वल्ड मर्चेन्ट बैंकिङको साधारणसभा वार्षिक असार ३१ गते हुँदै, १५ गतेदेखि बुक क्लोज
काठमाडौं । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि असार १५ गतेदेखि असार ३१ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
टेलिकमको जिएसएम सेवा अब बाग्लुङमा पनि, छ सय घरधुरीका बासिन्दा प्रभावित
काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको बिकट स्थान तमान खोलामा विटिएस स्थापना गरि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेकाले कम्पनीले असार ९ गते देखि उक्त स्थानमा यस सेवा सञ्चालनमा ल्याएको हो । तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको बताएको छ ।
नेप्सेमा दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत, हेरौँ क-कसको कति?
काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र देवः विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा जम्मा २० लाख २ हजार कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर थपिएको छ । एक्सेलको ७ लाख ६९ हजार १२५ कित्ता बोनस थपिएको छ । त्यस्तै, देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
कन्काई विकास बैंकको असार १९ गते बुक क्लोज, २१४ प्रतिशत हकप्रद निष्काशन गर्दै
काठमाडौं । कन्काई विकास बैंकको आगामी असार १९ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले २१४ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४२ रुपैयाँ
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १३९२ रुपैयाँ रहने भएको छ ।
मेयर विद्यासुन्दर शाक्यको पहिलो गाँसमै ढुंगा, स्मार्ट मोबाइल वितरण सम्बन्धि निर्णय फिर्ता
काठमाडौं । महानगरवासीले ‘स्मार्ट’ ठानेर जिताएका मेयर विद्यासुन्दर शाक्यको पहिलो गाँसमै ढुंगा लागेको छ । ‘स्मार्ट मोबाइल’ बाड्ने निर्णयसँगै विवाद्मा तानिएका मयेरले अन्ततः मोबाइल वितरण प्रक्रियालाई रोकेर आफ्नो निर्णयलाई उल्टाएका छन् । काठमाडौं महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि मोबाइल फोन खरिद गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ । नगरपालिका पदाधिकारीलाई महँगो मोबाइल बाड्ने सम्बन्धमा जनस्तरबाट चर्को विवाद् आएपछि महानगरले आफ्नो निर्णयलाई उल्टाएको हो । महानगरपालिकाका नवनिवार्चित जनप्रतिनिधिहरूको सुरुवाती शैली नै सुविधा भोगी र विलासी देखिएको भन्दै जनस्तरबाट विरोध आएको हो । नगर कार्यपालिकाको गत ६ असारमा बसेको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि महँगो मूल्यको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो । बैठकले प्रमुख र उपप्रमुखका लागि जति महँगो भए पनि मोबाइल किनेर बिल पेश गर्नुपर्ने र नगर कार्यपालिका सदस्यहरूका लागि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्न सकिने निर्णय गरेको थियो। आफ्नो निर्णय सर्वत्र विरोध भएपछि नगर कार्यपालिकाको बैठक बसी हाललाई सो निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । महानगरका नवनिर्र्वािचत प्रमुख विद्यासुन्दर शाक्यले बैठकपछि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने गरिएको निर्णय हाललाई कार्यान्वयन नगर्ने उल्लेख छ। निर्वाचित कार्यपालिका सदस्यहरूलाई जनताको सेवा गर्न, जनप्रतिनिधि र जनताबीच सूचना र सम्पर्क जीवन्त गर्न, समग्र सेवा र विकास कार्य प्रभावकारी बनाउने उद्देश्यले असल नियतका साथ मोबाइल फोन प्रयोग गर्न बढीमा ३० हजार रुपैयाँ निकासा दिर्ने निर्णय भएकोमा सो निर्णय हाल कार्यान्वयन नगर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिका मेयर शाक्यले बताए ।
कामना विकास बैंकको हकप्रद सेयर आजदेखि खुला, कहाँ देखि आवेदन भर्ने ?
काठमाडौं । कामना विकास बैंकले आज(आइतबार)देखि ३० प्रतिशत अर्थात १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २४ लाख १३ हजार १३७ कित्ता सेयर निष्काशन गरेको हो । बैंकका अनुसार उक्त सेयर गत मंसिर १० गतेसम्म कायम साविक शेयरधनीहरुले मात्र भर्न पाउने छन् । शेयरधनीहरुले सेयरको बिक्री खुला गरेको दिनदेखि साउन १५ गतेसम्म भर्न पाउने कम्पनीले जनाएको छ । बैंकले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिल क्यापिटल मार्केट्सलाई नियुुक्त गरेको छ । इच्छुक सेयरधनीहरुले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिल क्यापिटल मार्केट्सबाट सेयर भर्न सक्नेछन् । साथै, कामना विकास बैंक लि.को रजिष्टार्ड-केन्द्रीय कार्यालय, पोखरा तथा पोखराको विभिन्न शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, बीरुगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
पूर्वाधार सम्बन्धी राष्ट्रिय मापदण्ड २१ दिनमा तयार पार्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘पूर्वाधार सम्बन्धी राष्ट्रिय मापदण्ड’ तयारी शुरु गरेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सोही अनुसारको पूर्वाधार निर्माण गर्न मापदण्ड तयारी शुरु गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । गत साता बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठकले २१ दिनभित्र उक्त मापदण्डको मस्यौदा तयार गरिसक्न निर्देशन दिएको शर्माले बताए । सो समयभित्र केन्द्र, प्रदेश र स्थानीय तहमा उपभोग गर्ने सडक, पुल, झोलुङेपुल, स्वास्थ्य चौकी, विद्यालय, सहरी पूर्वाधारतर्फ अस्पताल, बस टर्मिनल, सहरी सुन्दरता, ढल व्यवस्थापन र सरसफाइ तथा बिजुली र सञ्चारसम्बन्धी पूर्वाधारको न्यूनतम मापदण्ड निर्माण गरिने गरिने छ । पूर्वाधारसम्बन्धी उक्त मापदण्ड तयार गर्न कार्यालयले समिति गठन गरेर कार्य सम्पादन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी बताए । पूर्वाधार निर्माणमा एकरूपता ल्याउन मन्त्रालयले विभिन्न सरोकारवाला निकाय तथा मन्त्रालयसँग सहकार्य गरी उनीहरूको राय, सल्लाह, सुझाव तथा प्राविधिक सहयोगमा मापदण्ड तयार पारिने बताइएको छ । मापदण्डको मस्यौदा तयारका लागि सहरी विकास, सडक विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका प्रमुखसँग प्राविधिक सहयोग लिने भएको छ । राजमार्ग तथा रणनैतिक सडक, खानेपानी, जलविद्युत् लगायतका ठूला आयोजनाहरूको निर्माणमा केन्द्र सरकारको प्रत्यक्ष सहभागिता रहने छ भने स्थानीय तहको पूर्वाधार निर्माण प्रदेश सरकार र स्थानीय सरकारको जिम्मा रहने छ । अन्य पूर्वाधार निर्माणका लागि स्थानीय तहलाई नै जिम्मा दिए पनि झोलुङेपुल निर्माणको काम भने केन्द्रले नै गर्ने छ । हाल मुलुकभर ६ हजार ५ सय झोलुङे पुल निर्माण भइसकेका छन् । सरकारले मन्त्रालय अन्तर्गत स्थानीय ग्रामीण सडक, खानेपानी, सिंचाइ, ऊर्जा, भवन, सामाजिक पूर्वाधार तथा अन्य पूर्वाधारसम्बन्धी आवश्यक नीतिहरूको निर्माण सहयोग गर्न पूर्वाधार विकास महाशाखा यसअघि नै गठन गरी सकेकोे छ ।