विकासन्युज

हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड बिक्री गर्ने

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरले ४ अर्ब रुपैयाँको पहिलो बन्दमुखी योजना बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ४० करोड इकाई बिक्रई गर्नेछ । जसमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २० करोड इकाई कोष प्रबद्र्धक हिमालयन लाइफलाई सुरक्षित राखि बाँकी २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणक लगानीकर्ताहरुलाई बिक्री गर्नेछ ।  उक्त म्युचुअल फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पूर्ण रुपमा सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाको बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर रहेको छ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

गाउँ गाउँमा गएर गाडी कर्जा दिँदै हायर पर्चेज कम्पनी

काठमाडौं । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरिरहेको बताएका छन् ।  उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजीकरण गरिदिन आग्रह पनि गरे । नेपालमा स्थापित कम्पनीले बिक्री गर्ने गाडीमा ऋण दिँदा समस्या कम आउने गरेको पनि उनको भनाइ छ ।  उनका अनुसार विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको छ । अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा बिक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका विषयलाई पनि केन्द्रमा राखिने उनले बताए । यसैगरी हायर पर्चेज क्षेत्रमा खराब कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उप-संयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताए । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनु नपर्ने बताए ।  अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडि फर्किनु नपर्ने उनको दावी छ । अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएको उनले बताए । यस्तै, कुनै पनि कर्मचारीहरूलाई गाडी किन्नको लागि लामो अवधीका लागि कर्जा प्रवाह गर्नुपर्ने उनको माग छ ।  उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन् । यसमा सरकारको ध्यान जान आवश्यक छ । यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’

कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भागमा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी   प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । 

राष्ट्र बैंकले अटो क्षेत्रलाई अनुत्पादक भनेको छैन, प्राथमिकतामा राखेको छः ईडी पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी) गुरु प्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा बैंक तथा वित्तीय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गरिरहेकाे बताए ।  उनले २०७० साल यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनले बताए । उनका अनुसार अटाे क्षेत्र अनुत्पादक हाेइन । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोबाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी हुने उनले बताए ।  ‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टिकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनै पनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी ब्याज लगाउँछन् ।’ नेपालमा २०४१/४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदा सम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे ।  ‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो । अहिले त्यसको उल्टो भएको छ । गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । कनेक्टीभिटी आवश्यकता नै छ भनेर बैंकहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायर पर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ । राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन ।’  नेपालमा उत्पादन गर्ने उद्योगहरूलाई बैंकहरुले सहज रुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमुलक उद्योगले २ करोड रूपैयाँसम्म कर्जा लिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर ब्याजदर लिने गरेको उनको भनाइ छ ।  उनले भने, ‘व्यवसायीले ब्याजदर नबढाए हुन्थ्यो भन्ने जिज्ञासा देखिएको छ । नेपालमा फिक्स्ड र परिवर्तन हुने कर्जा रहेका छन् ।’

१ हजार ९६७ जनाले पाए बुङ्गल हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड गरिएको छ । स्थानीय बासिन्दालाई बिक्री गरिएको आईपीओ भदौ ५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका १९६ आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी कुल १ हजार ९६७ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको हो ।  बाँडफाँडमा परेका सेयरको विवरण बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइडबाट हेर्न सकिने कम्पनीले जनाएको छ । साथै, बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने बताइएको छ ।  कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको थियो ।  आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १)का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूलाई छुट्याइएको थियो । 

३ दिनमै साढे ७८ हजारले अवलोकन गरे नाडा अटो शो

काठमाडौं । नाडा अटो शो २०२५ मा ३ दिनमै साढे ७८ हजारले अवलोकन गरेका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको नाडा अटो शो २०२५ मा ३ दिनमा ७८ हजार ५१३ जनाले अवलोकन गरेको जनाएको छ ।  यो तथ्यांकले आर्थिक चुनौती र कठिनाइबीच पनि नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए । यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको उनको भनाइ छ । ‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ र नेपाललाई अटो मोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ उनले भने । 

नर्भिक हस्पिटलको ४२.१०५ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत आईपीओ

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  नर्भिकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर नगद लाभांशबाट कट्टा गरिने जनाएको छ ।  प्रस्तावित लाभांश पारित गर्न हस्पिटलले भदौ २९ गते थापाथली काठमाडौंमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, संचालकहरुको निर्वाचन र सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने एजेन्डा राखेको छ । 

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गर्ने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसैगरी, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।  बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रिय सभाको बैठक १२ः१५ बजे बस्दैछ । आजको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।  त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।