काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने
काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर १८ गतेदेखि अर्को निर्णय नभएसम्म ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको हो । १८ गतेदेखि ९ बजे पछाडि रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने सीडीओ कार्यालयले जनाएको छ । अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा कृषि कर्जा सुरक्षण सम्बन्धी कार्यशाला सम्पन्न
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त आयोजनामा बिहीबार ललितपुरस्थित होटल स्क्वायरमा ‘एकल कृषि कर्जा सुरक्षण योजना’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र आम जनताको कर्जामा पहुँच पुर्याउने उद्देश्यका साथ कोष र यूएनडीपीले नौवटा स्थानीय तहहरूसँगको साझेदारीमा एक नमुना परियोजना अघि बढाएका छन् । यसै परियोजना अन्तर्गत तयार पारिएको ‘एकल (ऋणीगत) कर्जा सुरक्षण’ स्किमको मस्यौदामाथि वाणिज्य बैंकहरूको राय र सुझाव संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागी बैंकका प्रतिनिधिहरूले प्रस्तावित स्किमको मस्यौदामाथि व्यावहारिक र प्राविधिक सुझावहरू प्रस्तुत गरेका थिए । यो योजना कार्यान्वयनका लागि छुट्टै कोष खडा गरिने र छानिएका नौ स्थानीय तहहरूमा तोकिएका कृषि क्षेत्रमा लगानी गरिने लक्ष्य राखिएको जनाइएको छ । कार्यक्रमको समापनमा कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले बैंकहरूबाट प्राप्त सुझावहरूलाई थप छलफल गरी ग्रहणयोग्य सुझावहरूलाई समावेश गर्दै स्किमलाई अन्तिम रूप दिइने प्रतिबद्धता व्यक्त गरे । कोषले यस सहकार्य मार्फत कृषि क्षेत्रमा वित्तीय जोखिम न्यूनीकरण गरी बैंकिङ क्षेत्रलाई कृषि कर्जामा थप उत्साहित बनाउने विश्वास लिएको छ ।
निष्पक्ष निर्वाचनको वातावरण नबनेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष र विश्वासिलो निर्वाचनको वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् । झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको बासँग विद्यार्थी कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार भएको टिप्पणी गरेका हुन्। सार्वभौम संसदलाई बलपूर्वक विघटन गरिएको घटनाले मुलुकलाई अस्थिरता र संकटतर्फ धकेलेको उनको भनाइ रहेको छ । अध्यक्ष ओलीले देश वर्तमानमा राजनीतिक अन्योलबाट गुज्रिइरहेको उल्लेख गर्दै त्यसबाट निकास दिन आफ्नो पार्टी चुनावी मैदानमा होमिएको बताए । ‘एमाले चुनावबाट भाग्ने पार्टी होइन, जनताको मतबाटै समाधान खोज्ने पार्टी हो,’ उनले भने । आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै उनले त्यसपछि देशमा देखिएका आर्थिक, राजनीतिक र प्रशासनिक समस्याको समाधान निकालिने विश्वास व्यक्त गरे । उनले युवापुस्तालाई लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन सक्रिय भूमिका खेल्नसमेत आह्वान गरे ।
पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा
काठमाडौं । एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको हो । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षतिपुगेपछि बन्द रहेको थियो । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो। कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनःसञ्चालनमा ल्याएको हो। यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् । यसैगरी, ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ।
झापामा ओलीको नयाँ चुनावी कार्यक्रम ‘बासँग विद्यार्थी’ सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) झापाको दमकमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । ‘बासँग विद्यार्थी’ नाम दिइएको कार्यक्रम दमकस्थित होटल कोरोनेशनमा सुरु भएको नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले जानकारी दिए । कार्यक्रममा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब तीन सय बढी विद्यार्थीको सहभागिता रहको उनले बताए । झापा निर्वाचन क्षेत्र नम्बर–५ का एमाले निर्वाचन प्रचार उपसमिति संयोजक समेत रहेका भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले उठाउने समस्या, जिज्ञासा र सुझावमाथि अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । निर्वाचन लक्षित भेटघाट अन्तर्गत आजको पहिलो कार्यक्रम नै विद्यार्थीहरूसँगको संवाद हो । विद्यार्थीसँगको छलफल सकिएलगत्तै अध्यक्ष ओली गौरादह नगरपालिका क्षेत्रमा मतदातासँग घरदैलो तथा समूहगत भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ । निर्धारित तालिका अनुसार उनले दिउँसो साढे १ बजे गौरादह–४ को खाङ्टामा स्थानीयसँग भेटघाट गर्नेछन् । त्यसपछि सोही वडाको मियाँ टोलमा पुगेर नागरिकसँग छलफल गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए । मियाँ टोलको भेटघाटपछि ओलीले दिउँसो ३ बजे दुर्गाचोक–मजुवामा र साढे ३ बजे फकिरढिपमा मतदातासँग अन्तरक्रिया गर्ने तय भएको छ । समूहगत भेटघाटका क्रममा स्थानीय बासिन्दाका समस्या, गुनासा र विकाससम्बन्धी चासो सुन्ने तथा समाधानका विषयमा धारणा राख्ने कार्यक्रम रहेको एमाले नेताहरूले बताएका छन् । अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रमा टोल–टोल पुगेर प्रत्यक्ष संवादमार्फत जनताका आवाज सुन्ने अभियानलाई तीव्र बनाइरहेका छन् ।
किङ्स कलेजको ‘ओथारो’ पाँचौं कोहोर्ट सुरु : १२ स्टार्टअपले पाए आफ्नो सपनालाई उचाइ दिने अवसर
काठमाडौं । किङ्स कलेजअन्तर्गत सञ्चालन हुँदै आएको ‘ओथारो इन्क्युबेशन कार्यक्रम’ को पाँचौं कोहोर्ट शुक्रबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ । यस कार्यक्रमअन्तर्गत छनोट भएका १२ वटा स्टार्टअपहरू आगामी छ महिनासम्म आफ्ना प्रारम्भिक प्रोटोटाइप र परियोजनालाई व्यावसायिक स्तरमा पुर्याउन सघन तयारीमा जुटेका छन् । नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्यका साथ यो नयाँ चरण सुरु गरिएको कलेजले जनाएको छ । यस पटकको इन्क्युबेशन कार्यक्रममा मिस्टर वाफल्स, टुमलेट गेम्स, एथर सोसल ल्याब, स्टुडियो ब्रिटान्ता र नलेजएप लगायतका स्टार्टअपहरू सहभागी छन् । त्यस्तै, इ–सहारा, परामेन्डो नेपाल, लेक्साना, द नेपाल न्यूजलेटर, यार्सा एग्रो रिसर्च, सानो इन्जिनियर र सम्पर्क डिजिटल लयल्टी जस्ता नवप्रवर्तनकारी परियोजनाहरूलाई पनि यो समूहमा समेटिएको छ । यी स्टार्टअपहरूले आगामी छ महिनासम्म निरन्तर सिकाइ कार्यशाला, कोचिङ सेसन र आवश्यकतामा आधारित व्यावसायिक मार्गदर्शन प्राप्त गर्नेछन् । छनोट भएका टोलीहरूलाई सुदृढ व्यवसायिक मोडल विकास गर्न र भविष्यमा तीव्र वृद्धिका लागि आवश्यक योजना निर्माणमा कलेजले विशेष सहयोग पुर्याउनेछ । इन्क्युबेशन अवधिभर उनीहरूले क्षेत्रविशेषका वित्तीय पहुँच र नेटवर्किङ अवसरहरूमा समेत सहभागिता जनाउन पाउनेछन् । प्रारम्भिक चरणका स्टार्टअपहरूलाई दिगो विकासका लागि आवश्यक सीप, सोच र उपकरण उपलब्ध गराउनु नै ओथारोको मुख्य उद्देश्य रहेको कलेजको भनाइ छ । सन् २०१३ मा स्थापना भएदेखि ओथारो इन्क्युबेशन कार्यक्रमले हालसम्म ५० भन्दा बढी उद्यमलाई व्यावसायिक सफलताका लागि सहयोग पुर्याइसकेको छ । प्रोटोटाइप विकास गरिसकेका वा बिक्री प्रक्रिया सुरु गरिसकेका स्टार्टअपहरूका लागि यो कार्यक्रम एउटा रणनीतिक प्लेटफर्म साबित हुँदै आएको छ । यस पटक सहभागी भएका टोलीहरूले छ महिनाको अवधिमा आधारभूत रणनीति, सञ्चालन संरचना र दीर्घकालीन दृष्टिकोणलाई सुदृढ गर्दै नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत अवसर खोज्न सक्ने क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।
उम्मेदवारको अनुहार अंकित टिसर्टमा होली खेल्न नपाइने, घरको कम्पाउन्डभित्रै रमाउन निर्देशन
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उम्मेदवारको चुनावचिन्ह अंकित र अनुहार देखिने टिर्सट लगाउन नपाइने जनाएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने बेहोरा उल्लेख छ । निर्वाचन चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेस्ट, टि–सर्ट, कमिज, गम्छा, लगायतका कपडाहरू प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले बताए । निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर धार्मिक तथा सांस्कृतिक रूपमा आ-आफ्नो घर कम्पाउण्ड भित्र अरू कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन साथीसंगीहरूसँग होली पर्व मनाउन उनले आग्रह गरेका छन् । उनका अनुसार सार्वजनिक स्थानमा भेला भएर तथा मञ्च बनाई सांगितिक कार्यक्रमहरू गर्न पाइने छैन । त्यस्तै, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि गर्न पाइँदैन । आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरेर होली पर्व मनाउन पनि रिजालले अनुरोध गरेका छन् । अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुनबमोजिम कारबाही गरिने उनले जानकारी दिए ।
निर्वाचन अनुगमनका लागि सातै प्रदेशमा एआईजी खटाइयो, १२ हजार बढी अतिरिक्त प्रहरी परिचालन
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन सुरक्षालाई चुस्त र प्रभावकारी बनाउन सातै प्रदेशमा सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश कमाण्डको जिम्मेवारी दिएर परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत एआईजीहरूलाई प्रदेशस्तरीय सुरक्षा नेतृत्व प्रदान गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार प्रत्येक जिल्लामा कम्तीमा प्रहरी उपरीक्षक एसपीको नेतृत्वमा सुरक्षा कमाण्ड व्यवस्था मिलाइएको छ । चुनौतीपूर्ण तथा संवेदनशील जिल्लाहरूमा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी समेत खटाइएको काफ्लेले जानकारी दिए । आवश्यकताको आधारमा एक अधिकृतलाई दुई जिल्लासम्मको कमाण्ड जिम्मेवारी दिइएको छ । काफ्लेका अनुसार कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारी, मधेश प्रदेशमा एआईजी डम्बर विक, बागमती प्रदेशमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह, गण्डकी प्रदेशमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत एआईजी डा मनोज केसी, लुम्बिनी प्रदेशमा कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशीलसिंह राठौर र सुदूरपश्चिम प्रदेशमा प्रशासन विभाग प्रमुख एआईजी हिमालयकुमार श्रेष्ठलाई खटाइएको छ । निर्वाचन सुरक्षाका लागि उपत्यकाबाट मात्रै १२ हजार ७ सयभन्दा बढी अतिरिक्त प्रहरी टोली प्रदेश तथा जिल्लाहरूमा परिचालन भइसकेको प्रवक्ता काफ्लेले बताए । डिआइजी काफ्लेका अनुसार ट्राफिक प्रहरी, अपराध अनुसन्धान तथा अन्य ब्यूरोका जनशक्तिसमेत थप गरिएको छ । सुरक्षा रणनीतिअन्तर्गत शंकास्पद स्थानहरूमा तालिमप्राप्त कुकुर परिचालन, साइबर निगरानीका लागि विशेष मनिटरिङ डेस्क स्थापना, सामाजिक सञ्जालको नियमित अनुगमन तथा अन्तराष्ट्रिय सीमा नाकाहरूमा कडा निगरानी व्यवस्था गरिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए । सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचालन गरिएको हाे ।