श्री इन्भेष्टमेन्टको आठौं शाखा हर्कपुरमा, छिट्टै ५ स्थानमा खोल्ने तयारी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको आठौँ शाखा हर्कपुरको गैँडाकोटमा विस्तार भएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन भएको थियो । केन्द्रिय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् । साथै, संस्थाले छिट्टै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २१ लाख, निक्षेप ३ अर्ब ४३ करोड तथा कर्जा लगानी ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
मोदीको घोषणाः रक्सौल-काठमाडौं रेलमार्ग छिट्टै
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्सौल काठमाडौं रेलमार्गको निर्माण छिट्टै अघि बढ्ने बताएका छन् । जनकपुरमा नागरिक अभिनन्दनपछि मन्तव्य राख्दै मोदीले भने-बिहारको रक्सौलदेखि काठमाडौंलाई रेल नेटवर्कमा जोड्दैछौं । त्यो काम चाँडै अघि बढ्छ ।’ मोदीले जनकपुर-जयनगर रेलमार्ग निर्माणको काम यसै बर्ष सम्पन्न हुने र नेपाललाई भारतको बिशाल रेलवे नेटवर्कमा जोडिने पनि बताए । मोदीले नेपाल र भारत जल, थल र नभबाट जोडिने चरणमा पुगिसकेको पनि बताए ।
एनएमबि माइक्रोफाइनान्सको एकदिने समीक्षा गोष्ठी सम्पन्न
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाद्धारा एक दिने शाखा प्रबन्धकहरुको गोष्ठीको सम्पन्न भएको छ । संस्थाले मातहतका शाखा प्रबन्धकहरुको दैनिक कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र फिल्डको कार्यमा दक्ष बनाई भाखा नाघेको कर्जाको जोखिम ब्यवस्थापन गर्नका लागि शाखाहरुको मासिक समीक्षा गर्ने उद्धेश्यले उक्त गोष्ठीको आयोजना गरेको हो । शुक्रबार वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले उक्त गोष्ठीको उद्घाटन गरेका हुन् । र्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले हाल लघुवित्तको क्षेत्रमा देखिएका चुनौतीहरुको समाधान गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने कुरा ब्यक्त गरेका छन् । एक दिने उक्त समिक्षा गोष्ठीमा शाखाहरुको लक्ष्य तथा प्रगतिको समीक्षाका साथै शाखामा देखापरेका समस्या तथा चुनौतीहरु र त्यसका समाधानका उपायहरुको बारेमा समेत छलफल गरियो । कार्यक्रममा २२ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नेपालीको स्वाभिमान सगरमाथा भन्दा उच्चः मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च रहेको बताएका छन् । जनकपुर उपमहागनरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गरेपछि मन्तव्य राख्दै मोदीले नेपालीहरुको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च भएको बताएका हुन् । उनले नेपाल वुद्धको जन्मभूमि भएको पनि पुनः बताएका छन् । मोदीले व्यक्ति र सरकार आईरहने, गैरहने तर सम्बन्ध भने सँधै अमर अजर रहँदै आएको पनि बताए । मोदीले नेपालको विकासमा नै क्षेत्रिय विकास निर्भर रहेको पनि बताए । नेपाल बिना भारतको आस्था।इतिहास र विश्वास अधुरो हुने भन्दै नेपाल बिना भारतका धाम र राम दुबै अधुरो रहेको पनि बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने, उत्तम विकल्प काभ्रेको नागीडाडा
काठमाडौं । त्रिभुव अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने उत्तम विकल्प काभ्रेको नागीडाडा देखिएको छ । अर्को विकल्पको रुपमा रहेको काभ्रेकै ठुलिचौर र चिसापानी ठुलिचौर मध्ये नागीडाडा उत्तम देखिएको हो । तीन विकल्पमध्ये नागीडाडा उत्तम विकल्प भएको नागरिक उड्ययनका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले बताए । हामीले गरेको स्थल भ्रमणबाट नागीडाडा उत्तम विकल्पको रुपमा पाएका छौं, सडक सञ्जाल, जग्गा र स्थानीयको प्रतिक्रियाको आधारमा नागीडाडा नै उत्तम विकल्प हो, प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने । उनका अनुसार विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ यदि जग्गा किन्नुपर्ने भएमा १ जनासँग मात्र कुरा गरे पुग्नेछ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । अहिले पर्यटन मन्त्रालयले निर्माण गरेको ६ सदस्यीय विज्ञ टोलीले विमानस्थलको छनोट गर्न नागीडाडामा अध्ययन गरिरहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । काभ्रे जिल्लाको ठुली चौर चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणको सम्भावना रहे पनि स्थानीयवासी नगरपालिकाले सहयोग नगरेको नागरिक उड्डयन प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । बनेपाको नागीडाडामा प्रारम्भिक अध्यानको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । “नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ, “थापाले विकासन्युजसँग भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागिडाडामा १२ मिटरको धावनमार्ग र ३ सय मिटरको चौडार्इमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणमा २० मिनेटसम्म सवारी रोकिने, हेरौँ कहाँ कहाँ ?
काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदी हिँड्ने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म सवारी रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको जानकारी दिए । “मोदी हिँड्ने बाटोमा १० मिनेट र विपरित बाटोमा २० मिनेटसम्म सवारी रोकिनेछ, कम भन्दा कम समय लाग्ने गरी ट्राफिक व्यवस्थापन मिलाएका छौँ,”-उनले भने । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक लगाइएको छैन । दिउँसो १.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने भारतीय प्रधानमन्त्री मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नेछन् । दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एरपोर्ट, बानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिनेछन् । दिउँसो ४.३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगञ्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन् । बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन् । शनिबार मुक्तिनाथ जान लागेका मोदी बिहान ६ बजे चाबहिल गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ । शनिबार दिउँसो नागरिक अभिनन्दमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा बानेश्वर तीनकुने हुँदै सिनामंगलको सवारी आगमन केहि बेरका लागि प्रभावित हुने महाशाखाले जनाएको छ । रासस
टेकु-कालीमाटी जोड्ने बिष्णुमतिमा नेवारी संस्कृति झल्कने सिग्नेचर पुलः साँझ/बिहान धार्मिक धुन बज्ने
काठमाडौं । काठमाडौंको व्यस्त सडक टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा सिग्नेचर पुल बन्ने भएको छ । सडक विभागले टेकु–कालीमाटीमा पर्यटकिय दृष्टिकोणले आकर्षक २ लेनको सिग्नेचर पुल निर्माण गर्न लागेको हो । ‘काठमाडौंको मौलिकता झल्कने गरि सिग्नेचर पुलको डिजाइन भैरहेको छ, टेकु र कालीमाटीको इतिहास समेटिएको सिग्नेचर पुल निर्माण हुनेछ’, सडक विभागको पुल महाशाखका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले विकासन्युजसँग भने । टेकु र कालिमाटी जोड्ने मोटरेबल पुलकै नजिक सिग्नेचर पुलको निर्माण गर्न लागिएको हो । सो पुलको डिजाइन तयार भैइरहेको छ । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् । सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण हुनेछन् । ‘पुलहरु पर्यटकिय आकर्षणका हुनेछन्, पुलहरु गाडी गुडाउन मात्रै होइन, रम्न, रमाउन पनि उपयोग हुन्छन भन्ने सन्देश दिन सिग्नेचर पुल बनाउन लागिएको हो’, शाक्यले भने । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ ।
साउन १ गतेदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स वितरण
काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि प्रदेशबाटै लाइसेन्स वितरण गर्ने भएको छ । विभागले संघीय संरचना अनुसार मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गर्न लागेको हो । साविकको १४ अञ्चल कार्यालयमा रहेका कार्यालयहरुलाई व्यवस्थापन गरेर विभागल लाइसेन्स वितरण गर्न लागेको हो । अब प्रदेश ढाँचामा अधिकार सम्पन्न कार्यालयको निर्माण हुने विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘लाइसेन्स वितरणलाई देशैभरी सहज बनाउन विभागले प्रयास गरिरहेको छ, प्रदेश संरचनामा रहने कार्यालयहरुले लाइसेन्स छाप्ने देखि सबै काम विकेन्द्रीकरण आगामी अर्थिक वर्षबाट सुरु हनेछ,’ निर्देशक अर्यालले विमनसन्युजसँग भने । स्मार्ट लाइसेन्स सुरु गरेपछि विभाले छरितो रुपमा लाइसेन्सको वितरण गर्न सकेको छैन । लाइसेन्स परिक्षा पास गरेको ११ महिनासम्म लाइसेन्स नपाउँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् । हाल विभागले स्मार्ट लाइसेन्सको विवरण भर्न ५ वटा मसिनको प्रयोग गरिरहेको छ । ५ मसिनबाट दैनिक १५ सय लाइसेन्सको विवरण भरिरहेको छ । तर देशको दैनिक माग भने ५ हजार भन्दा बढी भैसेको छ । आगामी दुई महिनाभित्र ४ नयाँ मसिन ल्याएपछि दैनिक २५ सय लाइसेन्स छाप्ने विभागले तयारी गरेको छ । लाइसेन्स छाप्न मात्र ढिला हुने गरेको विभागका कानून अधिकृत दिपक घिमिरेले बताए । लाइसेन्स छापिने ५ लाख कार्ड भने आइसकेको घिमिरेले जानकारी दिए । संघिय संरचना अनुसार प्रदेशका यातायात कार्यालयले लाइसेन्स छापिने स्मार्ट कार्ड देखि छाप्ने मेसिनसम्म सबै पुर्वाधारको विकास गर्नुपर्ने हुन्छ । यसको सबै व्यवस्था प्रदेश सरकारमा निहित हुने कानून अधिकृत घिमिरेले बताए ।