विकासन्युज

गुँरास लाईफको ८% बोनस र ५०% हकप्रद सेयर पारित, सञ्चालकमा ५ जना नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरधनीलाई ८ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । साथै, कम्पनीले उक्त बोनस पश्चात कायम हुने पूँजीमा आफ्ना सेयरधनीलाई ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित भएको छ । कम्पनीको उक्त प्रस्तावलाई आइतबार सम्पन्न कम्पनीको आठौं साधारण सभाले पारित गरेको हो । साथै, सभाले कम्पनीले साधारण प्रस्तावहरुमा आ.व. २०७३/२०७४ का लागि लेखा परिक्षक नियुक्ति लगाएत कम्पनीमा संस्थापक संचालकको रिक्त ४ स्थानमा विवेक दुगड़, रिषिकुमार गाडिया, शम्भुप्रसाद सुवेदी, मेघ राज पौडेलका साथै स्वतन्त्र संचालकमा शिवबहादुर श्रेष्ठलाई नियुक्ती गरेको छ । साधारणसभाले चुक्ता पुँजी बृद्धि लगाएत अन्य विविध विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विषयहरु समेत सर्व सम्मतीले पारित गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एशिया बैंकको थप नयाँ शाखा सुनसरीको दुहवीमा

काठमाडौं । एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरी जिल्ला स्थित दुहवीमा आइतबार एक समारोहका बिच सञ्चालन भएको छ । उक्त शाखाको समुद्घाटन दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी र दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

बर्दिबास-लालबन्दी रेलमार्गमा ७० प्रतिशत माटो भर्ने काम सकियो, जमिनबाट ५ मिटर माथीसम्म माटो भरिँदै

काठमाडौं । पुर्व पश्चिम रेलमार्गको बर्दिबास– लालबन्दी खण्डमा ७० प्रतिशत माटो बिछ्याउने काम सम्पन्न भएको छ । रेलवेको भाषमा यसलाई सिभिल इञ्जिनियरिङको काम भनिन्छ । कुल २५ किलोमिटर लम्बाईको बर्दिबास–लालबन्दीमा बिभिन्न ६ वटा प्याकेजमा काम भैरहेको छ । ‘औषतमा ७० प्रतिशत माटो भर्ने काम सम्पन्न भएको छ, अब बर्खा लागेकाले काम द्रुतगतिमा अघि बढाउन मुस्किल छ, तै पनि मौसमी अनुकुलता रहुञ्जेल काम जारी रहन्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । सागरनाथ वन विकास परियोजनाले ओगटेको १० किलोमिटर क्षेत्रमा भने रुख काटेर माटो भर्ने काम थालिएको छ । ४ र ५ नम्बर प्याकेजमा पर्ने सो खण्डमा भने जम्मा २० प्रतिशत मात्रै काम भएको छ । अन्यत्र भने ८० प्रतिशतसम्म काम सम्पन्न भैसकेको छ । आगामी मंसिरसम्ममा माटो भर्ने काम सम्पन्न भैसक्ने उपाध्यायले बताए । रेलमार्गको प्रत्येक ३ सय मीटरमा एउटा क्रसिङ लाइन निर्माण हुने पनि उनले बताए । तल र माथीका नागरिकलाई आवातजावत गर्नका लागि रेल लिकको तलबाट त्यस्तो बाटो निर्माण गरिनेछ । ‘प्रत्येक ३ सय मिटरमा मालवाहक सवारी साधन छिर्न सक्ने अण्डर पास(पासिङ लाइन) निर्माण हुनेछ’, उपाध्यायले भने । रेल विभागले आगामी आर्थिक बर्षका लागि ४ अर्ब २ करोड बजेट पाएको छ । एक किलोमिटर रेलमार्ग निर्माणका लागि करिब ३५ देखि ४० करोेड लागत आवश्यक पर्ने अनुमान गरिएको छ । विभागले आगामी आर्थिक बर्षमा लालबन्दी देखि निजगढसम्म रेलमार्ग निर्माणको काम अघि बढाउने तयार गरेको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, आइतबार ७३ करोडको सेयर कारोबार

काठमाडौं । आइतबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ८ दशमलब २३ अंकले बढेर १५६७ दशमलब ७२ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन बजारमा ७३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १४८ कम्पनीको कारोबार भएको बजारमा १५ लाख ८५ हजार ९६७ कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी प्रभु बैंकको सस्थापक सेयर कारोबार भएको छ । बैंकको ११ करोड ७२ लाख कित्ता संस्थापक सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ करोड १५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कारोबार भएका मध्ये बीमा समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी रहेका समूहको परिसूचक उकालो लागेका छन् । बैंकिङ र होटल समूहको परिसूचक दोहोरो अंक क्रमशः १२ र ११ अंकले उकालो लागेका छन् । त्यस्तै, अन्य बाँकी रहेका समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सो दिन सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत कमाएका छन् । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।

वल्ड मर्चेन्ट बैंकिङको साधारणसभा वार्षिक असार ३१ गते हुँदै, १५ गतेदेखि बुक क्लोज

काठमाडौं । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि असार १५ गतेदेखि असार ३१ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

टेलिकमको जिएसएम सेवा अब बाग्लुङमा पनि, छ सय घरधुरीका बासिन्दा प्रभावित

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको बिकट स्थान तमान खोलामा विटिएस  स्थापना गरि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेकाले कम्पनीले असार ९ गते देखि उक्त स्थानमा यस सेवा सञ्चालनमा ल्याएको हो । तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको  बताएको छ ।

नेप्सेमा दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत, हेरौँ क-कसको कति?

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र देवः विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा जम्मा २० लाख २ हजार कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर थपिएको छ । एक्सेलको ७ लाख ६९ हजार १२५ कित्ता बोनस थपिएको छ । त्यस्तै, देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

कन्काई विकास बैंकको असार १९ गते बुक क्लोज, २१४ प्रतिशत हकप्रद निष्काशन गर्दै

काठमाडौं । कन्काई विकास बैंकको आगामी असार १९ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले २१४ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।