विकासन्युज

पाँच वर्षभित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत बन्ने

काठमाडौं । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । ‘आपसी सद्भावको पहिचान गरि सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए । मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका जानकारी दिए। उनले विमानस्थलको पुर्व तयारीको काम दुई बर्ष भित्र सुरु हुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हुने उनको भनाइ छ । बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य रहेको उनले बताए । निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिने बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय उनले जानकारी दिए। शुक्रबारदेखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।  

किरण सुजद्वरा नेपाल एम्बुलेन्स सर्भिसलाई जंगल बुट हस्तान्तरण

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (इएमटी) र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ । शुक्रबार नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई उक्त जुत्ता हस्तान्त्रण गरेकी हुन् । कम्पनीले ४४ जोर जंगल बुट हस्तान्तरण गरेको बताएको छ । गोल्डस्टारका जंगल बुट हिलो र चिप्लोमा नचिप्लीने निकै उपयोगी हुने कम्पनीको भनाइ छ । हस्तान्त्रणपछि किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक राणाले नेपाल एम्बुलेन्स सर्भिससँग जोडिन पाएकोमा खुसी भएको बताइन् । ‘यो एउटा सानो प्रयास हो । भोलिका दिनमा हामी अझै राम्रोसँग सहकार्य गर्दै अगाडी बढ्ने छौं,’ उनले भनिन्। त्यस्तै एम्बुलेन्स सर्भिसका उपाध्यक्ष आर्चायल गोल्डस्टारसँगको सहकार्यले इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई सहयोग पुग्ने बताए ।

४८ मेगावाटको खिम्ती २ आयोजना ईपीसीएफ मोडेलमा निर्माण हुने, आइतबार चिनियाँ कम्पनीसंग सम्झौता

काठमाडौं । नेपालमा पहिलो पटक इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र फाइनान्सिङ (ईपीसीएफ) खाकामा ४८.८ मेगावाटको खिम्ती २ आयोजना निर्माण हुने भएको छ । चीनको चोरिङ वाटर एन्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड र चाइना एन्ड पिपल्स इनर्जी लिमिटेडले संयुक्त रुपमा ईपीसीएफ खाकामा खिम्ती २ आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि आइतबार प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र चोरिङ र चाइना एन्ड पिपल्सबीच ८ करोड ८० लाख अमेरिकी डलरमा (करिव ९ अर्ब रुपैयाँ) ठेक्का सम्झौता हुने भएको छ । इपीसीएफ सम्झौताअनुसार प्रवद्र्धक पिपल्स इनर्जीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ । त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने पिपल्सका महाप्रवन्धक जनार्दन अर्यालले जानकारी दिए । निर्धारित समयमा काम सम्पन्न हुनुका साथै जोखिम काम हुने भएकाले यो खाकामा आयोजना निर्माण हुन लागेको उनले बताए । आयोजनाको कुल लागत साढे १० अर्ब रुपैयाँ छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् । यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने अर्यालले जानकारी दिए । आयोजनामा १० बैंकले ६ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् । बाँकी रकम प्रवद्र्धकको स्वपुँजी (इक्विटी ) र साधारण सेयर (आईपीओ) निष्कासन गरेर जुटाउने भएको छ । सानिमा बैंकको अगुवाइमा सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, ग्लोवल आईएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ऋण लगानी गर्ने भएका हुन् । आयोजनाबाट आउदो ६ वर्ष अर्थात ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको वार्षिक आम्दानी प्रथम वर्ष १ अर्ब ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि ८ पटक हुदा ९ वर्षमा आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक २६ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सुख्खायाममा साढे ४ करोड र वर्षातमा साढे २१ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

वाईवाई ग्लोकल टिन हिराेको आवेदन वैशाखमा खुल्ने

काठमाडौं । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रम सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर, किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन कार्यक्रम अघि बढाउन लागेको हो । ‘किशोर, किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ,’ सिजी फुड्सका सीईओ जीपी शाहले भने ‘सम्झौता अघि बढाउन हामी खुशी छौं । दिगो सम्झौता अघि बढाउने उद्देयका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ ।’ यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन बैशाख २२ मा खुल्ने बताइएको छ ।

१० हजार घुस माग्दै गर्दा नासु कमल भुजेल अख्तियारको फन्दामा

भक्तपुर । भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल आज रु १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

मन्त्री लालबाबु विराेधमा आधिकारिक ट्रेड यूनियन, हुकुमी शैलीमा कर्मचारीलाई धम्की नदिन चेतावनी

काठमाडौं । आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनका नेताहरुले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेडयुनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन् । उनले भने,‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीहरु माथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गईसकेका छन्।’ केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगएको भएपनि अधिकांश कर्मचारीहरु खटाईएको स्थानमा गएर काम गरिहरेको उनको जिकिर थियो । उनले थपे,‘खटाईएका स्थानमा पुगेर कर्मचारीले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छै्नन, समस्याहरु हामीले सुन्नु परेको छ।’नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । उनले भने,‘संविधान र ऐनमा भएको व्यवस्थालाई भाषणमा बोलेर हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिने काम भएको छ, यो हाम्रो लागि स्वीकार्य छैन्, जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको जानकार हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ।’ उनले अघि थपे,‘कर्मचारी समायोजन वैज्ञानिक रुपमा हुनुपर्छ, अपमानजनक रुपमा होईन, हामीले कहिल्यै पनि स्वेच्छिक अवकासको माग गरेका होईनौं, सरकारले २० वर्षमाथि मुलुकको सेवामा सर्मपित कर्मचारी र ५० वर्ष नाघेका कर्मचारीको हकमा लागू हुनेगरी यो व्यवस्था ऐनमा ल्याएको हो, जस्ताको त्यस्तै लागू हुनुपर्छ, यो नालापानीको युद्ध होईन,अंग्रेजहरुले पानीको मुहान सुकाए जस्तो कर्मचारीको तलव रोक्ने र काममा पठाउँछु भन्नु आँफैमा जायज छैन्, हाम्रो संगठन एमाले निकट नै भएपनि सरकारको भाषा गैर–जिम्मेवारपूर्ण छ, सच्याउनुपर्छ।’ त्यस्तै कार्यक्रममा नेपालनिजामतिकर्मचारी यूनियन संघका अध्यक्षगोपालपोखरेलले सामान्यप्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमानिरासा छाएको गुनासो पोखेका छन् । उनले भने,‘मन्त्रीजस्तो व्यक्तिले दिनहुँ यसरी कर्मचारीको मनोवल गिर्नेगरि बोल्नु उचितहोईन, संक्रमणकालिन अवस्थामाकर्मचारीले आफ्नै पैसा खर्चेर जनतालाई सुविधादिने कामगरिरहेका छन्, जननिर्वाचितप्रतिनिधि आउँछन् जान्छन् तर निजामतिकर्मचारी संयन्त्र स्थायीसरकार हो, जुन सरकार नभएको बेलामापनिजनताको काम गर्छ, यो कुरा बुझ्नुपर्छ।’ नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिकाअध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन ्। उनले भने,‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’  

ओपोले ल्यायो अत्याधुनिक सेल्फी प्रविधि ओपो ए ७१, मुल्य १५ हजार ९९०

काठमाडौं । ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए ७१ सार्वजनिक गरेको छ । उक्त उत्पादन परिस्कृत एआई ब्युटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसर उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको छ । फोनमा यूवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक यूनी बडी डिजाइन अपनाइएको छ । स्मार्टफोन १.८ जीएचजेडमा क्ल्क्ड फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । त्यस्तै फोनमा १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसनसहित ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ भने मल्टि–फ्रेम डिनोइजिंग प्रविधिसहित १३ मेगापिक्सेल क्षमताको रियर क्यामेरा छ । सार्बजनिक स्मार्टफोनको बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ए सिरिज अन्तर्गत नयाँ मोडल अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइनमा सार्वजनिक गरेको बताए । ‘नयाँ फोनमार्फत आफ्ना उपभोक्ताका माग तथा आवश्यकताको सक्दो सम्बोधन गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने ‘नयाँ फोनमार्फत हामी यस कार्यमा सदाझैँ सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’ सुनौलो र कालो गरी दुई रंगमा उपलब्ध उक्त ओपो ए ७१ को मुल्य रू. १५ हजार ९९० तोकेको छ ।

कैलाश हेलिकप्टरले शनिबारदेखि व्यवसायिक उडान भर्ने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रा.लि.ले भोलि चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीकाे पहिलाे व्यवासायिक उडान काठमाडाैं लुक्लाकाे तयारी भएकाे बताइएकाे छ। नागरिक उड्डयन प्राधिकरणले चैत्र ९ गते वायुयान संचालन अनुमति (एओसी) प्रदान गरेकोले अब व्यवसायिक उडान सञ्चालन गर्न लागिएको कम्पनीको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए । कम्पनीले विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन/कार्गो स्लीङअपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धार जस्ता विस्तृत हेलिकप्टर सेवा सञ्चालन गरिने उनले बताए । कम्पनीले एयर बसद्धारा निर्मित नयाँ एएस३५०बी३इ जहाज (९एन–एएमएल) हेलिकप्टर खरिद गरी नेपाल ल्याइ सकिएको छ । यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । कम्पनीले निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने तयारी भएको कम्पनीले जनाएको छ । ‘हामी स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिनेछौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हाम्रो सेवा सुरुवात सँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पुर्याउन सकिने अपेक्षा गरेका छौं ।’ नेपालमा हाल व्यावसायिक गतिविधि मुलुक भर विस्तार भइरहेको छ । यससँगै मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न सकेको छैन । नेपालको उड्डयन क्षेत्रमा हाम्रो उपस्थितिले यी आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । कैलाश हेलिकप्टरका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगी लगायतको लगानी रहेको छ । पहिलाे चरणमा करिब ३० कराेड रूपैयाँ लगानी रहेकाे र नयाँ जहाज थपसँगै लगानी विस्तार गर्दै जाने तयारी भएकाे पाण्डेले बताए ।