बजार ५१ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्यमा वृद्धि, १३ कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको बजारमा भारी गिरावट आएको छ । कारोबार खुलेको एक घण्टामै ३ प्रतिशत ओरालो लागेर सकिर्ट ब्रेक लागेर खुलेको बजार त्यसपछि पनि निरन्तर ओरालो लागेको छ । अन्ततः सोमबारको नेप्से परिसूचक ५१.८९ अंकले ओरालो लागेर ११६८.५५ अंकमा झरेको छ । भारी अंकको गिरावट आएको बजारमा २ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सामान्य १.९२ प्रतिशतले बढेको छ । त्यस्तै, सोमबार कारोबारमा आएका अन्य १५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सो मध्ये १३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बजारमा परिसूचकमा गिरावट आएता पनि केही दिनदेखि सेयर कारोबारमा भने सुधार भइरहेको छ । सोमबार ४७ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा करिब ४ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबार अर्थात बिहीबारको बजारमा ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार कारोबारमा आएका १५७ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको दिनभर ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको पनि २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसैगरी, बीमा समूहको परिसूचकमा उच्च गिरावट आएको छ । यस समूहको सूचक ३८३ अंकले ओरालो लागेको छ । फाइनान्स समूह ४.७२ अंकले ओरालो लागेको छ भने अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् ।
घट्दो सेयर बजारबारे अर्थविद केशब आचार्य भन्छन्- माग भन्दा आपुर्ति बढेपछि मूल्य घट्नु स्वभाविक
काठमाडौं । अहिले राजनीतिक कारणले बजार घट्नुपर्ने होइन् । अहिले बनेको र अब बन्ने कुनै पनि सरकारले खुल्ला बजार अर्थतन्त्रको मर्म विपरित काम गर्न सक्दैनन् । अहिले बजार घट्नुको मुल कारण भनेको सेयरको अधिक आपुर्ति नै हो । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना आयो । अधिकांश कम्पनीहरुले बोनस र हकप्रद सेयरबाटै पुँजी वृद्धि गरे । यसले बजारमा सेयरको आपुर्ति अनावश्यक मात्रामा बढायो । ‘माग भन्दा आपुर्ति बढेपछि मूल्य घट्नु स्वभाविक हो ।’ केशब आचार्य, अर्थविद अर्काे कारण भनेको बैंकहरुबिच ब्याजदरको प्रतिष्पर्धा छ । ३/४ प्रतिशतको मुद्रास्फिती दर भएको देशमा निक्षेपको ब्याजदर १२ प्रतिशत छ । मुद्रास्फ्रिती कटाएर पनि ८ प्रतिशत आम्दानी हुने भएपछि मान्छेहरुले बैंकमा पैसा राख्नु स्वभिावक हो । सेयर बजारका लगानीकर्ताले पनि त्यता भन्दा बैंकमा पैसा राख्दा नै बढि आम्दानी हुने देखेपछि सेयर बेच्नु स्वभाविक नै हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मलाई अर्थमन्त्रालयमा काजमा बोलाइएको थियो । त्यतिबेला सरकारलाई मैले धेरै सल्लाह पनि दिएको थिए । त्यतिबेला पनि सेयर बजार घटाइएको थियो । खासगरी मारवाडी मुलका लगानीकर्ता बामपन्थी सरकारसँग डराएका थिए । पछि हामीले कन्भिन्स गरेका थियौं । त्यसपछि प्रचण्ड २ पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका छन् । केपी ओली पनि दोश्रो पटक प्रधानमन्त्रीको कुर्सिमा हुनुहुन्छ । बामपन्थीहरुले कसरी सरकार चलाउँछन र कस्ता आर्थिक नीति लिन्छन् भन्ने कुरा छर्लंगै भैसकेको छ । त्यसकारण बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता डराउनुपर्ने अवस्था छैन् । सम्पति सुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र समाज कल्याण परिषदलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि निजी क्षेत्र त्रसित भएको मैले बुझेको छु । यसले त झन असल रुपमा काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन दिन्छ । तर व्यवसायीहरु पारदर्शी हुनुपर्ने भयो भनेर डराईरहेको जस्तो देखिन्छ । त्यसरी डराउनु आवश्यक छैन् । अर्काे तर्फ केपी ओलीले प्रधानमन्त्री बन्नु अघि हामी जिम्मा लिन्छौं भनेका थिए । तर अर्थमन्त्रीले त्यसरी जिम्मा लिने कुरा गरेनन् । अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु प्राविधिक रुपले ठिक छन् । तर उनले आश्वासन दिएनन् । गभर्नर भएका बेला वर्तमान अर्थमन्त्रीले बैंकहरुलाई गलत बाटोमा जानबाट रोका थिए । केन्द्रिय बैंकदेखि योजना आयोगको समेत जिम्मेवारी सम्हाली सकेका वर्तमान अर्थमन्त्रीसँग लगानी कर्ता अलिअलि डराएका हुन सक्छन् । तर त्यसरी डराउनुपर्ने कुनै कारण छैन् । निजी क्षेत्र अलि पारदर्शी छैन। त्यसकारण बुझेका अर्थमन्त्रीसँग डराएको हुन सक्छ । तर निजी क्षेत्रलाई निषेध गरेर होइन बिस्तारै पारदर्शी बनाउँदै लैजाने हो ।-कुराकानीमा आधारित
लगानीका लागि १४ खर्ब आवश्यक- अर्थमन्त्री खतिवडा
मोरङ/मस । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीका लागि अहिले १४ खर्ब रुपैयाँ आवश्यक रहेको बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्धारा संयुक्त रुपमा आइतबार विराटनगरमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीका लागि १४ खर्ब रुपैयाँ आवश्यक रहेको बताएका हुन् । अर्थमन्त्री खतिवडाले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्ब रुपैयाँ आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे । वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उनले बताए । मन्त्री खतिवडाले असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताए । उनले भन्सारका कर्मचारीले मुस्कानसहितको काम गर्ने भएकाले सोहीअनुसार व्यापारीले इमान्दारीका साथ कर बुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउनसमेत आग्रह गरे । भन्सारको कारणले व्यापारीले आयात गरेको सामान ढिलाई नभएको स्पष्ट गर्दै उनले पूर्वाधारको कमी र एकीकृत भन्सार जाँच चौकीको निर्माणमा ढिलाइले समस्या उत्पन्न भएकोले चाँडै नै समस्या समाधान हुने प्रष्ट पारे । अर्थमन्त्री खतिवडाले बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै लहडवाजीमा शेयर लगानी नगर्न आग्रह गरे । उनले निजी क्षेत्रबाट निर्माणाधीन पूर्वाधारमा विदेशी होइन स्वदेशी गुणस्तरीय सामाग्रीको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
बाजागाजा सहित त्रिशुली नदिमा र्याफ्टिङ, विश्व किर्तिमान राख्ने लक्ष्य
काठमाडौं । त्रिशुली नदिमा बाजागाजा सहित र्याफ्टिङ आयोजना हुने भएको छ । विश्व किर्तिमान कायम गर्नका लागि र्याफ्टिङ आयोजना गर्न लागिएको हो । प्राकृतिक सम्पदा संरक्षण समिति अन्तर्गत त्रिशुली बचाउ महाअभियानले चैत्र १७ गते शनिबार गिनिज बुक रेकर्ड राख्न ‘त्रिशुली नदि महोत्सव’ ूआयोजना गरेको हो । महोत्सवमा पन्चैबाजा, लोक दोहोरी सहितको र्याफ्टिङ हुनेछ । यस्तो कार्यक्रम इतिहासमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । महोत्सवमा २५ देखि ३० वटासम्म डुङगा र २ सय जनालाई समावेश गरिने आयोजक निर्मल थपलियाले जानकारी दिए ।
अपडेटः नेप्से ४४ अंकले झर्यो, बीमा समूह ३०० अंक तल
काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन । सो दिन बजार खुलेको एक घण्टामै ३ प्रतिशतले घटेर सकिर्ट ब्रेक लागेको थियो । त्यसपछिको बजार पुन दोहोरो अंक अर्थात ३.६४ प्रतिशत ओरालो लागिसकेको छ । त्यस्तै, २ बजे नेप्से परिसूचक ४४.४० अंकले घटेर ११७६ अंकमा झरेको छ । सो अवधिसम्म सबैभन्दा बढी बीमा समूह तेहेरो अंक अर्थात ३०० अंक तल झरिसकेको छ । फाइनान्स समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेर राताम्मे भएका छन् ।
भन्सार छलि ल्याइएको साढे नौ लाख बराबरको अवैध सामग्री बरामद
काठमाडौं । अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो । प्रहरीले मे १ ज १६३१ र मे १ ज २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौँ मूल्यको सामग्रीसहित पिकअपका चालकद्वय सूर्योदय नगरपालिका–२ का हुकुम तामाङ र सोही स्थानका पुरन स्याम्बोलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएको पिकअप र बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको नायव सुब्बा चेतनाथ खनालले जानकारी दिए । पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । तस्करले पशुपतिनगरका सीमा नाकाबाट अवैध तरिकाले नेपालतर्फ भित्राएको उक्त सामग्रीहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसम्म पु¥याउँदै आएका छन् । रासस
अब एउटा व्यक्तिले २ वटा भन्दा बढि लघुवित्तबाट ऋण नपाउने
काठमाडौं । अब एक जना व्यक्तिले २ वटा भन्दा बढि लघुवित्त कम्पनीबाट ऋण नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएको देखिएपछि त्यस्तो कडाई गर्न लागेको हो । ‘अब एक जना व्यक्तिले बढिमा २ वटा कम्पनीबाट मात्रै ऋण लिन पाउने व्यवस्था गरिन्छ, त्यसका लागि मैले मातहतका अधिकारीलाई यहिँबाट निर्देशन दिएँ’, सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका भगर्नर डा. चिरञ्जीवी नेपालले भने । उनले एउटै व्यक्तिले चार पाँच वटा लघुवित्तबाट ऋण लिएकाले लघुवित्तहरु जोखिममा पर्दै गएको आरोप पनि लगाए । हाल २५ लाख ७५ हजार नेपालीले लघुवित्तबाट कर्जा सेवा लिएको तथ्यांक रहेको छ तर त्यसमा अधिकांश ऋणीहरु चार पाँचवटा कम्पनीसँग जोडिएको पनि उनले बताए । कार्यक्रममा राष्ट्र बैंककै माइक्रोफाइनान्स प्रवद्र्धन तथा नियमन विभागका प्रमुख जनक बहादु अधिकारीले पनि लघुवित्त कम्पनीहरु संकट उन्मुख भएको बताएका थिए । ‘लघुवित्त कम्पनीका सञ्चालकहरु सक्षम भएनन्, समयमै नियमन गर्न सकिएन भने गम्भिर संकट आउने देखियो, लघुवित्तहरुलाई दुर्गन्धित हुनबाट जोगाउनु पर्ने समय आईसकेको छ’, नियमन विभागका प्रमुख अधिकारीले भने । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स एसोसियसनका अध्यक्ष रामचन्द्र जोशीले १८ प्रतिशतको ब्याजदर सिमा हटाउनुपर्ने धारणा राखेका थिए । उनले १४.५ प्रतिशतमा सापटी लिएर १८ प्रतिशतमा कम्पनीहरु चल्नै नसक्ने पनि उनले बताए । उनले लघुवित्त कम्पनीहरुलाई पनि निक्षेप संकलनको बाटो खुल्ला गरिदिन पनि माग गरेका थिए ।
ह्वावे वाईनाइन मोबाइल अप्रिलमा लन्च हुँदै, अग्रीम-बुकिङ चैत १७ गतेसम्म खुल्ला
काठमाडौं । ह्वावे, विश्वको प्रमुख स्मार्टफान कम्पनीले यही अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न लागेको छ । ह्वावे वाईनाइनमा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ एमपी र २ एमपीको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफ/२.० को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे वाईनाइनमा १६ एमपी र २ एमपीको दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा एफ/२.० को एपेचर र टोनिङ् फ्ल्यास छ, जसले फोटोलाई अझ राम्रो बनाउँछ र ब्याक लाईटिङहरुलाई पनि मलाउँछ, जसले गर्दा यो फोनलाई साँच्चै नै फोटो एक्सपर्ट बनाउने कम्पनीले जनाएकाे छ । ह्वावे वाईनाइनमा दुवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड र ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा फन् फिल्टर र ड्रेस अप सेल्फीका साथै ह्याण्ड र भ्वाइस् जेस्चर मोड जस्ता अत्याधुनिक बुद्धिमानी क्यामरा फिचरहरु छन् । ह्वावे आफ्ना मिड-रेन्जका फोनहरुमा प्रिमयम फिचरहरु प्रदान गर्नको लागि परिचित छ र ह्वावेको यो मोडलमा स्मार्ट फेस रेकग्नीशनको फिचर छ, जुन मानव अनुहारको गहिरो अनुसन्धानबाट विकसित गरिएको हो, जसले गर्दा यो फोनले मानिसको लिङ्ग र त्वचाको टोन पहिचान गरी हरेक विषयलाई फोटामा उत्कृष्ट देखाउनमा मद्दत गर्दछ । यो अद्वितीय विषेशता हाल नेपाली बजारमा उपलब्ध मिड–रेन्जका फोनहरुमा साधारणतया उपलब्ध हुँदैनन् । नोभा टुआईमा जस्तै वाईनाइनमा पनि १८ः९ आस्पेक्टको फुलभ्युउ डिस्प्ले छ, जसले स्प्लीट स्क्रीनको विशेषताको मजा लिनको लागि १२.५ प्रतिशत बढी स्थान दिई तपाईंलाई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्छ । वाईनाइनमा २६५जीबीको थप गर्न मिल्ने मेमोरीको साथ थ्रीजीबी र्याममा ३२जीबी रोमका साथै नवीनतम् इएमयूआई ८.० अपरेटिङ सिस्टम छ । यसका साथै यो फोनमा न्याभिगेशन डक् पनि थपिएको छ, जसले गर्दा ठूलो स्क्रीनको लागि राम्रो सहायता मिल्दछ । ४००० एमएएचको ठूलो ब्याट्रीले यो फोनलाई अझ पावरफुल बनाएको छ । वाईनाइनमा ट्रिपल स्लट डुअल सिम फिचरका साथ मेमोरी कार्डको लागि पनि छुट्टै स्लट पनि छ । ह्वावेको नोाभा टुआईले नेपालमा ब्यापक सफलता पाएको थियो र वाईनाइनमा पनि त्यही विधिको सर्वोत्कृष्ट फोन हो । ह्वावे वाईनाइन, एउटा सुपथ मूल्यको टन्नै प्रिमियम विशेषताहरु भएको आकर्षक देखिने त्यस्तो फोन हो, जसले नेपाली बजारको अवश्यकता पूरा गर्नेछ र बजारले पनि यसलाई मन पराउनेछ । ह्वावे वाईनाइनको अग्रीम–बुकिङ चैत १७ गतेसम्म खुल्ला छ र अग्रीम–बुकिङ गर्नेले ह्वावे एवान फिटनेस ब्याण्ड पाउनेछन् । ग्राहकले अग्रीम–बुकिङ गर्नको लागि आफ्नो नजिकको ह्वावे शोरुममा आफ्नो परिचय खुलाउने कागजातको प्रतिलिपिका साथ ३ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।