रेलको डब्बा किन्न ३ अर्ब माग, दुई इन्जिन र १८ वटा डिम्बा खरिदको तयारी गर्दै रेल विभाग
काठमाडौं । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालन गर्न ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेलवे विभागले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरेको छ । रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकास उपाध्याका अनुसार पहिलो चरणमा यात्रुबाहक र मालबाहक रेलका दुईदुई इन्जिन र १८ वटा डिम्बा खरिद गर्न तीन अर्ब रुपैयाँ आवश्यक पर्ने छ । हामीले अनुमानित लागत तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष बजेट माग गरेका छौ, उनले भने । रेल खरिद गरेरसेवा सुरु गर्ने योजना विभागले सुरु गरेको छ । विभागले गरेको तयारी अनुसार सरकारी सहयोग भए नेपालमा रेल कुद्ने पनि उल्लेख छ । कान्तिपुर दैनिकबाट ।
एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे
काठमाडौं । महालेखा नियन्त्रणको कार्यालयले विदेशस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक वर्ष नबित्दै बिग्रेको छ। सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगलाई निर्देशन दिएको छ। महालेखाका कर्मचारीहरू २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए। कर्मचारीको विदेश भ्रमण र स्फ्टवेयर विकासमा लाखौ रकम खर्चेर ल्याइएको सफ्टवेयर ८ महिनामै बिग्रिएपछि नेपाली नियोगलाई राजश्वसम्बन्धी हिसाब राख्न अहिले अफ्ठेरो परेको छ। केही नियोगहरूले अनलाइन इन्ट्री गरिसकेकोले बिल सुरक्षित नराख्दा पुनः हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो। नागरिक दैनिकबाट ।
खुला आकास नीतिमा जाने भरतको प्रस्ताव नेपालद्वारा अस्वीकार, संकुचित सोचमै अड्कियो नेपाली उड्डयन क्षेत्र
काठमाडौं । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । भारतले राखेको प्रस्ताव सकारात्मक भए पनि अहिले यो नेपालले धान्न नसक्ने भएकोले पनि अस्वीकार गरका हौ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । भारतसँग उडान गर्न खुला आकास नीतिजस्तै साताको ६० हजार सीट क्षमता उपलब्ध भएको तर्क उनले दिए । कारोबार दैनिकबाट ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने
काठमाडौ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराए । कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताए । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । ‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने छ । प्रतिवेदनअनुसार कामपामा सञ्चालन गरिने रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन् । चिनियाँ कम्पनी विवाइडीसँगको सहकार्यमा गरिएको सम्भाव्यता अध्ययनमा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ । कामपा र साइमिक्सबीच ‘स्काई रेल’ सञ्चालन सम्भाव्यता अध्ययनका लगि गत माघ २६ गते सम्झौता भएको थियो ।
अपाचे आरटिआरले देखायो १५० ग्राहकलाई मुभि
काठमाडाैं । अपाचे आर टि आरले २ सय ४ भि सिरिजका १५० ग्राहकलाई हलिउड स्पाइडर म्यान होम कमिङ मुभि देखाएको छ । जगदम्बा मोटर्सले आफ्नो १५० ग्राहकहरुको लागि मनोरञ्जन कार्यक्रमको रुपमा टि भि एस का पधादिकारीको साथमा यहि असार २९ गते लबिम मल स्थित क्यु एफ एक्स सिनेमाजमा उक्त सिनेमा देखाएको हो । कम्पनीले ग्राहकहरुको निरन्तर साथको कदर स्वरुप यस कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा फोटो सेसन तथा अन्तवार्ता मार्फत धेरै राम्रो प्रतिकृयाहरु संकलन गरिएको कम्पनीले जनाएकोे छ । जगदम्बा मोटर्सले ग्राहकको साथ र सन्तुष्टीका लागि यस्ता कार्यक्रम प्रत्येक महिना गर्दै जाने जानकारी दिएको छ ।
सनराइज बैंकको १ करोड ५६ लाख कित्ता हकप्रद सेयर बाँडफाँड, पूँजी ७ अर्ब नाघ्यो
काठमाडौं । सनराइज बैंकले १ करोड ५६ लाख ४६ हजार २९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले असार १९ गते सम्म जारी गरेको हकप्रद सेयरमा आवेदन परेको सो मात्राको सेयर ७१,६१३ जना सेयरधनीहरुलाई बाँडफाँड गरेको हो । बैंकले सेयरधनीहरुका लागि दश शेयर बराबर तीन सेयर (१०: ३) को अनुपातमा प्रति सेयर मूल्य १०० रुपैयाँ अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद साधारण सेयर निष्काशन गरिएको थियो । हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने लक्ष लिईएकोमा सो बमोजिम चुक्ता पूँजी कायम रहने बैंकले जनाएको छ ।
९० हजार पर्ने जमिन १३ लाखमा किनियो, आयल निगममा ७० करोेड घोटाला
काठमाडौं । ‘रोहीणी खोला किनारको प्रति कठ्ठा ९० हजार पर्ने जमिनलाई १३ लाख रुपैंयाँमा किनिएको छ, जनताले पुरै पैसा पाएका छैनन, त्यसको प्रमाण मसँग छ, म जनतालाई लाइन लगाएर बयान दिन लगाउँछु’, भैरहवाका सांसद अब्दुल रज्जाकले भने । उनको यो बयान नेपाल आयल निगमले खरिद गरेको जग्गामा भएको अनियमितताका सम्बन्धमा थियो । निगमले ९० दिनका लागि पुग्ने इन्धन भण्डारण गर्न भन्दै धमाधम जमिन खरिद गरिरहेको छ । तर जमिन अधिग्रहण गर्नुपर्ने मान्यतालाई सिधै चुनौती दिँदै टेण्डर मार्फत खरिद गरेर ७० करोड भन्दा बढि रकम घोटाला गरेको भन्दै सांसदहरुले छानबिन समिति बनाएका छन् । निगमले झापा, सर्लाही, चीतवन र भैरहवामा जमिन खरिद गरेको छ । निगमले अधिकतम तीन जनालाई टेण्डर गर्न लगाएर चलनचल्तीको मूल्य भन्दा सौयौं गुणा बढिमा जमिन खारिद गरेको हो । तर जग्गा धनीलाई भने थोरै पैसा मात्रै दिइएको प्रमाण आफुहरुसँग रहेको सांसदहरुले बताएका छन् । जमिन खरिद प्रक्रिया टेण्डर मार्फत नगर्न आफुले दिएको निर्देशन नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले नटेरेको आपुर्ति सचिव प्रेम कुमार राईले पनि समितिमा बताएका थिए । ‘मैले टेण्डर मार्फत जमिन खरिद नगर्न भनेको थिएँ, तर निगमका प्रमुखले टेरेनन’, आपुर्ति मन्त्रालयका सचिव राईले समितिमा भने । अर्थ समितिले निगमको जमिन खरिद प्रक्रियामा भएको घोटाला छानबिन गर्न उप समिति गठन गरेको छ । उप समितिमा अब्दुल रजाक, इच्छाराज तामाङ, नरदेवी पुन र सिर्जना पुलामी लगायतका सदस्य रहेका छन् । उनीहरुले खरिद गरिएको जमिनको स्थलगत भ्रमण तथा खरिद प्रक्रियाको सम्पुर्ण कागजातको अध्ययन गरेर १५ दिन भित्र प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताए । समितिले तयार पारेको छानविन प्रतिवेदनले दोषी ठहरिय कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको पनि उनले जानकारी दिए । समितिको बैठकमा सांसदहरुले निगमले इतिहासकै सबै भन्दा ठुलो घोटाला काण्ड मच्चायन थालेको बताएका थिए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले विगतका सबै भ्रष्टाचार काण्डहरुलाई उछिन्ने गरि निगमले नयाँ काण्डको आरम्भ गरेको बताउँदै अर्थ समितिले राज्य कोष जोगाउन कडा कदम चाल्नुपर्ने बताएका थिए ।
२७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा
काठमाडौं । आर्क्स ग्रुप प्रा.लिले हाइगर बस कम्पनी लिमिटेडद्धारा निर्मित २७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा ल्याएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार एक कार्यक्रमका बीच उक्त बसको शुभारम्भ गरेका हुन् । कार्यक्रममा ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले हाइगर मिनी बस तथा उत्पादक कम्पनीबारे जानकारी दिँदै आयात गरिएको मिनी बसमा एसी हिटर, वाइफाई, रेफ्रिजेरेटर, टि.भि, साईड लगेज, आरामदायी सिटको व्यवस्था लगायतका विशेषता रहेको बताएका छन् । साथै उक्त बस सुविधायुक्त भएकोले लामो दुरी, अफिस, स्कुल तथा पर्यटन उद्योगमा धेरै रुचाइएको जानकारी दिइएको छ । चीनमा स्थापित हाइगर कम्पनीले वार्षिक रुपमा ३५ हजार भन्दा बढी बसहरु उत्पादन गर्ने क्षमता भएको विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त कम्पनी कानुनी प्राबधानमा पनि प्रमाणित भएको हुनाले यस कम्पनीले १ सय भन्दा बढी मुलुकहरुमा विभिन्न मोडलका बसहरु निर्यात गर्दै आएको बताइएको छ । उक्त कम्पनीले विभिन्न सिट क्षमताका सिटी बस, एयरपोर्ट बस, स्कुल बसहरु उत्पादन गर्दै आउनुको साथसाथै नेपालको भौगोलिक स्वरुप अनुसारको भएको हुनाले नेपालमा लोकप्रिय बन्दै आएको कम्पनीले जनाएको छ ।