विकासन्युज

अब बन्ने भयो काठमाडौंको पार्टी प्यालेस भुकम्पपछिको आपतकालिन आश्रयस्थल

काठमाडौं । काठमाडौंका पार्टी प्यालेसहरुलाई भुकम्पपछिको आपतकालिन आश्रयस्थल हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा सो सम्बन्धि राजधानीमा शुक्रबार त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पत्रमा नेपाल चेम्बर अफ कमर्स, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपाल र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा चेम्वरकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमय, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपालकातर्फबाट उपाध्यक्ष शिवभक्त रञ्जित र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानकातर्फबाट प्रमुख निर्देशक मोरिटा ताकेमित्सुले हस्ताक्षर गरेका छन् । पत्रमा आपतकालिन आश्रयस्थलको निर्माण, भुकम्पीय जोखिमबाट बच्ने उपायको लागि शैक्षिक सहयोग गर्ने लगायत उल्लेख छ भएको छ । समझदारीपत्र अनुसार आगामी दिनमा यसका लागि आपसी समझदारी अनुसार काम अगाडि वढाउँंदै लैजाने सहमति भएको हो । सो कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले आफ्नो धारणा राख्दै भुकम्प अगाडी नै सुरक्षित आपतकालिन आश्रयस्थल निर्माण गर्नु पर्नेमा जोड दिए । उनले मुलुक विश्वमै ११ औ भूकम्पीय जोखिम ठाउँं भएको जानकारी गराए । एसोसिएसन अफ नेपालका उपाध्यक्ष रञ्जितले भुकम्पीय जोखियुक्त काठमाडौंमा आपतकालिन आश्रयस्थलका लागि पार्टी प्यालेसहरुलाई प्रयोग गर्ने बताए । त्यसको लागि ती ठाउँंहरुमा आवश्यक भौतिक पूर्वाधार बनाउने तयारी गरेको जानकारी दिए । एजुकेशन एड जापानका प्रमुख निर्देशक ताकेमित्सुले जापानका अनुभबहरु सुनाउँंदै नेपालमा सुरक्षित आपतकालिन आश्रयस्थल बनाउन आफूहरुले सहयोग गर्न चाहेको स्पष्ट पारे । कार्यक्रममा जनाइएअनुसार काठमाडौंमा १ सय ३० वटा पार्टी प्यालेसहरु छन् । पछिल्लो महाभुकम्पका बेला पनि ती पार्टी प्यालेसहरु पीडितका आश्रयस्थल बनेको थियो ।

आगामी १० बर्षभित्र १० हजार मेगावाट उत्पादन र खपत गर्ने: मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजित एक कार्यक्रममा मन्त्री पुनले सरकारले दोहोराे आर्थिक वृद्धिदरको संकल्प लिएको र त्यसका लागि ऊर्जानै प्रमुख आधार स्तम्भ भएको बताएका हुन् । ‘अब दोहोरो आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने छ, सरकारले यसको संकल्प पनि लिएको छ ।’ उनले भने-‘यसका लागि जलविद्युत नै मुख्य आधार हो ।’ आर्थिक सम्वृद्धिमा ऊर्जा क्षेत्रले पहिलो योगदान दिने गरी आयोजना विकास गर्ने बताउँदै यसमा नीजि क्षेत्रलाई प्रोत्साहन र सहजीकरणका लागि सबै किसिमतका नीतिगत र प्रकृयागत झन्झट हटाउनका लागि आफू सकृय हुने बताए । ठूलो जोखिमका साथ नीजि क्षेत्रले जलविद्युतमा लगानी गरिरहेको र उनीहरुलाई उत्साह जगाउने गरी आफूले काम गर्ने मन्त्री पुनले बताए । आगामी १० बर्षभित्र १० हजार मेगावाट उत्पादन र खपत गर्ने गरी सरकारले योजना बनाउने बताउँदै आफूले पुराना मन्त्रीहरुको योजना र घोषणालाई निरन्तरता दिँदै यस क्षेत्रको विकासका लागि केही नयाँ योजनासहित अघि बढ्ने बताए । उनले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना समेत अघि बढाउने लक्ष्य राखेको जानकारी दिँदै सार्क राष्ट्रभित्र विद्युत जोड्नका लागि पहल गर्ने बताए । प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि नेपाल विद्यु्त प्राधिकरण, नीजि क्षेत्र र सम्वद्ध निकायहरुलाई राखेर अघि बढ्ने उनको भनाई थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले ऊर्जा क्षेत्रमा नयाँ नयाँ योजना र कार्यक्रमभन्दा पुराना प्रतिवद्धता र योजना कार्यान्वयन गरे मात्र पनि जलविद्युतको विकास हुन सक्ने बताए । उनले सरकारले जलविद्युत विकासका लागि सिंगल डेस्कको व्यवस्था गर्नुपर्ने बताउँदै प्रशारण लाइनमा देखिएको ढिलाईको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इप्पानका पुर्व अध्यक्ष शैलेन्द्र गुरागाईले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्नका लागि नीजि क्षेत्रलाई प्रोत्साहन र सहभागी वृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए ।

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम रामेछापको मन्थलीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता जगाउने उद्धेश्यले रामेछापको मन्थलीमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले मन्थली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो ।

ट्रायल नै नदिई लाइसेन्स बनाउने २ शाखा अधिकृत सहित नासु लेखनाथ भूषालकाे जागिर चट

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत ३ कर्मचारी पक्राउ परेका छन् । अख्तियरले सवारी चालक अनुमति पत्र नयाँ दर्ता शाखामा कार्यरत नायव सुब्बा लेखनाथ भुषाल सहित ३ जनालाई पक्राउ गरेको हो । अख्तियारका अनुसार सुब्बा भुषाल ३२ हजार घुस लिदै थिए भने कम्प्युटर अपरेटर शिवप्रसाद सुवेदी र अर्जुनप्रसाद आचार्य ट्रायल नै नदिएका व्यक्तिलाई पास भएको देखाउँदै थिए । सवारी चालक अनुमति पत्र बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको देखिन आएकोले निजलाई बिगो बमोजिम जरिवाना र कैद सजाय गर्न विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

लाभांश वापत ३३ अर्ब विदेशियो, ७३.४८ प्रतिशत एनसेलको मात्रै

काठमाडौं । विदेशी लगानीमा सञ्चालित एक दर्जन बढी वहुराष्ट्रिय कम्पनीले ३३ अर्ब रुपैयाँ लाभांश वापत विदेश लगेका छन् ।चालु आर्थिक वर्षको हालसम्म नेपालमा विभिन्न किसिमका व्यवसाय सञ्चालन गर्ने ती कम्पनीले ३२ अर्ब ६६ करोड रुपैयाँ बराबरको लाभांश विदेश लैजान नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन् । सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदाय एनसेल प्राइभेट लिमिटेडले रहेकोछ । राष्ट्र बैंकका अनुसार एनसेलले २४ अर्ब रुपैयाँ बराबरको लाभांश फिर्ता लगेको हो । लामांश वापत विदेशियको मध्ये ७३.४८ प्रतिशत हिस्सा एनसेलको मात्रै रहेको छ । लगानीका आधारमा नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले लाभांश लैजाने गरेका छन् । विदेशी मुद्रामा लगानी ल्याएपछि लाभांश डलरमा लैजान पाउने व्यवस्था छ । यी कम्पनीले नेपालमा कमाएको लाभांशलाई डलरमा परिवर्तन गरेर लैजाने गरेका छन् । लाभांश फिर्ता लैजाने अन्य कम्पनीमा सूर्य नेपाल प्राइभेट लिमिटेड, डाबर नेपाल प्राइभेट लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, हिमाल पावर लिमिटेड, गोरखा ब्रुअरी लिमिटेड, नविल बैंक, बोटलर्स नेपाल लिमिटेड, बोटलर्स नेपाल तराई लिमिटेडलगायत छन् । एनसेल बाहेक अन्य कम्पनीले लाभांश वापत ८ अर्ब रुपैयाँ विदेश लगेका हुन् । एनसेलले २ वर्षको नाफाबाट लाभांश विदेश लगेको हो । एनसेलले यो वर्ष २ पटक लाभांश विदेशमा लगेको छ । विदेशी लगानीकर्ताले नेपालका बैंकमा खोलेका डलर खाताबाट लाभांश सिधै विदेश लैजाने गरेका छन् । डलरमा लाभांश लैजानु अघि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । यो वर्षदेखि राष्ट्र बैंकले लाभांश विदेशिने रकमको तथ्याँक राख्ने गरेको छ । गत वर्षको चैतदेखि मात्र राष्ट्र बैंकले विदेशीने लाभांशको विवरण राखेको हो । गत वर्षको चैतदेखि असारसम्म विभिन्न बहुराष्ट्रिय कम्पनीले १४ अर्ब रुपैयाँ बराबर लाभांश विदेशमा लगेका थिए । लाभांशको रुपमा धेरै रकम विदेशिएपछि नेपालको विदेशी विनिमय संचिती २.८ प्रतिशत घटेको छ । ७ महिनामा विदेशी विनिमय संचिती घटेर १० खर्ब ४९ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा १० खर्ब ७० अर्ब ४३ करोड रुपैयाँ विदेशी विनिमय संचिती थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा ९ खर्ब ३६ अर्ब २१ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थामा १ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । सरकारको चालु खाता १ खर्ब ४१ अर्ब ६ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोडले घाटामा रहेको थियो । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अघिल्लो वर्षको सात महिनामा ३६ अर्ब ९५ करोड रुपैयाँ बचतमा रहेकाले समग्र शोधनान्तर १८ अर्ब २८ करोडले घाटामा गएको हो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

शाइन रेसुङ्गाको ३३औं शाखा कपिलबस्तुको चन्द्रौटामा, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ३३औं शाखा कपिलबस्तुको चन्द्रौटामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शिवराज नगरपालिकाको उपमेयर शिवकुमारी थारुले उद्घाटन गरेका हुन् । बैंकका प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा खोलेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा बैकले ५ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो । साथै, राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको थियो । चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्ब ५२ करोड रुपैयाँ निक्षेप परिचालन गरि ११ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको शाखा संख्या ३३ र २ वटा एक्सटेन्सन कार्यालय रहेको छ । बैंकले हाल रुपन्देहीको बुटवल र मणिग्राम, गुल्मीको तमघास र बलेटक्सार, अर्घाखाँचीको सन्धिखर्क, प्यूठानकोे विजुवार र कपिलवस्तुको चन्दौटामा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने बताएको छ । साथै, बैंकले भविष्यमा थप शाखा कार्यालयहरु खोल्ने जानकारी दिएको छ ।

आइएमईले ल्यायो नयाँ वर्षे स्किम, आइएमई गर्दा उपहारै उपहार

काठमाडौं । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । उक्त योजना चैत १ गतेदेखि आगामी जेठ मसान्तसम्म लागू हुने छ । यस योजनाअन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्कीड्र’ माडिस होम, मासिक ‘लक्कीड्र’ मास्मार्ट फोन र बम्पर ‘लक्कीड्र’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् । योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने रसोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६  देखि वैशाख १७ गतेसम्म (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्म कायम हुनेछ । योजनाअन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्ने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।

अब पशुपति क्षेत्रमा बसेर माग्न नपाइने

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा माग्न बस्नेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ । पशुपति क्षेत्रमा बस्ने माग्नेका सम्बन्धमा ‘क्वीक भोलेन्टियर्स’ संस्थाको सहयोगमा अनुसन्धान गरी धार्मिक क्षेत्रबाट माग्नेलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अनुसन्धानका क्रममा पशुपति क्षेत्रमा १५२ माग्नेको अभिलेखीकरण भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । “माग्नेको शोधखोज गर्ने क्रममा नेपाली सेनाबाट भागेका भगौंडासमेत पशुपति क्षेत्रमा मागेर बसेको पाइयो’’ उनले भने ओखलढुंगाका नहकुल बस्नेत सेनाबाट भागेर पशुपति क्षेत्रमा आइ मागेर बसेको भेटिएको थियो । राति गरिएको अनुगमनमा केही भद्र मानिससमेत अश्लील क्रियाकलापमा संलग्न हुनआएको रंगेहात फेला परको उनले बताए । सेनाका भगौडा बस्नेतलाई कालीप्रसाद गणको जिम्मा लगाए पनि फेरि फर्केर उनी पशुपतिमै माग्न आइपुगेका छन् । कतिपय मानिसले माग्ने कामलाई पेशा बनाएको अध्ययनमा भेटिएको कोषले जनाएको छ । दिनभर पशुपति परिषरका विभिन्न स्थानमा माग्ने र राति यहाँका सत्तल, देवालय, पाटीपौवामा सुत्ने गर्दा पशुपति क्षेत्र खुला बस्ती जस्तै बनेको थियो । यसरी नियमित मागेर गुजारा गर्नेका लागि कोषले पुनःस्थापना अभियान नै शुरु गरेको छ । अभियानअन्तर्गत हाल ७२ जनालाई रोजगारीमा लगाइएको छ । कोषको अनुरोधमा केही मानिस पशुपति क्षेत्रमै निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालामा काम गर्न थालेका छन् । कतिलाई निजी संस्थामा काममा लगाइएको छ । एक दिन रातिको अनुगमनका क्रममा भष्मेश्वर घाटमा पाँच वर्षकी बालिकासहित २२ वर्षीय महिलालाई उद्धार गरी रक्षा नेपालको जिम्मा लगाइएको छ । कति बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिको जिम्मामा पठाइएको सदस्यसचिव डा ढकालले बताए । पशुपति क्षेत्रमा माग्न बस्नेका लागि पुस माघको जाडोले असर ग¥यो भनी एक बैंकको प्रायोजनमा ज्याकेट वितरण गरियो । दाताले वितरण गरेको ज्याकेट यहाँका माग्नेले एक हप्ता पनि लगाएनन् । एक हप्तापछि सबै ज्याकेट पशुपति क्षेत्रका कपडा पसलमा बेचेको फेला पारिएको कोषको सुरक्षा अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका गौरीशंकर पराजुलीले जानकारी दिए । मागेर जीवन निर्वाह गर्नेमा केही मानसिक रुपमा विक्षिप्त भएका मानिससमेत छन् । मानसिक रुपमा विक्षिप्त महिलालाई पुरुषले दुव्र्यवहार गर्ने गरेको समेत अनुसन्धानका क्रममा भेटिएको अनुसन्धाता बुद्धि कट्टेलले सुनाए । बाँकी रहेका ८० माग्नेमध्ये आठजना बालबालिका र १० जना वृद्धवृद्धालाई कुमारीगालस्थित मातृभूमि सेवा आश्रममा राख्ने तयारी भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमै रहेको महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको वृद्धाश्रममा राख्न लामो प्रक्रिया पार गर्नुपर्ने भएपछि अन्यत्र राखिएको हो । माग्नेमध्ये कति अपांग छन् । जसलाई समाजमा पुनःस्थापना गर्न गाह्रो छ । कति क्षयरोग र क्यान्सरका बिरामी छन् । बिरामीलाई उपचारका लागि वीर अस्पताल पठाउँदा सहयोग नपाएको कोषले जनाएको छ । आठजना मानसिक रुपमा विक्षिप्त मानिस फेला परेको छ । यी सबैलाई समाजमा पुनःस्थापनाका लागि उदारमनाको खोजी जारी छ । विश्वका हिन्दूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मगन्तरहित बनाउने क्रममा गणना गरिएकालाई रोजगारीमा जाने, घरमा पुनःस्थापित हुने, पुनःस्थापना केन्द्रमा बस्नेलगायत विकल्पमध्ये रोजेको ठाउँमा लैजान सहयोग गर्ने प्रतिबद्धता कोषले जनाएको थियो । माग्नेले भने कुनै पनि विकल्प रुचाएनन् । पशुपति क्षेत्रमै मागेर बस्न पाउनुपर्ने उनीहरुको भनाइ थियो । “हामीलाई पशुपति क्षेत्रमा बसेर माग्नबाट रोक्ने तँ को होस् भनी उल्टै हामीलाई नै थर्काए, नमाने सुरक्षाकर्मी लगाएर गाडीमा हालेर अन्तै लगेर राखिदिने भनेपछि मात्र आधा माग्ने पुनःस्थापना हुन राजी भए”–७२ जनालाई पुनःस्थापना गर्न सफल भएको घटना सुनाउँदै सदस्यसचिव डा ढकालले भने । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक स्थलबाट माग्ने हटाएर सामाजिक जीवनमा पुनःस्थापना गर्ने अभियान शुरु भएपछि समाजमा पहिचान बनाएका भद्र भलादमीलेसमेत माग्नेमा सवार भएर भगवान् नै पशुपति क्षेत्रमा आउने भन्दै विरोध जनाए । पेशेवर रुपमा माग्ने काम गर्दै आएकालाई मन्दिर परिसरबाट सामाजिक जीवनमा पुनःस्थापना गर्नु चुनौती बनेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा कोषले पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेधित क्षेत्र घोषणा गरी सेवन, बेचबिखन गर्नेलाई समातेर सार्वजनिक मुद्दा लगाएको छ । पशुपति क्षेत्रलाई योग, ध्यान र साधना स्थलका रुपमा विकसित गर्ने अभियानअन्तर्गत लागुपदार्थ र मगन्तरहित क्षेत्र बनाउन लागिएको हो । कोषले पहिलो चरणमा सूर्यघाट क्षेत्रबाट योग, ध्यानलगायत साधनाका कार्यक्रम शुरु गर्ने तयारी गरिएको जनाएको छ ।-रासस