सोमबारबाट नगरपालिकाका काम सञ्चालन, जनप्रतिनिधिद्धारा सुरक्षाको माग
भक्तपुर । मध्यपुरथिमि नगरपालिका सोमबारबाट काम सञ्चालन भएको छ । मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै नगरपालिकाका काम ठप्प पार्ने निर्णय गरेको थियो । यद्यपि सधैँ काम रोक्दा सेवाग्राही मर्कामा पर्ने भएकाले सेवाग्राहीलाई ध्यानमा राख्दै आजबाट नगरपालिकाको काम नरोक्ने निर्णय सहित सबै नगरपालिकाले काम सञ्चालन गरेको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिएका छन् । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै जनप्रतिनिधिको सुरक्षा माग गरिएको उनले बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल समक्ष जिल्ला समन्वय समिति, तीन वटा नगरपालिकाका कार्यालयका प्रतिनिधिले आक्रमणकारीलाई कारवाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन नै गरेर प्रमुख श्रेष्ठमाथिको सांघातिक आक्रमणको घोर निन्दा गर्दै २४ घण्टाभित्र आक्रमणकारीलाई पक्राउ गर्न माग गरेको हो । जिसस प्रमुख नवराज गेलालले दिनदहाडै प्रमुखकै घरमा पुगेर उहाँको निजी सवारी साधन तोडफोड गर्दै प्रमुखमाथि सुनियोजित रुपमा आक्रमण भएको बताउँदै आक्रमणकारीलाई पक्राउ गरी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्। पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले निरङ्कुश पञ्चायती व्यवस्था र १० वर्षे जनयुद्धमा समेत प्रभाव नपरेको भक्तपुरमा अहिले राजनीतिमा दरार ल्याउने, नगरपालिका र पार्टीमा फुट ल्याउने तत्वबाट श्रेष्ठमाथि आक्रमण भएको आशंका गर्दै जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गरे। प्रमुख जिल्ला अधिकारी पोखरेलले भने श्रेष्ठमाथिको आक्रमण आतंककारी गतिविधिको एउटा नमूना भएको बताउँदै दोषी कानूनी कारवाहीबाट कुनै हालतमा उम्कन नसक्ने बताए । उनले आक्रमणकारी छिट्टै पक्राउ हुने र सुरक्षा व्यवस्था कडा पार्ने बताएका छन् । यता नेकपा (एमाले) भक्तपुरजिल्ला कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै एमाले भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं एमाले मध्यपुरथिमि नगर संयोजकसमेत रहनुभएका श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको छ । एमाले जिल्ला अध्यक्ष बचन देउजाले आक्रमणकारीलाई २४ घण्टाभित्र पक्राउ गरी कारवाही नगरे कडा आन्दोलन गर्ने बताए । त्यस्तै नेपाली काँग्रेस मध्यपुर नगर समितिले पनि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । रासस
२० प्रतिशत हकप्रद पछि कुमारी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ रहेको थियो ।
नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखाै खर्चने दिन सकिए, अब १०० रुपैयाँमा पाइने
काठमाडौं । तपाईले नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । शुल्क महंगो भएर अध्ययन गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् समता अस्पतालले तपाइको इच्छा पुरा गर्ने छ । समताले १ सय रुपैयाँमा नर्स, अहेव, एचए र ल्यावटेक्निसियनको अध्ययन गराउने भएको छ । यसका लागि अस्पतालले काम शुरु गरेको छ । यही वर्षदेखि सञ्चालनमा ल्याउने तयारी समताको छ । यसबाट न्युन आय भएका व्यक्तिले पनि नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए विषय पढ्न पाउने भएका हुन् । अस्पतालले भर्ना फि लगायत गरी सबै कोर्शका लागि १ सय रुपैयाँ तिरेपछि पठ्न पाइने छ । एक पटक १ सय रुपैयाँ तिरेपछि विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन । अहिले नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले अध्ययन शुरु गरेपछि गरिवको पंहुच यी विषयमा हुने छ । पैसा भएकाले मात्र पढ्न पाएकोमा अब समताले १ सय रुपैयाँमा पुरै कोर्स अध्यन गर्न सकिने छ । यो वर्षदेखि १ सय रुपैयाँमा कक्षा शुरु गर्ने तयारी समताले थालेको छ । हाल अस्पताल मात्र सञ्चालन गरिरहेको समताले अब १ सय रुपैयाँमा स्वास्थ्यकर्मी उत्पादन गर्न लागेको हो । सरकार नर्स, अहेव कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको छ । सरकारले यो वर्षभित्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता जनाएको समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले बताए । असपतालले पहिलो चरणमा नर्स, अहेव, ल्यावटेक्निसियन र एचएका लागि ४०÷४० जना भर्ना लिने भएको छ । न्युनआय भएका व्यक्तिहरु धेरै पैसा नभएको कारणले अस्पताल जान डराउँछन् । शरीरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज चिटिक्क देखिन्छ । होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ । आफुलाई लागेको रोगको जानकारी बाहिरको काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जी थमाउँछन् ।अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका २५ जना विशेषज्ञ डाक्टर उपलव्ध छन् । बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका आम नगरिकहरु दिन दिनै पैसाको चिन्ताले झनै बिरामी भहिरहेका छन् । तर अब यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् । अस्पताल सञ्चालनमा आएको १ वर्ष भएको छ । १ वर्षमा यस अस्पतालले ३० हजार बिरामीलाई उपचार गरी सकेको साथै दैनिक करिब २ सय जना बिरामीले यस अस्पतालबाट सेवा लिईरहेका छन् ।
जनता बैंकद्धारा निःसहाय सहयोग परिषदलाई एक लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । जनता बैंक नेपालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् । धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने बैंकले बताएको छ ।
चन्द्रागिरीमा १८ प्रश्न अनुत्तरित, नेप्से १५०० पुगेपछि तल झर्ने (फाेटाे फिचर)
काठमाडौं । पत्रकारको जन्म अर्काको कथा सुन्न, अर्काको कहानी लेखिदिने र अर्काका सुखदुःख बोलिदिन भएको हो, आफ्नो लेख्न होइन । तर संस्मरणको रुपमा म आज आफ्नै कार्यालय विकास मिडिया परिवारको एकदिने भ्रमणको बारेमा लेख्दैछु । ‘यसपाली नयाँ वर्ष रमाइलोसँग मनाऊँ । बैंशाख १ गते विकास मिडिया परिवार चन्द्रागिरी घुम्न जाऊँ’ साथी खेम अधिकारीले चैतको अन्तिम साता प्रस्ताव गरे । ‘सबै जनाबीच छलफल गरौं’ मैले भने । भोलिपल्ट छलफल भयो र २ गते चन्द्रगिरी भ्रमणमा जाने सहमति जुट्यो । चैत १७ गते मोटरसाईकल दुर्घटनामा परेर दाई दीपक पौडेलको निधनले नारायण पौडेल शोकमा थिए । दुर्घटनासँग जोडिएको कार्यमा थप समय दिनुपर्ने भएकोले उनी काठमाडौं फर्कन केही दिन ढिला हुने भयो । नारायणको अनुपस्थितिमा विकास मिडिया परिवार चन्द्रगिरी भ्रमणमा जाने र रमाइलो गर्ने भन्ने कुरै भएन । बैशाख २ गतेको कार्यक्रम ७ गते सर्यो । विकास मिडियामा रमाइलो वातावरण सिर्जना गर्नेमा नारायण, सन्दीप भट्टराई, खेम अधिकारी र आशिषको भूमिका बढी हुन्छ । चन्द्रागिरी भ्रमण जानु पूर्वको तयारी र कार्यक्रमको जिम्मेवारी आशिष र सन्दीपले पाए, सबै साथीसँग समन्वय गर्ने गरी । विकास मिडियाको प्रकाशन देशविकास साप्ताहिक र न्यूजपोर्टल विकासन्यूजमा नियमित क्रियाशिल २२ जना मध्ये १८ जना मात्र चन्द्रागिरी भ्रमणमा निस्कियौं । आफन्तको विवाहसहितको वाध्यात्मक कारण जनाउँदै ४ जना साथीहरु भ्रमण सहभागि हुन सकेनन् । छातीमा ‘देशविकास’ पिठ्यूउँमा ‘विकासन्यूज डट कम’ प्रिन्टेड सेतो टिर्सट लगाएर टिमका सबै साथी ‘सँगै’ हिड्दा हामी मात्र खुशी भएनौं, बाटोमा विकास मिडियाको जुझारु टिम देख्ने मध्ये अधिकांश मुस्कुराए । यतिसम्म कि चन्द्रागिरीको विभिन्न आकर्षक क्षेत्रमा फोटो खिचाउने क्रममा अरु यात्रीहरुको भीडले हामीलाई प्राथमिकता दियो । मान्छे आकर्षित हुने फक्रेको फूलमा हो, ओइलाएको फूलमा होइन । ज्यानले साथ दिएसम्म काम गर्ने कर्मयोगि राजधानीबासीहरुको लागि बेलाबखत घुमघाम र आनन्द लिनको लागि चन्द्रागिरी पहाडको टुप्पो साँच्चिकै रमणीय ठाउँ छ । कम्तिमा धुलो, धुवाँलगायतको वातावरणीय प्रदुषणभन्दा माथि पुगिन्छ । चन्द्रगिरीको पानी मुखमा हाल्दा र एक धड्कन लामो स्वास लिदाँ पनि छुट्टै मज्जा हुन्छ । त्यहि मज्जा लिन विकास मिडिया परिवार चन्द्रगिरी चढेको थियो । राजु पौडेल र धर्मराज अर्यालसँग समन्वय गरी तय गरिएको स्थान फाइन डाइनिङ रेष्टुरेन्ट झोला बिसाएर हामी भालेश्वर मन्दिर दर्शनमा निष्कियौं । जहाँ मान्छेको भीड लाग्छ, त्यो ठाउँ प्रदुशित हुन्छ । मन्दिरको दर्शन गर्न वा केबुलकार चढ्न वा प्राकृतिक वातावरणमा वा चन्द्रागिरी पहाडको टुप्पोमा मानवनिर्मित पूर्वाधारमा मनोरञ्जन लिन दैनिक सरदर २००० मानिस पुग्छन् । तर यो ठाउँमा फोहोर देख्नु पर्दैन । मानिसहरु वातावरण र परिवेश अनुसार कृया, प्रतिकृया जनाउँछन् । हामीले गोलाप्रथामा आधारित रमाइलो खेल खेल्ने क्रममा चौरमा कागजको टुक्रा खसाल्यौं । त्यसले फोहोर देखियो । हामीले ती टुक्रा टिपेर झोलामा हाल्यौं । चन्द्रागिरीको सुन्दरतामा आफूलाई उभ्याउनु, फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु सबैको रुचिको विषय भैगो । तैपनि पिउन र पिलाउन, नाच्न र नचाउन हामीले धेरै समय बितायौं । स्वास्थ्यले चुनौति गरेपछि पृथराज थेगिमले ‘सोचे जति, चाहेजति’ इन्जोइ गर्न पाएनन् यस विधामा । फर्केपछि समिक्षा बैंठकमा उनले भने । प्रविधिको प्रयोगसँगै सार्वसाधारणमा गाउने कला र गला गुम्दै गएको छ । हाम्रो टिममा पनि त्यो कला र गला भएको साथी रहेनछन् । यशोदा पौडेलले नचाउने गीतहरु पेन ड्राइभमा लगेकी थिइन् । तर त्यहाँको साउण्ड सिस्टमको लागि पेन ड्राइभ काम नलाग्ने पुरानो प्रविधि भईसकेको रहेछ । इन्टरनेटमार्फत यूट्युवमा पहुँच सजिलो रहेछ । वाईफाई मज्जाले चल्दोरहेछ । २०७३ र २०७४ सालमा नेपाली सर्जक र गायकहरुले नचाउने गीत बनाएर यूट्यूवमा राखेकै छन् । त्यहि घन्काइयो र नाचियो । नाच्न त सबै नाचे तर यशोदा पौडेल र खेमराज श्रेष्ठले अछ्छा नाचे । नाच्न आनकानी गर्ने नरबहादुर कार्की र सन्दीप भट्टराईलाई आशिष ढुंगानाले काँधमा राखेर नचाई दिएपछि नाच्न लाज मान्ने सिर्जना थपलिया, रिचा दाहाल, मन्जरी पौडेल, शंकर अर्याल, शंकर तिमल्सिना, इन्द्र नगरकोटीलाई नाच्न रहर पनि लाग्यो, कहर पनि लाग्यो । वातावरण यस्तो बन्यो कि मदिरा सेवन नगर्ने नारायण पौडल मदिराको बोटल बोकेर नाच्न थाले । नपिए पनि मन्जरीले गिलासमा वाइन राखेर फोटो खिचाईन् । पहिलो पटक प्रकाशले वाईन चुस्की लगाए । पिउने पिलाउने मामलामा राजाराम न्यौपानेको पनि नयाँ पोल खुल्यो । फोटोमा दीपाश्री निरौलासँग चुम्बन गरेको फोटो खिचाएर आशिष र प्रकाशले हँसाउने र रिसाउने वातावरण बनाए । चुम्बन अभिनय गर्दा अंकमाल मिलाउन, ओठ मिलाउन, नाक मिलाउन आदेश दिदै परफेक्ट फोटो खिच्ने मन्जरी र यशोदाको वर्णनले कम्ता हसाँएनन् । बसमा फर्कदै गर्दा उक्त फोटो नै मजाकको विषय बन्यो । बसमा पछाडि बस्ने १५ जना पेट मिचिमिचि हस्दा अगाडि सिटमा बस्ने सिर्जना र रिचा रिसाएको पाइयो । शैली र शब्दमा गडबड भएछ । ड्राइभरसँग बस्ने इन्द्रले सुइकै पाएनन् । ‘हास्दा हास्दा मेरो दुबै गाला दुख्यो’ मैले मेरो दुःख सुनाए । ‘हास्दा हास्दा मेरो पनि गाला दुख्यो’ धेरैले भने । हामी विहान १० बजेदेखि रमाइलोमा जुटेका थियौ, साँझ साढे सात बजेसम्म निरन्तर हाँसोको फोहोरा चलिरह्यो । बसबाट ओर्लदा सबै साथीको एउटै भनाई रह्यो–‘यस पटकको भ्रमण अविस्मरणीय नै रह्यो, सोचेभन्दा धेरै रमाईलो भयो ।’ तर हामीले महत्वपूर्ण अवसर गुमायौं । चन्द्रागिरी हिल्सका अध्यक्ष तथा सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई हामीले त्यस कार्यक्रममा अथितिको रुपमा निमन्त्रणा गरेका थियौं । उनले निमन्त्रणालाई स्वीकार गरेका थिए । ढकाललाई सोध्न हामी १८ जनाले १८ वटा प्रश्न तयार गरेका थियौं । जीवन, सम्बन्ध, व्यवसाय, सफलता, राजनीति लगायत बहुविधामा प्रश्न तयार गरेका थियौं । उनी ढिलासम्म पनि अाइपुगेनन् । उनकाे खाेजी यति भयाे कि म्यू टावरमा चढेर दुरविन लगाएर हेरियाे । बाटाेमा अाउँदै गरेकाे पनि देख्न सकिएन । दिउँसो ३ बजेपछि फाेन गर्दा थाहा भयाे कि चितवनबाट काठमाडौं आउने फ्ल्लाइट डिले भएछ । हाम्रा १८ प्रश्न अनुत्तरित रहे । हामी रमाइलोमा झुमिरहदा चन्द्रागिरी हिल्सका सञ्चालक अम्बिकाप्रसाद पौडेल र महाप्रबन्धक अभिशेक बिक्रम शाह थोरै समय सहभागी भए । पौडेल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष र उदाउँदा ठूला लगानीकर्ता पनि हुन् । यसै साता नेप्से ११० अंकले बढ्यो । विकासन्युजका सम्पादक बाबुराम खड्काले प्रश्न गरिहाले–‘सेयर बजार यू टर्न भएको हो ?’ ‘भालेश्वर मन्दिरमा आएर झुटो बोल्न भएन, सत्य बोल्नुपर्छ । यस मन्दिरमा तपाईहरु पनि एउटा वर माग्नुहोस्, त्यो पुरा हुन्छ । यो मेरो विश्वास हो ।’ उनले थपे–‘मेरो हिसावमा नेप्से बढेर १५०० छुन सक्छ, त्यसपछि बजार घट्न सक्छ ।’ हेक्का राखौं, भविष्यवाणीका आधारमा सेयर बजारमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन्छ । विकास मिडियाको यस भ्रमणलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।
केरुङ-काठमाडौ रेलमार्ग चीनलाई, भारतले काठमाडौं-रक्सौल नपाउने
काठमाडौं । चीनले केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाईसकेको छ । तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न भारतले भने पाउने छैन् । किनकी काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङलाई जिम्मेवारी दिईसकिएको छ । ‘केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन चीनले गर्छ तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन भने हामी आफैंले गर्ने हो, त्यसका लागि ठेक्का लागिसकेको छ’,रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उनले नेपाल र चीनबीच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीनले नै गर्न लागेको बताए । त्यस्तै, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएको द्धिदेशिय सहमति अनुसार काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको काम अघि बढ्ने भएपनि सम्भाव्यता अध्ययन भने नेपाल आफैंले गर्न लागेको पनि उनले जानकारी दिए । उनले काठमाडौं–रक्सौल विद्युतिय रेलमार्ग स्ट्याण्डर्ड गेजमा निर्माण हुने र त्यसमा नेपाली प्राबिधिकहरुको प्रत्यक्ष सहभागीता समेत रहने पनि बताए । नेपालले सम्भाव्यता अध्ययन सम्पन्न गरेर डिपीआर समेत आफैं बनाउन सक्ने पनि उनले बताए । नेपालले गरेका अध्ययनहरुका आधारमा निर्माणको मोडल र लगानीबारे भारतसँग थप छलफलगरेर निर्माण प्रक्रिया आरम्भ हुनेछ । तर केरुङ–काठमाडौं रेलमार्ग भने शतप्रतिशत अनुदानमा बनाइदिन नेपालले चीन सरकारलाई आग्रह गरिसकेको छ । भर्खरै चीन भ्रमण गरेर फर्किएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा बनाईदिन आग्रह गरेका हुन् । करिब डेढ महिना अघि देखि नै चीनले सो रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । करिब ७५ किलोमिटर लामो हुने केरुङ–काठमाडौं रेलमार्गको प्रति किलोमिटर लागत ४ अर्ब ५० करोड हुनेछ । जसको अनुमानित कुल लागत ३ खर्ब ३७ अर्ब ५० करोड भन्दा बढि हुनेछ । काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको लम्बाई करिब १०० किलोमिटरको हुनेछ । जसको अनुमानित लागत ३ खर्ब आसपास हुन सक्नेछ । कोरियाको सुसुङ कम्पनीले आगामी ६ महिनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ भने त्यसपछि नेपालले डिपीआर निर्माणको प्रक्रिया अघि बढाउनेछ । भारतले नेपालका अधिकांश ठुला परियोजना बनाईदिने भन्दै ओगटेर राख्दै आएको छ । तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्ग भने नेपालले आफ्नै निगरानी र सहभागीतामा अघि बढाउन सक्ने अवस्थामा रहेको पनि उपाध्यायले दावी गरे । ‘पञ्चेश्वर, महाकाली सन्धी, हुलाकी राजमार्ग, माथिल्लो कर्णाली जसरी यो आयोजना भारतले ओटेरे मात्रै बस्ने अवस्था छैन्, नेपाल सरकारको प्रत्यक्ष संलग्नतामा अघि बढ्छ’, उपाध्यायले भने ।
५२ मेगावाटको लिखु ४ आयोजना बनाउन ठेक्का सम्झौता, २०७७ असाेजदेखि बिजुली बल्ने
काठमाडौं । निजी क्षेत्रले प्रवद्र्धन गरेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माणको ठेक्का नेपाली र भारतीय कम्पनीले पाएका छन् । प्रवद्र्धक ग्रिनभेन्चर्स प्राइभेट लिमिटेडले आयोजनाको विद्युतगृह र १ किलोमिटर लामो सुरुङको काम गर्न नेपालको साउथ एसियन इन्फास्टक्चर प्राइभेट लिमिटेड र भारतको एसएसएनआर प्रोजेक्टस प्राइभेट लिमिटेडले मुहान र साढे ३ किलोमिटर लामो सुरुङ खन्ने ठेक्का पाएका छन् । दुबै ठेकेदार कार्यस्थलमा परिचालन भइसकेको आयोजना प्रमुख बद्री रिजालले बताए । उनले इलेक्ट्रोमेकानिककाको ठेकेदार चयन गर्न बाँकी रहेको उनले जानकारी दिए । इटालीको सीएमसी डीरेभनाको वित्तीय अवस्था राम्रो नभएपछि ग्रिनभेन्चर्सले उसंगको ठेक्का सम्झौता तोडेर २ कम्पनी नियुक्त गरेको हो । साउथ एसियनले २२ मेगावाटको वाग्मति आयोजना निर्माण गरिरहेको उनले बताए । नेपालको बिशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी रहेको आयोजनाबाट आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।
९ महिनामा ज्योति विकास बैंकको नाफा २२ करोड २४ लाख
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ज्योति विकास बैंकको खुदनाफा बढेको छ । गत चैतसम्म बैंकले २२ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रुपमा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२७, निक्षेप लागत ९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.३०, आधार ब्याजदर १२.६५ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) ५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको संचित कोष बढेर ४२ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।