विकासन्युज

३ वर्षपछि नेपालमै नोट छापिने, सेक्युरिटी प्रेस राख्न सरकारले खुलायाे टेण्डर

काठमाडौं । सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ । केन्द्रले इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आब्हान गरेको छ । आउँदो कात्तिक ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकेको छ । प्रेस राख्नअघि आवश्यक इलेक्ट्रिक पावर र इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि काम शुरु गरिएको केन्द्रका खरिद अधिकृत मनिक महर्जनले बताए । सेक्युरिटी प्रेस राख्न अघिको पुर्वतयारी भएको उनले बताए । सेक्युरिटी प्रेस राख्न विशेष किसिमको विद्युत आपूर्ति प्रणाली आवश्यक पर्ने भएकाले पहिलो चरणमा यसको खरिद प्रक्रिया अघि बढाएको उनको भनाई । पुर्वाधार जडानपछि सेक्युरिटी प्रेसका लागि बोलपत्र आब्हान हुने महजर्नले जानकारी दिए । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भएको उनले सुनाए । सेक्युरिटी प्रेसले कागजी नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्ने छ । हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षण सम्बन्धित सम्पुर्ण छपाई विदेशमा हुने गरेको छ । सुरक्षण छपाइमा मात्रै वर्षेनी अर्बाैँ रुपैयाँ विदेशिने गरेको छ । यसलाई रोक्न र सुरक्षाका लागि भन्दै सरकारले स्वदेशमै नोट छपाइलगायत सबै काम गर्नका लागि उच्च प्रविधियुक्त प्रेस राख्न लागेको हो । सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुन परेको छ । सरकारले मुद्रण विभागबाट छपाइको तयारी गरेपनि पछि सुरक्षाको कारण देखाउँदै विदेशमा छपाइ हुँदै आएको छ । राष्ट्र बैंकले चीन, भारत, इण्डोनेशियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ । यस्तै, एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजीमा छापेको छ । दुई वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकवुक लगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।

भक्तपुरमा इन्द्रजात्रा शुरु

काठमाडौं। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ । देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेका बेला पक्राउ गरेको किंवदन्ती छ । जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ । धार्मिक पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायतका स्थानमा यम्वो द्यो ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ। रासस

आठ करोड रुपैयाँ लगानीमा दमौलीमा रिसोर्ट

काठमाडौं। तनहँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन्। स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० सम्म पु¥याइने उनले जानकारी दिए। दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा रु नौ करोडसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताए। “पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुले गुणस्तरीय खानासमेत रिसोर्टमा पाउनेछन्”, उनले भन्नुभयो, “तारे होटलमा पाइने खानाको गुणस्तर यहाँ पनि पाइन्छ ।” रिसोर्टमा स्वीमिङ पुलको व्यवस्था समेत छ । ‘गर्मीयाममा पौडी खेल्नका लागि पोखरा जानुपर्ने बाध्यता थियो”, व्यवसायी भटृराईले भने, “अब दमौली, डुम्रे र आँबुखैरेनीका सर्वसाधारणले नजिकै स्वीमिङ पुलको मज्जासमेत लिन पाउनेछन् ।” तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्यसमेत रहनुभएका उनले यस क्षेत्रमा सम्मेलन गर्ने भवनको अभाव देखेर रिसोर्टमै २०० जना क्षमताको सभाकक्ष र ३० जना क्षमताको बैठक कक्ष निर्माण गरेका छन्। रिसोर्टमा स्थानीय २० र काठमाडौँका दुई गरी २२ जनाले रोजगारी पाएका छन् । रिसोर्टमा बालबालिकालाई खेल्नका लागि बाल उद्यानसमेत बनाइएको छ । रिसोर्टका व्यवस्थापक अमर न्यौपानेले राजमार्गमा यात्रा गर्ने पर्यटक तनहुँ नबसी सिधैँ पोखरा या काठमाडौँ जाने गरेकाले उनीहरूलाई तनहुँमै आकर्षण गर्ने व्यवस्था रिसोर्टले गर्ने बताए। रासस

बुटवलमा चार सय युवालाई स्वरोजगार तालीम शुरु

काठमाडौं। बुटवल उपमहानगरपालिकले ‘मेयर युवा ईलम’ कार्यक्रम अन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ । तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारे तालीम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ युवा छनोट भएका छन् । उनीहरूले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् । अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा छनोट भएका छन् । आधारभूतसहित हेभी साधान बनाउने तालीमले उनीहरूलाई पनि दक्षता र रुचिका आधारमा उपल्लो तहको तालीम दिने गरी तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ । जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ तथा पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् । शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना कार्यक्रम मानिएको छ । तालिमको बिहीबार शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुने बताए। सोही अभियान स्वरूप पहिलो चरणको प्राविधिक तालीम शुरु गरिएको उनले बताए। बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ आफूहरूलाई तालीम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको सुवेदीको भनाइ छ। अभियानमा सहकार्य गर्ने दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर यस्तो अभियान शुरु गरिएको उनले बताए। यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले उपमहानगरसँग सहकार्य गरेका छन् । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइनेछ। यस्तो तालीम कम्तीमा तीन महिनाको हुनेछ। सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले महिला र पुरुष दुवैको हाराहारी सङ्ख्यामा सहभागीहरू छनौट हुनु अर्को महत्वपूर्ण पाटो रहेको भन्दै समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणको एउटा चरण नै यहीँ रहेको बताए। विभिन्न विषयमा समूह छुट्याएर तालीम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । हेवी मेसिन मर्मतदेखि फेसन डिजाइनसम्मका कामबारे विशेष तालीम दिइने अधिकृत दामोदर ज्ञवालीले बताए। रासस

युनियन लाईफ इन्स्योरेन्स दोस्रो वर्षमा, सञ्चालनमा आएको ९ महिनामा १० करोड ७७ लाख नाफा

काठमाडौं । सञ्चालनमा आएको ९ महिनामा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । युनियनले गत वर्ष असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सुरु गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले ८६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चालु आर्थिक वर्षको २ महिनामा २२ करोड रुपैयाँ थप बीमाशुल्क संकलन गरेको छ । हालसम्म ८२ हजार बीमालेख जारी गरेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोष ३७ करोड ३० लाख रुपैयाँ पुगेको छ । कारोबारलाई आधार मान्दा कम्पनीको वित्तिय अवस्था मजबुत रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले बताए । बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढी शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् । थप कार्यालयहरु क्रमिक रुपमा संचालनमा आउने क्रममा रहेको सीईओ कर्णले जानकारी दिए । २ अर्ब १५ करोड जारी पूंजी रहेको युनियनमा १० प्रकारका बीमा योजनाहरु रहेका उनले सुनाए । कर्णका अनुसार कम्पनीले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजीवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस्तै बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् । कम्पनीकोको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल छन् । मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

जानकी फाइनान्सको साधारणसभा असोज २९ मा, २२ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै वोनस सेयर कर प्रयोजनका लािग १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुने छ ।

फस्र्ट माइक्रोफाइनान्सको साधारणसभा असोज २७ मा, १२.६३ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा असोज २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले क वर्गका ३ जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

थापाथली भवन शिलान्यास गर्दै अर्थमन्त्रीप्रति गभर्नरको व्यंग्य

काठमाडौं । गभर्नर डा. चिरन्जीवि नेपालले नेपाल राष्ट्र बैंक छाडेर गएकाले असहयोग गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा प्रति व्यंग्य गरेका छन् । केन्द्रीय बैंकले निर्माण गर्न लागेको थापाथलीस्थित भवनको शुक्रबार बिहान शिलन्यास गर्दै गभर्नर नेपालले अर्थमन्त्री डा. खतिवडाबाट सहयोग नपाएको संकेत गरेका थिए । “पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल केन्द्रीय बैंकको पुर्वकर्मचारी हुनुहुदो रहेछ, उहाँले हामीलाई सहयोग गर्नुभयो” गभर्ननर नेपालले भने “तर राष्ट्र बैंक छाडेर गएक उच्च अधिकारीले भने असहयोग गरिरहेका छन् ।” भूकम्पबाट क्षतिग्रस्त भएपछि राष्ट्र बैंकले राजधानीको थापाथलीमा नयाँ भवन निर्माण सुरु गरेको छ । भवन बनाउन २ अर्ब ५५ करोड रुपैयाँ अनुमानित लागत रहेको छ । भवन आगामी ३० महिनामा सम्पन्न हुने छ । भवन बनाउन विल्ली कन्टेक जीभीसंग ठेक्का सम्झौता भएको छ । ठेकेदारसंग १ अर्ब ८७ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । भवनको २ तला भुमिगत रहने छ । यसमा नोटको भण्डारण, त्यसमाथि पार्किङ र कार्यालय बस्ने छ । विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको भवन पुरातत्व विभागको स्वीकृतिमा पुरानै शैलीमा निर्माण गरिने उल्लेख गरे । बैंकको गुरुयोजनाअनुसार मुख्य तीन ब्लक क्रमशः मुख्य बैंकिङ कार्यालय भवन, चमेनागृह, हेल्थ क्लब र सेक्युरिटी ब्लक निर्माण हुनेछ । राणाकालीन सिंह महलमा राष्ट्र बैंकले कार्यालय सञ्चालन गर्दै आएको थियो । भूकम्पले क्षति पु¥याएपछि पुरानै स्थानमा नयाँ भवन बनाउन लागिएको हो । उक्त भवन निर्माणका लागि २०७५ वैशाख १४ मा बोलपत्र आह्वान गरिएको ।पुरातत्व विभागको अनुमतिमा बैंंकको हाल भइरहेको पुरानो स्वरुपमा कुनै परिवर्तन नहुने गरी नयाँ भवन निर्माण गर्न लागिएको छ ।