विकासन्युज

नेपालको विकासका लागि सहयोग गर्न चीन तयार

काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि चिनियाँ डेपुटी चिफ अफ मिसन याङ सी चाओबीच शुक्रबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको आर्थिक विकासका बारेमा छलफल भएको छ । शिक्षा मन्त्रालयमा आज भएको भेटमा २०७२ को भूकम्पपछि चीन सरकारले तत्काल र पुनःनिर्माणका लागि गरेको सहयोगका लागि शिक्षामन्त्री श्रेष्ठले चिनियाँ टोलीलाई धन्यवाद दिएका उनका स्वकीय सचिव चिरञ्जिवी भण्डारीले जानकारी दिए । भेटमा डेपुटी चिफ अफ मिसन याङले नेपालको समग्र विकासका लागि चिनियाँ सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए। रासस

हिमालयन उद्धार संघले काठमाडौमा अन्तर्राष्ट्रिय रेस्क्यु सेन्टर निर्माण गर्ने

काठमाडौं । हिमालयन उद्धार संघ(एचआरए) नेपालले बौद्धको रामनगरमा अन्तर्राष्ट्रिय रेस्क्यु सेन्टर निर्माण गर्ने भएको छ । नवनिर्वाचित एचआरए कार्यसमिति र पर्यटन पत्रकार संघ(जाट–नेपाल) का कार्यसमितिबीचको परिचयात्मक एवं पर्यटन अन्तक्रिया कार्यक्रममा संघका अध्यक्ष नरेन्द्रदेव भट्टले उक्त जानकारी दिएका हुन् । ४ रोपनी क्षेत्रफलमा बन्ने उक्त केन्द्र आधुनिक प्रबिधियुक्त हुने र सेन्टर निर्माणबारे यसअघि नै शिलान्यास भइसकेको उनले बताए । सेन्टर निर्माणका लागि साँढे सात करोड रुपैंया लाग्ने अनुमान गरिएको छ । यता उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने स्वदेशी तथा बिदेशी पर्यटकलाई विशेषतः लेक लाग्नबाट बचाउन निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले यस कार्यलाई अझै प्रभावकारी बनाउँदै लैजाने भएको छ । एचआरएका महासचिव पृश्बी श्रेष्ठले एभरेष्ट क्षेत्र र मनाङ क्षेत्रमा स्थायीरुपमै स्वास्थ्य चौकी स्थापना गरेर एचआरएले स्थानीय सहित पर्यटकलाई निशुल्क औषधि एवं स्वास्थ्य परिक्षण गर्दै आएको बताए । आवश्यकताअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्दै आएको पनि उनले जानकारी दिए । एभरेष्ट बेशक्याम्प, मनाङ क्षेत्र,गोसाईकुण्डका तिर्थयात्रु, यार्सा टिप्ने क्षेत्रमा समेत आफुहरुले निशुल्करुपमा बिरामीहरुलाई उद्धार गरीरहेको जानकारी दिए । कार्यक्रममा टानका पूर्व अध्यक्ष एवं एचआरएका सदस्य सिताराम सापकोटाले उचाईमा अक्सिजन कमिका कारण लेक लाग्ने भएकाले यससम्बन्धी पूर्व जानकारी हासिल गर्न र सकेसम्म तरल पदार्थको प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारीले एचआरएले प्रतिवर्ष ४५ सय भन्दा बढि लेक लागेका बिरामीहरुलाई संस्थाले उद्धार गर्ने गरेको जानकारी दिए । कार्यक्रममा जाट नेपालका अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रको विकास र विस्तारमा पर्यटन पत्रकार संघले सकारात्मक सन्देशलाई प्राथमिकता दिने भन्दै पर्यटनजस्तो संबेदनशिल क्षेत्रमा नकारात्मकतालाई हटाउँदै लैजानुपर्नेमा जोड दिए ।

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

इलाम। जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्रयाक्टर उपलब्ध गराएको हो । खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए । यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ७५ प्रतिशत अनुदानमा ८०० किलोग्राम धानको बीउ शत्प्रतिशत अनुदानमा ४०० किलोग्राम उन्नत जातको धानको बीउ उपलब्ध गराएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए । इलाममा १५ हजार ९१५ हेक्टरमा धान खेती हुँदै आएको छ । रासस

प्राइम कमर्सियलको ५३ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । शुक्रबार मात्रै प्राइम कमर्सियल बैंकको ५३ लाख २८ हजार ७२१ कित्ता सेयर सूचिकृत भएको छ । बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्रश्चात कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो ।

आठ मेगा सिटीको डिपीआर अर्को वर्ष तयार हुने, ४० अर्बको सरकारी पूर्वाधार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५मा आठवटा मेगा सिटीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भएको छ । आगामी बर्षको बजेटमा उल्लेख गरिएअनुसार सातै प्रदेशमा एक/एक वटा मेगा सिटीको पूर्वाधार तयार गर्ने योजना सहित सरकारले सो कार्यलाई अघि सारेको हो । देशको सबै प्रदेशमामेगा सिटी निर्माणको लागि आावश्यक पूर्वाधार तथा भौतिक विकासका कार्यहरूगर्न गृहकार्य भइरहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । कम्तीमा १० वर्षमा आधारभूत भौतिक पूर्वाधारको विकास गर्ने लक्ष्य सहित काठमाडौं र अन्य सात स्थानमा मेगा सिटी निर्माण गर्ने लक्ष्य सरकारले राखेको छ । १० वर्ष अघिको क्षेत्रीय सहरी रणनीति २००७ ले समेत मुलुकभित्र आठ वटा मेगा सिटी निर्माण गर्ने उल्लेख गरिएको छ । सरकार अहिले अघि सारेको यो आयोजन कार्यान्वयनसँगै एक दशमपछि उक्त नीति सार्थक हुने भएको छ । राष्ट्रिय सहरी विकास रणनीति २०१६ मा पनि मेगा सिटी निर्माणको विषयले प्राथमिकता पाएको छ । सहर केन्द्रीत बसाइँसराइलाई न्यूनीकरण गरी सबै क्षेत्र तथा प्रदेशमा शहरी पूर्वाधार विकास गरी व्यवस्थित सरीकरणलाई प्राथमिकता दिइने सरकारको योजना रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा.सुनिलबाबु श्रेष्ठले बताएका छन् । मेगा सिटीको विषयले राजनीतिक दलहरूका घोषणापत्रमा निकै चर्चा कमाएको थियो । सहरी पूर्वाधार तयार हुँदा त्यहाँ उपलब्ध सेवा सुविधालेजमिनको मूल्य बढ्नुका साथै जीवनयापनमा सहजता आउने भएकाले आम सर्वसाधारणको पनि उत्तिकै चासोका विषय बनेको छ । । प्रदेश नम्बर १ मा धरान–विराटनगर, दुईमा जनकपुर–ढल्केवर–बर्दिवास गरी क्रमशः पोखरा (लेखनाथ)–दुलेगौंडा, सिद्धार्थनगर– बुटवल (लुम्बिनी), नेपालगञ्ज–कोहलपुर, वीरेन्द्रनगर (सुर्खेत)– दशरक्षा पुल– छिञ्चुु र महेन्द्रनगर–धनगढी–अत्तरिया कोरिडोरका साथै काठमाडौं उपत्यकामा मेगा सिटी निर्माण गर्ने सरकारको योजना छ । छनोटमा परेका प्रदेशहरूमा मेगा सिटी निर्माणका लागि आवश्यक गृहकार्य अघि बढी सकेको मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले जानकारी दिए । ‘आगामी आर्थिक वर्षमा हामीले मेगा सिटी निर्माणका लागि औपचारिक रूपमा काम अघि बढाउने तयारीगरेका छौं,’ उनले भने ‘हाल पनि मेगा सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन भइसकेको छ ।’आगामी आवदेखि डीपीआर, डिटेल इञ्जिनियरिङतर्फको काम अघि बढाउने मन्त्रालयको योजना छ ।’ सामान्य सहरी पूर्वाधार विकास तथा पूर्वाधार निर्माण गर्न पनि कम्तीमा एउटा मेगा सिटीलाई ५ अर्ब बजेटको आवश्यक सक्ने मन्त्रालयको आँकलन छ । मन्त्रालका अनुसार एउटा मेगा सिटीको विस्तृत इञ्जिनियरिङ अध्ययन गर्नका लागि कम्तीमा पनि ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । ती सबै सहरहरू ल्याण्डपुलिङ सिष्टम (जग्गा एकीकरण) अनुसार कार्य गरिने छ ।

पत्याउनुहुन्छ, मुग्लिनबाट नारायणगढ यात्रा ३५ मिनेटमै टुंगिन्छ

काठमाडौं । ‘मुग्लिनबाट ३५ मिनेटको अवधीमा नारायणगढ पुगिन्छ’ भन्ने कुरा झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ । तर अबको केहि महिनाभित्रै मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमै छोटिँदैछ । ‘आगामी डिसेम्बरसम्ममा पहिरो ग्रस्त ४ किलोमिटर क्षेत्र बाहेकको काम सकिन्छ, पुरै काम सक्न थप एक दुई महिना लाग्न सक्छ, काम सम्पन्न भएपछि मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमा छोटिन्छ’, सडक विभागका इञ्जिनियर तथा आयोजना प्रमुख सञ्जय श्रेष्ठले भने । हाल मध्यम साइज अर्थात दुई लेनमा रहेको ३६ किलोमिटर लामो सो सडक छिचोल्न घण्टौं लाग्दै आएको छ । ‘चार लेनको सडकबाट ३५ मिनेटमा मुग्लिन नारायणगढ यात्रा गर्न सकिन्छ, पहिरो भएको क्षेत्रमा भने चार पाँच बर्षसम्म पहिरो नियन्त्रणका लागि निरन्तर काम गरिरहनुपर्छ’, श्रेष्ठले भने । नारायणगढ-मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् । काली खोला आसपासको ४ किलोमिटर क्षेत्रमा २९ वटा जोखिमपुर्ण पहिरो रहेका छन् । रातमा सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै हाललाई राती १० घण्टाका लागि सवारी साधन आवागमन रोकेर निर्माणको काम अघि बढाइएको छ । हाल ५ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । कुल काम मध्ये ५० प्रतिशत सम्पन्न भैसकेको छ । ६४ प्रतिशत काम सम्पन्न भैसक्नुपर्ने समयमा कठिनमध्येको ५० प्रतिशत काम सकिएकाले बाँकी काम गर्न धेरै समय नलाग्ने सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए ।‘६४ प्रतिशत काम हुनुपर्नेमा ५० प्रतिशत काम सकिएको छ तर कठिन काम धेरै सकिएकाले बाँकी काम गर्न धेरै समय लाग्दैन’, सिग्देलले भने ।

भरतपुर काण्डको मुद्दा मिरा खड्का र अनिल कुमार सिन्हाको बेञ्चमा

काठमाडौं । भरतपुरमा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई आज हुँदैछ । सर्वाेच्च अदालतका न्यायधिश मिरा खड्का र अनिल कुमार सिन्हाको संयुक्त बेञ्चमा मुद्धाको सुनुवाई भएको हो । जेठ १४ गते राती माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेका तर्फबाट वडा सदस्यमा उम्मेदवार दिएका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धाको सुनुवाई गर्दै न्यायधिश चोलेन्द्र शमशेर राणाले निर्वाचन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए ।  

स्वर्णजयन्तीको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले ‘राष्ट्रिय उत्पादकत्व अवार्ड’ दिने

पाटन । ललितपुर उद्योग वाणिज्य संघले ५० औं वार्षिक उत्सवको अवसरमा “राष्ट्रिय उत्पादकत्व अवार्ड” वितरण गर्ने भएको छ । २०२३ चैत्र ४ गते स्थापना भएको यो संघ ललितपुर जिल्लाको निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था हो । इतिहासको सम्मान, उपलब्धीप्रति आत्मगौरव र भविष्यप्रति आशा जगाउने हिसाबले स्वर्णजयन्ती मनाउने क्रममा संघले यसै वर्ष देखि राष्ट्रिय उत्पादकत्व एर्वाड दिने घोषणा गरेको संघको अध्यक्ष सविन श्रेष्ठले बताए । ‘संविधान कार्यान्वयनको दिशामा मुलुक अघि बढिरहेको समयमा अबको लक्ष्य भनेको आर्थिक समृद्धि नै हुनुपर्दछ’ विहीबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने ‘आर्थिंक विकास र समृद्धि बिना राजनीतिक परिर्वतन दिगो र स्थायी नहुने तथ्यलाई आत्मसात गर्दै मुलुकको आर्थिक परिर्वतनको लागि उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्न र मनोबल बढाउन “राष्ट्रिय उत्पादकत्व अवार्ड” कार्यक्रम गर्न लागेको उनले बताए । देशै भरीका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु मध्ये एक उत्कृष्ट उद्योग छनौट गरि पुरस्कार प्रदान गर्न संघले नेपाल सरकार उद्योग मन्त्रालय, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल आर्थिक पत्रकार समाज र ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सम्मिलित एक उच्च स्तरीय निर्णायक मण्डल खडा गरिएको उनले जनाकारी दिए । उक्त अवार्ड पाउनको लागि संघले तयार गरेको दरखास्त फाराम भरि संघको सचिवालयमा बुझाउने व्यवस्था गरिएको उनले बताए ।