विकासन्युज

बीमा कम्पनीमाथि अख्तियारको आँखा, विभागीय प्रमुखको योग्यता हेर्दै बीमा समिति

काठमाडौं । बीमा कम्पनीको उच्च व्यवस्थापन माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आँखा लगाएको छ । बीमा कम्पनीका उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुको शैक्षिक योग्यता माथी लगातार उजुरी परेपछि आयोगले बीमा समितिलाई पत्रै लेखेर छानविन गर्न निर्देशन दिएको थियो । आयोगको सोही निर्देशन अनुसार बीमा समितिले बीमा कम्पनीको विभागीय प्रमुख भन्दा मािथल्लो तहका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात मगाएर अध्ययन थालेको छ । समितिले चैत ३० गते सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर विभागीय प्रमुख भन्दा माथिल्लो तहका सबै कर्मचारीको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । ‘अख्तियारको निर्देशन अनुसार नै समितिले बीमा कम्पनीको विभागीय प्रमुख भन्दा माथिल्लो तहका कर्मचारीहरुको शैक्षिक योग्यता खुल्ने प्रमाण पत्र मागेका छौं, अहिले अध्ययन भैरहेको छ’, बीमा समिति उच्च श्रोतले भन्यो । समितिले सुशासन विभाग मार्फत प्रमाणित शैक्षिक योग्यताको कागजात मागेको हो । हाल सबै निर्जीवन तथा जिवन बीमा कम्पनीका उच्च तहका कर्मचारीको शैक्षिक योग्यताको प्रमाण पत्रमाथी बीमा समितिले अध्ययन अघि बढाएको छ । डाक्टर, कर्मचारी, शिक्षक, पाइलटहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्यहरु उजागर भएसँगै अख्तियारले बीमा कम्पनीको उच्च तहका कर्मचारीको शैक्षिक योग्यतामाथी छानविन गर्न भनेको थियो । ‘बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यतामाथी प्रश्न उठ्दै आएको थियो, समितिमै पनि केहि गुनासा आएका थिए, अख्तियारले पत्र नै लेखेपछि विवरण मगाएर अध्ययन अघि बढाएका हौं’, समिति श्रोतले भन्यो ।  समितिले प्रत्येक बीमा कम्पनीको उच्च तहका करिब १० जना कर्मचारीको विवरण मागेको हो । कम्पनीका सिइओ, डेपुटी सिइओ हुँदै सबै विभागीय प्रमुखको शैक्षिक योग्यताको प्रमाण पत्र यतिबेला बीमा समितिमा पुगेको छ । पछिल्लो समय बीमा कम्पनीका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको र त्यस्ता कर्मचारीहरुले संस्थाको हित विपरिद काम गरिरहेको उजुरी आयोगमा परेको थियो ।

सिण्डिकेटधारी यातायात व्यवसायीको सम्पति सुद्धिकरण गर्ने मन्त्रीको चेतावनी, ट्याक्सीको सिण्डिकेट पनि तोडिने

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले सिण्डिकेटधारी यातायात व्यवसायीको सम्पति सुद्धिकरण गर्ने चेतावनी दिएका छन् । सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा आन्दोलन गरिरहेका व्यवसायीहरुको सम्पति सुद्धिकरण गर्ने चेतावनी उनले दिएका हुन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा मान्त्री महासेठले सिण्डिकेट खारेजीको निर्णयबाट पछि नहट्ने स्पष्ट पार्दै अब ट्याक्सीको सिण्डिकेट पनि अन्त्य हुने बताएका हुन् । उनले अघि भने,‘कोषमा जम्मा भएको पैसा झिकेको जानकारी आएको छ, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ, हामी तिनीहरुलाई छानबिनको दायरामा ल्याएर छाड्छौं, बदमासी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौं ।’ उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिईरहेका बस व्यवसायीहरुको सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए । उनले भने,‘सरकारले पूर्ण रुपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौं ।’ सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको थियो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं ।’, मन्त्री महासेठले भने । भिडियो  

आगामी बजेटमा निजी क्षेत्रको सुझाब सम्बोधन गर्न माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने निजी क्षेत्रको भनाइ छ । नेपाल चेम्वर अफ कमर्सले सोमबार राजधानीमा ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सन्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ अन्तरक्रिया कार्यक्रममा गरेको थियो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यवसायीहरुको हित अनुकुुल हुने गरी बजेट ल्याउन सके मुलुक समृद्धितर्फ अघि बढ्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सवैले सहज तवरले व्यापार व्यवसाय चलाउन पाउने गरी बजेट आउनु पर्नेमा जोड दिए । उनले बजेट ल्याउनु अघि निजी क्षेत्रले दिएका सुझाबहरु समेट्नु पर्नेमा माग कार्यक्रममार्फत गरेका छन् । त्यस्तै कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुंगानाले उद्योगी व्यवसायीहरुका वस्तु निष्ठ तथा कार्यान्वयन योग्य सुझाबहरुको सम्वोधन गरी नयाँं बजेट ल्याउने आश्वासन दिएका थिए । उनले राजसव संकलनलाई मध्यनजर गरी आर्थिक समृद्धिका आधार तय गर्ने गरी नयाँं बजेट आउने जानकारी दिए । मुलुकले दिएको आर्थिक सम्बृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढ्न सरकार तयार रहेको उनको भनाइ छ । कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयम राय, आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालल गायतले स्वच्छ प्रशाशन अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीले उठाएका समस्याहरुबारे राजश्व सचिव ढुंगानाले जवाफ दिएका थिए ।  

गाई पाल्न ऋण मिलाइदिए वापत ५० हजार लिने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक जगदिश काफ्ले पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बर्दिवासमा कार्यरत सहायक प्रबन्धक जगदिश प्रसाद काफ्ले भ्रष्ट्राचार अभियोगमा पक्राउ गरेको छ । युवा स्वरोजगार कार्यक्रम अर्न्तगत कृषि अनुदानमा गार्इ पालनको लागि सरकारी ऋण उपलब्ध गरार्इ दिए वापत सेवाग्राहीसँग पचास हजार घुस लिने क्रममा काफ्ले पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासबाट खटिइ गएको टोलीले निजलाई पचास हजार घुस वापतको रकम लिईसकेको अवस्थामा बैंकको कार्यालय परिसर भित्रैबाट उनलाई नियन्त्रणमा लिइएको हो । काफ्लेमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

एनबी बैंकको डेपुटी सिइओमा श्रेष्ठ र एजिएममा देवकोटा नियुक्त

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएका छन् । सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर शुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए । उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सीए कोर्ष पूरा गरेका हुन् । श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी)अन्तर्गत नेपाल लगायत बंगलादेशमा पनि वित्तीय सुधार कार्यक्रमहरुमा काम गरेको अनुभव रहेको छ । त्यस्तै, एजिएम सुरेश देवकोटा पनि सीए हुन । इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)बाट सीए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षद समेत छन् । देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन् ।

आईएमएस् ग्रुपको २६औं वार्षिकोत्सव सम्पन्न, ३ सय बढीको सहभागिता

काठमाडौं । आईएमएस् ग्रुप आफ्नो स्थापनाको २६औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले एक कार्यक्रमबीच ग्रुपका कर्मचारीद्धारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गराएको थियो । साथै, विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत अन्य २० कम्पनीहरु रहेका छन् । उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका दिरेक्टर विमल सावर्थिया सिइओ डिकेश मलहोत्रा, ३ सय भन्दा बढी कर्मचारी लगायत अन्यको सहभागिता थियो । कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसैगरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २६ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताएका छन् । साथै, आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु आईएमएस् ग्रपले चुम्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । हाल आइएमएस ग्रुपको कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित रहेको बताएको छ ।

स्याङ्जामा चेम्वरको कर सम्बन्धि प्रशिक्षण

काडमाडौं । स्याङजा चेम्वर अफ कमर्सको आयोजनामा एकदिने कर शिक्षा तथा चेम्वर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन गरी केन्द्र, जिल्ला, नगर र गाउँंस्तरीय गरी देशभर चेम्वरका शाखाहरु गठन गरेको जानकारी दिएका छन् । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका निर्देशक डा. भगवान खड्काले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा स्याङजा जिल्ला चेम्वर अफ कमर्सका पदाधिकारी एवं सदस्य लगायत उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सीईओ स्नातक हुनुपर्ने, याेग्यता नपुगेका हट्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक हुन न्युनतम् स्नातक पास गरेको हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरी सीईओ र सञ्चालकको शैक्षिक योग्यता निर्धारण गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐन (वाफिया) लागु भएपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमुख कार्यकारीको योग्यता तोकेको हो । स्नातक भन्द कम योग्यता भएका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक अब स्वत पदमुक्त हुने भएका छन् ।