विकासन्युज

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई गरेका छन् । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँदै शुक्रबार काठमाडौं आएका थिए। नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उनले दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए । नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उहाँको यो तेस्रो नेपाल भ्रमण हो । मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुगेका थिए। रासस

प्रदेश नंम्बर ५ मा २० अर्बभन्दा बढीको बजेट ल्याइदै

रुपन्देही । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि २० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । बजेटसँगै सरकारले नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्नेछ । प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आगामी आर्थिक वर्षका लागि सरकारले केन्द्रबाट १५ अर्ब ४२ करोड रुपैयाँ अनुदान पाउने र प्रदेशको आफ्नै स्रोतलाई थप गरी बजेट ल्याउन गरी छलफल भइरहेको बताए । उहाँले भन्नुभयो, “प्रदेशलाई करको अधिकार दिइएको छैन र सेयरिङ गर्ने मोडालिटी पनि बनेको छैन ।” उपाध्यक्ष श्रेष्ठले पाँच वटा करमध्ये कृषि आयमा लाग्ने कर मात्रै प्रदेशको अधिकार भएको उल्लेख गर्दै अन्य करका विषयमा स्थानीय तहसँग छलफल भइरहेको जानकारी दिए । प्रदेशको अधिकारभित्र घरजग्गा रजिष्ट्रेसन, सवारीसाधन कर रहेकाले त्यसैका आधारमा राजश्व स्रोतको अध्ययन भइरहेको छ, उनले भने, “प्रदेशमा राजश्वको नयाँ क्षेत्र र केन्द्रबाट आउने रकमसमेतका आधारमा बजेटको सिलिङ तोकिने छ ।” प्रदेश सरकारले असार १ गतेसम्म बजेट ल्याउनुपर्ने प्रावधान छ । रासस

अब टाउकोमा कपाल उमार्न बैंकले ऋण दिने, अघि बढे नविल, ग्लोबल आईएमई र एनआईसी एसिया

काठमाडौं । तपाईको कपाल झरेको छ ? तपाई नयाँ कपाल उमार्न चाहानु हुन्छ ? तर यसका लागि पैसा छैन भने अब चिन्ता नलिनुस बैंकले कपाल उमार्नका लागि ऋण दिने भएको छ । नविनतम प्रबिधिबाट बिगत ३ वर्षदेखि कपाल प्रत्यारोपण गर्दै आएको आरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरले कपाल प्रत्यारोपणका लागि ऋण लिनका लागि बैंकसँग सम्झौता गरेको छ । नविल बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकबाट ऋण लिन सम्झौता गरेको सेन्टरकी अस्मीता पन्तले बताइन । उनका अनुसार कपाल प्रत्यारोपण गर्न न्युनतम १ लाखदेखि ६ लाख रुपैयाँसम्म लाग्छ । एक मुष्ठ पैसा दिन नसक्ने वा पैसा नभएकालाई आयस्रोत हेरेर समय राखेर कपाल प्रत्यारोपण गर्ने सुविधा समेत रहेको उनले जानकारी दिइन । नविनतम प्रबिधिबाट बिगत ३ वर्षदेखि आरोगिन हेल्थ केयरले कपाल प्रत्यारोपण गर्दै आएका छ । तालुपना भएको ठाउमा प्राकृतिक रुपले कपाल वृद्धि हुने एक मात्र उपाय भनेको प्रत्यारोपण हो । “नेपालमा डाइरेक्ट हेयर ट्रान्स प्लान्ट हामीले सुरु गरेको हौँ । अहिलेसम्म ५०० जनाको कपाल प्रत्यारोपण गरिएको छ” उनले भनिन् । उनकाअनुसार ३० देखि ५० वर्ष भित्रका मनिसहरुले कपाल प्रत्यारोपण गरेका छन् । २५ जना महिलाले मात्रले कपाल प्रत्यारोपण गराएको सेन्टरले जनाएको छ । पुरुषको डीएचटी हर्मनका कारणले कपाल झर्छ भने महिलामा यो हर्मन हुँदैन । त्यसैले पनि महिलाहरुको कपाल थोरै मात्रामा झर्छ । “पुरै टाउको भरिकै कपाल झरिसकेको अवस्थामा कपाल प्रत्यारोपण गर्न सकिदैन । त्यस्ता व्यक्तिहरु आएका बेला हामीले सरी भनेर पठाएका छौँ”उनले भनिन्। कपाल प्रत्यारोपण गराउनेहरुमा सबैभन्दा धेरै व्यापारीहरु छन् । कपालको सोख भएका पुरुसहरुले थोरै कपाल पनि प्रत्यारोपण गर्न आउर्ने गरेका छन् । हाम्रोमा अन्य ठाँउबाट कपाल विगारेर आएका धेरैलाई प्रत्यारोपण गरेर पठाएको पन्तले जानकारी दिइन् । यसको लागत धेरै भएकाले सामान्य आर्थिक हैसियत भएकाहरुले कपाल प्रत्यारोपण गर्न गाह्रो हुन्छ । कसैको कपाल झर्ने अथवा झरेर चिल्लो नै भएको छ भने टाउकोको फोटो खिचेर पठाए हुने व्यवस्था सेन्टरमा गरिएको छ । कपाल प्रत्यारोपण गर्न लाग्ने समय र लागत अनलाइन मार्फत नै जानकारी दिने समेत पन्तले बताइन् । कपाल प्रत्यारोपण एक प्रक्रिया हो जसमा डाक्टरले टाउको पछाडीको भागबाट कपालको जरा निकालेर अगाडी तालुपना भएको भागमा प्रत्यारोपण गरिन्छ । पहिलो फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन विधि हो । डाइरेक्ट हेयर ट्रान्स प्लान्ट अर्को विधि हो । जुन विश्वमै आधुनिक तरिका हो । यसमा एक(एक फोलिसीस युनिट अथवा ग्राफ्टलाई निकालिन्छ । जुन घाउ एक दुई हप्तामा सञ्चो भएर जान्छ । यसरी निकाल्दा खत बस्दैन । यो प्रवधिअनुसार कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसरी गरिन्छ कपाल प्रत्यारोपण कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडि पट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ महिनापछि झर्छ । तर, १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ । प्रत्यारोपण गरिएको कपाल एक दुई महिनामै झर्छन् र त्यही जराबाट नयाँ कपालहरु पलाउन थाल्छन् । तिन चार महिना भित्र पूर्ण रुपमा पलाउछ । टाउकोमा पाँचवटा पत्रहरु हुन्छन् । सबैभन्दा माथिको छालामा कपाल हुने गर्दछ । हाम्रो दिमागलाई यी पत्रहरु भन्दा तल रहेको स्कोल बोनले संरक्षण गरेको हुन्छ । कपाल प्रत्यारोपण चाहिँ छालामा गरिने भएकाले कुनै असर गर्दैन ।

जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ६२ करोड ५५ लाख

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । कम्पनीले बैंकमा राखेको निक्षेपबाट ८८ करोड ९१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

नेपाल टेलिकमको नाफा ११ अर्ब ८५ करोड, ईपीएस १०५ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल दृुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नाफा बढाएको छ । गत चैतसम्म टेलिकमले ११ अर्ब ८५ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका ११ अर्ब ३२ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १०० रुपैयाँ थियो । समीक्षा अवधिमा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा आम्दानी ३२ अर्ब ८६ करोड रुपैयाँ थियो । डलरको भाउ उतारचढाव हुँदा ७ करोड १२ लाख रुपैयाँ नोक्सान भएको टेलिकमले जनाएको छ । संचित कोषको आकार बढेर ७९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

सर्वेकाे तीन दशकपछि प्रधानमन्त्रीद्वय ओली र मोदीले शिलान्यास गरे अरुण तेस्रो

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनको शिलन्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गरेका हुन् । दुई देशका दुई समकक्षीमन्त्रीबीच भएको वानटुवान वैठकपछि प्रधानमन्त्रीद्वयले होटल द्वारिकाजबाट रिमोट कन्ट्रोल स्वीचको सहायताले आयोजनाको शिलान्यास गरेका छन् । शिलान्यास गरिएसँगै १० वर्षपछि भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएका छन् । आयोजनाको प्रस्तावित बाँधस्थल संखुवासभाको थाक्सिन्डा दोभान हो । आयोजनाको प्रारम्भिक सर्वे भएको तीन दशक पुगेको छ । तीन दशकपछि शुक्रबार आयोजनाको निर्माणका लागि शिलान्यास भएको हाे । सन् १९८७ मा जापान इन्टरनेसल कोपरेसन् एजेन्सी (जाइका) ले गरेको प्रारम्भीक सर्वेमा यो आयोजना ४ सय ४ मेगावाटको बन्न सक्ने र उसबेला यसको लागत १ अर्ब ८ करोड अमेरीकी डलर आँकलन गरिएको थियो ।

तराईका बाढी पीडितलाई कतार च्यारिटीले दियाे १ करोडको राहत सामग्री

काठमाडौं । तराईका बाढी पिडित सयौं परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ । अरब मुलुकको गैह्र सरकारी संस्था कतार च्यारिटीको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको बताइएको छ । गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पीडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पीडित परिवारहरुलाई अस्थायीबासबाट स्थायीतर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई एक किलो छाप्रा वाल किलाका साथमा जस्तापाता वितरण गरेको छ जानकारी गराएको छ । त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि २ हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको कतार च्यारेटीको भनाइ छ । गत साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउदा हजारौ परिवारहरु विस्थापित भएका थिए । कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको बताइएको छ ।

ओपो ए८३ नेपाली बजारमा सार्वजनिक, मूल्य २७ हजार ४९० रुपैयाँ

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि-लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । उक्त ओपो ए८३ कम्पनीले ४ जीबी र्याम र ६४ जीबी रोम रहेको छ । साथै, यूवापुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध गरिएको छ । फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको ओपो ए८३ २०१८ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ । ३१८० एमएएच ब्याट्री जडान गरिएको ए८३को मूल्य २७ हजार ४९० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको नयाँ फोन नेपालभर रहेका कम्पनीका बिक्री केन्द्र मार्फत उपलब्ध गरिएको छ । फ्ल्यागशिप फुल स्क्रिन, फेसियल रिकग्निसन फिचर र फेशनेबल लुक ए८३ फोनमा जडित ४ जीबी र्यामले तीब्र कार्य क्षमता प्रदर्शित गर्छ साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेषगरी यूवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउने कम्पनीले जनाएको छ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ । एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल शेयरिङका लागि उपलब्ध गरिएको ओ-शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ । (फरक परिवेशमा ओपो टेष्ट डाटामा परिवर्तन आउन सक्छ) फ्ल्यागशिप फुल स्क्रिन, स्पिडी फेसियल अनलक र फेशनेबल लुक ए८३को आकार जम्मा ५.७ ईञ्च छ । पछिल्लो मोडलका तुलनामा यसलाई एक प्रमुख सुधारका रुपमा लिन सकिन्छ । अधिकांश कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराउँदै आएको फुल स्क्रिनको मज्जा यसको साथमा एण्ट्रि लेभल फोनमै पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथ दिन यसमा १४४० ह् ७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ । सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन अनलक गर्नु पर्दा यसले विशेष सहजता प्रदान गर्छ । डिजाइन ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) मा आधारित भइ गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ । एआई ब्यूटी रिकग्निसन प्रविधि ओपोका एफ सिरिज तथा ए सिरिज उत्पादनमा समाहित गरिएको एकिकृत ब्यूटी फञ्सन विशेष गरी यूवा तथा ट्रेण्डि पुस्ता माझ विशेष लोकप्रिय बन्न सफल भएको छ । ८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ । एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ । यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।