतीकरण भइसकेको छ । बाँकी रहेका १५ लाख ९५ हजार घरधुरीमा पनि आव २०७९÷०८० सम्म विद्युतीकरण गर्ने, खान पकाउने एलपीजी ग्याँस विस्थापन गर्ने र विद्युतीय सवारी साधन सञ्चालन गर्ने लक्ष्यलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । रासस
नुवाकोटमा महिन्द्राको नयाँ शोरूम, बिक्री र मर्मत सम्बन्धी सेवा दिने
नुवाकोट । नुवाकोटको बट्टारमा महिन्द्राले नयाँ आधिकारीक बिक्री-कक्ष ‘कला मोटर्स’ संचालनमा ल्याएको छ । यस बिक्री-कक्षले महिन्द्राका ग्राहकहरूलाई बिक्री र मर्मत सम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टसहरू पनि उपलब्ध गराउनेछ । अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ्गले शुक्रबार बिक्री-कक्षको सामुहिक उदघाटन गरेका छन् । यस बिक्री-कक्ष स्थापनाको उद्देश्य नुवाकोट र आसपासका क्षेत्रका ग्राहकहरूको कम्पनीमा सिधा पहुँच र गुणस्तरीय सेवाहरू अझ सुलभ र कम खर्चिलो बनाइ ग्राहकहरूलाई अझ बढी फाइदा पुर्याउनु रहेकाे कम्पनीले जनाएकाे छ । नुवाकोट क्षेत्रमा महिन्द्राको बिक्री-कक्षको स्थापनाले ग्राहकहरू र कम्पनीबीचको विश्वासको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्नेछ ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउन भूमिका खेल्छुः सभापति खड्का
काठमाडौं । संसदको विकास समितिकी नवनिर्वाचित सभापति कल्याणी खड्काले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन् । सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सभापति खड्काले विकास निर्माणमा देखिएका अन्यौल हटाउने, गुणस्तर कायम गराउने तथा समयमै कार्य सम्पन्न गराउन समितिको भूमिकालाई प्रभावकारी बनाउने बताएकी हुन् । विकास निर्माणमा देखिएका अवरोध हटाउने, नीतिगत सुधारको काम गर्ने, विकासमा देखिएको अन्तर सरकारी समन्वय अभावलाई हटाउने लगायतका काममा समितिलाई केन्द्रित गराउने पनि बताइन् । समितिको बैठक असोज १० गतेका लागि डाकिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग पुननिर्माणको प्रगति तथा देखिएका समस्याहरुका बारेमा छलफल हुनेछ ।
आयल निगमले पेट्रोलियम पदार्थको कोटा तोक्यो, मोटरसाइकलले ५ लिटर मात्र पाउने
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा ५ लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ । निगमले डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ । एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारीसाधनलगायत अत्यावश्यक सवारीसाधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न एशोसिएशनलाई अनुरोध गरिएको निगमका प्रवक्ता इञ्जिनीयर वीरेन्द्र गोइतले जानकारी दिए । ट्याङ्कर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ । आज पनि काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ । इन्धनको अभाव हुँदा उपत्यकाका सडकमा तुलानात्मकरुपमा केही कम सवारीसाधन सञ्चालनमा छन् । रासस
गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुरु गरेका छन् । मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताएका छन् । साथै, उनले नगरपालिकाको वडा न. ५ र ६ को वृद्धभत्ता मेगाको शाखारहित बैंकिङ सेवाबाट हुने जानकारी दिएका छन् । वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताएका छन् । शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिने हुँदा खातावालाको रकम सुरक्षित रहने जानकारी दिएका छन् ।
सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच रेमिटान्स सेवा शुरु
काठमाडौं । सिटी एक्सप्रेस मनीे ट्रान्सफर र सिगे मनी ट्रान्सफरबीच रेमिटान्स सेवा शुरु गर्ने सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्नेछन् । सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधि मार्फत सहकार्य गर्दै जाने बताएका छन् ।