विकासन्युज

डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र, काे हुन् त उनी ?

काठमाडौं । केवल सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा ११० वटा चित्रकला निर्माण गरिसकेकी छिन् । ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसइई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० वटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १०५ वटा चित्र नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएका छन् । जावलाखेलस्थित सेन्टमेरिज विद्यालयबाट एसइई परीक्षा दिएकी उनले अहिले फुर्सदको समयको सदुपयोग गरिरहेकी छिन् । उनले भनिन् , “यस चित्रकला प्रदर्शनीबाट संकलन हुने सबै रकम बालुवाटारमा रहेको अनाथ बालबालिका राखिएको गृह प्रवास नेपाललाई सहयोग गर्नेछु ।” त्यहाँ सबै अनाथ अर्थात बाबुआमा नभएका टुहुरा बालबालिका पढ्ने गरेका छन्, त्यो कुरा मैले यसअघिनै विद्यालयबाट कलासम्बन्धी पढाउन जाँदा थापा पाएँ, ढकालले भनिन् । त्यस अनाथालयमा एउटा पनि कम्प्युटर छैन, अहिलेको जमानामा पनि कम्प्यूटर बिना के गर्न सकिन्छ, त्यसैले उनीहरुको समस्यालाई बुझी मलाई यस किसिमको भावना आएको हो । भविष्यमा डाक्टर बनेर नागरिकको सेवामा समर्पित गर्ने लक्ष्य रहेकी ढकाललाई एक कक्षामा अध्ययन गर्न शुरु गरेसँगै कलासम्बन्धी रुची रहेको बताउँछिन् । डाक्टर बने पनि चित्र निर्माण गरी असहाय र अनाथलाई सहयोग गर्ने पनि उनले बताइन् । वैशाख २२ गतेदेखि शुरु भएको प्रदर्शनीमा हालसम्म दशवटा कला बिक्रीबाट रु एक लाख आम्दानी भइसकेको छ । प्रदर्शनीमा रु पाँच हजारदेखि रु दुई लाखसम्मका चित्र राखिएका छन् । यी सबै चित्र बनाउनका लगि रु तीनलाख ५० हजार खर्च भएको बालचित्रकार ढकाल बताउँछिन् । प्रदर्शनीमा राखिएका सबै चित्र प्रकृति र समाजमा हुने गतिविधिसँग सम्बन्धित रहेका छन् । उनले अलि मन खिन्न पार्दै भनिन् -अहिलेसम्म दैनिक ५० जनाभन्दा बढी अवलोकन गर्ने व्यक्ति आएका छैनन्, सायद प्रचारप्रसार कम भएर पनि होला । उनले फेरि सबैसँग आग्रह गर्दै भनिन्, आएर मेरो चित्र हेर्नुस्, राम्रो लागेका किन्नुस् यसबाट आएको रकम मेरो व्यक्तिगत प्रयोजनको लागि होइन, म जस्तै तर अनाथ बालबालिकालाई सहयोग गर्नका लागि हो, यसबाट हजुरहरुको पनि सहयोग हुनेछ । “सानै उमेरदेखि दयालु स्वभावकी ज्वाला अहिले पनि उस्तै नै छिन्, कसैको दुःख देख्नुपर्दा उसलाई यसमा के गर्न सकिन्छ भन्ने चिन्ताले सताइहाल्छ”, ज्वालाकी आमा होमकुमारी भट्टराई (ढकाल)ले भने । उनले भनिन्, “दुई सन्तानमध्ये ज्वाला सामाजिक काममा लागेर केही गर्नुपर्छ भन्ने स्वभावकी छे, त्यसमा पनि बालबालिकाका लागि भनेपछि ज्यानै दिएर लाग्छे ।” आगामी वैशाख २९ गतेसम्म रहने उक्त प्रदर्शनीको अवलोकन गरी छोरीको भावनालाई सम्मान गरिदिन पनि ज्वालाकी आमाले सबैसँग आग्रह गरेका छिन् । रासस

२ करोड ८० लाख जनतालाई जलविद्युत अायाेजनाको सेयर दिने

काठमाडौं । सरकारले सबै जनतालाई जलविद्युतको सेयर दिने भएको छ । सरकारले सार्वजनिक तथा निजी साझेदारमा आयोजना निर्माण गरेर २ करोड ८० लाख जनतालाई जलविद्युतको सेयर दिने भएको हो । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी कार्यक्रम अभियानको रुपमा अघि बढाएर सबैलाई सेयर दिने तयारी थालिने ऊर्जा, जलस्रोत, तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । मन्त्री पुनले ऊर्जा, जलस्रोत र सिंचाइको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) सार्वजनिक गर्दै सबै नेपाललाई सेयर दिएर धनी बनाउने योजना सार्वजनिक गरेका हुन् । यसका लागि आकर्षक र नाफामुखी आयोजना निर्माण गरिने उनले बताए । यसअन्र्तगत वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्बन्धित मुलुकबाटै जलविद्युत आयाजनाको सेयर खरिदका लागि आवेदन दिने व्यवस्था समेत मिलाइने उनले सुनाए । तत्काल लगानी गर्ने विपन्न वर्गलाई पनि विशेष व्यवस्था मिलाइने उनले जानकारी दिए । पछिल्लो समयमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई अनिवार्य रुपमा १० प्रतिशत दिने व्यवस्था भएपछि सर्वसाधारणलाई पनि न्युनतम थप १५ प्रतिशत सेयर दिन थालेका छन् । पछिल्लो समयमा निर्माण हुने अधिकाँश जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर दिने घोषणा समेत गरेका छन् । मुलुकमा जलविद्युतमा आत्मनिर्भर बनाउन सार्वजनिक निजी साझेदारीमा जलविद्युत आयोजना निर्माण गरी आउदो ३ वर्षमा थप ३ हजार मेगावाट बिजुली उत्पादन हुने उनले योजना सार्वजनिक गरे ।

तिलगंगा आँखा प्रतिष्ठानलाई सरकारले दियाे १० करोड

काठमाडौं । सरकारले तिलगंगा आखा प्रतिष्ठानलाई १० करोड रुपैयाँ हस्तान्त्रण गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलयले पत्रकार सम्मेलन गरि उक्त रकम हस्तान्त्रण गरेको हो । कार्यक्रममा उद्योगमन्त्री मातृकाप्रसाद यादवले प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन् । गएको वर्ष वैशाखमा उद्योगमन्त्री नवीन्द्रराज जोशीकै पालामा रकम दिने सम्झौता भएको थियो । स्वदेशमा नै माेतिविन्दुकाे उपचारमा प्रयाेग गरिने आखाँको लेन्स उत्पादन र निर्यातलाई बढावा दिने उद्देश्यले अस्पताललाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरेकाे हो । कार्यक्रमको अवसरमा उद्योगमन्त्री यादवले तिलगंगाले उत्पादन गर्दै आएको कृतिम आखाको लेन्सको उत्पादनलाई अझ बढावा दिन सरकारले वित्तीय सहयोग गरेको बताए । लेन्सको अन्तर्राष्ट्रय बजारमा माग बढीरहेकोले भन्दै प्रतिष्ठानले निर्या बढाइ व्यापार घाटामा कम गर्न  सहयोग पुर्याउने अपेक्षा सरकारकाे छ । ‘सम्झौताअनुसार रकम उपलब्ध गराउन केही ढिलो भएता पनि यसले लेन्सको उत्पादन र निर्यातमा ठोस सहयोग गर्ने विश्वास गरेका छौं,’ उनले भने । तिलगंगाले हाल वार्षिक ४ लाख पिस कृतिम आँखाको लेन्स उत्पादन गर्दै आइरहेको छ । जसमध्ये २ लाख पिस निर्यात गर्ने गरेको छ । गुणस्तरीय उत्पादनको कारण अन्तर्राष्ट्रिय बजारमा तिलगंगाले उत्पादन गर्ने लेन्सको माग बढिरहेको छ । माग अनुसार उत्पादन गर्न नसकेको संस्थाको भनाइ छ । लेन्स चीन, पाकिस्तान, भियतनाम, साउथ अफ्रिका, थाइल्यन्ड, ताइवान, फिलिपिन्स, मंगोलिया लगायतको मुलुकहरुमा निर्यात भइरहेका छन् । संस्थाकोअनुसार युरोपिय र अमेरीकाबाट कच्चापदार्थ आयात गरी भ्यालुएड गरेर लेन्सको उत्पादन गरिएको हो । अस्पतालले २४० रुपैयाँदेखि २ हजर रुपैयाँ (निर्यातको लागि २५ डलर) मुल्यसम्मका लेन्सहरु उत्पादन गर्दै अाएकाे छ । हाल संस्थासँग लेन्स उत्पादनको लागि करिब ११ वटा इन्ञिन सञ्चालनमा छन् । सरकारले दिएको सहयोगबाट ती मध्ये ५ ओटा पुराना इञ्जिनलाई एक्स्चेन्ज गर्ने योजना रहेको  जानकारी गराइएकाे  छ ।

अन्ततः बामपन्थी सरकारले नै चीनसँग खोस्यो १२०० मेगावाटको बुढीगण्डकी, टेण्डर निकाल्ने तयारी 

काठमाडौं । अन्ततः चिनियाँ कम्पनी गेजुवासँग १२०० मेगावाट क्षमताको बुढडीगण्डकी जलविद्युत आयोजना खोसिएको छ । तत्कालिन प्रचण्ड सरकारले गेजुवालाई निर्माण गर्न दिने सम्झौता गरेको आयोजना देउवा सरकारले खोसेको थियो । तर प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुढीगण्डकी आयोजना पुनः गेजुवालाई नै दिने बताउँदै आएका थिए । बामपन्थी सरकारले पुनः गेजुवालाई दिने आयोजना निर्माण गर्न दिने अनुमानका विपरित उर्जामन्त्री बर्षमान पुनले टेण्डर निकाल्ने घोषणा गरेका छन् । मंगलबार नेपालको उर्जा क्षेत्र सम्बन्धी श्वेतपत्र जारी गर्दै आगामी आर्थिक बर्षभित्र बुढीगण्डकी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउने उद्घोष गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआइ)मा पर्छ । चीनले नेपालमा रेलमार्ग निर्माण गरिदिँदा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न पाउनुपर्ने अडान लिँदै आएको छ । फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले बुढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । डीपीआर अनुसार आयोजनाको मुल बाँधको उचाई २६३ मीटर हुने छ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयारको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलासय क्षेत्रमा ६३ वर्गकिलोमिटरको ताल बन्ने छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड २५ लाख रुपैयाँ पर्ने अनुमान छ । बिजुली उत्पादन लागत भने प्रतियुनिट ७ रुपैयाँ ३५ पैसा छ । यस्तो थियो आयोजनाको नालीबेली २०७४ जेठ ९ गते प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । त्यसको भोली पल्ट अर्थात जेठ १० गते तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर २०७४ कात्तिक २७ गते नै शेर बहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी जलविद्युत आयोजना गेजुवालाई दिने निर्णय खारेज गर्यो । कति छ बजेट ? बुढीगण्डकी जलविद्युत आयोजनाका लागि आर्थिक बर्ष २०७३।७४ मा ५ अर्ब ३३ करोड बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक बर्षमा १० अर्ब विनियोजन गरेको छ । डाक्टरका सुझाव योजना आयोगका तत्कालिन उपाध्यक्ष डा। वाग्लेको नेतृत्वमा तयार पारिएको प्रतिवेदनले आयोजना नेपाली लगानीमै निर्माण गर्न सकिने उल्लेख थियो । प्रतिवेदनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना लगायतले लगानी गरेर बुढीगण्डकी निर्माण गर्न सकिने भनेको थियो । सोही प्रतिवेदनका आधारमा देउवा सरकारले बुढीगण्डकी जलविद्युत आयोजना आफैं बनाउने निर्णय गरेको थियो ।

सेयर बजारमा एकाएक हरियाली, नेप्से १५ अंकले बढ्दा बीमा १६१ अंकले उकालो

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार एक्कासी उकालो लागेको छ । सो दिनको बजारमा नेप्से परिसुचक १५ दशमलब ६५ अंकले उकालो लागेर १३६१ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । कुल १६५ कम्पनीको ५० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सिभिल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा बीमा समूहको सूचक १५१ अंकले उकालो लागेको छ । सो दिन उत्पादनमूलक बाहेक अन्य बाँकी समूह हरिया भएका छन् । उत्पादनमूलक भने सामान्य २.४३ अंकले घटेको छ ।

सिभिल बैंकको ९ करोड ३१ लाखको सेयर कारोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार बढेको दिन सिभिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मंगलबार सिभिलको प्रतिकित्ता १६८ रुपैयाँमा ५ लाख ७७ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार मध्ये सिभिलको मात्रै ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिभिलको सेयर मूल्य सस्तो हुनुका साथै गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई बोनस घोषणा गर्न लागेपछि लगानीकर्ता लोभिएर बढी सेयर किनेका हुन् । सिभिलको लाभांश घोषणा भएको छैन् । अन्य बैंकको तुलनमा सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताले सेयर किनेको एक ब्रोकरले बताए । गत वर्ष सिभिलले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । सिभिलले चालु आर्थिक वर्षको ९ महिनामा नाफा १२७ प्रतिशत बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३५ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १५ करोड ४४ लाख रुपैयाँ थियो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

एनसीसी बैंकको साधारणसभा निर्णय विवादमा, कम्पनी रजिष्टारले अध्ययन गर्न निरीक्षक पठाउदै

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालयले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको साधारणसभाको निर्णय (माइन्युट) को अध्ययन गर्ने भएको छ ।  कार्यालयले माइन्युट अध्ययनका लागि निरीक्षक पठाउने भएको छ । निरीक्षक पठाउने फाइल अहिले कार्यालयको कानून विभागमा पुगेको छ । विभागबाट निरीक्षक टोली खटाउने कार्यालयले जानकारी दिएको छ । कर्मचारीको अभावले गर्दा निरीक्षक खटाउन ढिलाइ हुन गएको कार्यालको भनाई छ । गत भदौ १६ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाले गरेको निर्णय फर्जि भएको दावी गर्दै त्यसलाई अवैध घोषणाको माग गर्दै संस्थापक लगानीकर्ता जीतबहादुर र लक्ष्मीबहादर श्रेष्ठले उजुरी दर्ता गराएपछि कार्यालयले छानविन थालेको हो । साधारणसभाले हकप्रद सेयर निष्कासन गर्नका माइन्युटमा अंक उल्लेख नगरेको पाइएको कार्यालयका एक अधिकारीले बताए । अन्य विषयमा समस्या नरहेको उनको भनाई छ । एनबी ग्रुपले रजिष्टारको कार्यालयका अतिरित्त नेपाल धितोपत्र बोर्डमा समेत उजुरी दिएपछि एनसीसीको हकप्रद सेयर निष्कासन रोकिएको छ । कम्पनी रजिष्टारले निरीक्षक खटाउन ढिलाइ गरेपछि हकप्रद सेयर निष्कासन गरेर आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ योजना प्रभावित हुने देखिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार साधारणसभाले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । आफु अनुकुल नभएपछि एनबी समूहले हकप्रद सेयर निष्कासन रोक्नका लागि बोर्ड र रजिष्टार कार्यलयमा उजुरी दिएको हो । एनसीसीमा एनबी समूहको १५ प्रतिशत अर्थात झण्डै ७५ लाख कित्ता संस्थापक सेयर छ । नियायमक निकायले समयमा निर्णय नगर्दा हकप्रद सेयर निष्कासनमा ढिलाइ भएको एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । “नियामकले हुन्छ वा हुदैन स्पष्ट भन्नु पर्यो, यसरी रोकेर राख्नु भएन” उनले भने । धितोपत्र बोर्डले अनुमति नदिनका कारण हकप्रद निष्कासन गर्न नपाएको उनको भनाई छ । राष्ट्र बैंकले पुँजी बढाउन दवाव दिएको छ । यता बोर्डका प्रवत्ता निरज गिरी एनसीसीको विषयमा रजिष्टार कार्यालयमा उजुरी परेकाले त्यहाँबाट निर्णय नभएसम्म बोर्डले अनुमति दिन नमिल्ने बताए । कम्पनी राजिष्टारबाट क्लियरेन्स हुनसाथ अनुमति दिने उनको तर्क छ । बोर्ड र रजिष्टार कार्यालयले हकप्रद निष्कासनका लागि बाटो खुला नगरेपछि पुँजीवृद्धिको योजना प्रभावित हुन लागेको हो । साधारणसभाबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित भएपछि एनसीसीले गत मंसिर २० गते साविकका सेयरधनीलाई २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद निष्कासन गर्ने साधारणसभाको निर्णयको विरुद्धमा एनबी ग्रुपले उजुरी हालेर रोकेपछि आउदो असारसम्म पनि चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुग्ने अवस्था आएपछि बैंक सञ्चालक समितिले राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाललाई भेटी समस्या समधानको उपाय खोजेको थियो । एनसीसीको हाल चुक्तापुँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । इन्टरनेसनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फाष्टक्चर डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएपछि चुक्तापुँजी बढेर ४ अर्ब ६७ करोड ९० रुपैयाँ पुगेको हो । हकप्रद निष्कासन र गत आवमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिएर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पुँजीवृद्धिको योजना बैंकले राष्ट्र बैंकले पेश गरेको छ ।      

एनसेलको थ्रिजी सेवा ५४ प्रतिशत जनसंख्यामा, ग्राहक आधार १ करोड ६४ लाख

काठमाडौं । एनसेलले आफ्नो थ्रिजी सेवा कुल जनसंख्याको ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याएको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को एकिकृत वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ । कम्पनीले गतवर्ष प्रविधि तटस्थताको अनुमति पाएपछि आक्रामक रुपमा विषेशगरी ग्रामिण भेगलाई लक्षित गरी यो सेवा विस्तार गर्न थालेको हो । ९०० मेगाहर्ज मार्फत ग्रामिण र दुरदराजका भेगमा दु्रगतिको मोवाइल डाटा सेवाका लागि थ्रिजी सेवाको विस्तार गर्ने बताउँदै आएको छ । आजियाटाले प्रकाशित गरेको २०१७ को चौथो त्रैमासिक प्रतिवदन अनुसार, एनसेलले सन् २०१७ को अन्त्य सम्ममा २,६९९ थ्रिजी साइटहरु जडान गरी सेवा संचालन गर्दै आएको छ । “एनसेलको थ्रिजी सेवा कभरेज ५३.९ जनसंख्यामा पुगेको छ,” वार्षिक प्रतिवेदनमा भनिएको छ । नेपाल दुरसंचार प्राधिकरणले फ्रिक्वेन्सी नीतिको आधारमा एनसेललाई गतवर्ष जेठमा ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अपनाउन अनुमति प्रदान गरेको थियो । यसैका आधारमा एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा आफुलाई प्राप्त ११ मेगाहर्ज फ्रिक्वेन्सी मध्यबाट ५ मेगाहर्ज फोरजी सेवा विस्तारमा प्रयोग गरेको हो । एनसेल र नेपाल टेलिकम दुवैले आफुलाई फोरजीका कागि दिएको फ्रिक्वेन्सी अनुमति अपुग रहेको बताउदै आएको छ । त्यस्तै, उक्त वार्षिक प्रतिवेदन अनुसार, एनसेलले फोरजी सेवा १५.५ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याउदै २१ शहरमा विस्तार गरेको छ । फोरजी र थ्रिजीको विस्तारका कारण एनसेलको डाटा ग्राहक संख्या र इन्टनेटबाट हुने आम्दानी पनि बढेको देसखएको छ । कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको र साथै इन्टरनेट खपतको भोल्युम पनि १३१ प्रतिशतले वृद्धि भएको सो प्रतिवेदनमा उल्लेख छ । कम्पनीले सन् २०१७ मा कुल रु ५८.१ अर्ब आय गरेको थियो र आफ्नो नेटवर्क र सेवाहरुको गुणस्तर सुधारका लागि रु १२ अर्ब लगानी गरको उक्त प्रतिवेदनले बताएको छ । एनसेलका कुल १ करोड ६४ लाख ग्राहक छन् र ७१ लाख ग्राहकले मोवाइल इन्टरनेट सेवा लिएका छन् । थ्रिजीको विस्तारित नेटवर्क कभरेजले देशभरीका १,००० भन्दा बढि विकट तथा दुर्गमका ठाउँहरुमा आफ्नो थ्रिजी सेवा पुग्ने एनसेलले जनाएको थियो । दु्रत गतिको मोबाइल इन्टरनेट सेवाको पहुँचबाट ग्राहकहरुले विभिन्न फाइदाहरु लिन सक्छन् ।