बौद्धनाथ क्षेत्रलाई आठ करोड ६१ लाखको बजेट सार्वजनिक
काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४/७५ का लागि आठ करोड ६१ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ चार करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको मौज्दात दुई करोड रुपैयाँ रहेको र टिकट बिक्रीबाट मात्र छ करोड ५० लाख रुपैयाँ आम्दानी हुने तथा सटर बहालबाट चार लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । पुरातात्विक, धार्मिक बौद्ध साहित्यसम्बन्धी कृति प्रकाशन, ज्येष्ठ नागरिकलाई भ्रमणलगायत शीर्षकमा रु १८ लाख छुट्याइएको छ । बौद्धनाथ क्षेत्र तथा त्यस वरपरका सम्पदाका साथै स्थानीय पूर्वाधार विकास निर्माणका कार्यमा समेत विनियोजित खर्च मध्येबाट केही रकम खर्च गरिने समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा मनाइने बौद्ध धर्मका विभिन्न दिवस तथा सामाजिक कार्यमा पनि समितिले सहयोग उपलब्ध गराउँदै आएको छ । रासस
माछापुच्छ्रे बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँचलाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । उक्त कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो । यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ । हाल बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ । ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैंकले २०७३ साल चैत्रमसान्त सम्ममा ५८ अर्ब ४८ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
सोमबारको सेयर बजार सामान्य अंकले उकालो, ४४ करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोे दिन १४५ कम्पनीको ८ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०२५ रुपैयाँ रहेको छ । त्यस्तै, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०९१ रुपैयाँ रहेको छ । सोमबार विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ६.६८ र ६.११ अंकले बढेको छ । सो दिन होटल समूहको परिसूचक ३७ दशमलब १ अंकले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बलरामा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको आफ्नो १७५ औं शाखा कार्यालय सर्लाही जिल्लाको बलरा नगरपालिकामा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच गरेका हुन् । सो समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावावैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुँच विस्तार गरिने बताएका छन् ।
नासा सेक्युरिटिजले तीन दिन कारोबार गर्न नपाउने
काठमाडौं । नासा सेक्युरिटिजले तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त सेक्युरिटिजले कारोबार राफसाफमा लापर्वाही गरेकाले सामेबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको छ । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी बुधबार(असार २१ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाउने निर्णय गरेको हो ।
बैंक अफ काठमाण्डूका सिइओ श्रेष्ठद्धारा राजीनामा, को बन्ला नयाँ सिइओ ?
काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिसँग खटपट परेपछि श्रेष्ठले राजीनामा गरेका हुन् । बैंकको व्यवसाय विस्तारमा उल्लेख्य सुधार नगरेको भन्दै सञ्चालक समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । चार बर्षे कार्यकालका लागि श्रेष्ठले गत असारमा मात्रै कार्यभार सम्हालेका थिए । श्रेष्ठले राजीनामा गरेसँगै सोभनदेव पन्त, अनिल केसरी शाह, किशोर महर्जन, तुलसी गौतम, उपेन्द्र पौडेल र सुमन जोशी र उज्वलराज राजभण्डारीलाई नयाँ कार्यकारी प्रमुखको दावेदार मानिएको छ । उनीहरु आ आफ्नो तर्फबाट प्रमुख कार्यकारी अधिकृत बन्नका लागि लबिङ गरिरहेको श्रोतले बतायो । यो पनि बढ्नुहोस् : प्रमुख कार्यकारी अधिकृत फेर्ने विषयमा बैंक अफ काठमाण्डूमा खटपट
कन्काई विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २३१ रुपैयाँ मात्र
काठमाडौं । सोमबार कन्काई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहने छ ।
उपत्यकामा बिजुलीको तार अन्डर ग्राउन्ड गरिने, एडीबीले १५ अर्ब ऋण सहयोग गर्ने
काठमाडौं । विद्युत् प्रसारण क्षमता बृद्धि गर्न एशियाली विकास बैंक(एडीबी)ले करिब १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । काठमाडौँ उपत्यकाको विद्युतीय क्षमता विस्तार, सुधार तथा विद्युतीय तारलाई भुमिगत गरी सहरी सौन्दर्य बढाउन बैंकले सो रकम ऋण स्वरुप उपलब्ध गराउन लागेको हो । गत बिहीबार बैंक सञ्चालक समितिको बैठकले सो ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको बैकको वेवसाइटमा उल्लेख गरिएको छ । आम नेपालीलाई प्रभावकारी एवम् दीगो ऊर्जा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्यअनुसार विद्युत् वितरण प्रणालीलाई प्रभावकारी बनाउन बैंकले सहयोग गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । सो रकम काठमाडौँ उपत्यकाको विशेष गरी नेपाल विद्युत् प्राधिकरणको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युतीय संरचना भूमिगत गर्ने कार्यका लागि सो रकम खर्च गरिने छ । यस अघिनै प्राधिकरणले नमुना परियोजनाका रुपमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको सम्पूर्ण विद्युतीय संरचनालाई भूमिगत गर्ने कार्य अगाडि बढाएको छ । सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ पहिलो चरणमा ती दुई स्थानबाट विद्युत्का तार भूमिगत गर्न लागिएको हो । दिगो विकास लक्ष्यको महत्वपूर्ण कार्यसूचीका रुपमा रहेको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्यका साथ बैंकले सो रकम उपलब्ध गराएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले जानकारी दिनु भयो । विद्यमान प्रसारण प्रणालीको सुधार गर्दै काठमाडौँ उपत्यकामा थप विद्युत् आयातका लागि मार्ग प्रसस्त गर्न, प्रसारण लाइनको क्षमता विस्तार एवम् विकास गर्दै वितरण प्रणाली गर्नु जरुरी भइसकेको छ । परियोजना अन्तर्गत वितरण प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान गर्दै प्राविधिक एवम् व्यावसायिक चुहावटलाई नियन्त्रण गर्नसमेत सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, प्रसारण प्रणालीको क्षमता विस्तार एवम् वितरण प्रणालीको सुधारले प्राधिकरणको वितरण केन्द्रको कार्य सञ्चालन एवम् व्यावसायिक दक्षताको अभिवृद्धिका लागि समेत सहयोग पुग्नेछ । प्राधिकरणले सञ्चालनमा ल्याउन लागेको स्मार्ट ग्रीड तथा अत्याधुनिक वितरण प्रणालीले व्यावसायिक दक्षताको समेत विकास गर्ने सो रकम खर्च गरिने मन्त्रालयले जानकारी दिएको छ । केही वर्षभित्र महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने भएकाले पनि प्रसारण लाइनको विकास र विस्तार महत्वपूर्ण हुने देखिएको छ । अबको एक वर्षभित्र स्वदेशी लगानीमा निर्माण भइरहेको चार सय ५६ मेगावाटको माथिल्लो तामा कोशी जलविद्यु्त् आयोजनाबाट विद्युत् उत्पादन भइसक्ने छ भने दार्चुलामा निर्माण भइरहेको ३० मेगावाटको चमेलिया र मकवानपुरमा निर्माधिन १४ मेगावाटको कुलेखानी तेस्रोलेपनि आगामी पुस भित्र विद्युत् उत्पादन गरिसक्ने छन् । सरकारले आगामी आर्थिक वर्ष २०७४/a७५ को अन्त्यसम्म ८ सय मेगावाट विद्युत् उत्पादन क्षमता थप्ने लक्ष्य निर्धारण गरेको छ । हाल भएको ९६१.१५ मेगावाटलाई वृद्धि गरेर एक हजार सात सय ६१ मेगावाट विद्युत् पुर्याउने योजना बनाएको हो । उत्पादित विद्युत्लाई व्यवस्थित गर्न तथा राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पनि धेरै रकम खर्च हुने भएकाले सो सम्बन्धि संरचना तयार पार्न सरकारले यस्तो किसिमका परियोजनालाई प्राथमिकतामा राखेको हो ।