विकासन्युज

२३ हजार घर बनाउन आवास पुनःनिर्माण परियोजना शुरु

नुवाकोट । भारतको सहयोगमा २३ हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पु¥याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पुयाउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिए ।   “तोकिएको स्थानीय निकायभित्र रहेका कूल २३ हजार ८८ लाभग्राहीको घर पुनःनिर्माण गर्ने योजनासहित पुनःनिर्माण परियोजनाले नुवाकोटमा काम शुरु गरेको छ ।” झाले भने, “कार्यालय एवं सम्पर्क केन्द्रको स्थापना, कर्मचारी नियुक्ति लाभग्राहीको अवस्था सर्वेलाई अघि बढाउन लागिएको छ ।” परियोजनाले जिल्लाको साविक विदुर नगरपालिकासहित, १८ गाविस बसुञ्चेत, बागेश्वरी, बालकुमारी, बुङ्ताङ, चारघरे, देउराली, दाङ्सिङ, गोस्र्याङ, जिलिङ, खरानीटार, खानीगाउँ, किम्ताङ, खङ्भञ्याङ, कल्याणपुर, मनकामना, मदानपुर, सामरी र सुन्दरादेवीलाई छनोट गरेको छ । परियोजनाले भूकम्प प्रभावितलाई आवास निर्माण अनुदान सम्झौता, प्रशासनिक कागजात मिलाउन सहजीकरण, नक्सापास, दक्ष जनशक्ति उत्पादन गर्न डकर्मी तालीमलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रम सञ्चालन हुने क्षेत्रका ९८ प्रतिशतले आवास निर्माण अनुदान सम्झौत पूरा गरेको, ७५ प्रतिशत लाभग्राहीले आवास निर्माण गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क रहेकाले परियोजनाको कार्यक्रम आकर्षक नहुने देखिएको छ । परियोजना सञ्चालन हुने क्षेत्रको केही स्थानमा अन्य सामाजिक संस्थाको सहयोग जारी रहेको, साविकका गाविसमा नक्सापास व्यवस्था कार्यान्वयनमा नरहेको, परियोजनाको कार्यक्रम सञ्चालनमा ढिलाइ भएको लगायतका कारण प्रभावकारी नहुने देखिएको हो । रासस

लोकसेवाको ५००० विज्ञापनमा २ लाख ३० हजार बढीकाे आवेदन, ७५३ जना खरिदारमा मात्रै ८८ हजारले दिए दरखास्त

काठमाडौं । पछिल्लो समयमा सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दै गएको देखिएको छ । निजामति सेवाका लागि लोकसेवा आयोगले ५ हजार ८२४ जनाको विज्ञापन गर्दा २ लाख ३० हजार ५७६ जना भन्दा बढीको आवेदन परेकाले सरकारी जागिरमा आकर्षण बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७४/०७५ मा लोसेवाद्धारा खुलाईएको विज्ञापनमा ठुलो संख्यामा सरकारी जागिरको लागि मानिसहरुले आवेदन दिएका हुन् । लोकसेवाले खुलाएको विज्ञापनमध्ये सबैभन्दा धेरै आवेदन खरिदारमा परेको छ । कम दरखास्त सहसचिवको विज्ञापनमा परेको छ । सहसचिवको ७८ जनाको विज्ञापनमा १६९१ जनाको आवेदन परेको छ भने उपसचिवको २१५ उपसचिवको विज्ञापनमा ६ हजार ४५ जनाको निवेदन परेको छ । त्यस्तै शाखा अधिकृतको ३९० जनाको विज्ञापनमा ४७ हजार ७ सय ९६ जनाले आवेदन दिएका छन् । यसैगरी ४८२ जनाको विज्ञापन खुलाइएको नायब सुब्बामा ७९ हजार, ३७ जनाको आवेदन परेको छ । खरिदारको ७५३ जनाको विज्ञापनमा सबैभन्दा धेरै ८८ हजार ४९६ जनाको आवेदन परेको लोक सेवा आयोगका सहप्रवत्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । लोकसेवाले विज्ञापन  दस्तुरबाट मात्रै ५५ करोड रुपैयाँ भन्दा बढी उठाउने गरेको छ । आयोगले शाखा अधिकृतको लागि १ हजार, नायाब सुब्बा ४०० र खरिदारको ३ सय शुल्क तोकेको छ । लोकसेवाको विज्ञापनमा सबैभन्दा धेरै राजस्व अधिकृतको विज्ञापनबाट उठेको छ । यो वर्ष अधिकृतको विज्ञापनबाट दोब्बर दस्तुर र आरक्षण बाहेक नै ४९ करोड ३६ हजार रावस्व उठेको हो । त्यस्तै नायाब सुब्बाको विज्ञापनबाट पनि दोब्बर दस्तुर र आरक्षण बाहेक नै ३ करोड २० लाख राजस्व उठेको छ । त्यसैगरी खरिदारको विज्ञापनबाट दोब्बर दस्तुर र आरक्षण बाहेक नै ३ करोड ६४ लाख ४० हजार उठेको छ । २०७५ सालदेखि लोकसेवा आयोग प्रदेशीय संरचनामा जाने तयारी गरेको छ । सुरक्षाका कारण पछिल्लो समयमा सकारी जागिरमा जनचासो बढेको देखिएको छ । रोजगारीका लागि पर्याप्त रुपमा अन्य क्षेत्र नआएपछि सरकारी जागिरमा आकर्षण बढेको हो ।

आधा दर्जन सार्वजनिक संस्था निक्षेप राख्न बैंक खोज्दै

काठमाडौं । आधा दर्जन सार्वजनिक संस्थाले मुद्धति निक्षेपमा लगानी गर्ने वाणिज्य बैंकसंग प्रस्ताव मागेका छन् । बीमा समिति, नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र समाज कल्याण परिषदले आफुसंग भएको वचत मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेका हुन् । बीमा समितिले दिने ब्याजदर सहित रकम २१ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । लगानी कोषले न्युनतम त्रैमाशिक ब्याज भुक्तानी हुने गरी १ वर्षका लागि निक्षेपको रुपमा बैंकमा राख्ने जानकारी दिएको छ । आउदो बैशाख ५ गते निक्षेप लिनका लागि बोलपत्र बुझाउन कोषले भनेको छ । ब्याजदर न्युनतम १० प्रतिशतलाई मात्र मान्यता दिने जनाएको छ । यस्तै पुनर्बीमा कम्पनीले पनि आफुसंग भएको रकम २ वर्षका लागि मुद्धति निक्षेपमा राख्न प्रस्ताव मागेको छ । कम्पनीले बैशाखद ४ गतेसम्म प्रस्ताव बुझाउन भनेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि संस्थागत निक्षेपकर्ताबाट बैंकले १३ प्रतिशतमा निक्षेप लिएका थिए । निक्षेप महंगो भएको भन्दै बैंकले मुद्धतिमा बढीमा ११ र साधारण वचतमा ८ प्रतिशत भन्दा बढीमा निक्षेप नउठाउने आन्तरिक सहमति गरेका छन् । बैंकले सर्वसाधरणलाई बराबर ११ प्रतिशत ब्याजमा निक्षेप उठाउने भएका छन् ।

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला भएको छ । केही संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बैंकले प्रक्रिया अघि बढाएको हो । बैंकले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन भनेको छ । पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिने बैंकले स्पष्टपारेको छ । बैंकले प्रस्तावित खरिद दर पनि मागेको छ ।

कमोडिटी सञ्चालन गर्न ४ कम्पनी धितोपत्र बोर्डमा पुगे, २१ दिन भित्र निवेदन दिनेले मात्र अनुमति पाउने

काठमाडौं । वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको तयारीमा रहेका कम्पनीले आउदो ३ साताभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने भएको छ । बोर्डले २१ दिनभित्र निवेदन दिन कमोडिटी सञ्चालकलाई भनेको छ । त्यसपछि आउने निवेदनलाई स्वीकार नगरिने उसले स्पष्टपारेको छ । हालसम्म ४ वटा कम्पनीले सञ्चालनको अनुमति दिएको र ३ साताभित्र निवेदन दिनेलाई मात्र सञ्चालन स्वीकृति दिन सकिने बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनकाअनुसार सिमेक्स र जीएमएलगायत ४ कम्पनीले सञ्चालनका लागि अनुमति मागेका छन् । बोर्डले कम्पनीको विषयमा अध्ययन गरिरहेको छ । यसअघि आधा दर्जन कम्पनी नियमन विना नै सञ्चालनमा आएका थिए । वस्तु विनिमय बजार विवादित बनेपछि सरकारले ऐन ल्याएर नियमन गर्न थालेको हो । विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । वेयर हाउसका लागि १५ करोड, राफसाफ तथा फछ्र्योटका लागि ७ करोड, व्यवस्थापकको लागि ५ करोड, परामर्शदाताका लागि १ करोड र वस्तु कारोबार दलालको लागि ५० हजार बराबरको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरिएको छ । साधारण सेयर (आईपीओ) निष्कासनका लागि हालसम्म व्यवस्था नगरिएको गिरीको भनाई छ । उनले आवश्यक पुर्वाधार तयार पुरा गरेकालाई सञ्चालन गर्न स्वीकृति दिने जानकारी दिए । देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण वस्तु विनिमय बजार सञ्चालन गर्न चाहिने साधन, स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय बजारलाई अनुमति दिन त्यस्तो आर्थिक दायित्वसहितको व्यवस्था गरिएको प्रवक्ता गिरीको भनाइ छ । यी सामानको कारोबार गर्न पाइन्छ वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

आरोहण व्यटमिन्टन कप रविलाई, चाडै १ लाख नगद राशी भएकाे प्रदेश स्तरीय खेल सञ्चालन हुने

काठमाडौं । पूर्वाञ्चल स्तरीय आरोहण सप्तमी खुल्ला ब्याटमिन्टन कप–२०७५ मिक्लाजुङ गाँउपालिका–४, रविले हात पारेको छ । आरोहण क्लब मिक्लाजुङ गाँउपालिका १, सप्तमी बजारको आयोजनामा चैत २९ देखि शुरु भएको उक्त आरोहण सप्तमी कप ओपन ब्याटमिन्टन टुर्नामेन्ट मेन्स डबल्सको जित रविको टिममा रहेको जोसन श्रेष्ठ र प्रकाश राईले हात पारेका हुन् । आइतबार भएको फाइनल खेलमा फिदिमलाई कडा प्रतिस्पर्धाको माझ पछि पार्दै रविले विजय हात पारेको हो । विजयी टिमले पहिलो पुरस्कार नगद रू २२ हजार २२२ सहित ट्रफी तथा प्रमाणपत्रहरु प्राप्त गरेका छन् । त्यस्तै दोस्रो फिदिम र तेस्रो पुरस्कार इलाम जिल्लाले हात परेको क्लबले जनाएको छ । ती बिजयी टोलीहरुले समेत नगद, ट्रफी लगायत पुरस्कारहरु वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा संवोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले हालसम्म फुटबललाई मात्रै प्रथमिकता दिदै आएको भएता पनि अरु खेलहरुको समेत राम्रो सम्भावना रहेको बताए । ‘आगामी दिनमा गाँउपालिकाले खेलकुदको विकास गर्न ब्याटमिन्टन लगायका अन्य खेलहरुलाई पनि प्राथमिकतमा राखेर अघि बढ्ने छु,’ उनले भने । त्यस्तै क्लबका खेल संयोजक जंगबहादुर थापा मगरले समग्र गाँउपालिकाको खेल क्षेत्र विकास गर्न क्लबले आगामी दशै तिहारको अबसर परेर प्रदेश स्तरिय ब्याटमिन्टन टुर्नामेन्ट गर्ने बताए । ‘त्यसको लागि अन्य विधा थप्दै प्रथम हुनेलाई नगद १ लाख रुपैयाँको राशी प्रदान गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘सम्भवत यो नगद व्याटमिन्टन प्रतियोगिताको लागि ठूलोमध्येको एक हुनेछ ।’ क्लबको अनुसार सम्पन्न भएको खेलमा झापा, तेह्रथुम लगायत पुर्वाञ्चल क्षेत्रका २६ वटा टिम सहभागी थिए । खेल पाँचथर जिल्लाकै पहिलो निजी लगानीमा निर्माण भएको कब्बडहलमा भएको संयोजक मगरले जानकारी दिए ।

नेपालमा वैदेशिक लगानी बढ्दो, १९२ उद्योग सञ्चालन गर्न ३५ अर्ब वैदेशिक लगानी भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनामा विभिन्न उद्योग व्यवसाय सञ्चालनका लागि ३५ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसअवधिमा विभिन्न मुलुकका लगानीकर्ताले ३४ अर्ब ९० करोड रुपैयाँ लगानी गर्न १९४ उद्योग विभागमा दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् । दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् । १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैयाँ लगानीसम्मका मझौला र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।  विभागमा हालसम्म ७ हजार ५०० उद्योग दर्ता भएका छन् । विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए। “अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको उनले जानकारी दिए ।

भ्रष्ट र तस्करको लगानी भएको मिडियालाई म छोड्दिन–उद्योगमन्त्री यादव

काठमाडौं । सिंहदरबारमा आइतबार अनुगमन सम्बन्धि जानकारी गराउने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पत्रकार क्षेत्रमा पनि भ्रष्ट र तस्करहरुको लगानी रहेको भन्दै विगतदेखिनै त्यसको बिरुद्धमा रहेको बताए । उनले सो क्षेत्रको समेत अनुगमन गर्ने जानकारी दिए । पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरु रहेकोप्रति आफु जनाकार रहेको उनको भनाइ छ । ‘पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरुको पनि लगानी छ,’ उनले भने ‘त्यसको बिरुद्धमा म छु, उनीहरुकोप्रति पनि मेरो अनुगमन हुन्छ ।’