विकासन्युज

अब औद्योगिक क्षेत्रमा पनि २४ सै घण्टा बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटाएको छ । प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । प्राधिकरणले वीरगञ्ज र विराटनगर औद्योगिक क्षेत्रमा परीक्षणको रुपमा लोडसेडिङ हटाएको थियो । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए । ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि,अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, उनले, ‘अब मुलुकपूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’ अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए । प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । नेपाल राष्ट बैंकले विद्युतभार कटौती कम भएपछि औद्योगिक उत्पादन बढेको प्रतिवेदन सार्वजनिक गरेको छ । २४ सै घण्टा बिजुली आपूर्ति भएपछि उद्योगको उत्पादन बढ्ने छ ।      

२०१८ विश्वकप फूटवलको लागि कोकाकोला एन्थम सार्वजनिक

काठमाडौं । फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगितले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने छ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, ‘मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको बिचार गर्दै लेखेको हुँ ।’ यस भिडियोको निर्देशन मायामिको द किटाडिलिलाफेरियर (हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ । यसमा रहेका शब्दहरुले विविधताको प्रसंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो । विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफुलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु हो । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ । जेसन डेरुलोले भने , “कोकाकोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरालागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभब हो । यसको लागि म्युजिक ट्रयाक दिंदा मैले आफुलाई निकै सम्मानित महशुस गरेको छु । गीतमा भने जस्तै ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ । हामी दैनिक नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिबर्तन ल्याउन एकजुट भएर प्रयास गर्न बढी महत्वपूर्ण छ ।’

जनताको ९० प्रतिशत बचत राष्ट्र बैंकले सुरक्षा गर्छ- गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन्। मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आइतबार यहाँ शुभारम्भ गर्दै उनले भने, “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।” बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैंक तथा वित्तीय संस्थाले नसुनेकामा उनले असन्तुष्टी व्यक्त गरे । प्रवद्र्धकले बैंक व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नुहुनेमा जोड दिंदै गर्भनर डा नेपालले भने, “जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व हो, हामी जनताको पैसा तलमाथि हुन दिन्नौं ।” आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए । आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैंकले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैंकिङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिएका छन् । साविकको टुरिजम डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सञ्चालक समितिको स्वार्थमा ऋण प्रवाह गर्दा बैकिङ क्षेत्रमा समस्या आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले दुई बैंक एकीकृत भई कारोबार भएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा देशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने गरी बैंकलाई अगाडि बढाउने बताए । रासस

प्रभु बैंकको थप ४ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको थप शाखा ४ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङको निसीखोला र तमानखोला, दैलेखको भगवतीमाई र गुँरासमा गरी ४ वटा शाखाकार्यालय आइतबार(आज) देखि सञ्चालनमा ल्याएको हो । यी शाखाको उद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेम राजओलीले गरेका हुन् । आजबाट सञ्चालनमा आएका शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

नर्सको लाइसेन्स खुल्यो, असार ९ गते परीक्षा

काठमाडौँ । तपाई नर्सको अनुमतिपत्र (लाइसेन्स) लिन चाहानु भएको छ ? लामो सयमदेखि लाइसेन्स लिने प्रतिक्षामा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस नेपाल नर्सिङ परिषदले नर्सको लाइसेन्स खुलाएको छ । परिषदले आउदो असार ९ गते नर्सको लाइसेन्सका लागि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षामा संलग्न हुने विद्यार्थीले प्रविणता प्रमाणपत्र (पीसीएल) र बीएस्सी नर्सिङ तह उतिर्ण हुनुपर्ने परिषदले जनाएको छ । परिषदले अनलाइनबाट फारम लिने भएको छ । अनलाईनबाट जेठ १ देखि ३० र दोब्बर दस्तर दिएर असार ४ गतेसम्म लाइसेन्स परीक्षाका लागि फारम खुलाएको हो । परीक्षा शुल्क नेपालीका लागि १ हजार ६००, विदेशीका लागि २ हजार ६०० रुपैयाँ तोकिएको परिषदले जनाएको छ । परिषद्ले तोकेको स्थानमा परीक्षा सञ्चालन हुने छ । नेपाल नर्सिङ परिषद्को परीक्षा समितिले आवश्यक ठानेमा परीक्षार्थीसँग अन्तर्वाता लिन पनि सक्ने छ ।

गभर्नर भन्छन्- गलत गर्ने बैंकलाई कारवाही गर्न खोज्दा माथि/माथि पुगेछन्

हामीले लगानी गरिसकेपछि प्रतिफल हेर्छौ, त्यो स्वभावीक हो र जहाँ पनि नाफा खोजिन्छ । तर बैंकिङ क्षेत्र चाँही त्यस्तो क्षेत्र हो जहाँ अरु क्षेत्रमा जस्ता प्रतिफल हेर्ने होइन् । मैले बारम्बार भन्दै आएको छु तर अलि धेरै बैंकरहरुले नसुनेको जस्तो पनि लागिरहेको छ । अब राम्रोसँग सन्नुस र बुझ्नुस पनि । बैंकिङ सेक्टर भनेको जनताको पैसालाई जिम्मेवारी पुर्वक लगानी गर्न स्थापना भएको क्षेत्र हो । जनताको पैसा तलमाथी हन्छ भने नियमनकारी निकाय सँधै उपस्थित भैरहेको हुन्छ । चाहे सन २००८ को संकट हो वा १९८५ तिर स्केन्डेभियन मुलुकमा भएको होस वा पुर्वी जर्मनीकै आर्थिक मन्दि नै किन नहोस् । निजी तथा सरकारी बैंकहरु अप्ठेरोमा पर्दा सरकारले नै उद्धार गरेर सञ्चालन गरेको थियो । किन की त्यहाँ सर्वसाधारणको पैसा जम्मा गरिएको हुन्छ । सर्वसाधारणको पैसा नडुबोस् भन्ने हाम्रो ध्येय हो । पब्लिकको पैसा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ८।१० प्रतिशत पैसा प्रमोटरको राखेर बाँकी पैसा बजारबाट उठाउनुस् भनेको हो । यसको अर्थ उठेको पैसा मेरै हो, मैले जे पनि गर्न पाउनु पर्छ भन्ने होइन् । कतिपय ठाउँमा आएको पैसा सबै मेरै हो भनेर बाँडीचुँडी गरेको पनि देखियो । त्यस्ता व्यक्ति र संस्थालाई कारवाही भैरहेको छ । नियामक निकायले छाड्ने वाला छैन हामी कारवाही गरेरै छाड्छौं । प्रमोटरहरुले त बैंकमा जम्मा ८।१० प्रतिशत पैसा हाल्ने हो । बाँकी पैसा भनेको जनताको हो । जनताको पैसालाई गलत तरिकाबाट उपयोग नगर्नुस् । बैंकिङ क्षेत्र भनेको पब्लिक सेक्टर हो । तपाईलाई पैसा कमाउनु छ, अरबपति, खरबपति बन्नुछ भने बन्नुस । व्यक्तिगत रुपमा आफ्नो व्यवसाय चलाएर कमाउनुस् । तर जनताको पैसालाई गलत तरिकाले उपयोग गरेर बैंकलाई जोखिममा नपुर्याउनुस् । गलत तरिकाको दबाव बोर्डले व्यवस्थापनलाई नदिनुस् । अहिले बैंकको समस्या भनेको नाफा बढि कमाउने लालसा नै हो । जसलाई बढि नाफा चाहिएको छ, उनीहरुले आफ्नै व्यवसाय गरे हुन्छ । यति कुरा तपाई बैंकका लगानीकर्ताहरुले नियमनकारी निकायका तर्फबाट स्पष्टसँग बुझे हुन्छ । अब पुँजी ८ अर्ब पुगेको छ । यहि ठाउँबाट मौद्रिक नीति ल्याएर ८ अर्ब पुँजीको व्यवस्था गरेको थिए । धेरैले जिब्रो टोके, सिईओहरु असिन पसिन भए । म ५० पटक त संसदिय समितिहरुमा बयान दिन पुगे । आखिर सबैले पुँजी पुर्याएरै छाडे । आज बैंकहरुको फाउण्डेसन बलियो भएको छ । समस्यामै रहेका बैंकहरुले पनि पुँजी पुर्याएर सामान्य अवस्थामा सञ्चालन भैरहेका छन् । १६० वटा संस्था मर्जर भएर ४१ वटा संस्था बनेका छन् । अब वित्तिय क्षेत्रको भविष्य राम्रो छ । नेटवर्थ पनि बढ्यो, पुँजीको क्षमता पनि बढ्यो र लगानीको क्षमता पनि बढेको छ । तर समस्या भनेको जे पनि गर्ने बानी नै हो । बढि नाफा खोज्ने, व्यवस्थापनलाई अनावश्यक दबाव दिने कुरा ठिक होइन । कतिपय अवस्थामा दबाव थेग्न नसकेर सिइओहरुले छाड्ने क्रम पनि सुरु भएको छ । अन्दाधुन्ध लगानी गर्ने बानी झनै खराब भयो । त्यस्तो कार्यले निक्षेप भन्दा ऋणको रफ्तार बढि भयो । अहिलेसम्म १३ प्रतिशत निक्षेप बढेको छ तर कर्जा १८ प्रतिशतले बढेको छ । कमसल धितोमा कर्जा नदिनुस्, त्यसले क्षणिक फाइदा होला तर बैंकलाई दिर्घकालिन असर गर्छ । अहिलेको स्थिती भनेको देशको अािर्थक विकासका लागि राम्रो समय हो । राजनीतिक स्थायीत्व छ, एक बर्षपछि अर्काे प्रधानमन्त्री आउलान् भन्ने छैन् । राजनीतिक स्थायीत्वले नितीगत स्थायीत्व ल्याउँछ । विदेशी लगानी भारतमा भन्दा धेरै चीनमा किन गैरहेको छ ? किन भने त्यहाँ राजनीतिक स्थायीत्व छ, त्यसले नीतिगत स्थायीत्व दिएको छ । भारत प्रजातान्त्रिक मुलुक भएपनि राजनीतिक र नीतिगत स्थायीत्वको अभावमा त्यहाँ विदेशी लगानीकर्ताको खासै आकर्षण देखिएको छैन् । नेपालमा पनि अब नीतिगत स्थायीत्व आउँछ, जसले विकास र समृद्धिको यात्रा तय गर्न सघाउँछ । गत बर्ष ७ प्रतिशत भन्दा बढि अािर्थक वृद्धिदर प्राप्त भयो । यसपाली करिब ६ प्रतिशत वृद्धिदर हुँदैछ । आगामी आर्थिक बर्षमा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा छ । बैंक तथा वित्तिय संस्था भनेका आर्थिक वृद्धिदरका आधार र महत्वपुर्ण औजार हुन् । यिनले गरेको लगानीले आयात प्रतिस्थापन, उत्पादन अभिवृद्धि र रोजगारी सृजना गराउने प्रयोजनमा सघाउनुपर्छ । बैंक तथा वित्तिय संस्थाहरुको कर्तव्य भनेकै मुलुकको आर्थिक विकासमा सहयोग गर्नु हो । मेगा बैंकका ३२ सय प्रमोटरले अब मलाई धेरै पैसा चाहियो भन्ने होइन, हाम्रो पैसा कहाँ लगानी गरिएको छ ? भनेर प्रश्न गर्नुस् । तपाईहरुले बैंकमा गरेको लगानी नाफाका लागि होइन, आर्थिक विकासमा सघाउन पनि हो । नाफा मात्रै कमाउने हो भने त किराना पसल खोल्ने, उद्योग खोल्ने, व्यापार गर्ने काम गर्नुस् । मैंले अलिकति कडा गरेर केहि बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्न थालेको के थिए, केहि बैंकका मानिसहरु माथी माथी पुग्नु भएछ । माथी पुगेर पनि केहि हुनेवाला छैन् । सेन्ट्रल बैंकले कारवाही गरेपछि गर्यो गर्यो । तपाईहरु पनि त्यसरी नै कारवाही गर्नुपर्ने अवस्थामा नपुग्नुहोला । बैंकका सञ्चालक समिति सदस्यहरुले व्यवस्थापनलाई दबाव नदिनु होला । फलानोलाई ऋण दे, यति नाफा चाहियो भनेर नभन्नुहोला । किनकी बैंकका सञ्चालकलाई कारावाही गर्ने अधिकार पनि हामीसँग छ । हामीले सुनिरहेका छौं, कतिपय बैंकको सञ्चालक समितिले नै व्यवस्थापन गरिरहेको छ । फेरी पनि निर्देशन ल्याएर कारवाही गर्नु पर्यो भने हामीलाई पनि नराम्रो लाग्छ । सबै भन्दा धेरै पढेलेखेका मान्छे रहेको वित्तिय क्षेत्रमा हामीले यीनीहरुको वुद्धि छैन, काम बिगारे भनेर कारवाही गर्नु नपरोस् । (मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको मर्जरपछि एकिकृत कारोबार आरम्भ कार्यक्रममा डा. नेपालले व्यक्त गरेको विचार)       

मेगा बैंकमा टुरिजम् डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार आजैबाट शुरु

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । दुई कम्पनी गाभिएपश्चात आइतबारबाटै मेगा बैंक लि.को नामबाट एकिकृत कारोबार शुरु भएकाे छ । काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिएका छन् । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको जनाएका छन् । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । ‘टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने- ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ । मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं ।’ संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताएका छन् । मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोड रुपैयाँको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको कम्पनीले जनाएको छ । यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ ।

ब्याजदर बढ्दा जलविद्युत लगानीलाई फाइदै फाइदा, बैंकको ब्याजबाट मात्रै ८९ करोड आम्दानी

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदाको बढी फाइदा सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई भएको छ । अर्बाै रुपैयाँ बैंकमा बैंकमा निक्षेप राखेर प्राप्त हुने ब्याज आम्दानीबाटा नाफा गरिरहेको जलविद्युत लगानीले लगानीले यो वर्ष ब्याजदर बढ्दाको फाइदा उठाउन सफल भएको छ । रकारले जलविद्युतमा लगानी गर्न स्थापना गरेको भएपनि कम्पनीले बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गरिरहेको छ । ब्याजदर बढ्दा चालु आर्थिक वर्षमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुगेको थियो । बैंकले अहिले साधारण वचतमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिदै आएका छन् । जति ब्याजदर बढ्यो त्यतिनै जलविद्युत लगानीको आम्दानी बढ्ने गरेको छ । जलविद्युत आयोजनाबाट भएको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । गत पुसमा कम्पनीले ५९ करोड ७० लाख र गत आवको सोही अवधिमा कम्पनीले ४८ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । जलविद्युत लगानीको मुल आम्दानीको स्रोत नै बैंकको ब्याजदर भएको छ । १० अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीमा १ अर्ब ११ करोड रुपैयाँ छ ।