स्पेनको अर्थतन्त्र लगातार वृद्धि : पर्यटन, लगानी र आप्रवासनले बनायो आर्थिक शक्ति
काठमाडौं । उदीयमान अर्थतन्त्र पर्यटन, विदेशी लगानी र आप्रवासनको कारण स्पेन युरोपेली छिमेकीहरूलाई पछि पार्दै गइरहेको छ । दक्षिण युरोपेली देश यस वर्ष २.५ प्रतिशत जीडीपी वृद्धिको अनुमानसहित युरोजोनमा अग्रणी रहिरहेको छ । यसै अवधिमा फ्रान्सको अर्थतन्त्र ०.६ प्रतिशत, जर्मनीको ० प्रतिशत र इटलीको ०.७ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । स्पेनको जीडीपी दोस्रो त्रैमासिकमा ०.७ प्रतिशतले बढ्यो, जुन रोयटर्सको ०.६ प्रतिशतको अनुमानभन्दा माथि थियो । यो वृद्धिदर अघिल्लो तीन महिनाको ०.६ प्रतिशतभन्दा पनि उच्च भएको स्पेनको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) ले जनाएको छ । ‘लगातार दोस्रो वर्ष हामी जीडीपी वृद्धिदरका हिसाबले विश्वकै अग्रणी विकसित अर्थतन्त्र हुनेछौं,’ स्पेनका अर्थमन्त्री कार्लोस कूएर्पोले अप्रिलमा सीएनबीसीलाई भनेका थिए । ‘स्पेन अहिले वृद्धिका हिसाबले एकदमै विशेष छ । लगानीका लागि पनि यो उत्तम स्थान हो,’ उनले थपे । स्पेनको अर्थतन्त्रको सफलतामा उच्च खपत र लगानीसँगै पर्यटन, ‘नेक्स्ट जेनेरेसन युरोपियन फन्ड्स’ र आप्रवासन प्रमुख आधार बनेका छन् । कूएर्पोका अनुसार, ‘यो केवल पर्यटन मात्र होइन, गैरपर्यटन सेवा क्षेत्र पनि हो । आईटी, लेखा परीक्षण, वित्तीय सेवाजस्ता क्षेत्रमा सेवाको निर्यात पर्यटनभन्दा बढी छ - पर्यटनमा ९४.९५ अर्ब युरोको तुलनामा सेवामा १०० अर्ब युरो । यो स्पेनिश अर्थतन्त्रको आधुनिकीकरणको एउटा संकेत हो ।’ तर यति प्रगति हुँदाहुँदै पनि स्पेनलाई जीवनयापन खर्चसँग मेल खाने तलब, जलवायु परिवर्तन, विभाजित राजनीतिक वातावरण र ईयूभित्रकै सबैभन्दा उच्च युवा बेरोजगारी जस्ता चुनौतीहरू छन् । बीबीभीए रिसर्चका प्रमुख अर्थशास्त्री मिगेल कार्डोसोका अनुसार अर्को चुनौती भनेको विशेषगरी सामानको निर्यात हो जुन गत १५ वर्षमा उल्लेखनीय रूपमा बढेको छ । त्यसबाहेक उच्च बचत दर, न्यून लगानी दर, सरकारी घाटा र सार्वजनिक ऋण घटाउने चुनौतीहरू पनि छन् । आप्रवासन र पर्यटनको उछाल पर्यटन अझै पनि स्पेनको जीडीपीको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । महामारीपछिको पुनरुत्थान र अरू पश्चिम युरोपेली मुलुकहरूको तुलनामा सस्तो मूल्यका कारण यो क्षेत्रमा उन्नति भएको हो । तर यसले स्थानीय समुदायहरूलाई असन्तुष्ट बनाएको छ । बार्सिलोना लगायतका सहरमा गत वर्ष जूनमा प्रदर्शनकारीहरूले यात्रुहरूलाई पानीको पिस्तोलले छेप्दै ‘पर्यटक घर फर्क’ भन्दै नारा लगाएका थिए । यस क्षेत्रको श्रमशक्ति पनि बढिरहेको छ– २०२४ सम्म करिब ३० लाख रहेका छन् । जुन २०२३ को भन्दा ९.७ प्रतिशतले बढी हो । रोजगार सिर्जनामा आप्रवासनले पनि ठूलो योगदान दिएको छ । अन्य युरोपेली मुलुकहरूले सीमा बन्द गरिरहँदा स्पेनले आगामी तीन वर्षमा करिब दस लाख आप्रवासीलाई स्वागत गर्ने योजना बनाएको छ, जसमा वर्कभिसा र कागजातविहीन श्रमिकलाई बसोबास अनुमति दिने व्यवस्था छ । ‘२०२१ देखि श्रमशक्तिमा आएको ९० प्रतिशत वृद्धिको कारण आप्रवासन हो,’ कार्डोसोले भने । यसले सेवा क्षेत्र विस्तार गर्न मद्दत गरेको छ, श्रम लागतलाई नियन्त्रणमा राख्दै प्रतिस्पर्धी बनाउन सहयोग गरेको छ र उच्च मुद्रास्फीति बीच सेवाको मूल्यलाई पनि केही हदसम्म स्थिर राख्न सक्षम बनाएको छ । गत वर्ष स्पेनमा आएका आप्रवासीमध्ये धेरैजसो कोलम्बिया, भेनेजुएला र मोरक्कोबाट आएका थिए । ईयूको सहायता र लगानी स्पेनलाई ईयूको ‘नेक्स्ट जेनेरेसन ईयू फन्ड्स’ बाट अनुदान र ऋणमार्फत १६३ अर्ब युरो उपलब्ध भएको छ । यो रकमका हिसाबले स्पेन इटलीपछि दोस्रो ठूलो लाभार्थी बनेको हो । कूएर्पोका अनुसार अनुदानको ७० प्रतिशत अर्थात् ५५ अर्ब युरो पहिले नै वितरण भइसकेको छ । सरकारले यी रकमलाई नवीकरणीय ऊर्जा र गैर–पर्यटन सेवाको निर्यातमा लगानी गर्ने लक्ष्य राखेको छ । सस्तो ऊर्जा र विदेशी लगानी २००० को दशकदेखि हरित ऊर्जामा लगानी गर्दा स्पेनले युरोपेली ऊर्जा संकटको कम असर भोगेको छ । ‘पछिल्लो पाँच–छ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा बढ्दा थोक बिजुली मूल्य ४० प्रतिशतले घटेको छ,’ कूएर्पोले भने । सस्तो उत्पादन खर्चले विदेशी लगानीकर्तालाई आकर्षित गरेको छ । चीनमा स्थापना भएको सौर्य प्रविधि कम्पनी आर्कटेकले २०२४ मा मड्रिडमा आफ्नो युरोप मुख्यालय स्थापना गरेको छ । यस्तै, अटो कम्पनी स्टेलान्टिसले २०२४ मा ४.३ अर्ब डलरको ब्याट्री कारखाना जारागोजामा बनाउन घोषणा गर्यो। स्पेन युरोपेली संघभित्र लगानीकर्ताको लागि चौथो आकर्षक गन्तव्य बनेको छ । चीनले मात्र २०२५ सम्ममा ११ अर्ब युरो लगानी गर्ने र ३३ नयाँ परियोजना अघि बढाउने घोषणा गरिसकेको छ । ‘सबैभन्दा ठूलो लगानीकर्ता त अमेरिकै हो,’ कूएर्पोले भने, ‘तर हामीले चीनसहित अन्य देशबाट पनि नवीकरणीय ऊर्जा, दिगो यातायात र आर्थिक सुरक्षासँग सम्बन्धित क्षेत्रमा लगानी आकर्षित गरेका छौं ।’
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव पानी परीक्षण स्थलमा
वीरगञ्ज । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रूपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । उनले भने, 'आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा मसहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।' वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजा रोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादवसहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक टोली हैजा प्रभावित क्षेत्रमा खटिएको छ । हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली तत्कालै खटाइएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, 'हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यानसहितको मोबाइल टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।' वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिबार मृत्यु भएको जनाइएको छ ।
चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता
काठमाडौं । चीनको प्रख्यात कमर्शियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो । कमर्शियल सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन् । चीनमा करिब दुई दशकदेखि कमर्शियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी ९चाइना० लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ । अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो । अक्वेलले कमर्शियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ । ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ । अक्वेल ब्रान्डका विद्युतीय कमर्शियल सवारी ७० भन्दा बढी देशहरूमा बिक्री हुँदै आइरहेको छ । अब अक्वेलका विद्युतीय कमर्शियल सवारी ईभी गो प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएका छन् । सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बरालले जानकारी दिए । यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ । अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रीय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ । अक्वेलको आफ्नै आर एन्ड डी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ । अक्वेल ब्रान्डको मुख्य विशेषताका रूपमा सवारी उत्पादनसँगै स्पेयर पार्ट्समा स्पेसियालिटी रहेको छ । चीनका अन्य विद्युतीय कमर्शियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्ट्स कम मूल्यमा उत्पादन तथा उपलब्ध गराउँदै आएको छ । अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छ । सुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख शहरहरूमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ । त्यस्तै कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्ट्सको पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ ।
अमेरिकी करले इटालीको बारोलो वाइन उद्योग संकटमा
काठमाडौं । उत्तरी इटालीको बारोलो वाइन क्षेत्रमा नेब्बिओलो अंगुर पाक्ने समय नजिकिँदै गर्दा, संयुक्त राज्य अमेरिकाले इटालियन वाइनमाथि लगाएको १५ प्रतिशत नयाँ करले वाइन निर्माताहरूलाई संकटमा पारेको छ । यो क्षेत्रको सबैभन्दा ठूलो निर्यात बजार अमेरिकामा गत वर्ष २ अर्ब युरो (लगभग २.३ अर्ब डलर) को वाइन बिक्री भएको थियो, तर नयाँ करले व्यापारमा अनिश्चितता ल्याएको छ । ला मोर्रास्थित डोसियो भिग्नेटी वाइनरीमा हजारौं बोतल वाइन, अमेरिकी ग्राहकहरूले महिनौंअघि अर्डर गरेका, डेलिभरी हुन नसकेर भण्डारणमा थुप्रिएका छन् । वाइनरीका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक फ्रान्सेस्को डाभिकोले भने, 'राष्ट्रपति ट्रम्पको बारम्बार बदलिने नीतिले अमेरिकी ग्राहकहरू अर्डर लिन र भुक्तानी गर्न हिचकिचाइरहेका छन् । बजार अझै अप्रत्याशित छ ।' सेरालुंगा डी’आल्बाका गुइडो पोरो वाइनरीका प्रमुख फाबियो पोरोले मूल्य वृद्धि गर्न नचाहे पनि करको बोझले ग्राहकहरूले कम वाइन किन्ने जोखिम रहेको बताए । 'हामी वाइन बनाउने भएकाले बढी प्रभावित छौं,' उनले भने । बारोलो क्षेत्रका पर्यटन व्यवसायी सर्जियो बेनेडेटोले अमेरिकी बजारमा निर्भर हुनु जोखिमपूर्ण भएको भन्दै वैकल्पिक बजार खोज्नुपर्ने सुझाव दिए । इटालियन वाइन उद्योग संगठन फेडेरभिनीका अनुसार, अमेरिका इटालियन वाइनको सबैभन्दा ठूलो बजार हो, र यो करले समग्र निर्यातमा ठूलो असर पार्न सक्छ ।
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ । गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख रुपैयाँ घाटा व्यहारेको छ । यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको आयात र पाँच करोड ४८ लाख रुपैयाँको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोर्दै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्ड सँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ । अजेन्टिना सँग ९ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बराबरको आयात र २४ लाख रुपैयाँको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्ट्रेलिया सँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेश सँग ५३ करोड ५८ लाख रुपैयाँ बराबरको आयात र सात करोड ५१ लाख रुपैयाँको निर्यात गर्दा ४६ करोड ७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ । बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ। यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।
अधिक तरलता कायमै, राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलनउपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दरबोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँतथा ब्याज २०८२ भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम् १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
ललितपुरले जडान गर्यो उपत्यकामा नै पहिलो पटक अर्ली वार्निङ प्रणाली
ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपत्तिको पूर्वजानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । उनले भने, ‘यी दुईवटा नदी वरिपरिका अन्य वडाहरुलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ ।’ नदीमा पानीको बहाव बढेपछि घण्टी बज्छ, यो घण्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए । महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झन्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ प्रणाली जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुखले बताए । ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरूको व्यवस्थापन गरेको छ । पुल्चोक दमकलस्थित नगर प्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, डुङ्गाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरू पनि त्यहाँ राखिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकैपटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै एम्बुलेन्स पनि सँगै जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौँ ।’ महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सक्त अभाव भएपछि केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ । नगर प्रमुख महर्जनले भने, ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ ।’ महानगरले विभिन्न कारणले हुने विपद्‌बाट जोगिन वडास्तरसम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले वडैपिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयंसेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।
त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप
उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सय सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ । साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौ सुरु हुनासाथ वृद्धि भएर चार सय ५० देखि दैनिक पाँच सयको सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताए । भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्य चौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन् । वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए । त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताए ।