विकासन्युज

भैरहवामा पोखरा फाइनान्सको शाखा

काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल  विस्तार एवं ग्राहकलार्इ सेवा पुर्याउने उद्देश्यले  शाखा खाेलिएकाे हो । शाखाकाे नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले उद्घाटन गरेकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । सो शाखाबाट निक्षेप एवं कर्जा तथा सि–आश्वा लगायतका सेवा प्रदान गर्ने फाइनान्सको भनाइ छ । सो अवसरमा आयोजना गरिएको कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्णिमा विकास बैंकका कार्यकारी प्रमुख प्रकाश गुरुङले लगायतले आफ्नो धारणा राखेको जनाइएको छ । फाइनान्सको हाल जारी पूँजी रू ७५ अर्ब ४१ करोड रहेको छ । निक्षेप रू ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड रहेको जनाएको छ । त्यस्तै जगेडा कोषमा रू ४१ करोड ७४ लाख रहेको छ । आब २०७३/७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पूँजी रू ८० करोड पुर्याउने लक्ष्याका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।  

भरतपुर महानगरले क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने

काठमाडौं । महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् । धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन् । उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन् । तत्कालीन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए । त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो । अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ । यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ । रासस

सिन्धुलीको तीन पक्की पुलको निर्माण तीव्र, सम्झौताभन्दा १८ महिनाअघि सक्ने

काठमाडौं । सिन्धुलीका विभिन्न भागमा निर्माणाधीन तीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हेटौंडा–सिन्धुली–उदयपुर–चतरा वैकल्पिक राजमार्ग अन्तर्गत पर्ने सिन्धुलीको कमला, मरिण र रातु नदीका तीन पक्की पुलको निर्माण तीव्र गतिमा भएको हो। एक अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माणाधीन पुल सम्झौताअनुसारको समयभन्दा झन्डै डेढ वर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण भइरहेको पुल निर्माणमा संलग्न रसुवा कस्ट्रक्सन कम्पनीका अध्यक्ष इन्जिनियर राजेन्द्र आचार्यले जानकारी दिए । २०७३ असार २९ गते कालिका–रसुवा–तुदी जेभी काठमाडौंले सडक विभाग पुल महाशाखा, पुल आयोजना पूर्वी क्षेत्र सेक्टर १ सँग सम्झौता गरी निर्माण थालिएका तीनै पक्की पुलको निर्माण ८० प्रतिशतसम्म सम्पन्न भइसकेको इन्जिनियर आचार्यको भनाइ छ । ‘४८ करोड रुपैयाँ कुल लागत रहेको कमला नदीअन्तर्गत जगाडीमा निर्माणाधीन पाँच सय मिटर लामो पक्की पुलको हालसम्म ७२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। उक्त पुल आगामी असार मसान्तभित्र निर्माण सकिन्छ,’ उनले भने। यस्तै ४३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण थालिएको मरिण खोलाअन्तर्गत कपिलाकोटा कल्पवृक्षको पुलको निर्माण १४ महिनामै ८० प्रतिशत सम्पन्न भइसकेको छ। उक्त पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मंसिर १२ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो। पुलको लम्बाइ चार सय मिटर छ। २० करोड रुपैयाँ लागतमा निर्माण थालिएको दुई सय २५ मिटर लामो पुलको निर्माण हालसम्ममा ६०प्रतिशत सम्पन्न भएको छ’, आचार्यले भने । यी तीनै पक्की पुलको निर्माण आगामी असार मसान्तभित्र सक्ने लक्ष्य रहेको उनको भनाइ छ। अन्य निर्माण कार्यमा ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नहुने र लागत बढ्नुका साथै करोडौंका योजना वर्षौंदेखि अलपत्र अवस्था पर्ने गरेका घटनाहरु बाहिर आइरहेको अवस्थामा जिल्लाका तीन ठूला नदीमा निर्माणाधीन पुल भने सम्झौता अवधिभन्दा झन्डै १८ महिनाअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भैरहेको छ ।यी तीनवटै पुलको निर्माण आगामी २०७६ साल पुस २८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। इन्जिनियर आचार्यले आफूहरूले दिनरात नभनी पुल निर्माण कार्य गरिरहेको भए पनि सरकारले समयमा भुक्तानी दिन नसकेको गुनासो गरेका छन्। ‘हामीले ४३ करोडमा ३० करोड रुपैयाँको काम सकिसकेका छौं। तर पनि सरकारबाट भुक्तानी पाउन सकेका छैनौं,’ उनले थपे ।

एमडी विद्यार्थीको भर्नामा मनोमानी नगर्न डीन कार्यालयको आङ्गिक क्याम्पसलाई चेतावनी

काठमाडौं । चिकित्साशास्त्र क्षेत्रमा मास्टर इन डाक्टर (एमडी) विद्यार्थी भर्नामा मनोमानी नगर्न डीन कार्यालयले आङ्गिक क्याम्पसलाई चेतावनी दिएको छ । विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले विद्यार्थीहरुलाई प्रक्रिया अनुसार नै भर्ना गर्न निर्देशन दिएको हो । संथानको निर्णय अनुसार शैक्षिक सत्र २०७४/०७५ मा चिकित्साशास्त्रमा स्नातकोत्तर पढ्ने विद्यार्थीहरुले ५० प्रतिशत रकम सुरुमै तिर्नुपर्ने छ । दोस्रो र तेस्रो वर्षमा बाँकी २५/२५ प्रतिशत तिर्नुपर्नेछ । यसैगरी डीन कार्यालयको निर्देशन पालना नगर्ने क्याम्पसलाई चिकित्सा शिक्षाको मान्याता नदिने समेत बताएको छ । क्याम्पसहरुले विद्यार्थी भर्नाको लागि रकम जम्मा गर्ने बैँकको खाता नम्बर लगायतका विवरण विद्यार्थी र अविभावकहरु जनकारी गराउनुपर्नेछ । डीन कार्यालय र परीक्षा नियन्त्रण महाशाखा मार्फत छानिएका विद्यार्थीहरुले मात्र बैँकमा रकम दाखिला गरी अनलाइनबाट भर्ना हुनुपर्नेछ । २ वर्ष कार्यक्रमको हकमा भने भर्ना समयमा ५० प्रतिशत रकम र बाँकि ५० प्रतिशत दोस्रो वर्षको सुरुमा नै बुझाउनु पर्नेछ । सीट संख्या तथा शुल्क त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट स्वीकृत भए पनि डीन कार्यलयले वेभसाइट मार्फत जानकारी गराउनेछ ।  

एलजी ब्राण्डको नयाँ वर्ष योजना, विभिन्न सामाग्रीको खरिदमा उपहार

काठमाडौं । एलजी ब्राण्डले ‘नयाँवर्ष २०७५ को अवसरमा शुभआगमन २०७५ लाई एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ भन्ने मूल नाराकासाथ आफ्नो योजना बजारमा ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुका साथै ग्राहकहरुकोे जीवनमा नयाँ उत्साहजनक प्रत्याभूती दिलाउने उद्देश्यले योजना सार्वजनिक गरेको कम्पनीको भनाइ छ । होम इन्टरटेनमेन्ट अफर पीएलजी होम इन्टरटेनमेन्ट अफर अन्तर्गत ४ वर्ष वारेन्टी (नेपालमा पहिलो पटक) र ३० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार ५५ इन्च वा सो भन्दा माथिको ओल्ड तथा सुपर यूएचडी टिभीहरुको खरिदमा एसएच फोर साउण्ड बार प्रदान गरिनेछ । ५५ र ४९ यूएचडी टिभीको खरिदमा एलएच ६४ होम अडियो प्रदान गरिनेछ । नर्मल र स्मार्ट टिभीको खरिदमा ४ वर्षको वारेण्टी दिइने कम्पनीको भनाइ छ । एलजी होम अप्लायन्स अफर एलजी होम अप्लायन्स अफर अन्तर्गत साइड वाइ साइड रेफ्रीजेरेटरको खरिदमा एलजी भ्याकुम क्लीनर, डोवल डोर रेफ्रीजेरेटरको खरिदमा पिजा एन्ड अम्लेट मेकर, सिङ्गल डोर रेफ्रीजेरटको खरिदमा ड्राई आइरन जस्ता विभिन्न प्रकारका होम अप्लायन्सको खरिदमा आकर्षक उपहारहरु सित्तैमा दिने योजना राखेको छ । उक्त योजना सोमबारदेखि सिमितअवधिको लागि सञ्चालन हुने कम्पनीको भनाइ छ ।

चौधरी ग्रुपसँग २४ करोड नलिने भन्दै यूनाईटेड इन्स्योरेन्स सर्वोच्चमा, दोहोरो तलबमा इमान्दार बने शेखर बराल

काठमाडौं । उच्च अदालत पाटनको फैसला र बीमा समितिको निर्णय तथा निर्देशन गलत भएको दाबी गर्दै यूनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड सर्वोच्च अदालत गएको छ । कम्पनीको आफ्नै हितविपरित आफै अदालत गएर यूनाईटेड इन्स्योरेन्सले ‘कर्पोरेट वल्ड’मा नयाँ रेकर्ड पनि कायम गरेको छ । बीमा समितिको शुरु निर्णय र उच्च अदालत पाटनका फैसालले कम्पनीलाई हानी नोक्सानी हुने भएकोले सर्वोच्च अदालतमा अपिल दर्ता गरेको कम्पनीको अध्यक्ष उदयकृष्ण उपाध्यायले बताए । ‘उच्च अदालतको निर्णयमा चित्त नबुझे अपिल गर्ने अधिकार सबैलाई छ, हामी पनि त्यो अधिकार प्रयोग गरेका छौं’ कम्पनीका अध्यक्ष उपाध्ययले भने । कम्पनीले चैत्र १७ गते सर्वोच्च अदालतमा अपिल दर्ता गरेको छ । अदालतले बीमा समितिकै शुरु निर्णयलाई सदर गर्दै ३४ करोड मात्रै भुक्तानी दिन भनेको छ । यस आधारमा सीजीसँग युनाईटेड इन्स्योरेन्स कम्पनीले २४ करोड रुपैयाँ फिर्ता लिनुपर्छ । अदालत र बीमा समितिको निर्णय बीमा कम्पनीको पक्षमा भएपनि यूनाईटेड इन्स्योरेन्स कम्पनी २४ करोड रुपैयाँ सीजीसँग लिनुको सट्टा उच्च अदालत फैसला र बीमा समितिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा गएर सबैलाई छक्क पारेको छ । दोहोरो तलबमा इमान्दार चौधरी ग्रुप र युनाईटेड इन्स्योरेन्स कम्पनी दुबैतिरबाट तलब सुविधा लिएर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको शेखर बराल यतिबेला खाईपाई आएको दोहोरो तलव सुविधा माथि न्याय गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । बीमकको संस्थागत सुशासन निर्देशिकाले तलब सीमा तोकेको अवस्थामा यूनाईटेड इन्स्योरेन्सबाट मासिक १ लाख ५० हजार र चौधरी ग्रुपबाट मासिक १ लाख ५० हजार तलब खाने गरी शेखर बराल यूनाईटेड इन्स्योरेन्स छिरेका थिए । निर्देशिका संशोधन पछि भने बरालले युनाईटेडबाट मात्र मासिक ३ लाख रुपैयाँ तलब बुझ्दै आएका छन् । चौधरी ग्रुपबाट खाएको पैसामाथि न्याय गर्दै बराल यतिबेला कम्पनीको विपक्षमा र सीजी इलेक्ट्रोनिक्सको पक्षमा निर्णय गर्दै कम्पनीलाई अदालतमा उभ्याएका छन् । जसको कम्पनीको लाखौ सेयरधनीलाई ठूलो नोक्सान पुगेको पूर्व सञ्चालक तथा एक जना लगानीकर्ता बताए । ‘अदालतको फैसला कम्पनीको विपक्षमा छ, देशको विपक्षमा छ, बीमाको सिद्धान्त र अभ्यासको विपक्षमा छ । त्यसैले यसको विपक्षमा अदालतमा अपिल गर्नुपर्छ’ प्रमुख कार्यकारी अधिकृत बरालले सञ्चालक समितिको बैठकमा बोलेको भनाई उदृत गर्दै एक सञ्चालकले विकासन्युजसँग भने । ‘चौधरी ग्रुपसँग २४ करोड फिर्ता लिँदा त्यो कम्पनीले पाउने होइन, पुर्नबीमा कम्पनीलाई फिर्ता दिनुपर्छ, त्यसको कम्पनीलाई कुनै फाइदा गर्दैन, देशमा भित्रिएको पैसा विदेशमा जाने गरी अदालतले गरेको फैसला कम्पनीको अहितमा छ, देशको अहितमा छ’ बरालले सञ्चालक समिति व्रिफिङ गर्दै भनेका छन् । ती सञ्चालकमा अनुसार सीजी इलेक्ट्रोनिक्ससँग २४ करोड फिर्ता लिँदा कम्पनीलाई करिव २ करोड रुपैयाँ फाइदा हुन्छ । चौधरी ग्रुप र युनाईटेड इन्स्योरेन्स कम्पनी दुबैबाट तलब खाँदै आएका बरालले चौधरी ग्रुपलाई २४ करोड घाटा गराउनु भन्दा युनाईटेड इन्स्योरेन्सलाई २ करोड घाटा गराउँदा उपयुक्त हुने विश्लेषण गरेर अदालत जाने वातावरण बनाउँदै आएका थिए । पाटन अदालतको निर्णयको फैसला विरुद्ध सर्वोच्च अदालत जाँदा कम्पनीलाई शुरुमा करिब  २ करोड रुपैयाँ नोक्सान हुनेछ भने मुद्दा मामिला झेल्दा कम्पनीले थप १० औं लाख रुपैयाँ क्षति बेहोर्नु पर्नेछ । शुरु मुद्दा २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजी इलोक्ट्रोनिक्समा आगलागी हुँदा त्यसबाट ८४ करोडको क्षति भएको सीजीको दाबी थियो । युनाइेटडका सर्भेयरले भने ५८ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । तर ५८ करोड क्षति पनि नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएपछि समितिले आफ्ना सर्भेयर खटाएको थियो । समितिको सर्भेयरले ३४ करोड मात्रै क्षति दिन भनेको थियो । समितिको निर्णय विरुद्ध सीजी उच्च अदालत पाटनमा पुगेको थियो ।      

भूकम्प पीडीतका निर्माण भैसकेकाे घरले मापदण्ड पुरा नगरेको भए अनुदान लिन पुन: सुधार गर्नुपर्ने

काठमाडौं । भूकम्प पिडीतको बनिसकेको घरको मापदण्ड नपुगेको भए फेरी सुधार गर्नुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बनिसकेका घरको अनुदान नरोक्न निर्देशन दिएपछि पुन निर्माण प्राधिकरणले यस्तो धारणा सार्वजनिक गरेको हो । प्राधिकरणका सहप्रवक्ता भीस्म कुमार भुषालका अनुसार १४ जिल्लाका ७५ हजार भूकम्प पिडीतले घर निर्माण गरिसकेका छन् । त्यसमध्ये इन्जिनियरहरुले बनिसकेका घरकोबारे अध्ययन गरिरहेको सहप्रवक्ता भुषलले बताए । ‘प्राधिकरणले कार्यविधी अनुसार नै अनुदान रकम वितरण गर्ने हो, अनुदान पउनका लागि घर भुकम्प प्रतिरोधी नै हुनुपर्ने भनी कार्यविधीमा स्पष्ट उल्लेख गरेको छ,’ भुषालले विकासन्युजसँग भने । बनिसकेको घरले पुन अर्को घर निर्माण गर्नुपर्छ भन्ने होइन । भुकम्प प्रतिरोधि बन्नका लागि आवश्यक सुधार गर्नुपर्ने भुषलले जानकारी दिए । निर्माण भैसकेको घरको बारेमा पहिले इन्जिनियरले अध्ययन गर्नेछ । भुकम्पप्रतिरोधी छ भने सजिलै अनुदान रकम पाउनेछ यदि मापदण्ड पुरा गरेको नभएमा इन्जिनियरको सुझावमा आवश्यक सुधार गरी अनुदान प्रदान गरिने प्राधिकरणले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले बनिसकेको घरको अनुदान रकम नरोक्न निर्देशन दिएका थिए । उनले पुन निर्माण प्रधिकरणको काम सन्तोप्रद नभएको र भूकम्पपिडीतलाई अल्मल्याउने काम भएको बताएका थिए । घर निर्माण गरिसकेका व्यक्तिलाई रकम दिन कुनै कानूनले रोक्छ भने तत्कालै परिमार्जन गर्न समेत निर्देशन दिएका थिए ।  

भारतमा पेट्रोलियमको भाउ बढ्यो, नेपालमा के होला ?

काठमाडौं । भारतमा सोमबारदेखि पेट्रोलियम पदार्थ महंगो भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा परेको हो । भारतमा पेट्रलियम प्रशोधन कम्पनीले भाउ १२ पैसा भारुसम्म बढाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । यो मूल्य ४ वर्षयताकै सर्बाधिक महंगो भएको एक्सप्रेसले अनलाइन संस्करणमा लेखेको छ । भारतमा पेट्रोलियमको भाउ बढेकाले यसको असर नेपालमा पर्ने देखिएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोेरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । नेपाल आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको छ । इण्डियन आयलबाट नयाँ मूल्यसूचि आएपनि निगमले भने बढाएको छैन । भारतको दिल्ली, कोलकाता, मुम्बई र चेन्नइमा पेट्रोलियमको भाउ बढको छ । दिल्लीमा पेट्रोलियमको मूल्य बढेर प्रतिलिटर ७३.८३, कोलकातामा ७६.५४, मुम्बइमा ८१.६९, र चेन्नइमा ७६.५९ भारु रहेको छ । यस्तै डिजेलको भाउ पनि बढेको छ । जसअनुसार दिल्लीमा डिजेलको भाउ बढेर प्रतिलिटिर ६४.६९, कोलकातामा ६७.३८, मुम्बइमा ६८.८९ र चेन्नइमा ६८.२५ भारु पुगेको छ । भारत सरकारले पेट्रोलियमको भाउ बढेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रतिलिटर २ भारु भन्सार शुल्क कटौती गरेको थियो । अमेरिकाले इरानमाथि आर्थिक नाकावन्दी लगाउने आशंकामा अन्तराष्ट्रिय बजारमा पेट्रोलियको भाउ बढेको छ । यस्तै अमेरिकाले आफनो पेट्रोलियम उत्खनन काम रोकेपछि यसको असर विश्व बजारमा परेको बताइएको छ । फाइनान्सियल एक्सप्रेसका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिव्यारेल ६५.२१ डलर पुगेको छ ।