विकासन्युज

बागलुङको बोक्से–सिगाना सडकमा पहिरो रोक्न ‘बायो इञ्जिनियरिङ’ प्रविधिको प्रयोग

गलकोट । बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किलोमिटर सडकको दिगोपनाका लागि निर्माण व्यवसायीले पहिरो रोकथामका लागि बायो इञ्जिनियरिङ प्रविधि अपनाएका हुन् । हालै कालोपत्र सम्पन्न एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गतको बोक्से–सिगाना सडक निर्माणका क्रममा खसेको पहिरो रोकथाम गर्दै सडक संरक्षण गर्न निर्माण व्यवसायी कर्ण विल्डर्सले एक दर्जन पहिरोमा नेपियर जातको घाँस रोपेको छ । कालोपत्र सडकलाई टिकाउन जोखिमयुक्त स्थानको पहिचान गरी बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको कर्ण विल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठले जानकारी दिए । यसको प्रयोगले सडकको संरक्षणसँगै प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकूलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि सहयोग पुर्याउने श्रेष्ठको भनाइ छ । उनले बायो इञ्जिनियरिङमार्फत ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य सहयोगसँगै स्थानीय किसानलाई घाँसमा समेत सहयोग पुर्याउने गरी १० किमी सडकको पहिरो खसेको क्षेत्रमा नेपियर जातको एक हजार ५०० भन्दा बढी घाँसको विरुवा रोपिएको बताए । ‘सडक चौडा बनाएर कालोपत्र गर्द एक दर्जन स्थानमा पहिरो खसेको थियो, उक्त पहिरोको दिगो समाधानका लागि पूर्वाधारको काम त कालोपत्रअघि नै गरिन्छ, त्यससँगै अहिले बर्खामा पहिरोमा बायो इञ्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ', उनले भने,’पहिरो खसेको र सम्भावित पहिरोको जोखिम स्थानको पहिचान गरेर नेपियर जातका बहुवर्षीय घाँस लगाइएको छ जसले पहिरो रोकथामसँगै किसानको पशुपालनलाई सघाउँछ ।’ नेपियर उखुजस्तो देखिने बहुवर्षीय घाँस हो । यसको उचाइ दुई–तीन मिटर अग्लो र धेरै झाङ हाल्न सक्ने भएकाले बायो इञ्जिनियरिङ प्रविधिमा प्रयोग गरिँदै आइएको छ । बायो इञ्जिनियरिङअन्तर्गत काँस, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवनजस्ता बिरुवा रोप्ने गरेमा यसले एकातर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्कातर्फ पानीको मुहान सुक्नबाट जोगाउने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए । पहाडी क्षेत्रमा विकास निर्माण गर्दा हरित व्यवस्थापनमा समेत ध्यान दिन थालिएको उनको भनाइ छ । ठूलाठूला पहिरो समेत बायो इञ्जिनियरिङमार्फत रोकथाम भएको उनको भनाइ छ । नेपालको पहाडी भेगमा विकाससँगै भूक्षयको दर घटाउन बायो इञ्जिनियरिङ प्रविधि उपयुक्त रहेको मिश्रको भनाइ छ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको १० किमी कालोपत्र सकेर निर्माण व्यवसायीले बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो रोकथाम, मासिएको सिँचाइ कुलो गोरेटोबाटो निर्माण गरिरहेको छ । उक्त सडक रु २९ करोड ३७ लाख ८८ हजारमा दुई वर्षअघि सडक डिभिजन कार्यालयले कर्ण विल्डर्ससँग ठेक्का सम्झौता गरी कालोपत्र गरेको हो । रासस

अभिभावकविहीन विद्यार्थीका लागि भोजपुरमा ९० हजारको छात्रवृत्ति

टक्सार । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो । नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरे । कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिए। नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए । हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट रु ३० हजार, डा.सुन्दर मोहन प्रतिष्ठानबाट रु २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त रु २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त रु २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए। अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताए। अभिभावकविहीन, विपन्न बालबालिकालाई राज्यले नै आवासीय विद्यालयसहित अध्ययनको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो नहुँदा बालबालिकालाई दाता खोजेर सहयोग गर्नुपर्ने अवस्था आएको विद्योदय माविका प्रधानाध्यापक खोमराज धमलाले बताए। आमाबाबुको माया नपाएका बालबालिकालाई विशेष ध्यान दिनु जरुरी रहेको उनले बताए।

एनएमबि सरल बचत फण्ड-इ को लाभांश घट्यो, भदौ ८ गतेदेखि बैंक खातामा जम्मा

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को लाभांश घटेको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुका लागि ४.१८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यसअघि एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुलाई ४.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सरल बचत फण्ड-इ को असारसम्म कायम इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख २१ हजार रुपैयाँको ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  साथै, कम्पनीले उक्त फण्डका लागि लाभांश वितरण प्रयोजनार्थ साउन १५ गते इकाईधनी पुस्तीका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । साउन १५ गतेसम्ममा योजनाको इकाई पुँजी ३ अर्ब ४३ करोड ३ लाख २४ हजार रुपैयाँ रहेको हुँदा घोषित लाभांश रकम इकाई पुँजीको ४.१८ प्रतिशत रहने कम्पनीले जनाएको छ ।  साथै एनएमबि सरल बचत फण्ड-इ को डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी जनाउने इकाईधनीहरुको प्रतिफल रकममा प्रचलित कानून बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरे पश्चात् साउन १५ गते समायोजित खुद सम्पत्ति मूल्य ११.२२ प्रति इकाईको आधारमा इकाई खरिद गरिने कम्पनीले जनाएको छ ।  हाल उक्त योजनाको आकार वृद्धिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरिएको र उक्त आवेदन बमोजिम इकाई वृद्धिको स्वीकृती प्राप्त भए पश्चात् इकाईधनीहरुलाई डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लान अन्तर्गत इकाई खरिद गरिने कम्पनीले जनाएको छ । इकाई खरिद गर्दा बाँकी रहने रकम र डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकममा कानून बमोजिम लागू हुने कर कट्टी पश्चात् खुद रकम सम्बन्धित इकाईधनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा भदौ ८ गतेदेखि जम्मा गरिने कम्पनीले जनाएको छ । 

साढे १४ हजारले पाए सागर डिष्टिलरीको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर भदौ ६ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो । उक्त सेयर खरिदका लागि आवेदन दिएका १४ हजार ५२० जनालाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओको नजिता बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको आईपीओ रिजल्ट र मेरो सेयर मार्फत हेर्न सकिने जनाएको छ । 

पिपुल्स पावरको बिक्री नभएको ४ लाख कित्ता हकप्रद सेयर लिलामीमा राख्यो

काठमाडौं । पिपुल्स पावरले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म ४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।  सो अवधिमा बिक्री नभएको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । 

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा, कोषाध्यक्षमा समान मत

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुल बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ३४२ मत र गुरुङले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।  यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।  त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

बुङ्गल हाइड्रोले भदौ १६ गतेदेखि आईपीओ बिक्री गर्ने, २० हजार कित्ता आवेदन दिन पाइने

काठमाडौं । बझाङको बुङ्गल हाइड्रोले भदौ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने भदौ ३० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

२ वर्षमा सम्पन्न गर्ने भनिएको सडक पुल ५ वर्षसम्म बनेन, ठेकेदार सम्पर्क विहीन

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँ पालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ८ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्नि प्रसाद सापकोटाले जुगल गाउँपालिका-१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।  जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उनका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्क विहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।  निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउँछन् ।  ‘हामी पुलको काम तत्कालै गर्न चाहन्थ्यौं तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो,’ उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ । पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताउँछन् ।  जुगल गाउँपालिका-५ का वडाध्यक्ष रवीन्द्र घिमिरेले पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताए । नदी वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको उनको भनाइ छ ।