विकासन्युज

यामाहा फेसिनो अब ‘ग्ल्यामरस गोल्ड’मा, एक्सचेन्जमा खरिद मूल्यको ७५% पाउने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ । राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन् । तीन वर्षअघि नेपाली बजारमा आएदेखि नै फेसिनोले युवा राइडरहरुमाझ लोकप्रियता कायम गर्दै आएको छ । यो स्कुटर डिजाइनका हिसाबले सुन्दर मात्र छैन प्राविधिक रुपमा उच्चकोटीको समेत छ । फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुनेछ । नयाँ कलरका माडेलमा अघिल्ला मोडेलमा झैं एयर–कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ । यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको छ । नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ । साथै, सिट कभर डुअल टोन कलरको छ जसले आराम र गुणस्तरलाई झल्काउँने कम्पनीले जनाएकाे छ । यसमा प्रयोग गरिएको ब्लुकोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ । एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायी समेत छ । भर्खरै मिडियारिच गरेको एक अध्ययनमा स्टाइल र कम्फर्टका लागि यामाहाका स्कुटरलाई सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । सोही अवसरमा मिस नेपाल २०१८ तथा यामाहा फेस अफ फेसिनो उपाधि विजेता श्रृंखला खतिवडालाई एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेसिनो हस्तान्तरण गरे । खतिवडाले द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल ब्युटी पेजेन्टमा बाँकी २४ जना प्रतिस्पर्धीलाई उछिनेर दुवै उपाधि जितेकी थिइन् । उनी अब एक वर्षका लागि यामाहा फेसिनोको विज्ञापन अभियानमा सहभागी हुनेछिन् । गत महिना एमएडब्लुले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ घोषणा गरेको थियो । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनेछन् । यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजना तीन वर्षका लागि लागू हुनेछ ।

मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ ? सरकारले बढाउँदैछ भन्सार

काठमाडौं । तपाई मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ भने तत्काल किन्नुस् । किनकी आगामी बजेटले मोटरसाइकल र कारको भन्सार दर बढाउँदैछ । कार र माेटरसाइकल अझ महंगो हुदै छ । अर्थ मन्त्रालयले १२५ सीसी भन्दा माथीका मोटरसाइकल र १२०० सीसी भन्दा बढि क्षमताका कारहरुमा भन्सार बढाउने तयारी थालेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट मार्फत १२५ सीसी भन्दा माथीका मोटरसाइकल र १२०० सीसी भन्दा माथीका कारहरुलाई बिलासिताका वस्तुको सूचिमा राखेर भन्सार बढाउन लागेको हो । गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा अनावश्यक रुपमा सवारी साधनहरुको आयात भएको, त्यसले उत्पादनमा सहयोग नगरेको तथा राजश्व वृद्धिमा समेत सकारात्मक प्रभाव नपारेको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले भन्सार दर बढाउने तयारी थालेको हो । ‘सवारी साधनहरुको आयातलाई उत्पादनसँग जोड्ने र राजश्व संकलनमा पनि सकारात्मक प्रभाव पारोस भन्ने उदेश्यका साथ बिलासिताका सवारी साधनहरुको आयातमा भन्सार बढाउने तयारी गरेको देखिन्छ’, अर्थ मन्त्रालय स्रोतले भन्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको गाडी चढ्ने हैसियत कसरी निर्माण भएको भन्नेबारे आफु जानकार रहेको बताउँदै आएका छन् । गत चैत अन्तिम साता नाडाको बार्षिक साधारण सभामा अर्थमन्त्री डा. खतिवडाले भनेका थिए–‘म आटोमोबाइलको आयातलाई बढो ध्यानपूर्वक हेरिरहेकाे छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु । अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो ? त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं ।’ अर्थमन्त्रीको यहि अभिव्यक्तिलाई हेर्दा पनि उनी बिलासिताको सूचिमा पर्ने सवारी साधनहरुको आयातलाई निरुत्साहित गर्न चाहान्छन भन्ने स्पष्ट हुन्छ । राजश्व संकलनमा एग्रेसिभ हुने संकेत देखाईरहेको अर्थमन्त्रालयले बिलासिताका सवारी साधनहरुको भन्सार बढाएर आफ्नो लक्ष्य प्राप्ति गर्ने प्रयास गरिरहेको हो । सडकमा सवारी साधनहरुको संख्या बढेको तर त्यसले नागरिकको उत्पादकत्व पनि नबढाएको र राज्यकोषमा पनि अपेक्षाकृत योगदान नगरेको भन्दै सरकारले भन्सार बढाउन लागेको हो ।    

सनराइज बैंकले दियो बनेपाको मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस

काठमाडौं । सनराइज बैंक लिमिटेडले बनेपाको नाला स्थित करुणामय् मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त मन्दिरलाई क्यामेरा हस्तान्तरण गरेको हो । उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकको भक्तपुर शाखाको अगुवाईमा करुणामय् मन्दिर सरसफाई कार्यक्रमसम्पन्न भएको छ ।

‘प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंक’

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि यस बैंकमा कारोबार गर्न आग्रह गरेका छन् । बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सीईओ ज्ञवालीले सो कुरा बताएका हुन् । साथै, उनले यस बैंकले विदेशी मुद्रा कारोबार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको बताएका छन् । सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराएका छन् । त्यस्तै, विदेशी विनिमय प्रमुख भिष्मराज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताएका छन् । कार्यक्रममा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरेका छन् ।

सन्दिपले चट्काए सुर्यसंकरको विकेट

काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले मुम्बई इन्डियान्सका सुर्यसंकर यादवको विकेट लिएका छन् । तेस्रो पटक आइपिएल खेलिरहेका सन्दिपले तेस्रो विकेट लिएका हुन् । यसअघि उनले चेन्नै सुपर किगसका सुरेश रैना र ब्यङलोर विरुद्ध पनि विकेट लिएका थिए ।

वृद्धभत्ताको साढे २४ लाख हिनामिना गर्ने वडासचिव गोपालचन्द्र लामा समातिए

काठमाडौं । हुम्लाको ताजाकोट गाउँपालिका वडा नं ५ मा कार्यरत वडा सचिव गोपालचन्द्र लामा वृद्धभत्ता अनियमितता गरेको आरोपमा पक्राउ परेका छन् । उनले आव २०७३ र ०७४को सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम गरी जम्मा २४ लाख ५० हजार रकम हिनामिना गरेपछि पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गैह्र कानूनी लाभ पुर्याउने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले कार्य गरेको आरोप लगाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो सैद्धान्तिक सहमति, सञ्चालनका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले इस्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष डा. विमलप्रसाद कोइरालालाई आइतबार सैद्धान्तिकपत्र हस्तान्तरण गरेका हुन् । राष्ट्रको पुर्वाधार विकासका लागि लगानी जुटाउन सार्वजनिक-निजी साझेदारीको प्रारुपमा पुर्वाधार विकास बैंक स्थापना हुन लागेको हो । सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिना भित्र बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरी वित्तीय कारोबार थाल्न अनुमतिपत्र (लाइसेन्स) का लागि राष्ट्र बैंकमा निवेदन दर्ता गराउनु पर्नेछ । केन्द्रीय बैंकले लाइसेन्स दिएपछि कारोबार शुरु हुने बैंकले जनाएको छ । इन्फ्रास्ट्रक्चर बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ सेयर पुँजी रहने छ । बैंकमा सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहेको छ । इन्फ्रास्ट्रक्चर बैंकमा सरकार लगायत विभिन्न वाणिज्य बैंक, बीमा कम्पनी तथा निजी क्षेत्रको लगानी रहने छ ।बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनको निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री, आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्र जारी गर्ने छ । यस्तै राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोबार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने छ ।

नेपाल बङ्गलादेश बैंकको थप शाखा धनुषा र सिराहामा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले जेठ ६ गते(आज)बाट धनुषा जिल्लाको धनौजी र सिराहा जिल्लाको अर्नमामा नयाँ शाखाहरुको औपचारिक कारोबार शुभारम्भ गरेको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । साथै, यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यी दुई शाखाहरु सहित बैंकले ६९ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएकोे छ ।