विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंकको न्यूरोड शाखा स्तान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरेको छ । उक्त स्तान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका छन् । यो सहित बैंकको शाखा संख्या ७७ पुगेको छ । सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने अभियानलाई निरन्तरता दिइरहेको हो ।

कञ्चन डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने, पुँजी २ करोड ६५ लाख नाघ्ने

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभाश दिने प्रस्ताव राखेको हो । हाल बैंकको चुक्ता पुँजी २ करोड ५३ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ करोड ६५ लाख रुपैयाँ नाघ्ने छ । बैंकले रुपैयाँको आधारमा ३ करोड १८ लाख १४ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चाल समितिको बैठकले गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

महालक्ष्मी विकास बैंकको असोज १४ गतेदेखि १३ दिन बुक क्लोज

काठमाडौं । महालक्ष्मी विकास बैंकको आगामी असोज १४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि असोज २६ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा यही असोज २६ गते मिनभवनको अल ईन वन मार्टमा बस्दै छ ।

जर्मनीले दियो ७ अर्ब ५० करोड अनुदान सहायता

काठमाडौ । जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न ७ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार जर्मनीले ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन बनाउन थप १ करोड ५० लाख युरो पनि अनुदानस्वरुप प्रदान गर्ने भएको छ । नेपाललाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारका तर्फबाट त्यहाँको केएफडब्लु विकास बैंकका दक्षिण एशिया क्षेत्रीय व्यवस्थापक यासमिन तोवाफिकले गरे । जर्मनी सरकारले नेपाललाई नवीकरणीय ऊर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, दिगो आर्थिक विकास तथा भूकम्पपछिको पुनःनिर्माणमा निरन्तर सहयोग गर्दै आएको छ । रासस

मञ्जुश्री फाइनान्सले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजीको सो मात्रा अर्थात ७ करोड २३ लाख ६५ हजार ४०० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको होे । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको हाल ८० करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १२७ रुपैयाँ रहेको छ ।

विदेश घुम्न जानेलाई अब नबिल बैंकबाटै स्वास्थ्य बीमा, प्रभु इन्सुरेन्ससँग सम्झौता

काठमाडौं । नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि-पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी पाल्नुहुने सम्पूर्ण आकाक्षी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ । बैदेशिक भ्रमणमा जाने ग्राहकहरुको सुविधालाई मध्य नजर गर्दै  नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको छ । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिने ग्राहकहरुले बैंकका काउन्टरहरुबाट वैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् । बिदेश यात्रा गर्ने यात्रीहरुलाई स्वास्थ्य बीमा निकै नै उपयोगी हुनेछ किनकी यसले अचानक र अनपेछित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्दछ । “मलाई विश्वाश छ कि ट्राभल बीमा सेवाको हाम्रा बैंकका सेवाहरु संग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सक्षम हुनेछौ । साथै यसले बिदेश यात्रा गर्ने ब्यक्तीहरुलाई सुरक्षित र सुबिधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ । बैंकिङ सेवाका साथ बिदेश यात्राको लागि ग्राहकहरुका सुबिधामा कटिबद्ध हुदै आएका हामी, अब बीमा सेवाको साथमा हाम्रा ग्राहकको सुरक्षामा पनि कटिबद्ध हुनेछौ ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

पुवाखोला दोस्रो आयोजनामा नेपाल बंगलादेश बैंकको ६० करोड लगानी

काठमाडौं । ५ मेगावाटको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङाना र पिपल्सका अध्यक्ष वीरेन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् । कम्पनीले इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र वार्ड नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा निर्माण गरिरहेको छ । ९० करोड रुपैयाँ लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भई विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।

विद्युत प्राधिकरणका ट्रेड युनियनका नेतामाथि अंकुश, २ पटक हाजिर गर्नुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका नेतामाथि अंकुश लागेको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरेको छ । प्राधिकरणको भदौ २५ गते बसेको स्टाफ मिटिङले मिटर रिडिङमा संलग्न कर्मचारी बाहेकले कार्यालय खुलेको दिन कार्यालय समयअनुसार अनिवार्य रुपमा आएको र गएको समय जनिने गरी विद्युतीय हाजिर गर्नु पर्ने व्यवस्था लागू गरेको हो । यो व्यवस्था ७ असोज आइतबारबाट लागू हुने प्राधिकरणले जनाएको छ । प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा प्राधिकरणले व्यवस्था गरे बमोजिम कर्मचारीले नियमित रुपले आफ्नो कार्यालयमा आएको र गएको समय जनाई हाजिर गर्नु पर्ने व्यवस्था छ । यस्तो व्यवस्था कार्यान्वयन नभएको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा बसेको स्टाफ मिटिङले विनियमावलीलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको हो । लोडसेडिङ अन्त्यपछि घिसिङले संस्थाभित्रको विकृती सुधारतर्फ कदम चालेका हुन् । प्राधिकरणको यो निर्णयबाट सबैभन्दा बढी ट्रेड युनियनका नेता प्रभावित हुने भएका छन् । प्राधिकरणमा नेपाली कांग्रेसको कर्मचारी संघ आधिकारिक ट्रेड युनियन छ । तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रका क्रमश: कर्मचारी युनियन तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) र राप्रपाको कर्मचारी कल्याण परिषद् क्रियाशील छन् । ती ट्रेड युनियनका नेताहरुमाथि संस्था सुधारतर्फभन्दा पनि कर्मचारी सरुवामा व्यवस्थापनलाई दवाव दिनमै केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ । कार्यालय आएको र गएको समय जनिने गरी हाजिर गर्नु पर्ने व्यवस्था लागू भएपछि कार्यकारी निर्देशक घिसिङले पनि दिनमा दुई पल्ट हाजिर गर्नु पर्ने भएको छ । यसैगरी, उपकार्यकारी निर्देशकले पनि दुई पल्ट नै हाजिर गर्नु पर्ने भएको छ । यस अघि उनीहरुले दिनमा एक पल्ट मात्रै हाजिर गरे हुने व्यवस्था थियो । मिटर रिडिङमा खटिने कर्मचारीले भने सम्बन्धित कार्यालय प्रमुखलेनै आवश्यक व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ ।