विकासन्युज

२५ करोड भन्दा बढी कर नतिर्ने ४० कम्पनीलाई राजस्व विभागको १५ दिने अल्टिमेटम

काठमाडौं । २५ करोड भन्दा बढी कर नतिर्ने ४० कम्पनीलाई आन्तरिक राजस्व विभाग कर सेवादाता कार्यालय कलंकीले १५ दिनको समयअवधि दिएको छ । कार्यालयले कर तिर्न टेलिफोन सम्पर्क र पत्राचार गर्दा कुनैपनि प्रतिक्रिया नआएपछि अल्टिमेटम दिएको हो । ४० कम्पनीले लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नबुझाएको करसेवादाता कार्यालयले जनाएको छ । तोकिएको समयमा कर दाखिला गर्न नआएमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ तथा आयकर ऐन २०५८ को दफा १०३ बमोजिम कानूनी प्रक्रिया अघि बढ्नेछ । सबैभन्दा धेरै कर नतिर्ने नविनलाल श्रेष्ठले संचालन गरेको मकवाना विस्कुट प्रालीले १ करोड २२ लाख ४३ हजार ९ सय २५ रहेको छ । यसैगरी कर नतिर्ने कम्पनीहरुमा सुनगाभा इटा उद्योग, विरेन्द्र मोटर पार्टस लगायत ४० कम्पनी रहेका छन् ।

मार्जिन ट्रेडिङको तयारी अन्तिम चरणमा, बढ्ला त सेयर बजार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङको तयारी अन्तिम चरणमा पुर्याएको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको समयमा बोर्डले मार्जिन ट्रेडिङलाई तत्कालै कार्यान्वयनमा ल्याउन लागेको हो । मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४ हेर्न यहाँ क्लिक गर्नुसहोस  ‘हामी कार्यबिधी निर्माणको अन्तिम चरणमा पुगेका छौं, नेप्सेले पठाएको मस्यौदामा केहि संसोधन गरेर बोर्डले पारित गर्छ र कार्यान्वयनमा ल्याउँछ’, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले विकासन्युजसँग भने । बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुबिधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सोही निर्देशन अनुसार मार्जिन कारोबार सम्बन्धी कार्यबिधी बनाउन बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । नेप्सेले कार्यबिधीको मस्यौदा तयार पारेर बोर्डमा बुझाएको र त्यसमा आवश्यक संसोधन गरेर पारित गर्ने तयारी भैरहेको बोर्डका अध्यक्ष डा. कार्कीले बताएका हुन् । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने पनि बताए । ‘मार्जिन ट्रेडिङको सुबिधा भनेको सेयर बजारका लागि ठुलो उपलब्धि हो, यसले बजारको विकास र स्थायीत्वका लागि सहयोग गर्छ’, डा. कार्कीले भने । सेयर बजार विश्लेषक ज्योति दाहालले पनि मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकासमा सहयोग पुग्ने बताए । ‘मार्जिन ट्रेडिङले बजार बढाउन सघाउँछ, कार्यबिधी कस्तो आउँछ हेरेर मात्रै भन्न सकिन्छ तर बजारलाई राहत चाँही दिन्छ नै ।’, दाहालले भने । उता, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने मार्जिन ट्रेडिङको उपलब्धि कार्यबिधीमा भर पर्ने बताए । ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकरले मात्रै यो सुबिधा दिन सक्छन्, कार्यबिधीमा थप कडाई भएर आयो भने यसले बजारमा खासै काम नगर्न सक्छ’, सिँजापतिले भने । उनले कार्यबिधीले केहि सहजता दिएको खण्डमा भने त्यसले सेयर बजारमा सकारात्मक सन्देश दिने बताए । मार्जिन कारोबार सम्बन्धी निर्देशनमा उल्लेख गरिएको पुर्वाधार, पुँजी लगायतका सर्तहरुले केहि ब्रोकरले मात्रै यो सुबिधा उपयोग गर्न सक्ने अवस्था देखिएको छ ।  

माथिल्लो तामाकोशी आयोजनाको स्थानीयलाई दिने १० प्रतिशत शेयरमा विवाद

काठमाडौं– माथिल्लो तामाकोशीले स्थानीयवासीलाई दिइने भनिएको १० प्रतिशत शेयरमा विवाद देखिएको छ । आयोजनाले स्थानीयको पक्षमा निर्णय लिन नसकेको भन्दै आन्दोलनमा जान लागेको हो । जिल्ला समन्वय समितिले गत भदौ ६ गते स्थानीयले पाउने १० प्रतिशत सेयर वितरणका लागि आयोजनाको मुहान र संरचना रहेको साविकका लामावगर र गौरीशंकर गाउँ विकास समितिलाई वर्गिकरण गरेको थियो । जस अनुसार अतिप्रभावित (‘क’ वर्ग), प्रसारण लाईन र सडकको प्रवेश मार्गले छोएको ठाउँलाई (‘ख’ वर्ग )र अन्यलाई (‘ग’ वर्ग)मा राख्ने निर्णय भएको थियो । यस वर्गिकरणबाट आयोजना रहेको गाउँपालिकाकै अधिकांश वडावासीहरू ‘ग’ वर्गमा खुम्चिएको भन्दै आन्दोलनमा जान लागेका हुन् । यस निर्णयलाई पुनविचार गरी अर्को वर्गिकरण गर्न स्गानीयले माग गरेका छन् ।  

इलाममा पुराणबाट रु १२ लाख संकलन

इलाम । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ । अतिथि सदन निर्माणका लागि सञ्चालन गरिएको पुराणबाट रु ११ लाख ८० हजार ८१५ संकलन भएको हो । साथै, ४१ जनाले दूध, धान, चामल द्रव्यलगायत तुलादानसमेत गरेका छन् । पुराणमा करीब १२० बोरा सिमेन्टसमेत विभिन्न दाताले सहयोग गरेका छन् । पुराण समापनका अवसरमा सहयोग गर्ने सबैमा बाबाजी र पुराण आयोजक समितिले धन्यवाद दिनाका साथै सम्मानसमेत गरिएको पण्डित बुद्धिप्रकाश लुइँटेलले बताए ।-रासस

बुटवल पावरको एफपीओ बाँडफाँट, ५०१ रुपैंयाँको सेयर बाँडफाँट अघि नै ४८५ रुपैंयाँमा काराेबार

काठमाडौं । बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट भएको छ । बुधबार बुटवल पावर कम्पनीकै कार्यालयमा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपीओ बाँडफाँट गरेको हो । कुल जारी गरिएको एफपीओ सबै बिक्री नभएपछि आवेदकले सबैले मागेजति सेयर पाएका छन् भने नबिकेको कित्ता अण्डरराइटरले खरिद गरेका छन् । कम्पनीले माघ १५ गते प्रतिकित्ता ५०१ रुपैंयाँमा ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । २८ लाख ५९ हजार एक सय ७० कित्ता एफपीओका लागि ८४ हजार ८ सय ४ जनाको आवेदन सदर भएको थियो । ती सबैले सेयर पाएका छन् । बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अण्डर राइटरले खरिद गरेका छन् । ५०१ रुपैंयाँ एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको सेयर मूल्य भने ४६८ रुपैंयाँमा झरिसकेको छ ।

प्रदेश ७ का अर्थमन्त्री झपट बोहराको घोषणाः १०० अर्बको बजेटमा समृद्धी मुल एजेण्डा

अछाम । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताएका छन् । यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको उनले बताए । सदरमुकाम मंगलसेनमा प्रेस सेन्टर, अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै यस क्षेत्रको विकासका लागि विशेष बजेट स्वरुप एक खर्ब दुई करोड पाँच लाखको बजेट ल्याउने बताए । “जनतालाई मेरो सरकार हो भन्ने अनुभूति दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ, उनले भने, समावेशी र आर्थिक समानतासहितको बजेट भूगोल, जनसंख्याको आधारमा विनियोजित गर्ने भन्दै कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी छ ।” अहिले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसके पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी बजेट तर्जुमा भइरहेको जानकारी गराए । बोहराले नेपालमा करमा एकद्वार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन भएको नचाहनेहरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाइरहेको आरोप लगाए । आफू अछामबाट निर्वाचित सांसद भएकाले अछामका लागि विशेष बजेटको व्यवस्था गर्नेसमेत बताए । रासस

इतिहास बाेकेकाे घण्टाघर सहित त्रिचन्द्र क्याम्पसको पुनःर्निमाण अझै सुरु हुन सकेन

काठमाडाैं । नेपालमै पहिलो पटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनःर्निमार्ण अझै सुरु हुन सकेको छैन । ७२ सालको भूकम्पबाट क्षति पुगेको घण्टाघरको पुनःर्निमाण हुन नसकेको हो । क्याम्पसका क्याम्पस प्रमुख प्रदिप न्यौपानका अनुसार क्याम्पसको पश्चिम भागको जल तथा मैसम विज्ञान विभागको भवनको माथिलो तलाको कोठाहरु भूकम्प पछि प्रयोगमा आउन सकेका छैन्न । क्याम्पसको २ वटा पढाइ हुने कोठा, एउटा ल्याब र एउटा कार्यालयको भवन अन्य भवनमा पाटेसन् गरेर सञ्चालन गरिएको छ । पुर्ननिर्माणका लागि थ्रिडी स्क्यानको माध्यमबाट जापानको कुमोनोज कम्पनीले रिपोट दिएको थियो त्यो रिपोट क्याम्पसले पुरातत्व विभागमा पढाएको छ । थ्रिडी स्क्यानको माध्यमबाट भवनको अध्ययन गर्दा भित्रको भागमा पनि कति क्षति भएको छ भन्ने पनि थाहा हुन्छ । अब पुरातत्व विभागको निर्णय पछि नै कसरी बन्य र कहिले बन्य निस्कर्षमा पुग्ने प्रमुख न्यौपानेले बताए । पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरले भने घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको भवनको भूकम्पले कति क्षति गरेको छ भनेर केहि समय अघि अध्ययन गरेका थियौ । तर त्यस पछि यसको विषयमा हामीलाई कुनै जानकारी नआएको समेत घिमिरेले बताए । विसं १९७५ मा श्री ३ चन्द्र शमशेरले क्याम्पस स्थापना गर्दा आइएको पढाइ सुरू भएकाे क्याम्पसमा १९७६ देखि बेलायती शिक्षा प्रणालीमा आइएस्सीको सुरुवात भएको थियो । त्यसपछि विस १९८१ मा बिएको पढाइ र विसं २००४ मा बिएस्सीको सुरुवात भएको थियो ।  

सरकारले यसै वर्ष व्यापार घाटा घटाउन ठोस कार्यक्रम ल्याउने

काठमाडौं । नेपाल उद्योग परिसंघद्वारा परिसंघ–प्रवुद्ध परिषदको सहयोगमा तयार गरिएको समृद्धिको मार्गचित्र सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलिले ‘समृद्ध नेपाल सुखी नेपाली’को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवापुग्ने विश्वास व्यक्त गरेका थिए । उनले मुलुक अब दीगो विकासको साथसाथै छिटो विकास नभए अन्य मुलुकहरुको तुलनामा विकासको गति पछाडी पर्ने जानकारी गराए । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि एवं औद्योगिक विकासको लागि जीवन उपयोगी शिक्षाको आवश्यकता भइ मुलुकमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताए । ‘आफुले चाल्ने प्रत्येक कदम विकासको कदम हुनेछ,’ उनले भने ‘भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाइका साथ लागू गरिने छ ।’ त्यस्तै उनले लगानीका सम्भाव्य क्षेत्रहरु निजी क्षेत्रले पहिचान गरी अझ बढी परिष्कृत र थप छलफल गर्नु पर्ने जनाए । उनको अनुसार परम्परागत प्रविधिबाट उन्मुक्ति लिदै नयाँ प्रविधि प्रयोग गर्न र सहश्राब्दी विकास लक्ष्यले अंगीकार गरेको उत्पादन र रोजगारी सृजनामा जोड दिन सकेमा मात्र व्यापार घाटा घट्नेछ । सरकार यसै वर्षदेखि व्यापार घाटा घटाउन ठोस योजना तथा कार्यक्रम ल्याउने तयारीमा गरिरहेको उनले जानकारी दिए । सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन औद्योगिक लगानीको लागि पूँजीको आवश्यकता हुने हुँदा सबै सम्भाव्य क्षेत्रहरु खुल्ला हुनु पर्ने बताए । उनले स्मार्ट व्यवसायको सन्दर्भमा सूचना प्रविधि लगायत सबै क्षेत्रमा नवीन प्रविधिको प्रयोगमा जोड दिइने धारणा राखे । दिर्घकालीन लगानीसँगै दिर्घकालीन पूँजी आवश्यक पर्ने यथार्थतालाई औल्याउदै उनले उद्योग सञ्चालनमा जग्गा प्राप्तिको समस्यालाई समाधान गर्न सरकार निजी क्षेत्रसँगै मिलेर अघि बढ्ने किसिमको नीतिगत व्यवस्था हुने जानकारी गराए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुकमा बहुप्रतिक्षित राजनीतिक स्थायीत्वको सम्भावना बढेर गएको विचार व्यक्त गरे । यो सम्भावनालाई एउटा सक्तिशाली आर्थिक तथा सामाजिक रुपरेखाको अवसरमा परिणत गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताए ।