विकासन्युज

ललितपुरको सातदोबाटोमा एमजीको डिलरशिप सुरु

काठमाडौं । ललितपुरको सातदोबाटोमा एमजीले नयाँ अधिकृत डिलरशिप सुरु गरेको छ । विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको उक्त सुविधा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस नयाँ डिलरशिप सञ्चालनको जिम्मा पीआर सप्लायर्सलाई दिइएको छ । प्यारामाउन्ट मोटर्सका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा एमजीको उपस्थिति ललितपुरमा औपचारिक रूपमा विस्तार भएको जनाइएको छ । भदौ २ गतेदेखि ग्राहकले सातदोबाटोस्थित नयाँ शोरुममा गएर एमजीका प्रिमियम गाडी अवलोकन गर्ने, विशेषज्ञसँग सल्लाह लिनेदेखि प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्ने सुविधा पाउनेछन् । कम्पनीले ललितपुर र वरपरका ग्राहकलाई सहज, व्यक्तिगत र आधुनिक कार खरिद अनुभव दिलाउने लक्ष्य राखेको जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक अग्रवालले नयाँ डिलरशिपलाई पूर्ण एमजी अनुभवको प्रवेशद्वारका रूपमा उल्लेख गरे । उनले भने, 'यो केवल शोरुम मात्र होइन, विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहितको अनुभव हो । हामी ललितपुरका ग्राहकलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।'

बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ मोडेल वाई एल चीनमा छिट्टै आउने घोषणा गरेको छ । कम्पनीले सोमबार चिनियाँ सामाजिक सञ्जाल ‘वेइबो’मार्फत उक्त जानकारी दिँदै यसअघि नै चीनमा यो नयाँ मोडेल ल्याउने योजना बनाइसकेको जनाएको हो । मोडेल वाई एल कम्पनीको सबैभन्दा बढी बिक्री हुने मोडेल वाईको लामो ह्वीलबेस भएको ६ सिटे गाडी हो । टेस्लाले वेइबोमा सो नयाँ मोडेलको भिडियो पनि सार्वजनिक गरेको छ । चीनमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा टेस्लाले आफ्नो उत्पादन लाइनअपलाई ताजा पार्दैछ । हालै साओमीले ल्याएको वाईयू सेभेन मोडेलसँगै प्रतिस्पर्धा झनै तीव्र भएको छ । माेडेल वाई एल  एलन मस्कको टेस्लाले जुलाई महिनामा चीनमै बनेका आफ्ना इलेक्ट्रिक सवारीसाधनको बिक्रीमा ८.४ प्रतिशत गिरावट दर्ता गरेको थियो । चीनका प्रतिस्पर्धी कम्पनीहरूले सस्तो मूल्यमा इभी उपलब्ध गराइरहेको अवस्थामा मूल्ययुद्धका कारण गाडी निर्माता, आपूर्तिकर्ता र डिलरहरूमाथि दबाब बढ्दै गएको छ । यसबाहेक लामो दूरी तय गर्ने र पछाडिबाट चल्ने (रियर–ह्वील ड्राइभ) मोडेल ३ पनि चाँडै चीनको बजारमा आउँदैछ । यसबारेको विवरण चीनको उद्योग मन्त्रालयको वेबसाइटमा जुलाई महिनामा प्रकाशित भएको थियो । चीन अहिले विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारीसाधनको बजार हो । सरकारी प्रोत्साहन, चार्जिङ स्टेसनको तीव्र विस्तार र स्थानीय कम्पनीहरूको आक्रामक रणनीतिले गर्दा विदेशी कम्पनीहरू दबाबमा परेका छन् । बीवाईडी, निओ, एक्सपेङ्ग जस्ता चिनियाँ ब्रान्डहरूले मूल्य तथा प्राविधिक सुविधामा प्रयोगकर्तालाई आकर्षित गरिरहेका छन् । मोडेल वाई एल  सन् २०२३ मा मात्र चीनमा करिब ८५ लाखभन्दा बढी इलेक्ट्रिक कार बिक्री भएका थिए, जुन विश्वकै कुल बिक्रीको आधाभन्दा बढी हो । यसले चीनलाई इभी प्रविधिको ‘केन्द्र’ बनाइदिएको छ ।  टेस्लाजस्ता विदेशी कम्पनीहरूले चीनलाई आफ्नो प्रमुख बजारका रूपमा हेरे पनि अब उनीहरूलाई स्थानीय प्रतिद्वन्द्वीहरूसँग लगातार मूल्य र गुणस्तरको प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । विशेषज्ञहरूको भनाइमा टेस्लाले ल्याउन लागेको मोडेल वाई एलले परिवारिक ग्राहकलाई लक्षित गरेको छ । चीनमा ठूलो साइजका बहु–सिट कारप्रति माग बढिरहेको छ, जसले गर्दा नयाँ भेरियन्टले कम्पनीको बिक्रीमा केही हदसम्म पुनः सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ । तर, बजार विश्लेषकहरूले भने टेस्लालाई केवल नयाँ मोडेल ल्याएर मात्र दीर्घकालीन सफलता पाउन कठिन हुने बताइरहेका छन् । मूल्ययुद्ध, ब्याट्री प्रविधिमा भएको तीव्र विकास र स्थानीय कम्पनीहरूको सस्तो उत्पादनले गर्दा कम्पनीले अझ गहिरो रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी  

हेटौँडा-काठमाडौं सडक पूर्ण रूपमा सञ्चालनमा

बागमती ।  हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ ।  उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो ।  अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

अमेरिकामै रहेको बेला उपसभामुखलाई हटाउने रणनीति, रास्वपाभित्र तरंग

काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगर अमेरिकामै रहेको बेला हटाउने तयारी गरेका छन् । प्रतिनिधि सभाकी उपसभामुख मगरविरुद्ध महाभियोग प्रस्ताव पेस गरेर उनलाई हटाउने तयारी एमाले र कांग्रेसको छ ।  सो प्रस्ताव अगाडि बढाउनका लागि सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । दुवै दलले सो प्रस्तावका लागि हस्ताक्षर संकलन थालेका छन् ।  यति बेला उपसभामुख राना मगर भने अमेरिकामा रहेको बुझिएको छ । उनको सचिवालयका अनुसार उनी साउन ३० गते उनी अमेरिकातर्फ गएकी हुन् । उनको १० दिने व्यक्तिगत भ्रमण रहेको बुझिएको छ ।  उपसभामुखलाई हटाउने चर्चा भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तरंग मच्चिएको छ । अहिले नेताहरू धमाधम पार्टी कार्यालयमा उपस्थित हुन थालेका छन् । पछिल्लो समय उपसभामुख राना मगरमाथि मानव तस्करीको आरोप लागेको छ । उनले राजीनामाको दबाबका बीच पद नछोडेपछि सत्तारूढ दलहरूले महाअभियोग प्रस्तावमार्फत पदमुक्त गर्ने बाटोतर्फ लागेका हुन् । संवैधानिक परिषदमा बहुमत पुर्‍याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको बुझिएको छ ।

गौर नरसंहारको पुनः अनुसन्धान गरे निष्पक्ष सहयोग गर्छु : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो ।  सोही विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले सरकारले अनुसन्धान अघि बढाए आफूले अनुसन्धानमा सहयोग गर्ने बताए ।  उनले अदालतलाई आफूहरूले सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको बताए ।  न्यायिक जाँचबुझ आयोगका साथै मानव अधिकार आयोग, राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत यस विषयमा अनुसन्धान गरेर आफ्ना प्रतिवेदनहरू ल्याइसकेको उनको भनाइ छ । त्यही बेला नै मुद्दा अघि बढ्नसक्ने अवस्था नरहेको र करिब १९ वर्षपछि आएर पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुनसक्ने अध्यक्ष यादवको जिकिर छ ।  तर अझै पनि फैसलाको पूर्णपाठ नआइकन मुद्दाबारे बोल्नु हतार हुने अध्यक्ष यादवले बताए । आफूहरू जनताको अधिकारको लागि लडेको व्यक्ति भएकाले आत्तिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।  गौर नरसंहारमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए ।  मुद्दामा विपक्षी बनाइएकाले प्रहरी मुख्यालय, गृह मन्त्रालयलगायतका नाममा समेत सर्वोच्च अदालतले आदेश दिएको छ । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।  त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव गर्ने तयारी, सांसदकाे हस्ताक्षर संकलन

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव पेस गर्ने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारूढ दलहरूले मंगलबार नै उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् । सो प्रस्ताव अगाडि बढाउनका लागि सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भइसकेको छ भने कांग्रेस संसदीय दलको बैठक पनि केहीबेरमै सुरु हुँदैछ ।  बैठक आकस्मिक रूपमा बोलाइए पनि सांसदहरूलाई एजेन्डा भने खुलाइएको छैन । तर, एमालेका एक सांसदका अनुसार बैठकको मुख्य एजेन्डा उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोगको प्रस्ताव रहेको सुनाए ।  पछिल्लो समय उपसभामुख राना मगरमाथि मानव तस्करीको आरोप लागेको छ । उनले राजीनामाको दबाबका बीच पद नछोडेपछि सत्तारूढ दलहरूले महाअभियोग प्रस्तावमार्फत पदमुक्त गर्नेबारे छलफल गर्न बैठक बोलाएको बताइएको हो ।  ती सांसदका अनुसार एमालेको संसदीय बैठकमा हस्ताक्षर संकलन पनि सुरु भइसकेको छ । अब कांग्रेसले पनि सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रक्रिया अगाडि बढाउने छ ।  सांसदहरूको हस्ताक्षर संकलन भएपछि संसदमा महाअभियोग प्रस्ताव गर्ने तयारी रहेको ती सांसदले बताए ।  संवैधानिक परिषद्मा बहुमत पु¥याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको बुझिएको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्सको एमएल र सीएफटी तालिम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लन्डरिङ तथा आतङ्कवादी वित्तीयकरण नियन्त्रण सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तालिममा कम्पनीका कानुन विभाग प्रमुख सुबास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिए । साथै, एमएल र सीएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशन र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत जानकारी दिए । कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ। भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।