माछापुच्छ्रे बैंकद्धारा कैलालीमा खाद्य तथा पोषाक वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ । बैंकले हालसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको एकैदिन दुई वटा शाखा स्थानान्तरण
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन दुई वटा शाखा चनौली र दलदलेमा स्थानान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले स्थानान्तरण गरिएका २ शाखाको उद्घाटन गरेका छन् । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
‘गोजी गोजीमा फाेरजी मोबाइल’ नारासँगै कलर्सले ल्यायो ७ हजारको फोन
काठमाडौं । कलर्स मोबाइलले आफ्नो प्राइड सिरिज अन्तर्गत एक नयाँ फोन प्राइड ‘पि ५० प्लस’ बजारमा प्रस्तुत गरेको छ । फोन अत्यन्त उच्च माग भएको फोरजि प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ । फोनमा ५ इन्चको स्क्रिन, २.५ डि बक्र सिसा, २२०० एमएएच ब्याट्री, दोहोरो सिम (थ्रिजि र फोरजि), ५ मेगापिक्सेल र २ मेगापिक्सेल क्षमताका क्रमशः पछाडी र अगाडी क्यामरा जडान गरिएको छ । फोनको शुरुवाती मूल्य ६ हजार ९९५ रुपैयाँ रहेको कम्पनीले बताएको छ । टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले फोन सस्तो मोलको उपलब्ध गरेको बताए । ‘अब प्रयोगकर्ताहरुले फोरजि चलाउनकै लागि उच्च तथा महँगो दरको मोबाइल किनिरहनु पर्ने अवस्था रहेन,’ उनले भने ‘हामी चाहन्छौं सबको गोजीमा फोरजि फोन अटाओस् ।’ त्यसैले नेपली बजारमा ‘गोजी गोजीमा फोरजि मोबाइल भन्ने नाराकोसाथमा उक्त मोबाइल प्रस्तुत गरेको उनले जानकारी गाराए ।
काठमाडौं महानगरभित्र घर बहाल कर १२ प्रतिशत कायम, १५ करोड राजस्वबाट ५ अर्ब पुग्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको घर बहाल कर १२ प्रतिशत तोकेको छ । २०७४ चैत ११ गतेको मन्त्रिपरिषद निर्णयबाट बहाल कर स्थानीय तहमानै निहित हुने निर्णय गरेपछि महानगरले घर बहाल कर तोकेको हो । अब काठमाडौंवासीले दोहोरो घरभाडा घर तिर्नुपर्ने झन्झटबाट मुक्त भएको महानगरको सूचना अधिकृत बसन्त आचर्यले बताए । यसअघि महानगरले २ प्रतिशत र सरकारले १० प्रतिशत लिदैं आएको बहाल कर अब सबै महानगरको खातामा जम्मा हुनेछ । २ प्रतिशतले वार्षिक १५ करोड उठ्दै आएको महानगरमा १२ प्रतिशत कायम गर्दा ४ देखि ५ अर्ब सम्म राजस्व उठ्ने महानगरले लक्ष्य लिएको निर्देशक नवराज ढकालले बताए । ‘यो संघीयताको महत्पुर्ण खुड्किलो हो, महानगरले उठाएको यस मुद्दाले ७५३ वटै स्थानीय तहले राहत महसुुस गरेका छन्, सरकारले तहलाई दिएको २२ एकल अधिकारमध्ये यो अधिकार प्राप्त भएको छ, अन्य अधिकार प्राप्त हुन बाँकी नै छन्’ ढकालले विकासन्युजसँग भने । अब तहले कति घर बहाल कर उठाउने भन्ने विषयमा स्व निर्णय गर्न सक्नेछन । महानगरभित्र प्रत्येक वडामा घर बहाल कर तिर्न सकिनेछ । दुई वा दुई भन्दा बढी वडामा घर हुने व्यक्तिले एकै वडाबाट सबै कर तिर्न सक्नेछन् । निर्देशक ढकालका अनुसार घरधनीले किस्तामा बहाल कर तिर्न सक्नेछन् । प्रत्येक महिनाको बहाल महिना सकिने बित्तिकै तिर्न सकिनेछ । त्यसैगरी वर्षभरीको बहाल शुल्क एकै पटकमै तिर्न पनि सकिनेछ । यसअघि स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार नगरपालिका क्षेत्रमा २ प्रतिशत बहाल कर लगाउँदै आएको र संविधान जारी भएसँगै संविधानको अनुसूचीमा नै घर बहाल कर स्थानीय तहको अधिकारको क्षेत्रमा समावेश गरेकाले उक्त अधिकार स्थानीय तहलाई दिएको हो । महानगरले २०७४ असोज ३० गते सरकारले उठाउँदै आएको १० प्रतिशत कर र महानगरले उठाउँदै आएको दुई प्रतिशत गरेर कूल १२ प्रतिशत कर एकद्वार नीतिअन्तर्गत काठमाडौँ महानगरले असुल उपर गर्ने निर्णय गरेको थियो । महानगर सबै स्थानीय तहको अग्रज निकाय भएकोले जग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन शुल्क, मनोरञ्जन कर र विज्ञापन कर स्थानीय तह र प्रदेशको साझा सूचीमा रहे पनि घरबहालसहित सम्पत्ति कर, भूमि कर र व्यवसाय करमा स्थानीय तहको मात्र अधिकार रहने निर्देशक ढकालले बताए ।
असार भित्र वाणिज्य बैंकका ३५९ वटा शाखा थपिँदै, ३ हजारलाई रोजगारी
काठमाडौं । असार मसान्तभित्र ३५९ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैशाख भित्र २४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कुन बैंकले कहाँ शाखा खोल्दैछन् हेर्न यहाँ क्लिक गर्नुहोस त्यस्तै असार भित्र थप ११६ वटा स्थानीय तहमा शाखा विस्तार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी आगामी असार मसान्तभित्रमा ३५९ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भैसक्नेछन् । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह नै तोकेर बैशाख र असार भित्र शाखा विस्तार नगरे कारवाही गर्ने पत्र समेत लेखेको हो । स्थानीय तहहरुले आफ्नो सञ्जित खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने व्यवस्था रहेको छ । ३५९ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा नखुलेपछि स्थानीय तहरुले आफ्नो सञ्चित खाता खोल्न नै अन्यत्र जानुपर्ने बाध्यता थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले केन्द्रिय बैंकको निर्देशन मान्न बैंकहरु तयार रहेको बताए । तर पुर्वाधार, सुरक्षा, जनशक्ति र बजारका कारण तोकिएकै समयमा भने सबै स्थानीय तहमा पुग्न कठिन हुने उनले बताए । ‘एउटा शाखा सञ्चालनका लागि न्युनतम पनि ६ जना कर्मचारी आवश्यक पर्छन्, पुर्वाधार र सुरक्षा पनि चाहिन्छ, हामी केन्द्रिय बैंकले भने अनुसार नै गर्ने प्रयास गर्छाै तर तोकिएको समयमा सबै तहमा पुग्न भने कठिन हुने देखिन्छ’, दाहालले भने । ३५९ वटा स्थानीय तहमा स्थापना हुने बाणिज्य बैंकका शाखाहरुमा करिब २६५ सय ३ हजारसम्म कर्मचारी आवश्यक पर्ने देखिन्छ । बाणिज्य बैंकहरुको एउटा शाखाका लागि न्युनतम ४ जना बैंकिङ स्टाफ, २ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोग आवश्यक पर्ने सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।
नेपाली ग्राहकद्धारा जेसीबीको पुनेस्थित प्लान्ट भ्रमण
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । भ्रमणमा जेसीबीका नेपाली ग्राहकले हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए । पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो जहाँ चार सयभन्दा बढी इन्जिनियरले काम गर्छन् । वातावरणमैत्री सो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको समेत उत्पादन गरिन्छ । उत्पादन गरिएका मेसिनहरु भारतमा मात्र होइन अन्य ६५ मुलुकमा विक्री गरिने कम्पनीको भनाइ छ । भ्रमणका क्रममा जेसीबीका ग्राहकले प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ, पार्टस्को एसेम्ब्ली लगायतको निरीक्षण गरेका थिए । कम्पनीले जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्ने दावी गरेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो ।
गोरखाको दुई स्थानमा टेलिकमको मोबाइल सेवा, ८५० वटा सिम निःशुल्क वितरण
काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो । गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसैगरी, ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने भएका छन् । गोर्खा जिल्लाको विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पुर्याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ । ल्हो गाउँ हालसम्म एक प्रकारले दूरसञ्चार सेवाको पहुँचबाट बञ्चित जस्तै थियो । अति दुर्गम क्षेत्र हुनुको साथै वस्तिहरु टाढा–टाढा भएकोले टेलिफोन गर्न अर्काे गाउँसम्म पुग्नुपर्दा स्थानीय वासिन्दालाई निकै कठिनाइ भइरहेको थियो । टेलिकमले दुर्गम क्षेत्रको उक्त ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको छ । गमलाडाँडा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दुरीमा पर्छ । गोरखाको आरुघाट हुँदै सोतीसम्म गाडीमा गएर त्यसपछि करिब तीन दिन पैदल हिडेपछि गमलाडाँडा र त्यसपछि अर्को दुई दिनको पदयात्रा पछि ल्हो गाउँमा पुग्न सकिन्छ ।
सेयर बजार झिनो अंकले घट्दा ५१ करोडको कारोबार, सबैभन्दा बढी युनिलिभर नेपालको
काठमाडौं । मंगलबार ३९ अंकले उकालो लागेको बजार बुधबार पुन ओरालो लागेको छ । बुधबार कारोबार खुल्ने वित्तीकै दोहोरो अंकले उकालो लागेको बजार त्यसकाे केहीबेरमै ओरालो लागेको थियो । त्यसपछि दिनभरको कारोबारमा उतारचढाव आएको थियो अन्ततः बजार २.९० अंकले घटेर १२०४ अंकमा पुगेर बन्द भएको छ । झिनो अंकले ओरालो लागेको बजारमा ५१ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६२ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको सेयर कारोबार भएको छ । यस कम्पनीको दिनभर २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ हजार १४५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक दोहोरो अंक अर्थात ९१अंकले राताम्मे भएको छ । त्यस्तै, उत्पादनमूलक, बैंकिङ, अन्य र विकास बैंक समूह बाहेक बाँकी समूह राताम्मे छन् । उत्पादनमूलक १४ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य करिब १० प्रतिशत अर्थात ९.६० प्रतिशतले बढेको छ । बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४२ प्रतिशत गुमाएका छन् ।